संसार बेचैनीमा रहेको बेला वर्क फ्रम होम भनेर कसरी चैनमा बस्न सक्यौ बैंकर मित्र ?
कोरोनाको कहरमा सबैतिर निषेधाज्ञा छ । यो बेला भौतिक रुपमा आफन्तजन तथा साथीभाइसँग भेट्नु भनेको निशेघाज्ञा उल्लंघन गर्नु हो । र, जानीजानी अर्कालाई कोरोना सार्न खोज्नु पनि हो । कोरोनाले मान्छेलाई सताउन थालेदेखि देश विस्तारै भर्चुअल बन्दैछ । मान्छेको दिनचर्या टेलिफोन, मोवाइल र इन्टरनेटबिना असम्भव झैं लाग्न थालेको छ । वास्तवमै भौतिक दुरी घट्दै गएको नै छ । आज बिहान एकजना बैंकर साथीसँग फोनबाटै कुरा गरेको थिएँ । शायद मैले चिनेजानेकामध्ये ऊ पहिलो मान्छे हो, जसले यत्रो कोरोना महामारीले सबैलाई इन्तु न चिन्तु बनाएको अवस्थामा पनि खुसी हुँदै आफ्नो हालखबर सुनाउँदै थियो । ‘म त वर्क फ्रम होम गर्दैछु है, मज्जाले परिवारसँग रमाइरा’ख्या छु । मिठोमिठो खायो, टिभी हेर्यो, एकछिन अल्छि लाग्या वेला तास पनि खेल्यो… क्या मज्जा । बुझेऊँ– यो कोरोना त नहटे पनि हुने नि ! अफिस जानै पर्दैनथ्यो ।’ ऊ आफ्ना कुरा रमाई रमाई सुनाइरहेको थियो । म भने उसको कुरा सुनेर त्यसै ट्वाँ परेँ । बैंकर साथीमा वर्क फ्रम होमका कारण छाएको खुसी देखेर मलाई झट्ट एकजना स्वास्थ्यकर्मी साथीको अवस्था चैं के होला भन्ने लाग्यो । अनि त्यो साथीलाई फोन लगाएँ । ‘के गर्नु, कोरोनाले सखाप बनायो, रातदिन नभनी चौबिसै घण्टा सेवा दिइरहेका छौं । जति गरेपनि मानिस मर्न छाडेका छैनन् । असाध्यै दिक्क लाग्दो अवस्था छ यार ।’ मैले हालखबर सोध्न नपाउँदै उसले न्याउरो बोलीमा सुनायो । सोेधें– तिमीलाई डर लाग्दैन ? ‘अति आवश्यकीय क्षेत्रको काम र जिम्मेवारी रोजेपछि आफ्नोभन्दा बढि समाजको बारेमा सोच्नुपर्ने रहेछ । डरभन्दा जिम्मेवारी ठूलो हुँदोरहेछ । यस्तो बेला हामीले डराएर मैदान छोड्यौं भने जनताको के हुन्छ नि ? जसरी देशका लागि विदेशी सत्रुसँग लडेका बेला सेनाले आफ्नो वारेमा सोचेर बस्दैन, ठिक त्यसैगरी हामीले पनि यो महामारीमा आफ्नो बारेमा पटक्कै सोच्नु हुँदैन ।’ ऊ यस्तै यस्तै सुनाउन लाग्यो । उसको कुरा सुनेर खुसी भएँ । अझ भनौं, गर्व महसुस भयो । उसको कुरा सुन्दै थिएँ, अलि पछि थाहा भयो, मेरो आँखा रसाउन थालिसकेका रहेछन् । त्यो साथीसँग धेरै कुरा हुन पाएन । सायद ऊ व्यस्त थियो । म पनि ऊसँग थप कुरा गर्ने हालतमा रहिनँ । फोन राखेँ । दिमाग रन्थन्निरहेको थियो । मथिंगलमा यी दुबै पात्र घुमिरहेका थिए । एउटा साथी जो आफ्नो खुसी सर्वस्व ठान्छ । र, अर्काे साथी आफू र आफ्नो परिवारभन्दा पनि समाज र देशको बारेमा संवेदनशील भएर दिनरात खटिरहेको छ । वा भनौं, मान्छेका लागि ऊ जीवन अर्पण गर्न तयार देखिन्छ । दिमागको पाटनमा पहिलो साथी डुलिरह्यो । बैंकिङ क्षेत्रलाई राज्यले त्यसै अत्यावश्यक सेवा अन्तरगत राखेको होइन । बैंक भनेको जनताको अर्बौंको सम्पत्ती सुरक्षा गर्ने स्थान हो, जहाँबाट जनताले आफूलाई चाहिएका वेला त्यो सम्पत्ति निकालेर लैजान पाउँछन् । आफूले कमाएको सम्पत्ती खर्च गर्ने भनेको आपत विपत र चाहिएको बेलामा न हो । नचाहिएको बेलामा त कसले पो पैसा झिक्छ र ! पैसा जोगाउने मन सबैलाई हुन्छ नि । कुरा खेलिरहे मनमा– यो महामारीको बेलामा को कतिबेला विरामी पर्छ भन्ने ठेगान हुन्न । जतिबेला पनि पैसा चाहिन सक्छ । आफूले दुःख गरेर कमाएको पैसा