नेपाल लाइफका सेयरधनीले लाभांश नपाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । इन्स्योरेन्सले कुनै पनि लाभांश वितरण नगर्ने भएसँगै कम्पनीका सेयरधनीले लाभांश नपाउने भएका हुन् । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । साथै, कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरु पारित गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने बताएको छ । कम्पनीले यसअघि अर्थात आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो १८औँ साधारण सभा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औँ वार्षिक साधारण सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७९ प्रतिशत लाभांश पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ । यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०८०/८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २५ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.८०१३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ ।