विरेन्द्रकाे नाेट, महँगाेमा किनबेच

एक जना महिला मित्रले मैतीदेवि नजिकै घर किन्न लागिछन् । तीन फूटे बाटो भएको धितोमा बैंकले कर्जा दिन मान्दैनन् । सञ्चारकर्मी भएको थाहा पाएपछि बैंकहरु झन टेडिन्छन् । साथीभाईसँग सरसापट गरेर र सहकारीबाट कर्जा लिएर घर किन्न लागेकाे सुनाइन् । गाउँबाट आएकालाई सहरियाले पत्याउन्नन् । होस्टैमा हैसे गर्छु भने । थोरै रकम सापटी दिएँ । ‘मैले बैंकबाट ओडी (कर्जा) चलाएको छु । १४ प्रतिशत व्याज तिरेको छु । साथीसँग म व्याज लिन्न । सकेसम्म छिटो फिर्ता गर्नु’ मैले त्यतिबेला भनेको थिएँ । सापटी लिएको तिथिमिति याद छैन, चेक काटेर दिएको थिएँ । खोज्यो भने ठ्याक्कै मिति पनि थाहा हुन्छ । करिव ८/१० महिना पछि उनले पैसा फिर्ता गरिन् । पैसा फिर्ता पाएको मिति याद छ, यसै दशैंको फूलपातीको अघिल्लो दिन। स्वयम्भू पाउँस्थिति इन्जियिरको अफिसमा बसेर प्रस्तावित भवनको नक्सालाई अन्तिम रुप दिदै थिएँ । साथीको फोन आयो । ‘मुखले केही नभने पनि मनमनले गालिगरिरहनु भएको होला । पैसा जम्मा गरेकी छु, भेटौं न ।’ केही बेरपछि सिटी मल अगाडि भेट्ने कुरा भयो । कोभिडको डरले साथीसँग बस्ने वातावरण पनि भएन । रेष्टुरेन्टतिर पस्ने, कफी खाने प्रस्ताव पनि गरिएन । रसियन कल्चर सेन्टरको अगाडि गाडी साइट लगाएँ । मास्क नखोली फूटपाथमा उभिएर २/३ मिनेट कुरा गर्यौं । साथीले चेक दिने होला भन्ने सोचेको थिए । उनले नोटको बण्डल दिइन् । अचेल नोटसँगै कोभिड आउने डर हुन्छ । विश्वासकै बीच नाेट नगनी फ्रन्ट बक्समा हुत्याउन खोज्दै दिएँ । ‘पैसा गन्नोस् सर’ उनले भनिन् । ‘पछि पुगेन भन्नुपर्ला।’ गनेँ । पुग्यो । थन्याएँ । र, मोटर हुँइक्याएँ । कोभिड महामारीसँगै बजारबाट ल्याइएका किनमेल केही दिन गाडीमै छोड्ने बानी छ । प्रमाणीत र बैज्ञानिक आधार नभए पनि मिल्ने बस्तुहरु किनेर ल्याएपछि केही दिन गाडी मै राख्दा कोरोना घर भित्र नर्छिला कि भन्ने भ्रान्तीले मेरो मनमा बास पाएको छ । त्यो नोटको बण्डल बैंकमा पुर्याउने समय पनि भएन । दशैंअघि त्यसले घरभित्र प्रवेश पनि पाएन । दशैंसँगै खल्ती र दराज रित्तए । त्यो विटोले दराजमा ठाउँ पायो । त्यसपछि डेरीदेखि पेट्रोलपम्पसम्म, कागतीदेखि गुर्जो किन्दासम्म अर्थात जहाँ डिजिटल पेमेन्ट हुँदैन, त्यस ठाउँमा ती नोट चल्ल थाले । भद्रकालीस्थित सेनाको पेट्रोल पम्पमा भुक्तानी गर्दा चार हजार रुपैयाँ झिकेर दिएँ । काउन्टरको क्यासियर नोट धेरै पटक वल्टाई पल्टाई हेर्यो । मेरो मुखमा हेर्यो । जोरविजोरको झमेलामा नपर्न प्रेस पास गलामा झुण्डाएको थिएँ । परिचय पत्रमा पनि उसले आँखा लगायो । अनि, पेट्रोलको भुक्तानी गरेको कागजको चिट/टुक्रो काट्न मानेन । आफूभन्दा पाको आर्मीको सहयोग लियो । ‘यो नोट कस्तो हो’ उसले सिनियरलाई सोध्यो । क्यासिएरलाई नक्कली नोटको शंका लागेछ । ‘यो उहाँले दिनुभएको हो’ मलाई नक्कली नोट कारोबारी झै किटानी गर्यो । ‘यो राजा विरेन्द्रको पालाको नोट हो । सक्कली हो’ पाका आर्मीले काँचा क्यासिर आर्मीलाई भने । त्यसपछि उनले मलाई हेरेर सफाइ दिन खोजे । र भने– ‘केटाकेटीहरुलाई के थाहा । राजाका पालाका पैसा देख्या पनि छैनन् ।’ पर्समा भएको थप नोटमा ध्यान दिए । सबै नोटमा तत्कालिन राजा विरेन्द्रको फोटो रहेछन् । ज्ञानेन्द्र शाह राजा भएपछि नयाँ नोटमा ज्ञानेन्द्रको फोटो छापिन थालेको, राजा ज्ञानेन्द्र कै पालामा पूर्व राजाहरुको फोटो भएको नोटहरु खिचेर थन्क्याउन र नयाँ राजा छापिएको नोटहरु मात्र बजारमा पठाउन सरकारले राष्ट्र बैंकलाई निर्देशन दिएको २ दशक पूरा हुन लागेछ । गणतन्त्र स्थापनापछि नेपाली नोटमा राजाको सट्टा सगरमाथाको तस्वीर राख्न थालेको, सगरमाथाको तस्वीर छापिएपछि राजा अंकित नोटहरु खिच्ने र नष्ट गर्न थालेको पनि दर्जन वर्ष नाघिसक्यो । तर दुई दशक पुराना नोट मेरो हातमा कसरी पर्यो ? मनमा आयो । ‘अँ याद आयो । सापाटी फिर्ता आएको पैसा हो यो’ साँच्चै नक्कली परेको भए तीनलाई समाउँथे ।’ भित्री मनको कुरा हो यो । उनको हातमा यो पैसा कसरी पर्यो होला ? मनमा अर्को प्रश्न तेर्सियो । आशंकापूर्ण तर्क धेरै आए । पेट्रोल हालियो, हिडियो । कालिमाटीमा रोकिएर फलफूल किन्न थालेँ । त्यहि विरेन्द्रको फोटो छापिएको नोट दिएँ । व्यापारीले नोट वल्टाई पल्टाई हेर्यो । मेरो अनुहार नहेरी घर्रामा घुसार्यो । मनमा लाग्यो यसले नोट चिन्यो । तिहार नजिकिदै जाँदा दराजको विटो सकिदै गएछ । श्रीमतीले भनिन्–‘घरमा पैसा सकिन लाग्यो । बाटो मिलाएर एटीएम छिर्नु ।’ ‘तिहार खर्च पुग्दैन’–अल्छी मान्दै सोधेँ । ‘दक्षिणा दिनसम्म त पुग्ला’ उनले भनिन् । भाईटिका सम्पन्न भयो । दिदीवहिनी बीचमा बसेर रमाईला कुरा हुँदै थिए । उनीहरुमा नयाँ खुशी देखियो । तिहारमा माइत आएका चेली त्यसैमा खुशी हुन्छन् । कोभिड महामारीको बीचमा पनि सबै दाईभाईलाई टिका लगाउन पाएकोमा अर्को खुशी थियो । त्यसमाथि दक्षिणामा राजा विरेन्द्र भएको हजार रुपैयाँको नोट पाएकोमा उनीहरुमा थप खुशी रहेछ । यो नोट कसको हातबाट आयो ? उनीहरुमा खुल्दुली जाग्यो । ‘मसँग थिए ती नोट’ म बोलेँ । ‘दाई मलाई अरु पनि साटी दिनुस्’ बहिनीहरु सीता र जानुकाले एक स्वारमा हतारिएर भने । ‘छ भने मलाई पनि है’ दिदीले पनि मन्द स्वरमा भन्नुभयो–‘भान्जाले विरेन्द्रको फोटो भएको सबै दरका नोटहरु पाएसम्म संकलन गरिरहेको छ ।’ मलाई भने धेरै मोह भएन । पर्समा हेरेको । विरेन्द्र अंकित थप तीन वटा नोट रहेछन् । ‘यी मेरो हातमा परेका अन्तिम नोट हुन् । एउटा म राख्छु, दुईटा दिन्छु’ निर्णय सुनाईहालेँ । हातैबाट खोसेर दुबै नोट सीताले नियन्त्रणमा लिइन् । जानुकाले जोड बलगर्दा पनि उनले बाँडिनन् । मेरो प्यारो सगरमाथा अंकित नोट मैले फिर्ता पाएँ । उनीहरुले विरेन्द्रको फोटो भएको नोट महँगोमा किनबेच भईरहेको चाल पाएका रहेछन् । क लेखिएको नोट झनै महँगोमा किनबेच हुने गरेकाे उनीहरूले सुनेका रहेछन् । याे विषय मेरो जानकारीमा थिएन । राजा विरेन्द्र छापिएका नोट प्रिमियम मूल्यमा किनबेच हुने गरेकाे विषयले मेरो पनि ध्यानाकर्षण भयो । बास्तविकता के रहेछ भनेर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा नोट विभाग प्रमुख रेवतीप्रसाद नेपालसँग जिज्ञासा राखेँ । ‘कुनै पनि नोट अंकित मूल्यभन्दा बढीमा किनबेच गर्न पाइदैन । कानुनतः त्यो दण्डनीय हुन्छ’ उनले भने–‘तर पुराना नोटहरु ऐतिहासिक अभिलेख राख्नेहरुले बढी मूल्य तिरेर पनि किन्ने र राख्ने प्रचलन विश्वभर नै छ । नेपालमा पनि राजा विरेन्द्र भएको नोटहरु धेरै मूल्यका किनबेच हुने गरेको हामीले अनौपचारिक रुपमा सुनेका छौं ।’ बजारमा राजा अंकित नोटहरु नगन्य रहेको उनले बताए । ‘प्रचलित नोटमा शुन्य दशमलव शुन्य १ प्रतिशत भन्दा पनि कम मात्र राजाको तस्वीर भएको नोट पाइन्छ । राजा विरेन्द्र अंकित नोट त झनै विरलै छ’ उनले भने । राजा विरेन्द्र भएको लोपाेउन्मुख नोटको विटो हातमा परेर सकियो । मेरो हातमा क५८ ८६०६१६ नोट मात्र बाँकी छ । नोट विभाग प्रमुख रेवती नेपालका अनुसार यो नम्बर भएको नोट अरु कसैसँग पनि हुँदैन । यो नोट मेरो लागि अमूल्य भयो । अब कसैलाई दिन्न, सरकारले खोसेन भने ।

समाजशास्त्रीय दृष्टिकोणमा तिहार पर्व र कोरोना

हाम्रो देश बहुभाषी, बहुधार्मिक, बहुजाति मानिसहरुले बसोबास गरेको एक सुन्दर राष्ट्र हो । जुन विभिन्न जातजाति, धर्म, संस्कृति, परम्परा, मूल्य, मान्यताहरुले सम्पन्न छ । यहाँ विभिन्न जातजातिहरुले विभिन्न चाडपर्वहरु मनाउने गर्दछन् । जस्तै दशै, तिहार, छैट, एकादशी, जितिया, उद्यौली उभौली, तीज, जनैपूर्णिमा, लोसार आदि । यी विभिन्न चाडपर्वहरुले समाजलाई एकसुत्रमा बाँधेर सभ्य समाज निर्माण गरि एकआपसमा भाईचाराको सम्बन्ध स्थापित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यी हरेक चाडपर्वहरुको आ-आफ्नै किसिमको सामाजिक महत्व र विशेषता रहेको हुन्छ । हाम्रा यस्ता विविध चाडपर्वहरुले समाजमा एकअर्काप्रति सम्मान, सदभाव, अनुशासन, नैतिकता र शान्ति कायम गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । यी विविध चाडपर्वहरु मध्ये तिहार हिन्दुधर्मावलम्वीहरुको दशै पर्व पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यता कै महान सांस्कृतिक पर्व हो । यो पर्वले सामाजिक सांस्कृतिक महत्व र अस्तित्व वोकेको छ । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागतिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्धितिया तिथिको भाईटिका सम्म मनाईन्छ । यो चाड पाँच दिनसम्म मनाइने भएकोले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी वहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुृनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको पाईन्छ । तिहार भनेको प्रकृति पूजक महान पर्व हो । किनकी वर्षभरि काममा लगाईने पशुपंछी कुकुर, काग, गाई, गोरु र पानीको प्रमुख श्रोत मानिने पर्वतको पूजा गर्नु भनेको प्रेम, सदभाव र मैत्रीको प्रतिक समेत हो । यो पर्व रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्व हो । जसमा पिङ्ग खेल्ने दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान खाई भव्यरुपमा हर्षो उल्लासका साथ मनाईने गरिन्छ । तिहार पर्वलाई समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा यो पर्व एक पारिवारिक पुनर्मिलनको महान पर्व हो । समाजका सामाजिकिय विभिन्न आवश्यकताहरु हुन्छन् । ती आवश्यकताहरुले समाजका विभिन्न अवयवहरुको निर्माण हुने गर्दछन् । मानिसहरुका विभिन्न आवश्यकताले सामाजिक तत्वहरुको उत्पत्ति र अन्त्य पनि हुने गर्दछ । मानिसका आवश्यकताहरु भौतिक अभौतिक दुवै हुन सक्दछन् । यो पर्व दाजुभाई र दिदिबहिनी बीच प्रेम र सुमधुर सम्बन्ध स्थापित गर्ने र एकआपसमा मायाप्रेम, सुख दुःख साटासाट गर्ने एक पवित्र चाड हो । यो मिलन भौतिक र भावनात्मक दुवै हो । यो पर्वले जीवजन्तु, पशुपंक्षी तथा प्रकृतिसंग मानव जातिको सम्बन्ध अन्योआश्रित रहेको हुन्छ भन्ने संकेत गरेको आभाष हुन्छ । किनकी पशुपंक्षी, प्रकृति र मानव जातिको सम्बन्ध नङ्ग र मासुको जस्तै रहेको हुन्छ । एक विना अर्कोको अस्तिन्व नै रहन सक्दैन भन्ने कुरा तिहार पर्वले प्रष्ट्याएको पाईन्छ । लेखक काग र कुकुरलाई यमराजको सन्देश वाहक मान्ने धार्मिक मान्यता हाम्रो समाजमा रहेको पाईन्छ । तिहारमा कागलाई सन्देश वाहकको रुपमा पूजा गरिने धार्मिक परम्परा रहि आएकोछ । यसले मानिसको वातावरणसँगकाे गहिरो सम्बन्ध रहेको प्रष्ट हुन्छ । त्यसैले काग तिहारलाई सिंगो ईकोसिस्टमलाई पूजा गर्ने नेपाली परम्पराको सिम्वोलको रुपमा हेर्न सकिन्छ । कुकुर यमराजको सन्देश वाहक मान्ने धार्मिक विश्वास र मान्यता भएको एव कुकुरले घर परिवारको साथै गाँउघरको सुरक्षा गर्ने गर्दछ । त्यसैले कुकुर तिहारमा कुकुरको ससम्मान पूजा गरिन्छ । मानिसको अस्तित्वका लागि प्रकृति र पशुपंक्षीको अस्तित्वको अनिवार्यतालाई स्वीकार्ने भावनात्मक संकेत प्रकृति र पशुपंक्षीहरुको ससम्मान पूजा गर्नुले प्रष्ट पार्दछ । प्रकृति र पशुपक्षीहरुको पूजा गर्ने परम्परा मान्यता अरु जेजस्तो भए पनि यो पर्वले मानिसको सामाजिक सम्बन्ध र भावना अभिव्यक्त गरिरहेको स्पष्ट हुन्छ । तिहारको सबै भन्दा महत्वपूर्ण पूजा मानिसको पूजा हो । तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्धितीया तिथिका दिन यो पर्व विशेष उत्साह र महत्वका साथ मनाईन्छ । त्यसैले तिहारको अन्तिम दिन गरिने भाईटिकालाई भाईपूजा भन्ने पनि गरिन्छ । यो दिन दाजुभाईको सुस्वास्थ्य र दीर्घायूको