धितोपत्र बोर्डको भूमिका राष्ट्र बैंकले खेल्यो तर, एकदमै सह्रानिय छ: प्रकाश तिवारीको विचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ ११ गते मंगलबार एक सर्कुलर जारी गरी बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजार मार्फत एक वर्षभन्दा कम अवधिको लागी सेयर किनबेच गर्न नपाउने नयाँ व्यवस्था गरेको छ । यससँगै उनीहरुले लघुवित्तको साधारण सेयर किन्न नपाउने र यसअघि किनेको सेयर २०७८ पुस मसान्तसम्ममा बिक्री गरिसक्नुपर्ने भन्ने राष्ट्र बैंकको निर्देशन रहेको थियो । सामान्यतः नेपाल राष्ट्र बैंकले गरेको निर्देशनले मात्र दुई वटा कुरामा असर गर्छ । एउटा सेयर बजारको विकासमा र अर्को सेयर मूल्यमा । चाहे त्यो सकारात्मक होस् या नकारात्मक । तर मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात राष्ट्र बैंकले जेठ ११ गते जारी गरेको निर्देशनले सेयर बजारको विकासमा दीर्घकालिन रूपमा सकारात्मक प्रभाव पार्छ भने तत्कालकाे लागि सेयर मूल्यमा नकारात्मक असर पर्न सक्छ । यसकारण नकारात्मक असर पर्छ बैंकहरुले सेयरमा लगानी गर्न नपाउँदा तत्काल अर्थात अल्पकालिन रुपमा मूल्यमा असर पर्न सक्छ नै । किनभने पछिल्लो समय बैंक पनि एउटा राम्रो ठूला कारोबार भएर सेयर बजारमा निस्किएका थिए । बैंकभन्दा पनि विशेष त फाइनान्स कम्पनी र विकास बैंकहरु, जसले हाइड्रोपावर, नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीमा लगानी गरिरहेका हुन्छन् । बैंकको यो व्यवस्थासँगै हाइड्रो लगायत माइक्रोफाइनान्सको सेयर मूल्यमा तत्कालको लागि नकारात्मक असर देखिन्छ । यस्तो छ सकारात्मक प्रभाव तर राष्ट्र बैंकले ल्याएको जुन नीतिगत व्यवस्था छ, त्यो सेयर बजारको समग्र विकासको लागि एकदमै सराहनीय छ । यसले अल्पकालिन रुपमा सेयर मूल्यमा तलमाथि भएपनि बजारलाई दीर्घकालिन बनाएर लगानीकर्तालाई दीर्घकालिन रुपमा फाइदा गर्छ । किनभने बैंकको आफ्नो कोर काम भनेको निक्षेप संकलन गरेर कर्जा दिने नै हो । तर, त्योभन्दा सजिलो अहिलेको अवस्थामा सेयर बजार बढेर पैसा कमाइन्छ भन्ने उद्देश्यले बैंक तथा फाइनान्सहरुले आफ्नो प्राथमिक ध्यानलाई नै डाइभर्ट गरेर लगानी गरिरहेका थिए । धिताेपत्र बाेर्डले खेल्नु पर्ने सबै भूमिका राष्ट्र बैंकले बैंक र सेयर बजारको आआफ्नो छुट्टा छुट्टै रोल हुन्छ । त्यसैले, बैंकले जे काम गर्ने हो त्यो गर्ने र सेयर बजार भनेको सेयर बजारकै लगानीकर्ताले लगानी गर्ने ठाउँ हो भन्ने उद्देश्यले राष्ट्र बैंकले यो रोल खेलेको हो । वास्तवमा यसमा रोल खेल्नु पर्ने धितोपत्र बोर्डले हो । तर बिडम्बनाको साथ भन्नुपर्छ, नेपालमा जहिलेदेखि पुँजीबजारको नियामकको रुपमा धितोपत्र बोर्ड रहेको छ उसको नेतृत्व हालसम्म पनि निकम्मा नै रहेको छ । जसले सेयर बजारका लगानीकर्ताको इन्ट्रेस्टलाई प्रोटेक्ट