देश रोइरहेको छ …
विगत ५७ दिनदेखिको लामो लकडाउनले हामी सबैलाई आफ्नो देशको माया र चिन्ताले सताएको छ । हालसम्म स्वास्थ्य मन्त्रालयको विवरणअनुसार कोरोना भाइरस (कोभिड-१९) महामारीले गर्दा ४०२ जनामा सङ्क्रमित देखिएको छ भने दुई सङ्क्रमितको मृत्यु समेत भइसकेको छ । धेरै लामो समय भइसक्यो हामी घर बसेको, त्यही भएर अनेकाैं किसिमका दोषारोपण गर्न भ्याएका छौँ । लामो समयदेखि कलकारखाना, स्कुल, अस्पताल, सरकारी अड्डाहरू, बैंंक, इन्सुरेन्स, यातायात तथा बजार पूर्णरुपले बन्द अवस्थामा छन् । धेरैले रोजगारी गुमाऐका छन् भने धेरैलाई छाक टार्न हम्यहम्य भएको अवस्था छ । हामीले कहिल्यै बिर्सनुहुन्न कि हामी दुई ठूला शक्तिशाली राष्ट्रको बीचमा रहेका राष्ट्र हौं भनेर, यो यथार्थता बिर्सन हुँदैन कि ठूला माछाले साना माछालाई पक्कै खान्छ वा यसो भनाैं कहिल्यै राम्ररी बस्न दिन्न । यथार्थ पनि यही नै हो कि दुई ठूला राष्ट्रले नेपाललाई जहिले पनि हेपेर, अस्थित्व नै मेट्ने गरी काम गरेको छ र हामी सबै मुकदर्शक भएर टोलाएर हेर्न बाध्य भयौं र हुन्छौं । अहिले पनि लिम्याधुरा, लिपुलेक, कालापानीजस्ता नेपालको भूभागमा सडक खन्नु र उद्घाटनसम्म गर्न भ्याउनु तथा हाम्रो देशको उच्च शिखर सागरमाथा हम्रो देशमा पर्छ भनेर चीनले आफ्नो राष्ट्रिय दैनिक पत्रिकामा छाप्नु त्यो पनि यस्तो कोरोना भाइरस (कोभिड-१९) माहामारीको अवस्थामा तथा संसार रोइरहेको बेलामा । यस हिसाबले हेर्दा हामीमध्ये कसैलाई थाहा छैन भोलि हाम्रो अस्तित्व रहन्छ कि रहँदैन । दुई ठूला राष्ट्रले अरुको भूमि र मातृत्वलाई सखाप पार्ने गरी हामीलाई हाम्रै मुलुकमा बन्दीको जीवन बाच्न बाध्य बनाउन खोजेका छन् । लेखक सबैलाई थाहा छ, हामीलाई हाम्रो परिवारले राम्रो र नराम्रो खाले बानीको लागि हामीलाई सचेत तथा गाली गर्नु हुन्छ । झन्डै ३० लाख (भारत बाहेक) नेपाली संसारभरी छरिएर बसेका छन् र हाम्रै नेपाली छोराछोरीले पठाएको रेमिटेन्सले गर्दा देश आर्थिक संकटबाट जोगिएको यथार्थ सबैलाई अवगत नै छ । विदेशी भूमिमा बसेर काम गर्नसक्ने अवस्था नभएकाले आज खाडी मुलुकबाट झन्डै पाँच लाख नेपाली आफ्नै देशमा फर्किन खोजेको र गुहार गरेको अवस्था छ । हामीले उनीहरुलाई फर्किने व्यवस्था मिलाउन सकेका छैनौं । हिजो हाम्रो नेपाली दाजुभाइ, दिदीबहिनीले आफू ४५०/५०० तापक्रममा १४/१४ घण्टा काम गरेर आफ्नो परिवारलाई पाले, त्यसबेला हामीले उहाँहरुकै पैसाले हाम्रो अर्थतन्त्र धानेको छ भनेर भन्न हामी कन्जुस्याइँ गरेनाैं तर उनै नेपाली दाजुभाइ, दिदीबहिनी आज हामीसँग सहारा मागेका छन् तर हामी सहारा दिनसकिरहेका छैनौं । यो हाम्रो देशको लागि किन पनि आवश्यक छ भने देशको कुल रेमिटेन्समा खाडी मुलुकबाट भित्रिने रेमिटेन्सको ठूलै भूमिका छ । हामीले हाम्रो नागरिकको व्यवस्थापन जसरी भए पनि गर्नै पर्छ, अरु राष्ट्रले पनि आफ्नो नागरिकको व्यवस्थापन गरिरहेको यथार्थ हामीमाझ छ । प्रधानमन्त्रीले केही दिनअघि एक प्रसङगमा भन्नुभएको थियो-पहिले हामी मानव रहे पो अर्थतन्त्र जोगिन्छ, नरहे केको लगि अर्थतन्त्र चाहियो । प्रधानमन्त्रीको यो कुराले धेरैको मनलाई भावबिव्हल बनायो । देशको प्रधानमन्त्रीले नै यसरी निष्ठुरी कुरा गरेपछि विदेशमा कतिबेला स्वदेश फर्किन पाइएला भनेर आशा गरेका नेपालीको मनमा कस्तो चोट पुर्याउला ? अब एकछिन छिमेकी राष्ट्र भारत र खुल्ला सिमानाको प्रसङ्गलाई जोडौं, प्रायःजसो सधैँ झै हामीले आज यति भित्रियो आज उति भित्रियो तर हाम्रो तीन दिशाका सिमाना खुल्ला छन् हामीमध्ये जो कोही पनि खुल्ला सिमानामा आवतजावत गर्न सक्छन् र जसरी पनि भित्रीहाल्छन् किनकी हाम्रो सरकारसँग यसलाई रोक्ने कुनै संयन्त्र नै छैन् । यस सङ्कटको घडीमा वा भनौं कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा नेपाल सरकारले सबैको नागरिकता तथा मतदाता परिचयपत्र चेकजाँच गर्ने ब्यवस्था मिलाउन सक्नु पर्दथ्यो, छरछिमेकी तथा घरमुलीले पनि कुनै हालतमा पनि गैरनेपाली नागरिकलाई आफ्नो घरभित्र पस्न दिनु भएन । ससँगसँगै सरकारको आज्ञा पालना नगर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कारवाही, दण्ड तथा सजाय को ब्यवस्था गर्नुपर्थ्याे । भएभरको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र बलजस्ता सुरक्षा निकायलाई तीनवटै नाकामा उचित ब्यवस्थाका साथ बस्ने तथा देशको अस्थित्व बचाउने जिम्मा दिनु पर्थ्याे । भित्री जिल्लाहरु तथा शहरहरुलाई सुरक्षा चाहिन्छ ? संसार नै मानव स्वास्थ्यको समस्याले जुधिरहेको बेला र रोइरहेका बेलामा पनि हामी एकजुट भएर सामना गर्ने प्रयत्नसम्म गरेनौं ? एउटा सानो उदाहरण लिऔँ, जस्तो कि घरमा कोइ मर्न थाल्यो भने हामी आफैं त्यसको ब्यवस्थापन गर्छौं, न की छिमेकीले गर्छन्, हाम्रो घरमा कसैलाई सरुवा रोग लाग्यो भने त्यसको ब्यवस्थापन पनि आफै गर्छौं तर सावधानीका साथ । आज हाम्रो देशलाई पनि पुनः सोच्नु पर्ने बाध्यता आइपरेको छ । संसारभरि छरिएर बसेका नेपाली दाजुभाइ, दिदीबहिनीले आफ्नै देशमा आउन पाउँ भनी गुहार गर्दैछन् हामीले हाम्रा नागरिकलाई आफ्नै देशभित्र बस्न दिनै पर्छ तर कडाईका साथ चेकजाँच गरी । हामी आफ्नो तर्फबाट सम्पूर्ण सावधानी राखी यो संकटसँग सबै मिली जुधौँ । देशभित्र तथा घरभित्र बसेर सरकारलाई सहयोग गरौँ । सरकारले पनि गरीब वा गरीबमुनि भएका नागरिकको पारदर्शी रूपले राहतको उचित ब्यबस्थापन मिलाउनै पर्छ, राहतमा कुनै सानो भूलचुक भयो भने हदैसम्मको कारवाही दिनुपर्छ । साथै, राहतका सम्पूर्ण