राखेको हुन्छ बैंकमा । त्यही आफ्नो कमाई पनि दुःखको बेला या भनौं आफू वा आफन्त बचाउने काममा चलाउन पाइएन भने त्यो पैसाको के काम ? यो बेला बैंक बन्द गर्ने नै होइन । बरु चौबिसै घण्टा खुल्ला राख्नुपर्छ । बैंकर साथी भर्चुअल बैंकिङको पाठ सुनाउँदै थियो । डिजिटल बैंकिङ, क्यासलेस बैंकिङ अनि इन्टरनेट बैंकिङदेखि क्युआर पेमेन्ट जस्ता अत्याधुनिक बैंकिङ सेवाबारे मलाई बताइरहेको थियो । हुन त त्यो साथीले भनेका कुरा पनि सही हुन् । तर, आफूले जम्मा गरेको रकम नगदै झिक्छु भनेर कुनै बचतकर्ताले खोज्यो भने त्यो त उसको अधिकार नै हो । फेरिसबैले मोवाइल वैंकिङ चलाउँछन् नै भन्ने पनि छैन । हाम्रो देशमा इन्टरनेट बैंकिङ र एटिम चलाउन नजान्नेको संख्या ठूलो छ । क्युआर पेमेन्टको पूर्वाधार, प्रविधि र बानी सबै नेपाली समक्ष पुगिसकेको पनि छैन । त्यतिमात्र कहाँ हो र ! अबको २ महिनामा आर्थिक वर्ष पनि समाप्त हुँदैछ । यो वर्ष गाउँघरमा बाटोघाटो, पुलपुलेसा बनाउनेदेखि शहरमा चिल्ला र फराकिला सडक बनाउने भनेर छुट्टयाइएको विकास बजेट अहिलेसम्म आधा पनि खर्च भएको छैन । अस्पताल, विद्यालय बनाउने भनिएको पनि त्यही विकास बजेट नै त हो । त्यो पैसा सबै खर्च गरेपछि न हामीले राम्रो सडकमा हिड्न पाउने हो । तुन्द्रुंग झुण्डिदै तुइन तर्नुपर्ने वा हल्र्याङ–हल्र्याङ हल्लिने झोलुंगे पुल विस्थापित गरी पक्की पुल बनाउने भनेर सरकारले राखेको विकास बजेट खर्च हुने अबको यही २ महिनामा हो । यस्तो अवस्थामा बैंक वन्द हुँदा र निश्चित समयमा मात्र सेवा दिँदा विकासका कामहरु ठप्प नै हुँदैनन् र ? के यसले देश विकासमा दुरगामी असर पर्दैन र ? अनि त्यसैगरी अर्थतन्त्रमा चैं धक्का लाग्दैन र ? मनमा कुरा खेल्न रोकिएन । यस्तै झट्ट बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको याद आयो । नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि यस्तो विपतको घडिमा चौविसै घण्टा वैंकिङ सेवा दिने वारेमा सोच्न जरुरी छ । सर्वसाधारणलाई बैंकसम्म आउन नलगाई बरु टोलटोलमै पुगेर कसरी सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन ढिला भइसकेको छ । त्यति मात्र होइन, घुम्ति सेवाको अवधारणालाई कसरी विकास गर्ने, घुम्ति काउन्टर र घुम्ति एटिम सेवा कसरी प्रवाह गर्ने भन्ने वारेमा पनि सोच्नुपर्ने भइसकेको छ । यो आलोपालो बैंक खोल्ने वा एक तिहाई कर्मचारीबाट मात्र वैंक चलाउने भन्ने कुरा आफैंमा हास्यास्पद कुरा हो जस्तो लाग्छ । नत्र त यस्तो प्रथाको विकास गरी राष्ट्र बैंकले आफ्नो जिम्मेवारीबाट पन्छिन चाहिँ मिल्दै मिल्दैन । मनले फेरि अर्काे कोणबाट सोच्यो । बैंकर भएपनि ऊ त मेरो साथी हो नि ! उसको र परिवारको सुरक्षाबारे म कति निष्ठुर भएछु । म कति प्राविधिक जस्तो बनेछु । त्यो साथीप्रति फेरि भाबुक बनेँ । अर्काे मनले भन्यो– कुरो त्यस्तो होइन । ऊ बैंकमा काम गर्ने कर्मचारी हो । स्वास्थ्यकर्मी पनि त साथी नै हो । ऊ एक दिन अस्पताल गएन भने के हुन्छ ? उसले विरामीलाई हेरचाह गरेन भने के हुन्छ ? आङ सिरिङ्ग भयो । रौं ठाडा भए । अहँ, हुँदैन । आफ्नो जिम्मेवारी र कामको प्रकृति अनुसार सबैले जिम्मेवारी निभाउनु पर्छ । अलि आवेशमा आएछु क्यारे । फेरि फोन गरेर सोध्न मन लाग्यो– संसार बेचैनीमा रहेको बेला वर्क फ्रम होम