ब्लगः सेवोनको अबको अध्यक्ष भिष्म ढुंगाना कि रेवत कार्की ?

केही दिनअघि राति मोबाइलमा फेसबुक म्यासेन्जर चलाउँदै थिएँ । सानी छोरीले नजिकै आएर सोधी– सेयर भरिस्या हो बाबा ? पाँच वर्षको छोरीको प्रश्न सुनेर छक्क परें । तर, छोरीको प्रश्नले छक्क पर्नुपर्ने खास कारण भने थिएन । किनभने घरमा कसको आईपीओ खुल्यो, भरेको कि नभरेको, सेयर पर्यो कि परेन भन्ने जस्ता विषयमा चर्चा भइरहेको हुन्छ । छोरीले त्यही कुरा सुनेकी थिई, त्यसैले सेयर भरिस्या हो बाबा भनेर प्रश्न गरी । यो अनौठो कुरा नै भएन । छोरीको यो प्रश्नपछि नेपालको पुँजी बजार सम्झें । नियामक निकाय सेवोनको अध्यक्ष अहिले निलम्बनमा छन् । अध्यक्ष भिष्म ढुंगानालाई पनि छोरी र सेयर जोडिएको विषयको अभियोग लगाइएको छ । अध्यक्ष ढुंगानाले छोरीको नाममा नियम विपरित सर्वाेत्तम सिमेन्टको सेयर किनिदिए रे ! भलै, ढुंगानाको छोरी मेरो जस्तै सानी छैनन् । विहे गरिसकेकी छोरी हुन्, श्रीमानसँगै अमेरिकामा बस्छिन् । छोरीको विहे गर्नको लागि अध्यक्ष ढुंगाना केही महिना अघि अमेरिका नै गएका थिए । छोड्दिनुस् मेरी छोरी र भिष्म ढुंगानाकी छोरीको कुरा । सरकारले सेवोन अध्यक्ष ढुंगानालाई हटाउने नै भएको छ । हटाउने प्रक्रिया पूरा गर्न छानविन समिति बनाइएको छ । समितिले प्रतिवेदन दिइसकेको छ । कारबाही गर्नु भन्ने सिफारिस समितिको छ । हटाउनको लागि सरकारले उनीसँग स्पष्टिकरण सोधिसकेको छ । अब हटाइन्छ नै । ढुंगानालाई हटाएपछि कसलाई अध्यक्ष बनाइएला ? यो प्रश्न भने धेरैको मनमा छ । सेवोन अध्यक्ष बन्नको लागि जो पायो त्यही व्यक्तिले दाबी गर्दैन । किनभने अध्यक्ष बन्ने योग्यता पनि पुग्ने र १० करोड रुपैयाँको जोहो गर्न सक्ने व्यक्ति निकै कम छन् । अरु कसैले लगानी गरिदिने हो भने पनि लगानीकर्ताले लाए अह्राएको काम ढंग पुर्याएर गर्न जान्ने व्यक्ति चाहियो । आफैले लगानी गर्ने हो भने लगानी गरिएको १० करोड रुपैयाँ प्रतिफल सहित पुँजी फिर्ता गर्न सक्ने आँट र परिस्थिति हुनुपर्यो । सेवोन अध्यक्ष बन्नको लागि बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईं दाम्लो चुडाएर हिडेका छन् भन्ने बजार हल्ला छ । चापागाईं अध्यक्ष बने भने उनले गर्नुपर्ने मुख्य दुईटा काम हुन् । एउटा, अर्काे स्टक एक्सचेन्जको लाइसेन्स दिने, अर्काे, टीएमएस संचालन गर्ने कम्पनी वाईकोको स्वामित्व परिवर्तनमा सहजीकरण गरिदिने । सम्भवतः यी दुबै काममा चापागाईं सफल हुनेछन् । सर्वाेत्तम सिमेन्ट जस्ता प्रकरण थप्ने र कमोडिटी एक्सचेन्जको लाइसेन्स दिने जस्ता फुटकर काम भने उनले गर्न नसक्ने भन्ने प्रश्नै रहेन । अलिकति सिरियस