गर्ने हो भन्ने पनि बुझ्दैन । बजारमा खुल्लेआम इन्साइडर ट्रेडिङ्ग भइरहेको हुँदा त्यसलाई रोक्ने खालका त्यससम्बन्धित नीति बनायो भने क्षणिक मार्केट घट्ला, केही लगानीकर्ताले केही दिन गाली गर्लान् तर यसले दीर्घकालिन रुपमा त आम लगानीकर्ता लगायत समग्र बजारलाई नै माथि पुर्याउन अवश्य नै मद्दत गर्छ । त्यसैले, नियामकको संरचना तथा नियामकको पक्षबाट प्रभावकारी संस्था भनेको राष्ट्र बैंक नै हो । जसले जुनसुकै नीति पनि मार्केटमा चाहिएको अनुसार अर्थात समय सापेक्ष अनुसार नै हस्तक्षप गरिरहेको हुन्छ । दुःखद पक्ष के छ भने सेयर बजारमा विकृत भएका सबै पाटो राष्ट्र बैंकले हेर्नुपर्ने भएको छ । जुन, काम धितोपत्र बोर्डको हो । बोर्डले नगरेपछि राष्ट्र बैंकले गर्नै पर्यो । यो भन्दै गर्दा राष्ट्र बैंकले बजारमा देखिएका सबै विकृतिहरुलाई एड्रेस गरिरहेको छ त भन्दिन । अब राष्ट्र बैंकले फेक अकाउन्टहरुलाई छानविनको रुपमा ल्याउनु पर्ने हुन्छ । अर्को, कुनै पनि कम्पनीका टप लेभलका मानिसहरु जसले मर्जरको हल्ला चलाएर खुल्लेआम कारोबार गरिरहेका छन् । जस्तै, हालैको उदाहारण हेर्ने हो भने पनि जनरल इन्स्योरेन्सको सञ्चालकले आफै कम्पनीको सेयर किनेको भनेर उनलाई सञ्चालक पदबाट नै हटाईयो । बीमा समितिले हटाउन त हटायो तर त्यो बाहेक अन्य कुनै काम भएन । त्यसैले, राष्ट्र वाणिज्य बैंकले बैैंकहरुको सेयर कारोबार रोकेजस्तै अब बीमा समितिले पनि बीमा कम्पनीहरुको रोक्नु पर्छ । उनीहरुले लगानी गर्न पाउनुपर्छ तर सबै छोडेर होइन की कति प्रतिशत गर्नु भनेर तोकिनु पर्छ । यो विषयमा एक्स्न लिनुपर्ने त धितोपत्र बोर्डले हो तर…। राष्ट्र बैंककाे याे कदम एकदमै अपरिहार्य यो नयाँ पोलिसी एकदमै अपरिहार्य थियो । जुन राष्ट्र बैंकले ल्यायो । यसको लागि धन्यवाद । र, बीमा समितिहरुले पनि यस्ता खालका पोलिसीहरु ल्याउनुपर्छ । यो बाहेक कर्मचारीहको सहभागिता, सञ्चालकहरुको सहभागिता, लगानीकर्ताहरुको फेक अकाउन्टहरु र इन्साइडर ट्रेडिङ्गको विषयलाई कडाई गर्ने खालका पोलिसी ल्याउन अतिनै अपरिहार्य छ । किनभने इन्साइडर ट्रेडिङ्ग भइराख्यो भने सबै सकिनेछ । औषत दिन बढ्दा कर्जा रकम घट्ने त्यसैगरी, राष्ट्र बैंकले सेयर धितो कर्जाको लागी पनि बैंक तथा वित्तीय संस्थाहरुले १८० दिनको औषत लिनुपर्ने नयाँ व्यवस्था गरेको छ । जुन अहिले १२० दिनको लिने व्यवस्था रहेको थियो । यो नयाँ व्यवस्थाले पनि सेयर बजारलाई असर गर्छ । कसरी भन्नुहुन्छ भने यो नीतिले सेयर धितो राखेर ऋण लिने लगानीकर्ताले पहिलेको भन्दा औषतमा ७ प्रतिशत कम कर्जा पाउँछन् । अर्को अर्थमा भन्ने हो भने १२० दिनलाई १८० दिन बनाउनु भनेको ७० प्रतिशतलाई ६३ प्रतिशत बनाए बराबर नै हो । यसको नकारात्मक असर बजारमा पर्छ । पहिले देखिनै राष्ट्र बैंकले सेयर बजार नचाहिने हिसाबले बढ्न थाल्यो