भनेर कसरी चैनमा बस्न सक्यौ बैंकर मित्र ? हुँदैन, त्यस्तो नगरौं भन्ने लाग्यो फेरि । अब आयो बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कुरा । अत्यावश्यक सेवा भनेको के हो र म कस्तो सेवामा काम गर्छु भन्ने वारेमा कर्मचारीहरुले पनि राम्रोसँग बुझ्न जरुरी छ । अत्यावश्यक क्षेत्रमा नोकरी गर्नका लागि मरिहत्ते गर्ने, अनि जिम्मेवारी वहन गर्ने बेलामा आफ्नो खुसीलाई प्राथमिकतामा राख्न खोज्ने कार्य कति न्यायोचित हो ? राज्यका अरु अत्यावश्यक क्षेत्रहरु स्वास्थ्य, प्रहरी, सेना लगायतबाट आवश्यक परेको बेला कसरी भूमिका निभाउन अग्रसर हुनुपर्छ भनेर सिक्न जरुरी छ । बैंक र बैंक व्यवस्थापकहरुले पनि अब आफ्ना सम्पूर्ण कर्मचारीलाई चाँडोभन्दा चाँडो कार्यालयमा उपस्थित गराई नागरिकप्रतिको जिम्मेवारी कसरी बहन गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तो विपत्तीको घडिमा चौबिसै घण्टा सेवा प्रवाह गर्ने, नसके कार्यालयलाई दुई सिफ्ट सञ्चालन गरी ८ घण्टाबाट बढाएर सोह्र घण्टासम्म सेवा दिन जरुरी छ ।
धेरैले मलाई तपाईं राष्ट्र बैंकको प्रवक्ता हो र भन्छन्, तर म अझै भन्छुः हामीलाई कम तर ठूलो बैंक चाहिन्छ
फाइल फोटो विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर सुरु भएको छ । दोस्रो लहर सुरु भएसँगै सरकारले निषेधाज्ञा पनि जारी गरिसकेको छ । कोरोनाको समयमा विश्वमा दुई मोडल लागु भए । एउटा अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेको मोडल । जसले भ्याक्सिन लगाउँदै जाने र काम पनि गर्दै जाने र अर्को चीनले अवलम्बन गरेको मोडल । सबै व्यापार व्यवसाय तथा सम्पूर्ण गतिविधिहरु बन्द गरेर कोरोनाको जोखिम कम गर्ने मोडल । तर, नेपालले विभिन्न समयमा ती दुवै मोडल अवलम्बन गर्यो । जसले संक्रमणदर कम हुन सकेन । बैंकिङ क्षेत्रमा मा मुख्य विषय भनेको कर्जा रतरलता नै हो । यस्तो विषम परिस्थितिमा राष्ट्र बैंकले राम्रो काम गरिरहेको छ । रिसेड्युल, रिस्ट्रक्चरिङ लगायतको व्यवस्था राष्ट्र बैंकले गरेको छ । धेरैले अहिले बैंकहरुको नाफा घट्यो भनिरहेका छन् । तर, म भन्छु कि यस्तो विषम परिस्थितिमा पनि यो नाफा धेरै हो । दक्षिण एसियाको कुरा गर्दा नेपाली बैंकिङ क्षेत्र राम्रो छ । हामी त्यति आतिनु पर्ने स्थिती छैन । नाफा सन्तोषजनक नभए पनि अहिलेको यो अवस्थामा ठीकै हो । हामी यो अवस्थामा बाँच्ने हो । अहिलेको यो फिगर राम्रै छ जस्तो मलाई लाग्छ । अहिले बैंकिङ क्षेत्रले मात्र होइन सबै क्षेत्रले डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्नु पर्ने देखिन्छ । छिमेकी राष्ट्र भारतमा धेरैले बैंकमा नछिरिकनै काम गरिरहेका छन् । भारतमा ८६ प्रतिशत डिजिटल ट्रान्जेसन हुन्छ । हामीले पनि डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्ने खालको थप नीतिगत व्यवस्था गर्नु पर्ने देखिन्छ । एक लाख भन्दा बढीको रकम डिजिटल ट्रान्जेसनबाट मात्रै गर्ने व्यवस्था गर्न सकिन्छ । भारतले सवा एक अर्ब नागरिलाई डिजिटलाइजेसन सिकाइरहेको छ भने हामीले ३ करोड जनतालाई हात समाएर सिकाउन सक्छौं । हरेक च्यानलमा डिजिटल विज्ञापन आओस् । हरेक नागरिकमा डिजिटलको खाँचो छ । बैंकहरुले डिजिटलाइजेसनलाई प्रवद्र्धन गर्नको लागि फण्ड सिर्जना गर्नु पर्छ । सबै बैंकले व्यक्तिगत