काम बैंक/डिजिटल प्राविधिमार्फत गरिनुपर्छ, डिजिटल पूर्वाधार तथा २४ सै घण्टा विद्युत/बैकल्पिक ऊर्जाको ब्यवस्था मिलाउनै पर्छ, हरेक क्षेत्रलाई मध्यनजर राख्दै विकासका खाका कोर्नै पर्छ । आफ्नै देशभित्र रहेका दक्ष जनशक्ति/विशेषज्ञलाई राखी कोरोना भाइरस (कोभिड-१९) माहामारी पछिको खाका बनाउनु पर्छ, । सबै मजदुरलाई समेट्ने गरी कृषि आधुनीकरण, हाइड्रो पावर तथा पूर्वाधार विकासका मोडेलहरू सिर्जना गरिनु पर्छ । संसारभरिका संघसंस्था तथा दातृ निकायलाई कोरोना भाइरस (कोभिड-१९) माहामारीबाट जोगिन आर्थिक तथा प्राविधिक सहयोग गर्न विनम्र अनुरोध गरिनुपर्छ् । यस्तो अवस्थामा एकले अर्कालाई आरोप लगाउनुभन्दा कसरी यो महामारीबाट बच्न सकिन्छ र देशलाई विकासको बाटोमा अविचलित अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई नै मूलमन्त्र बनाउनु पर्दछ । यस संकटको घडीमा देशलाई माया गर्न सिकौं, किनकी आज देश रोइ रहेछ ……..! लेखक- ऊर्जा बिज्ञ
आत्मनिर्भर अर्थतन्त्रलाई साकार पार्न महिला उद्यमशीलताको विशेष भूमिका
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको असर अन्तराष्ट्रिय श्रम बजारमा एकदमै नकारात्मक परेको छ । विश्वका विभिन्न मुलुकहरुको विकास खर्चमा भारी कटौती गर्दा श्रम गन्तव्य राष्ट्रहरुमा श्रमिकको माग एकदमै न्युन भएको छ र कतिपय राष्ट्रले श्रमिक कटौती गर्दा स्वदेशमा फिर्ता गर्ने अभियान समेत चलाएका छन् । यसले गर्दा नेपाल जस्तो अल्प विकसित राष्ट्र जसको विप्रेषणको हिस्सा जीडीपीमा महत्वपूर्ण हुने राष्ट्रलाई प्रतिकुल असर गरेको छ । विप्रेषणमा आएको कमीले नेपालको विदेशी मुद्रा सञ्चिति तथा अन्तराष्ट्रिय व्यापारमा नकारात्मक असर पर्न गई देशको अर्थतन्त्रमै गम्भीर समस्या पर्न सक्दछ । नेपालमा वैदेशिक रोजगारीले बढेको विप्रेषण आप्रवाहले आम मानिसको जीवनस्तर उकासेको छ । महिलाहरु हाल उद्यमशीलता तथा व्यवसायमा त्यति आकर्षित भएको पाइदैन । विप्रेषणबाट आउने रकम घर खर्च तथा दैनिक जीविकोपार्जनमा अधिक खर्च हुने र पुँजीगत खर्च तथा बचत कम रकम हुने हुनाले समेत विप्रेषणबाट आएको रकम सही ठाउँमा सदुपयोग नभएको हो कि भन्ने आभाष हुने गरेको छ । विप्रेषण आप्रवाहले सामाजिक जीवन भड्किलो बनाएको छ र यसले महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्ने भन्दा पनि घर व्यवहार र पारिवारिक हेरचाहमै सीमित गरेको छ । यसले भविष्यमा महिलाहरुको जीवनमा गम्भीर असर गर्ने निश्चित छ । लेखक वर्तमान अवस्थामा नेपालमा दैनिक घरयासी प्रयोजनमा प्रयोग हुने सामानहरुको आयात बढ्दो छ । यसले प्रत्येक वर्ष अर्बौको रकम विदेश पलायन हुने स्थिति छ । घरेलु तथा मझौला उद्योगबाट उत्पादन हुने सामानहरुको उत्पादनमा महिलाहरुको