कुरा पनि गरौं न त । नेपालको पुँजी बजार क्षेत्रको सुधार र आधुनिकीकरणको नेतृत्व गरेका व्यक्तिहरुमा ३ जनाको मात्रै नाम आउँछ । धितोपत्र कारोबार ऐन तथा नियमावलीहरुको मस्यौदा तयार पारेका सेवोन पूर्व अध्यक्ष दिपकराज काफ्ले, ती मस्यौदा पारित गरेर कार्यान्वयनमा लान सकेका पूर्व अध्यक्ष डा. चिरन्जीवी नेपाल र समग्र बजारको आधुनिकीकरणको नेतृत्व गरेका डा. रेवत कार्की । सेवोनको अध्यक्ष बनेर अरु केही व्यक्तिहरुले पनि जागिर भने खाएका थिए । डा. कार्कीले के के काम गरे भन्ने तपाईंलाई सम्झाना छ ? छैन भने म सम्झाउँछु । पहिला सेयर किनबेच गर्नको लागि टुकुचामा रहेको नेप्सेको कार्यालयमा गएर यति मूल्य दिन्छु, लिन्छु भनेर चिच्याउनु पथ्र्याे । नेप्सेको हाकिम बनेका बेलामा डा. कार्कीले यो चिच्याउनु पर्ने परिपाटी अन्त्य गर्दै २०६३ सालदेखि सेयर खरिद विक्रीलाई सेमी अटोमेसनमा लगे । पछि कार्की सेवोन अध्यक्ष भए । उनी अध्यक्ष भएकै बेलामा २०७२ सालमा सीडीएससीले सेयरलाई डिजिटलाइजेसन गर्न डीम्याट सुरु गर्यो । डीम्याट आएपछि २०७५ सालतिर सीआश्वा आयो । सीआश्वाले आईपीओ भर्न लाइन लाग्ने युगको अन्त्य गरिदियो । त्यसपछि आईपीओ भर्ने सबैलाई सेयर दिनुपर्ने भन्ने नीतिगत व्यवस्था डा. कार्कीले ल्याए । उनले कम्तिमा १० कित्ता भएपनि सेयर देउ भने । यो व्यवस्थालाई आज पनि १० कित्ते नीति भनिन्छ । पछिल्लो समय त सेयर कारोबार अनलाइन माध्यमबाट हुने भएको छ । डा. कार्कीको सोचकै कारणले टुकुचामा गएर चिच्याउनु पर्ने सेयर कारोबार अहिले ट्वाइलेटको कमोडबाट गर्न सकिने भएको छ । आज ५ वर्षकी मेरी सानी छोरीले सेयर भरिस्या हो बाबा भनेर प्रश्न गर्ने अवस्था डा. कार्कीले नै बनाएका हुन् । आज ‘४३ लाख लगानीकर्ता’ भनेर सेयर बजारका ठेकेदारहरु हल्ला गरिरहेका हुन्छन् । यी ‘४३ लाख लगानीकर्ता’ डा. कार्कीको त्यही १० कित्ते नीतिले जन्माएको हो । अब सेवोन अध्यक्ष भएर आउने व्यक्तिले यस्तै कुनै नयाँ र दीर्घकालिन रुपमा राम्रो हुने कुनै काम गर्ला त ? अहिले सबैलाई सेयर किन्नुपर्छ भन्ने दिव्यज्ञान प्राप्त भएको छ । सेयर किनेपछि मालामाल भइन्छ भन्ने अर्काे भ्रम सत्य बनिरहेको छ । सेयर भर्न पाइन्छ, किन्न पाइन्छ, बेच्न पाइन्छ । अब सेयर भनेको के हो ? यसबाट फाइदा मात्रै हुने हो कि सबै लगानी नै डुब्न पनि सक्छ भन्ने जस्ता शिक्षा दिन आवश्यक छ । यो काम सेवोनका नयाँ अध्यक्षले गर्नुपर्ने होला । यस्तै, नेपालको सेयर बजारमा ९० प्रतिशत कारोबारी छन् । नेगेटिभ नेटवर्थ भएका र ५–७ वर्षसम्म लाभांश दिनै नसक्ने कम्पनीको सेयर पनि हजारदेखि १२ सय हालेर किनिरहेका छन् । कारोबारीको