भन्ने लगायत जुन पायो त्यही कम्पनीलाई कारोबार गर्न नदिने भन्ने व्यवस्था पनि गरेकै हो । हालसम्म बजारलाई हचुवाको भरमा छोड्न नदिन र अहिले कमाउने भन्दा पनि यसलाई दीर्घकालिन रुपमा कसरी दिगो बन्छ भन्नेमा सबै राष्ट्र बैंकले नै मोनिटर गरिरहेको छ । र, उसले नै एक्सन लिइरहेको छ । त्यसैले हालै राष्ट्र बैंकले गरेको नयाँ नीति एकदमै चित्त बुझ्दो छ । र, यो भन्दै गर्दा उसले गर्नुपर्ने काम यत्ति मात्रै हो भन्दिन । उसले समेट्नु पर्ने थुप्रै विषयहरु छन् । हुन त यी सबै काम नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने थियो । उसले गर्दैन । उसले नगर्ने भएपछि सबै काम राष्ट्र बैंक तथा बीमा समितिले गर्नुपर्छ । (पुँजी बजार जानकार तथा युवा लगानीकर्ता तिवारीसँग गरिएको कुराकानीको सम्पादित अंश)

नो भ्याक्सीन, नो भोट

समाचार नम्बर एक– पछिल्लो चौविस घन्टामा कोरोनाको कारणले देशमा १९० जनाको मृत्यु भएको छ भने देशभरि कोरोना सक्रंमितको सख्या ११५८५२ पुगेको छ । यसैगरि हालसम्म मृतकको संख्या ५८४७ पुगेको छ (जेष्ठ ६ गते, विकासन्युज डटकम) । पछिल्लो चौविस घन्टामा कोरोनाको कारणले देशमा १७७ जनाको मृत्यु भएको छ भने देशभरि कोरोना सक्रंमितको सख्या एक लाख सोह्र हजार नाघेको छ । त्यसैगरि हालसम्म मृतकको सख्या ६०२४ पुगेको छ (जेष्ठ ७ गते, विकासन्युज डटकम) । समाचार नम्बर दुई– देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर, नेताहरु शितल निवासमा (जेष्ठ ७ गते, विकासन्युज डटकम) । प्रधानमन्त्रीमा ओलीले पनि दावी गरे (जेष्ठ ७ गते, विकासन्युज डटकम) । प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मसिंर ३ मा चुनाव (जेष्ठ ८ गते, विकासन्युज डटकम) । ओलीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन (जेष्ठ ८ गते, विकासन्युज डटकम) माथिको समाचार नम्बर एकमा देशको हालको कोरोनाको कारणले दिनानुदिन मृत्यु भएको खबर छ । जुन विकासन्युज डटकमसहित देशका प्रमख मिडियाहरुले प्राथमिकता साथ प्रकाशन प्रसारण गरेका छन् भने दोस्रो समाचारमा नेपाली जनताले निर्वाचनबाट देशमा अव स्थीर सरकार होस् भनेर बहुमत दिएको पार्टीभित्र आन्तरिक द्वन्द र सत्ता खिचातानीको कारणले वहुमतको कदर नभएको प्रस्ट देखिन्छ । नेपाली जनताका लागि न पहिलो समाचार पढ्न, हेर्न वा सुन्न रुचिकर छ, न दोस्रो नै । फगत राजनीतिक अदुरदर्शिताको कारण आम नेपाली यी दुबै समाचार पढ्न वाध्य भए । नेताहरुले बलजफ्ती समाचार पढाए । नेपालीमा एउटा भनाई छ– कसैलाई केको धन्दा को नि केलाई खानकै धन्दा । आज विश्व कोरोनाको यत्रो महामारीले दिनानुदिन देश गरिवीको रेखा मुन्तिर गइरहेका छन् । यो बेला देश र जनतालाई कोरोनाको महामारीबाट कसरी बचाउन सकिन्छ भनेर सम्पूर्ण शक्ति लगाउनु पर्ने आवश्यकता छ । देशको अर्थतन्त्र कसरी माथि