सहभागिताले महिलामा उद्यमशीलता बढ्ने साथै सामाजिक कुरिति तथा पारिवारिक बेमेलको समस्या समेत निकारण भई महिला उद्यमशीलताले समाजमा दोहोरा प्रभाव पार्ने निश्चितै छ । नेपाल सरकारले २०७७/७८ को नीति तथा योजना संसदमा भर्खरै पेश गरेको छ र यसमा संसदको पूर्ण बैठकमा एजेण्डाको रुपमा विशेष छलफल भैरहेको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई आधुनिकीकरण गरी दश वर्षमा दोब्बर गर्ने लक्ष्य लिएको छ । साथै, फजुल खर्च रोक्ने, वित्तीय अनुशासन कायम गर्ने, रोजगारी गुमाएका नागरिकहरुको सदुपयोगिता गर्ने, रोजगारी श्रृजना गर्ने र आम्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्य प्राथमिकताको साथ पेश गरेको छ । यसर्थ सरकारले कल्पना गरेको निश्चित छ । राष्ट्रिय योजना आयोगले नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्न भर्खरै मात्र सुचना जारी गरेको छ । विभिन्न व्यवसायको नविनतम ज्ञान, सीप, योजना तथा क्षमता भएका र स्वपुँजी नभएको युवाहरुलाई उद्यमशीलता तर्फ आकर्षण गर्न सरकारले शुरुवाती पुँजी अनुदान दिने निर्णय गरेको छ । साथै नेपाल सरकारले महिला उद्यमशीलता कर्जामा छ प्रतिशत व्याज अनुदान दिएर पन्ध्र लाखसम्म कर्जा सरल ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन बैंक वित्तीय संस्थाहरुलाई निर्देशन समेत जारी गरिसकेको अवस्थामा स्वपुँजी नभएर महिलाहरु उद्यमशीलतातर्फ आकर्षित नहुने समस्या निराकरण हुने निश्चित प्राय नै छ । नेपाल सरकारले महिलाद्धारा उत्पादन गरिएको वस्तु तथा सामानहरुको बजार व्यवस्थापन गर्नु पर्दछ । बजारमा केही लागत महंगो भएता पनि उत्पादन भएका वस्तुको बिक्रीको जिम्मेवारी सरकारले लिएर महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षण गर्न सकिएमा घर भान्सा र पारिवारिक माहोलमा सीमित भएको महिलाहरुले देशको अर्थतन्त्रमा समेत ठुलो हिस्सा योगदान गर्न सक्नेछन् । साथै महिलाहरुले विभिन्न नियमाक निकायहरुबाट झेल्ने समस्याहरुको समाधान गर्न समेत सरकारले विशेष ख्याल गर्नुपर्ने देखिन्छ । हाल नेपाल सरकार २०७७/७८ को बजेट तयारीमा तिव्र रुपमा लागि रहेको छ । हाल महिलाको नाममा दर्ता भएको व्यवसायहरुको दर्ता तथा नविकरण शुल्कमा केही राहात भएता पनि व्यवसायिक प्रतिष्ठान र महिलाद्धारा संचालित सामान्य घरेलु व्यवसायले तिर्नु पर्ने कर रकम बराबर रहेको छ । यसतर्फ विशेष ध्यान दिई महिलाद्धारा प्रवर्तित व्यवसायमा केही कर छुट तथा राहात दिएमा समेत महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न सकिने छ । यसर्थ हालको प्रतिकुल अवस्थामा देशको अर्थतन्त्रले नै समस्या भोगिरहेको र आन्तरिक उत्पादन न्युन तथा आयात केन्द्रित अर्थतन्त्रलाई उत्पादनमुखी