रुपमा विज्ञापन गर्न आवश्यक छैन । एनबीएले नै त्यसको विज्ञापन गरोस् । अब यो समयमा साना किसानहरुलाई सहज हुने खालको काम गर्न आवश्यक छ । हुनत बैकंहरुकै कारण कृषि क्षेत्रको समस्या आएको आरोप लाग्दै आएको छ । तर, यो मात्रै हुन सक्दैन । लकडाउन बढ्यो भने कृषकको उत्पादन फेरि बारीमै कुहिने अवस्था आउन सक्छ । सडकमै फ्याँक्ने समस्या देखिन सक्छ । त्यसको ग्यारेन्टीको व्यवस्था गर्नु पर्छ । कृषकका लागि बीमाको मेकानिज्म बढाउनु पर्छ । पूर्वाधार बढाउनु पर्नेछ । वडा वडाबाट बीमा सम्बन्धि साक्षरता बढाउनु पर्छ । युवाहरुलाई सूचना प्रविधिमा अभ्यस्त हुने कार्यक्रमहरु ल्याउन आवश्यक छ । इ–कमर्सलाई जोड दिनु पर्छ । विशेष गरेर प्रविधि, सीप तथा तालिम र रि– इञ्जिनियरिङको बढावा दिनु नै आजको आवश्यकता हो । अहिले प्रविधिको प्रयोग नै बैंकिङ क्षेत्रका लागि अपरिहार्य बनिसकेको छ । बैंकमा ढुङ्गे युगको प्रविधि छ । पूरानो प्रविधि प्रयोग भइरहेको छ । जति डिजिटलको प्रयोग बढ्छ त्यति नै रोजगारी बढ्छ । ग्राहकको दृष्टिकोणबाट सोच्नुपर्छ । अर्को मुख्य विषय भनेको तालिम तथा सीप हो । बैंक तथा वित्तीय संस्थाले तालिममा खर्च गर्नु पर्छ । त्यो पनि लगानी हो । यसले भोलि राम्रो प्रतिफल दिन्छ भन्ने कुरा बिर्सनु हुँदैन । अर्को महत्वपूर्ण विषय भनेको रि–इन्जिनियरिङ हो । पुरानो प्रविधिको सट्टामा नयाँ प्रविधिको प्रयोग गरी काम गर्नु पर्ने हुन्छ । हामी पुरानै सफ्टवेरमा काम गरिरहेका हुन्छौं । त्यसलाई परिवर्तन गरेर नयाँ सफ्टवेरमा काम गर्न आवश्यक छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएदेखि म त्यसको समर्थक हो । मर्जर हुनु पर्छ भनेर म पहिलेदेखि नै बोल्दै आएको छु । धेरैले मलाई तपाईं राष्ट्र बैंकको प्रवक्ता हो र भनेर प्रश्न गर्छन् । तर, म स्वतन्त्र भएर बोल्छु । राम्रो कुराको समर्थन गर्छु । भारतमा १ करोड १० लाख जनताको लागि एउटा मात्रै बैंक हुन्छ । बंलादेशमा ४० लाख जनताको लागि एक बैंक हुन्छ । हामीलाई किन एउटै बिल्डिङमा दुई तीन बैंक चाहियो ? हामी के पाउँछौं धेरै ठाउँमा बैंक राखेर ? हामीलाई ठूलो बैंक चाहिएको छ । एउटा बैंकले एउटा निश्चित क्षेत्रमा किसानलाई तालिम दिएर उनीहरुले उत्पादन गरेको वस्तु मार्केटिङ गर्ने । त्यो क्षेत्रलाई आफ्नो पकेट बनाउन सक्छ । सैद्धान्तिक रुपमा हामी पारदर्शी हुनु पर्छ । तब मात्र नेपाली बैंकिङ क्षेत्र सस्टेनेवल हुन सक्छ । (बैंकर कुवँरले म्यानेज्मेन्ट एसोशिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा राखेको विचारको सम्पादित अंश)
संचारमाध्यम नै खारेज गर्ने गरी बनाइएका अलोकतान्त्रिक कानुन सर्वथा अस्वीकार्य छ
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आज महत्वपूर्ण दिन हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागिता रहेको थियो । त्यो सम्मेलनले एउटा महत्वपूर्ण घोषणपत्र जारी गर्यो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो । त्यही घोषणापत्र जारी भएको दिन अर्थात मे ३ लाई युनेस्कोको आव्हानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो । विण्डहक घोषणापत्रलाई संयुक्त राष्ट्रसंघको सभाले पारित गरेपछि युनेस्कोले त्यस्तो आव्हान गरेको हो । प्रत्येक वर्ष फरक फरक नाराका साथ यो दिवस मनाउने क्रममा यो पटक ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने नारा तय गरिएको छ । यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाई लड्ने योद्धाहरूप्रति सम्मान गर्ने, उनीहरूको योगदानको चर्चा गर्ने, प्रेस स्वतन्त्रताको पक्षमा थप प्रतिबद्धता जनाउने र प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ अगाडि कसरी लैजाने भन्ने सन्दर्भमा अन्तरक्रियाहरू गर्ने गरिन्छ । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ । यस अवसरमा म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति योगदान पुर्याउने महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालमा पनि पत्रकार महासंघको आयोजनामा युनेस्कोसँगको सहकार्यमा मे ३ अर्थात बैशाख २० गते भर्चुअल रूपमा अन्तरक्रिया गरिँदै छ । कोरोना संक्रमणका कारण सामूहिकरूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकोले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअलरूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णयमा आयोजकहरू पुगेका छौं । आजै नेपालका विभन्न तहमा बन्न थालेका ९ वटा कानुनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणी समेत सार्वजनिक गरिँदै छ । त्यही स्वरूपको अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ । यसैगरी आजै नेपालका विभन्न तहमा बन्न थालेका ९ वटा कानुनको मस्यौदामाथिको विश्लेषणात्मक टिप्पणी समेत सार्वजनिक गरिँदै छ । यी दुई सामग्रीले नेपालमा प्रेस स्वतन्त्रताको पछिल्लो अवस्थालाई स्पष्ट देखाउने विश्वास गर्न सकिन्छ । पत्रकारहरू यतिबेला स्वास्थ्य चुनौतिसँग जुधिरहेका छन् । कोरोनाको संक्रमणका बीचमा पत्रकारिता कर्मलाई निरन्तरता दिनुपर्ने अवस्था एकातिर छ भने यही कोरोनालाई कारण देखाएर सञ्चारगृहबाट पत्रकारलाई विस्थापित गराउने खतरा पनि उस्तै छ । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईको तथ्यांक हेर्ने हो भने यस वर्ष पत्रकारहरुको पेशागत सुरक्षाका घटनाहरु सबैभन्दा बढी देखिए । कोरोना महामारीको समयमा पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको संख्या ५ सय १७ रहेको छ । यो अवस्थालाई दृष्टिगत गर्दै महासंघले सञ्चार संस्थाहरूलाई कोरानाको बहानामा सञ्चारकर्मीलाई निष्काशन नगर्न, सेवासुविधामा कटौती नगर्न र सञ्चारकर्मीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेको छ । पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यो वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा सञ्चारसंस्था पीडित बनेका छन् । ५ सय ८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । पत्रकार महासंघको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटनाहरू यो वर्ष ४५ छन् । ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र ३ वटा सञ्चारसंस्था पीडित बनेका छन् । ५ सय ८४ पत्रकारमध्ये ७७ पत्रकारहरू महिला रहेका छन् । पत्रकार महासंघको अभिलेखअनुसार यो वर्ष ६ जना पत्रकार गिरफ्तारीमा परे भने कब्जा, अवरोधबाट ४ जना पत्रकार पीडित भएका छन् । त्यसैगरी आक्रमणबाट ४८ र दुव्र्यवहार, धम्कीबाट १२ जना पत्रकार पीडित भएका छन् भने ५ सय १७ जना पत्रकारहरू विस्थापनमा परेका छन् । उल्लिखित तथ्यांकका आधारमा नेपाली प्रेस अझै पनि पेशागत र भौतिक सुरक्षाका सवालमा सन्तोष गर्न नसकिने अवस्थामा छैन भन्न सकिन्छ । मुलुकले संविधानसभा मार्फत निर्मित संविधानको आधारमा संघीयताको अभ्यास गर्दैछ । यो अभ्यास गर्ने क्रममा आवश्यक कानुनहरू निर्माणको चरण अझै जारी छ । यसरी तीन तहहरूमा बन्दै गरेका प्रेससँग सम्बन्धित कानुनका मस्यौदाहरूले संविधानको मूल मर्मसँग मेल खाइरहेका छैनन् । पत्रकार महासंघले गरेको अध्ययन र विश्लेषणका आधारमा भन्नुपर्दा प्रेससँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया र त्यहाँ राखिएका प्रावधानहरूप्रति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सहमति जनाउन सकिने ठाउँ छैन । कानुन निर्माणको प्रक्रियामा सरोकारवाहरूसँगको परामर्शलाई कुनै आवश्यकता ठानिएको छैन । जसका लागि कानुन बनाइँदैछ, उनीहरूलाई बेवास्ता गरी कानुनको मस्यौदा निर्माण गर्ने कार्यसँग सहमत हुन सकिँदैन । कानुन निर्माणको प्रक्रियामा सरोकारवाहरूसँगको परामर्शलाई कुनै आवश्यकता ठानिएको छैन । जसका लागि कानुन बनाइँदैछ, उनीहरूलाई बेवास्ता गरी कानुनको मस्यौदा निर्माण गर्ने कार्यसँग सहमत हुन सकिँदैन । त्यसैगरी ती मस्यौदाका कतिपय प्रावधानहरूप्रति पनि पत्रकार महासंघको गम्भीर आपत्ति रहेको छ । पत्रकारहरूलाई जेल हाल्न सकिने, ठूलो मात्रमा जरिवाना तोक्न सकिने, न्यायालयभन्दा बाहिर नै पत्रकारलाई दण्डित गर्न सकिने, सञ्चारमाध्यम खारेज गर्न सकिने जस्ता लोकतान्त्रिक समाजमा नसुहाउने प्रावधानहरू त्यहाँ राखिएका छन् । यस्ता प्रावधानसहितको कानुन आएमा त्यो अस्वीकार्य हुने चेतावनी पत्रकार महासंघले दिँदै आएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हुने अन्तरक्रियाहरूमा नेपालको यो अवस्थाका बारेमा पनि छलफल हुनेछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यो अवस्थामा सुधार ल्याउनका लागि राज्यका संरचनाहरूका साथै सरोकारवालाहरूको ध्यानाकर्षण गराउने छन् भन्ने मैले विश्वास लिएको छु । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, नागरिकहरूको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो । नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए तापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न सकेको छैन । त्यसकारण प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाईमा पुर्याउन पत्रकार महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी छ । प्रेस स्वतन्त्रताको आन्दोलनलाई उचाईमा पु¥याउनका लागि प्रेस आफै उत्तरदायी र मर्यादित हुन जरूरी छ । पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यताहरूलाई अनुशरण गर्दै आफूप्रतिको सामाजिक विश्वास अभिबृद्धि गर्ने दिशामा पनि पत्रकारहरूले आफूलाई प्रतिवद्ध बनाउनु पर्ने हुन्छ । त्यसैगरी राज्यले पनि पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवद्र्धनका लागि थुप्रै कामहरू गर्न बाँकी नै छ । यो दिशामा सबैको ध्यान जान जरुरी पनि छ । अन्त्यमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । (विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ सन् २०२१ को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेलको शुभकामना सन्देश)