लान सकिन्छ भनेर नेताहरु लाग्नुको साटो सत्ताको खिचातानीले ५ वर्षको स्थीर सरकारको लागि जनताले दिएको वहुमतको सरकार मध्यावधी निर्वाचन गर्न हौसिएको छ । जनता, संविधान, अर्थतन्त्र र परिवेशले नमागेको मध्यावधी निर्वाचनतिर देशलाई धकेलिएको छ । यस्तो बेलामा भोट किन दिने ? कसलाई जिताउने ? जिताएर जनताले के पाउने ? जनताका दैनिक आवश्यकता परिपूर्ति गर्न नसक्ने यही अनुहारलाई भोट दिने ? भन्ने प्रश्न सवै नेपाली सामु छ । कोरोना महामारीको बेला जनतालाई सुरक्षित राख्नु भन्दा, सवै नेपालीलाई कोभिड संक्रमण विरुद्धको खोप लगाउने वातावरण वनाउनुभन्दा अक्सजिन, अक्सिजन सिलिन्डर, आईसीयु बेड, भेन्टिलेटरको व्यवस्थापनको लागि सम्पूर्ण शक्ति र स्रोत परिचालन गर्नुपर्ने बेलामा अनावश्यक चुनावको लागि अरबौं रकम खर्च गर्न सरकार तयार भएको छ । अहिले जनतालाई व्यालेट होइन, भ्याक्सीन चाहिएको छ । पहिला जनता बचाउन लाग्नु जरुरी छ । न कि अनावश्यक चुनावको लागि अरर्बौ खर्च गर्न । यदि नेताहरुको रबैया यस्तै हुने हो भने, यसरकार यसरी नै अघि बढ्ने हो भने हामीले पनि भन्नु पर्ने हुन्छ– नो भ्याक्सीन, नो भोट । तिमीहरुले राजनीति भनेर अहिले जे गरिरहेका छौं, त्यो केबल लाजनीतिहरु नेताज्यू !

काठमाडौंका अस्पतालमा दिनभर चक्कर, गरिबलाई पाइलै पिच्छे ठक्कर

तीन दिनदेखिको निरन्तर ज्वरो । शरिरको असाध्यै दुखाई । जेठ १ गते अकस्मात मलाई श्वासप्रश्वासमा समस्या आयो । अक्सिजनकाे लेभल नाप्न मसँग अक्सोमिटर थिएन । साथीहरुको सहयोगले तत्काल १३ सय ५० रुपैयाँमा अक्सिजन खरिद गरेँ र अक्सिजनको तह नापेँ । अक्सोमिटरमा मेरो अक्सिजनको लेभल ८५ देखियो । साथीहरुले अक्सिजनको तह धेरै तल आइसकेको बताउँदै अस्पताल जानु पर्ने सुझाव दिए । तत्काल नगरपालिकाबाट निःशुल्क रुपमा सेवा दिँदै आएकोे एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गरेँ । कोरोना भाइरस पोजेटिभको रिपोर्ट आएपछि मात्रै एम्वुलेन्स पठाउन सकिने नभए एम्बुलेन्स नआउने उताबाट जानकारी आयो । मैले अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भइरहेको भने पनि मेरो अनुरोधलाई स्वीकार गरिएन । मेरो मुटुको धड्कन् झन तीव्र गतिमा धड्किन थाल्यो । झन गाह्रो भइरहेको महसुस मैले गर्न थालेँ । साथीहरुले लगत्तै फेरि साही नम्बरमा फोन गरेर कोरोना पोजेटिभ रिपोर्ट आफुसँग भएको जानकारी गराए । त्यसको एक घण्टापछि एम्बुलेन्स आइपुग्यो । साँझको ६ बजिसकेको थियो । सो एम्बुलेन्सले मलाई भेनस अस्पतालमा पुर्यायो । त्यो बिचमा कुन अस्पताल जाने भन्ने विषय म काम गर्दै आएको संस्थाका मालिकले निर्णय गरिसेका रहेछन् । उनकै अनुरोधमा मलाई भेनस पुर्याइयो । भनेस पुग्ने बित्तिकै मलाई अस्पतालको ईमरजेन्सी कक्षमा अक्सिजन दिन थालियो । तर, अन्य कुनै उपचार भने मलाई गरिएन । अक्सिजन