र निर्यातमुखी बनाउन महिला उद्यमशीलता विकास गर्ने उपयुक्त समय हो । विभिन्न राष्ट्रले श्रमिक कटौती गर्दा देशमा बेरोजगारी बढ्न गई सामाजिक विचलन आउन सक्ने र समाजमा पर्ने नकरात्मक असर न्युनिकरणको लागि समेत महिलालाई घरेलु तथा मझौला उद्योग तर्फ आकर्षण गर्ने र निर्वामुखी खेती प्रणालीबाट आधुनिक कृषि प्रणाली तर्फ परिवर्तन गरी महिला उद्यमशीला विकास गर्न सके अहिलेको विशम परिस्थिति देशको लागि सुवर्ण अवसर बन्न सक्नेछ ।
बीमा शुल्क ५० प्रतिशतसम्म बढ्न सक्ने
आजसम्म बैश्विक महामारीको उदाहरण लिनु पर्दा सन १३४६–१३५३ को अवधिमा युरोप एशिया र अफ्रिकामा फैलिएको प्लेगले मृत्यु हुनेको संख्या २ करोडको अनुमान गरेका छन् । त्यस्तै धेरै ज्यानको नोक्सानी को कुरा उठाउँदा स्पेनिस फ्लुबाट मृत्यु हुनेको संख्या आधिकारिक ५ करोड भनिन्छ, अन्दाज गर्नेले यो संख्यालाई आधामात्र भन्छन् । हालको सन्दर्भमा कोविड–१९ ले २०० भन्दा धेरै देशमा आफ्नो प्रभाव देखाईसकेको छ । कतै भर्खरै सुरु भएर फैलिदै छ भने कहि नियन्त्रणमा आएको छ । मृत्यु हुनेको संख्या पुराना महामारीको तुलनामा धेरै कम भए पनि संसर्गबाट सर्ने हुनाले विश्व जनसंख्यालाई घर भित्र बस्न बाध्य पारेको छ । कोभिड–१९ बाट दैनिक जीवनचर्याको अस्तव्यस्तका साथै आर्थिक क्षेत्रमा पर्ने असरलाई बीमाका दृष्टिकोणले हेर्दा बीमाङ्कको रकम मूल्याकंन कम भएर प्रिमियम घट्ने देखिन्छ । महामारीको प्रभाव कायम रहेको र विश्वका करिब करिब सबैजसो देशमा यसबाट बच्ने उपायमै ध्यान केन्द्रित गरेको बेलामा अर्थतन्त्रमा परेको र पर्ने असरको मूल्याकंन गर्न पर्खिनु नै पर्नेछ । बीमा व्यवसायीहरुको कुरा सुन्दा महामारीबाट पर्ने नोक्सानीको कभरेजलाई ३० देखि ५० प्रतिशतसम्म प्रिमियम बढ्न सक्ने आंकलन छ । सबै उद्योग धन्दा, वित्तीय बजारलाई चपेटामा परेकोले बीमा गर्न पहिलेभन्दा प्रिमियममा रकम धेरै खर्च गर्नुपर्ने हुने संकेत छ । पुनर्बीमा नै एक त्यस्तो माध्यम हो जुन बीमा कम्पनीले आफ्नो दायित्वको अंश अर्कोलाई बुझाउछन । यस्तो गर्दा भविष्यमा पर्न सक्ने दावीबाट निश्चिन्त भइ बीमा कम्पनी आफ्नो कारोवार बढाउन सक्नेछन् । यसो भन्दैमा सबै जोखिमको भारवहन गर्न पुनर्बीमक कम्पनी तैयार हुदैन । जोखिम बहन गर्ने केहि सिद्धान्त हुन्छन् । बीमाले सम्भवतः हुन सक्ने जोखिम न्युनिकरणको पुनर्बीमा रकम धेरै बीमा गरेर आर्जन गर्ने र जोखिम हुन सक्ने वा नहुने वा केहि मात्रामा मात्र असर गर्ने जोखिम लिने वा नलिने निर्णय गर्छ । कति देशहरुमा सरकारको निर्णयलाई स्वीकार गरी बीमा कम्पनीले जोखिम बहन गर्छन भने कतिको पुनर्बीमक उपलब्ध हुन्छ । हाम्रो देशमा सरकारले निर्णय गरेको र बीमा समितिको पहलमा जोखिमको बीमा गर्न तत्कालको