कामै यस्तै हो, गरिरहुन् । बजारमा लगानीकर्ताको अभाव छ । कारोबारीलाई लगानीकर्ताको रुपमा परिणत गराएर लगानीकर्ता तयार पार्ने जिम्मेवारी पनि सेवोनको काँधमा छ । अहिले सेयर किनेको व्यक्तिले ब्रोकरलाई पैसा दिएन भने उसलाई समाउने कुनै कानुन नै छैन । अहिलेको कानुनले सेयर किन्ने व्यक्तिले ब्रोकरलाई पैसा दिएन भने के गर्ने भन्ने परिकल्पना नै गरेको छैन । ब्रोकरहरुलाई अहिलेसम्म श्री पशुपतिनाथले जोगाइरहेका छन्, सधै नजोगाउन सक्छन् । अनलाइन कारोबारमा प्रयोग गरिने फङ्सन पनि कानुनले चिन्दैन । मार्जिन कर्जा दिनको लागि प्रभावकारी ऐन नै आवश्यक भएपनि एउटा सामान्य निर्देशिककाबाट चलाउन खोजिएका छ । यस्ता विषयमा पनि काम गर्नुपर्ने छ । तर, सेवोनको अध्यक्ष भएर जाने व्यक्तिले यस्तो काम गर्छ भनेर आशा गर्नु बेकार हुन्छ । किनभने १० करोड रुपैयाँमा किनेको पद उसले आफ्नो मर्जी अनुसार प्रयोग वा उपयोग गर्न पाउनु पर्छ । त्यसैले सेवोनमा अब रेवत कार्की आउने कम र भिष्म ढुंगाना आउने सम्भावना बढी छ । प्रभातजीका थप ब्लग सामाजिक संजाल हेरेर सेयर किन्नेहरुका नाममा

पुँजी बजारमा टेक्निकल टुल्स गलत छः मुक्ति अर्याल

पुँजी बजारमा प्रयोग गरिने टेक्निकल टुल्स प्रयोगकर्तालाई कसैले पनि फ्याक्ट नबताउने गरेको पाईएको छ, यो गलत छ । टेक्निकल टुल्स सिकाउँदा हाम्रो कन्टेक्समा यसका लिमिटेसन, डिसएडभान्टेज र रिक्सबारे सबै प्रष्ट बताउनु आवश्यक छ । हामीकहाँ टेक्निकल टुल्सको प्रयोगमा केहि समस्या छन् । तिमध्ये सबैभन्दा ठुलो समस्या भनेको स्टप लस हो । सेटलमेन्ट प्रोसेस २-३ (देखि ४/५ वा अझ बढी) दिन लाग्ने भएकाले कसैले पनि किन्ने बित्तिकै स्टप लस राख्न सक्ने अवस्था छैन । त्यो अवस्थामा किनेको दिनदेखि स्टकको प्राइस घट्न गएमा ट्रेडर्सलाई धेरै (२०-३० प्रतिशत वा अझ बढी पनि) लस हुने अवस्था छ । तर यो फ्याक्ट कसैले बताएको वा बताउने गरेको देखिँदैन । यो इथिकल र प्रोफेसनल अनेष्टी होइन । टेक्निकल टुल्स प्रयोग गर्दा स्टप लस गर्नसक्ने अवस्था हुँदैन भने त्यो अवस्थामा टेक्निकल टुल्स प्रयोग गर्नु हुँदैन । टेक्निकल टुल्सका लिमिटेसन, डिसएडभान्टेज र रिक्सबारे सबै प्रष्ट बताएको अवस्थामा कसैले यी टुल्स प्रयोग गरेमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार प्रयोगकर्ता नै हुनेछ। अन्यथा यसको नैतिक जिम्मेवारी सिकाउने व्यक्तिमा रहन्छ । टेक्निकल टुल्सको प्रयोगमा स्टप लस हुनैपर्छ । सो नभएको कारण टेक्निकल टुल्सको प्रयोग गलत छ । सेटलमेन्ट प्रोसेस ढिलो (मानौं न्युनतम २ दिन) भएको कारण स्टप लस नहुने र स्टप लस नहुँदाको अवस्थामा ट्रेडर्सलाई २० प्रतिशत वा सोभन्दा ज्यादा नोक्सानी हुन सक्छ । ट्रेडर्सले जानकारी राख्न आवश्यक छ । (पुँजी बजारबारे फण्डामेन्टल एनालाइसिस् गर्ने विश्लेषक अर्यालले समाजिक सञ्जालमा व्यक्त गरेका धारणा)