दिएको केही समयमै एक जना काला वर्णका मानिसले पीसीआर रिपोर्ट नभएको भन्दै उपचा। गर्न नसकिने बताए । म सँगै मेरा मालिक ( वुद्धि श्रेष्ठ) पनि सँगै हुनुहुनथ्यो । श्रेष्ठ सर ती व्यक्तिको कुरा सुनेर काउन्टरतर्फ लाग्नु भयो । काउन्टरमा उहाँलाई एक लाख रुपैयाँ खर्च लाग्ने भन्दै तत्कालै बुझाउन भनियो । श्रेष्ठ सरले अहिले ४० हजार मात्र आफुसँग रहेको र बाँकी भाेलि दिने बताउनु भयाे । त्यो शब्द सुन्ने बित्तिकै अघिका काला वर्णका मानिसले पीसीआर परीक्षणको रिपोर्ट नभएको कुनै हालतमा उपचार नहुने अडान लिए । काउन्टरमै बसिरहेका अर्का व्यक्तिले साहानुभुति जनाउँदै हामीलाई तुरन्त सिभिल अस्पताल जान सुझाव दिए । त्यसपछि श्रेष्ठ सरले मलाई सिभिल अस्पताल लिएर जानु भयो । करिब ८ बजे सिभिल अस्पताल पुगियो । सिसभिल सुनसान थियो । त्यहाँ पनि बेड खालि नभएको भन्दै अन्तै लिएर जान सुझाव दिइयो । अब हामीलाई फसाद पर्यो । श्रेष्ठ सरले विभिन्न व्यक्ति र ठाउँमा फोन घुमाउन थाल्नु भयो । श्रेष्ठ सरले बसुन्धारमा रहेको कान्तिपुर डेन्टल सेन्टरमा जानु पर्ने बताएसकेपछि हामी सिभिलको गेटमा रेहका ट्याक्सीहरुलाई सहयोग माग्न थाल्यौं । ट्याक्सीले पनि सिभिलबाट बसुन्धाराको ५ हजार रुपैयाँ माग्यो । बार्गेनिङ गर्दै जाँदा १ हजार रुपैयाँमा कुरा मिल्यो र हामी ९ बजे कान्तिपुर डेन्टलमा पुग्यौं । त्यहाँ पनि फेरि एक जना नर्सले बेड खाली नभएको जानकारी दिइन् । हामी फेरि अतालियौं । ती नर्सलाई धेरै आग्रह गर्यौं । उनले पनि डाक्टरहरु किन भर्ना गरेको भनि आफुसँग रिसाउने भन्दै भर्ना गर्न नसकिने जवाफ दिइन् । पछि धेरै ठाउँ फोन गर्दा ति नर्सकै मोबाइलमा फोन आयो र हामीलाई भर्ना गर्न लगाइयो । मलाई इमरजेन्सी कक्षमा लिइयो । त्यहाँ ७ वटा बेडहरु खालि नै थिए । तर, मलाई अगाडि बेड खालि छैन भनेर अर्कै अस्पतालमा जान सुझाइएको थियो । मेरो उपचारको प्रक्रिया सुरु भयो । पीसीआर परीक्षणदेखि विभिन्न १५ वटा टेष्ट गर्ने भन्दै काउन्टरबाट १५ हजार ७ सय रुपैयाँको बलि आयो । फार्मेसीबाट ८ हजार २ सय रुपैयाँको औषधी तत्काल सरले ल्याउनु भयो । केही घण्टापछि अस्पतालमा नर्सले विभिन्न औषधि र उपचारको नाम लेख्दै प्रति घण्टा अक्सिजन चढाएको ५ सय रुपैयाँ, प्रति दिनको ईमरजेन्सी वार्डको १५ हजारका दरले दुई दिनको ४० हजार हुने बताइन् । उनले अझ आईसीयुमा राखेको २८ हजार, प्रतिदिन वार्डमा भएमा न्यूनतम १५००० हजारका साथै साथै छातीको एक्सरे दिनहुँ र अन्य पनि टेष्टहरु दिनै हेर्नु पर्ने भनेपछि अहिलेसम्मको रकम साहुले चुक्ता गरेर सर फेरि अर्को अस्पतालको खोजिमा लाग्नु भयो । उहाँले अब कान्तिपुर डेन्टलबाट पनि टिचिङ्ग अस्पतालमा जानु पर्ने भन्दै मलाई एम्बुलेन्समा राख्नु भयो । केहि छिनमै म एम्बुलेन्सबाट टिचिङ्ग अस्पतालको गणेशमान भवनको प्राङ्गणमा पुग्यौं । मलाई अझै श्वास फेर्न समस्या भइरहेको थियो । तर, देशकै ठुलो मध्येको सरकारी अस्पतालमा पुगेपछि निको हुने कुरामा म ढुक्क थिएँ । टिचिङ्ग पुग्दा ठूलो भिड थियो । कोभिड लेखिएको कोठाभित्रको हुललाई छिचोल्दै दुई डाक्टर दुई नर्स देख्दा रातो मछेन्द्र नाथको रथ तानी रहँदा खटभित्र रहेको मछेन्द्रनाथ नै देखे जस्तो लाग्यो मलाई । करिब दश जना विरामीका मान्छेलाई एकजना डाक्टरले जवाफ दिंदै थिए । अस्पतालको आँगनदेखिको विरामीको चाप र बाटैमा पल्टिरहेका विरामी र तिनका कुरुवा देख्दा मलाई गोंगबु बस अड्डामा बस पर्खेका र छुटेर भोली गन्तव्य जान बिश्राम गरिरहेका यात्रीको जमात जस्तै कल्पना गर्न थालेँ । म पनि त्यही हुलको एक कुनामा लम्पसार परिहालेँ । ‘यहाँ त धेरैले आफैले अक्सिजन बोकेर आउँछन्’ पीपीए लगाएका एकजनाले मसिनो स्वरले जानकारी गराउँदै थिए । तर केहि छिनमै मैले पनि अक्सिजन लगाउन पाएँ मेरो भाग्य बलियो नै रहेछ जस्तो लाग्यो । टिचिङ्गमा दुई दिनसम्म बसेँ । २ दिनपछि मेरो अक्सिजन निकालियो र ६ गते त डिस्र्चाज गर्नु पर्यो को छ तपाईको मान्छे बोलाउनु भनेपछि मैले भने खोई त डाक्टर साब मलाई छातीमा ईन्फेक्सन देखियो निमोनियालाई के गर्ने ? खोकी अझै छ भन्दै गर्दा मसँग कुरा गर्दै गरेका डाक्टर अर्को विरामी हेर्न फर्किए । मैले मेरो सरलाई यो कुरा बताएँ । उहाँले पनि नर्सलाई सोध्दा अब निमोनिया त कोभिड लागे पछि भई नै हाल्ने र यो निको हुन ६ हप्तासम्म लाग्ने हुन्छ अब घरमा गई आराम गर्ने भनेपछि मैले सहज महसुस गरेँ । म भारतीय नागरिक । भारतिय नागरिक भएकै कारण अक्सिजन लगाएकोे ३ हजार ५ सय र सामुहिक वार्डमा राखिएपनि बेड चार्ज पनि ३ हजार ५ सय गरी ४ दिनको १७ हजार ५०० तिर्न लगाइयो । तर नेपाली भएमा चाहिं निशुल्क हुने रहेछ । कुन मुलुकको भनि चेक जाँच गर्ने कुनै ठोस आधार नहेर्ने भएपनि मेरो सरले चाहिँ झुठो विवरण दिन हुन्न भन्दै पैसा तिर्न बाध्य हुनु अब हामी अस्पतालबाट घर फर्किने भयौं । ट्याक्सीमा चढेर घर फर्कियौं । ट्याक्सीमा मेरो मनमा अनेकन कुराहररु खेद्यन थाले । चिनजान भएको व्यक्तिले ७ दिन मात्र प्राईभेट अस्पतालमा ज्यान बचाउन बस्नु पर्ने भएमा कति लाख खर्च हुँदो हो ? अझ ज्यान बच्ने नबच्ने कुरा र परिवारसँग पर रहँदाको कहाली लाग्दो स्मरणको कम्पन मनमा छुट्टै छ । अस्पतालमा आएको बिल मेरो मालिकले ममाथि नै थुपार्यो भने मेरो हाल के होला ? एकदिनमा ५० हजार रुपैयाँको बील तिर्नु त मेरा लागि आकाश पातल हो । यो भनेको म जस्ता निम्न आयश्रोत भएकाहरुलाई पशुपति आर्यघाट नै जा भने जस्तो लाग्यो । सरकारी अस्पताल भर्ना हुन पनि चिनजान नै चाहिने रहेछ । आज म बीमारी पर्दा जे दुःख अप्ठेरो भोगेँ मेरो गरिबीले हो मेरो नाता गोता र चिनजानको कमिले भएको जस्तो मलाई महसुस भयो । (प्रस्तुतीःअजय श्रेष्ठ)