उपाय ‘पुलिङ’ गरेको देखिन्छ । जहाँ सबै बीमा कम्पनीले मिलि बराबारको हिस्सामा जोखिम बहन गर्छन । यसमा नेपाल पुनर्बीमा कम्पनीले मुख्य भूमिका निर्वाह गरेको छ । कोभिड–१९ को स्वस्थ्य बीमाको लागि पनि यही तरिका अपनाइएको छ । नेपालमा पुनर्बीमा कम्पनीको सम्झौतामा विषम महामारीको कभर नहुने भन्ने उल्लेख भएको हुँदा महामारीको कारण नेपाली बीमा बजारमा क्षति कम हुनेछ । कोभिड–१९ बाट दैनिक जीवनचर्याको अस्तव्यस्तका साथै आर्थिक क्षेत्रमा पर्ने असरलाई बीमाका दृष्टिकोणले हेर्दा बीमाङ्कको रकम मूल्याकंन कम भएर प्रिमियम घट्ने देखिन्छ । बीमा व्यवसायीहरुको कुरा सुन्दा महामारीबाट पर्ने नोक्सानीको कभरेजलाई ३० देखि ५० प्रतिशतसम्म प्रिमियम बढ्न सक्ने आंकलन छ । यस बाहेक हामीले सुन्दै आएको विषम महामारीको आर्थिक रुपमा पर्ने असर र बीमामा आएका दाबीमा धेरै जसो अमेरिका, क्यानाडा, युरोपियन मुलुकहरुमा बढि देखिन्छ, ती देशहरुमा स्वास्थ्य बाहेक व्यापारिक अवरोध, कार्यक्रम अवरोध जस्ता जोखिम पर्छन, जसकोे प्रचलन एशियन तथा अफ्रिकन बजारमा कम छ । विषम महामारीको क्षति अमेरिकी डलर १४० अर्बको अनुमान विलिसको रिर्पोटमा देखिन्छ जुन अमेरिकाको वल्र्ड ट्रेड सेन्टरको सेप्टेम्बर २००१ को क्षति, अमेरिकी डलर ८८.५ अर्ब रहेकोमा सम्पत्ति, व्यक्तिगत दुर्घटना (क्रेडिट कार्ड सम्बन्धी) बीमा, जीवन बीमा, हवाई बीमा सहितको बीमांक भन्दा कैयौ गुणा बढी हुने देखिन्छ । जसमा जीवन बीमाले ३० प्रतिशत, स्वास्थ्य बीमाले ३० प्रतिशत, दायित्व बीमाले १० प्रतिशत, व्यापरिक अवरोधले २५ प्रतिशत, अन्य ५ प्रतिशत अनुमान गरिएको छ । धेरै पश्चिमा मुलकबाट आएका क्षतिहरु (अमेरिका, ग्रेट ब्रिटेन र युरोपियन युनियन) व्यापारिक अवरोध, आकस्मिक, निर्देशक र अधिकृत, सामूहिक दायित्व, क्रेडिट कारोवार, कामदारहरुको क्षतिपूर्ती लगायत सबै प्रकारका जोखिमहरु समावेश गर्दा अमेरिकी डलर ११ अर्र्ब बराबारको क्षति देखाएको छ । लकडाउन समयको क्षतिलार्ई अमेरिकी डलर ३२ अर्बमा अन्दाज गरिएको छ जसमा सामूहिक दायित्व, कामदारहरुको क्षतिपूर्ती आदिको क्षति अमेरिकी डलर ९० अर्ब अन्दाज गरिएको छ । यसै गरी समग्र अमेरिका, ग्रेट ब्रिटेन र युरोपियन युनियनको क्षतिको अन्दाज गरिएको छ । पुनर्बीमकबाट दावी भुक्तानी अति चुनौतिपूर्ण हुनेछ, केही पुनर्बीमकले पश्चिमि मुलुकका ठूूलो क्षति व्यवहोर्नु पर्नेछ जसको असर भविष्यमा विश्वमा देखिनेछ । वास्तवमा पुनर्बीमाका सम्झौताका शब्दहरुले क्षतिपूर्ती के–कसरी हुने अर्थ लाग्छ । कोभिड–१९ पछाडिका समय उद्योगमा विभिन्न प्रकारको असर पर्न सक्ने छ । आर्थिक क्रियाकलापमा ह्रास आउनाले बीमा शुल्क घट्नेछ, बीमकको वृद्धि सुस्त हुन्छ जसले अन्डर राइटिङ, लगानी