बैंकिङ नोकरी: घर बाहिरको जागिरको पीडा

आज पनि आखाँमा फिटिक्कै निन्द्रा छैन । मलाई थाहा छ, स्वास्थ्यको लागि दैनिक ६/७ घण्टा सुत्नु पर्छ । म सुत्न नखोजेको पनि होइन । अनिदो बस्न त कसलाई पो मन हुन्छ र ? फेसबुक जबरजस्ति कत्ति चलाउनु ? यो ब्लग लेख्नुको पछाडि मलाई निन्द्रा नलाग्नु पनि हो । अहिले मैले ल्यापटपमा लेख्दै गर्दा मेरो भित्तामा झुन्डीएको घडीले साढे बाह्र बजेको संकेत गरिरहेको छ । जागिर खाएपछि खटाएको कार्यक्षेत्रमा अवश्य जानुपर्दछ । यसमा दुइमत छैन । निक्कै बर्ष विराटनगर को घर पाएक नोकरी गरेपछि नयाँ परिवेश , नयाँ अवसर ,नयाँ जिम्मेवारी र चुनौतिहरु सामना गर्ने आफ्नै इच्छाले पुर्विपहाडको विकट क्षेत्र मैले नै रोजेको हो । फेरि नोकरी भनेको कामको साथ साथै जागिरको दौरान सरुवा भएर नयाँ नयाँ ठाउँ हेर्ने अवसर पनि हो । विभिन्न जात जाति धर्म भौगोलिक बिबिधता र प्राकृतिक छटाहाहरु सँगं परिचित हुने मौका पनि हो । नोकरीको दौडान बाहिर जाँदा र बस्दा आफ्नै एक किसिमको अनुभव र अनुभुति हुने रहेछ तर पारिवारिक पाटो पनि निक्कै गाह्रो हुने रहेछ । त्यसमा पनि बैंकको नोकरी बाहिर बस्दाको पीडा सम्झदा जिवनका कयौ पारिवारिक पाटाहरु छुट्ने रहेछन् । मलाई सम्झना छ, कोरोनाको कारण गत साल यातायातको साधन नचल्दा र सरकारले लकडाउन को आदेश दिँदा करिब ६ महना पछाडि मात्र घर जान पाएको तितो अनुभव । अनि घरको मुल गेट खोल्दै गर्दा दुई वर्षमा देखेको र छोडेको छोरी आब्या एक्कासि अढाई वर्षमा मलाई देख्दा अपरिचित भनेर भाग्दै डराएर मामु को मान्छे हो ? भनेर म तिर फर्केर सोधेको नमिठो अनुभव । नमिठो लाग्छ छोरिले नै बाबा नचिन्दा । मलाई यहाँबाट घर जान एक दिन पुरै लाग्ने र आउन एक दिन पुरै लाग्ने कारणले त्यसमा पनि बैंकको नोकरीमा भनेको बेला छुट्टि नपाइने हुनाले अक्सर ५÷६ महिनामा म घर जान्छु । घर जान पाए भने खुसि लाग्छ । भोलि घर जाने भनेपछि त्यो रात निन्द्रा नै लाग्दैन । ५/६ महिनामा घर जाँदा छोरी पहिले देखेको भन्दा निक्कै बढेकी हुन्छे । सानो लिचीको बिरुवा नर्सरीबाट ल्याएर अस्तिको पल्ट रोपेको थिएँ । यात्रामा बसभरी विरुवा कत्रा भए होलान् भनेर सम्झन्ना आउँछ । घर पुगि हेर्दा ओइलिएछ । पानी दिनै पिच्छे पटाउन बिर्षे छन् क्यारे । गुलाफको फूल पनि ओइलिएछ । घरको पर्खाल पनि चर्किन थालेछन् । सम्झाउने म पनि त घरमा छैन नि । फोनबाट भएपनि पानी पटाओ है भनेर सम्झाउनु पर्थ्यो । मैले पनि बैंकिङ नोकरीको व्यस्तताले बिर्सेछु । उनीहरुले पनि बिर्सिएछन् । कोरोनाको कारणले १५ दिन पाइने फोर्स लिभ पनि सबै बैकले नदिने भइसक्यो । घरको बुढी आमाको एउटै सपना छ, हरेक बुढाबुढिको जस्तै भारतको चारधाम तिर्थ यात्र गर्ने । यो साल लामो बिदा नपाएर हो । अर्को पल्ट आउँदा पक्कै तिर्थ लान्छु भनेर मेरी बुढी आमालाई मैले ढाँट्दै गाडी चढेर कार्यक्षेत्रमा फर्केको मलाई अझै सम्झना छ । नजिकैको छिमेकि मरेर दुःख लाग्छ । म यहाँ छ,ु मलामी जान पाइएन । आफन्त नातागोेताको घरमा बिवाह लागेको छ । फोनबाट सुन्छु र चित्त बुझाउँछु । यहाँ आफन्त पनि कोही छैनन् । मेरा सबै सम्वन्ध पेशागत हुन् । दिनभरि काउन्टरमा आउने मान्छेसँग रमाउन खोज्छु । मेरो बैंक भित्र कोहि केटाकेटी आए भने मेरो छोरी पनि यत्रै भइ होली जस्तो लाग्छ । बृद्घवृद्घा हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता लिन भत्ताको लाइन मा बसेको देख्दा मलाई ति चाहुरिएको अनुहारमा आफ्नै आमा देख्छु । प्रत्येक पटक घर ३/४ दिनको छट्टिमा जाँदा आफ्नै घर बिरानो लाग्छ । जाँदा हवर हवर नै हुन्छ । बिजुलको बिल नतिरेको ६ महिना भएछ। घर जग्गाको कर नतिरेको महिनौ भएछ । टेलिफोनको लाइन पनि नतिरेर काटिएछ । फ्रिज पनि बिग्रिएछ । घरमा यो साल चाहिँ रङ लगाउनु पर्ने छ खै भ्याइँन्छ वा भ्याइँदैन । बुढी आमा मात्र होइन घरको भित्ताहरुले पनि मलाइ नै खोजिरहेको छ । म भने यता अफिसको टारगेट पुर्याउन तल्लिन छु । पेशागत कर्तव्य र धर्म मान्दै । बैंकको काम गरेपछि महिनामा तलब आउँछ अनि किरानाको मासिक रासनको बिल तिरिन्छ । बैंकले घरको चुलो बालेको छ । अफिस त १० देखि ५ बजेसम्म लाग्छ । तर, अफिस सकिएपछि उकुसमुकुस हुन्छ । घुम्न जाने कतै ठाउँ पनि छैन । तास पनि खेल्न आउँदैन । रक्सि कहिल्यै खाइएन । उफ ! सम्झदा यो एकान्त गाह्रो र गाह्रो महसुस हुन्छ । साथी त एकान्तमा केबल भित्ताको घडी भएको छ । घडीको सुई चाँडो घुमे हुने नी । क्यालेन्डरको पन्ना चाँडो पल्टे हुने नी । दशैं आउन एक महिना पनि छैन । घर जान पनि कमै दिन बाँकी छ । यहाँ बसेको पनि चार वर्ष भएछ । एकै ठाउँ बस्दा बस्दै अब पट्यार लाग्न थालिसकेको अब त घर पायक नै ट्रान्सफर भए हुने नी काम कति बाँकि छ । ट्रान्सफर भइहाले घर नजिक भए आमालाई तिर्थ लाने थिएँ । सधैँ पानी पटाइ ओइलिएको गुलाफहरु फुलाउने थिएँ । अनि नजिकैको मन्दिरको देवतालाइ चढाउने थिएँ । अब त छोरी पनि बाबा खोज्छे । उ सँग साँझमा खेल्ने थिएँ । घरका भित्ताहरु रङ्ग्याउने थिएँ । अनि फुल फुलाए जसरी फुलाउने थिएँ, मेरो ओइलिएको बैंकर परिवार ।