पोर्टफोलियो सुस्त हुन्छ । व्याजदर तथा इक्विटी घट्नाले यसको बजन बीमा बजारमा पर्नेछ । तर निर्जीवन बीमामा शेयर बजारको उत्तर चढाव हुन्छ, किनकी उनीहरुले चालु पुँजी, प्राकृतिक तथा दैवी प्रकोपको लागि तयार राख्नुपर्र्ने हुन्छ। त्यस्तै, अफ्रो एसियन बजारमा आउने जोखिमको प्रकृतिमा स्वास्थ्य, जीवन, तथा दायित्व योजना अलग अलग प्रकारका हुनेछन । कुल ग्राहस्थ उत्पादन घट्नेछ । जोखिमको व्यवहार बदलिनेछ । आउदो नविकरणमा पुनर्बीमाको प्रकृतिमा रुपान्तरण हुनेछ । कोभिड–१९ले बीमा कम्पनीहरुको ब्यालेन्स सिटमा अल्पकालिन असर पार्नेछ । वित्तीय बजार दुर्घटना, शेयर लगानीमा विशेष कमी हुनेछ । घट्दो धितोपत्रले लगानीबाट आय घट्नेछ । सल्भेन्सी रेसियोमा असन्तुलन हुनेछ । बीमा शुल्क (प्रिमियम) भुक्तानीको समयमा ढिलाई तथा ग्राहक÷विमितको इन्सल्भेन्सीले थप दबाब पर्न सक्नेछ । बीमा बजारमा मध्याकालिन प्रभाव पनि हुने छ । उच्च बीमादरको लागि निरन्तर प्रयास हुनेछ । बीमा कम्पनीहरुले क्षतिपूर्ति दिनका लागि जतिसक्दो बीमा शुल्क (प्रिमियम) वृद्धि गरि बजारमा दबाब सिर्जना गर्ने छन । ग्राहक संख्याको आधार कमी हुने देखिन्छ । गाभिने र प्राप्ति गतिविधि बढ्ने देखिन्छ । केही बीमाका शिर्षकमा जोखिम बहन गर्न सक्ने क्षमता ह्रास आउने छ । पुनर्बीमा कर्तामा पर्ने प्रभाव कोरोना भाइरसको फैलावटबाट उत्पन्न वित्तिय बजार व्यवधानले पुनर्बीमा क्षेत्रलाई पनि असर गर्छ । इक्विटि तथा क्रेडिट बजारमा दीर्घकालिन तनावको साथै व्याजदरमा गिरावटको कारणले आम्दानी कम हुनेछ र पुनर्बीमाकर्ताहरुको पुँजी असन्तुिलत हुनेछ । पुनर्बीमा कम्पनीहरुको श्रेणी विश्लेषक एजेन्सीले व्यवासयको आकार हेरी पुनर्बीमा कम्पनीहरुको स्तर घटबढ हुन सक्छ । सबैभन्दा ठूलो आगामी कार्यक्रम टोकियो ओलम्पिक जुलाईमा शुरु हुन लागेको थियो, सो कार्यक्रम २०२१ सम्मको लागि सारिएको छ । विज्ञहरुका अनुसार यस कार्यक्रमका लागि बीमा कम्तीमा अमेरिकी डलर २ अर्ब रहेको छ । जोखिम धेरै बीमा र पुनर्बीमा कर्ताहरुबीच फैलिएको छ तर केही पुनर्बीमकहरुको लाखौ डलरको एक्सपोजर देखिने छ जुन हालको वार्षिक आयको अर्थपूर्ण अनुपात बराबर हुन्छ । पुनर्बीमकहरुले आफ्नो आर्थिक सुधारको लागि उच्च बीमांक दरद्धारा बीमा कम्पनीहरुसँग असुल गर्नका लागि दररेट सँगसँगै नयाँ नीतिद्धारा क्षतिको दायरा घटाउने कोसिस गर्छन ताकि बीमा दाबी कम होस् । नेपाल यो चपेटाको अपवादमा पर्न सक्दैन र अब आउने आर्थिक वर्षको पुनर्बीमा सम्झौतामा पर्ने असर देख्न पाइने छ । प्रकृतिको नियमानुसार हरेक जोखिम र प्रकोपले नयाँ नयाँ जोखिम बहन गर्ने उपाय पनि सिर्जना गर्छ तसर्थ हामी हाम्रो बीमा क्षेत्रले पनि आफ्नो क्षेत्र बढाउदै लैजानु पर्ने देखिन्छ ।