कामना गरि दिदिबहिनीले विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने मेवा मिष्ठान आदि मनपर्ने कुरा खुवाउने र दाजुभाईले दिदिवहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेकोछ । यसरी दिदिवहिनीहरुले दाजुभाईको पूजाआजा गरि आत्मियताको सम्बन्ध स्थापित गर्दै मनोवैज्ञानिक संन्तुष्टि प्राप्त गर्दछन् । नेवारी समाजमा आफ्नो पूजा गर्ने म्ह पूजाको परम्परा रहेकोछ । यो नेवारी परम्पराले आफैले आफैलाई सम्मान र विश्वास गर्नुपर्छ भन्ने दर्शनको प्रतिनिधि गरिरहेको स्पष्ट हुन्छ । यसले समाजमा सामाजिक तथा सांस्कृतिक सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको प्रष्ट हुन्छ । तर आजभोली तिहार मनाउने तरिकामा परिवर्तन भएको पाईन्छ । किनकी आज विभिन्न प्रविधिको विकास, परिवर्तित समय र मानिसहरुका विचारहरुले गर्दा समय संगै समाज पनि परिवर्तन हुदै गइरहेको छ । यो समाजको परिवर्तन सँगै हाम्रा चाडपर्वहरु पनि परिवर्तन हुदै गईरहेको पाईन्छ । तिहार मनाउने परम्परामा पनि निकै परिवर्तन भएकोछ । हरेक पुस्तामा तिहारको निरन्तरता परिस्कृत हुदै गएकोछ । आज समाजमा तिहार मनाउने प्रक्रिया र यसलाई बुझ्ने तरिकामा समेत निकै परिवर्तन भएको देखिन्छ । पहिले दिदिवहिनी दाजुभाई एकसाथ भई दुःखसुख वाँड्दै आफ्नोत्वको भावना साटासाट गरि उल्लासमय वातावरणमा तिहार मनाउथे भने अहिले आएर राष्ट्रिय पर्वको अवसर पारी विदाका दिन युवा पुस्ताका होलिडेका ट्रीपको प्लान बन्ने गर्दछ । जसले दाजुभाई र दिदिबहिनी विचको सम्बन्धमा कही न कही कमी आउन सक्ने संम्भावना नरहला भन्न सकिन्न । आजभोली चाडवाडको समयमा विदाको अवसर पारि मानिसहरु घुम्न जाने हुदाँ आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । यसबाट पर्यटक क्षेत्रमा भने केही हदसम्म सुधार भएको महसुस गर्न सकिन्छ । दशै देखि छैठ सम्म आन्तरिक पर्यटनको अवसरको रुपमा मानिन थालिएको देखिन्छ । पर्यटकीय क्षेत्रमा आर्थिक क्रियाकलाप पनि अधिक मात्रामा हुने गर्दछ । यो समयमा मौसम पनि पर्यटनका लागि सुहाउदो हुन्छ । नेपालमा घुमघाम गर्नका निम्ति निकै नै सहज वातावरण बनेको छ । किनकी यहाँ यातायातको सहज पहुँच र पाहुना बस्ने घर होटल होम स्टेहरुको राम्रो व्यवस्था हुदै गएकोछ । जसले चाडपर्वहरुमा घुम्न चाहने मानिसहरुको लागि सुविधा भएको छ । तर यसपालिको तिहार कोभिड–१९ का कारण प्रभावित हुन पुगेको छ । त्यस्तै गरि पहिले दिदिबहिनीले दाजुभाईलाई टीका लगाई विभिन्न उपहार दिने र दाजुभाईले दिदिबहिनीहरुलाई दक्षिणा र सारी चोलो दिने प्रचलन थियो भने अहिले घुम्न लैजाने, दिदिबहिनीले मन पराएको सामान खरिद गर्ने चलन बढेको समाजमा देख्न सकिन्छ । यसरी मध्यम वर्गमा तिहारमा दिईने उपहार पनि फेरिदै गएको पाईन्छ । हुन त दिदिबहिनीहरुलाई लिन जाने वा दिदिबहिनीहरु दाजुभाई कहाँ जाने यातायात खर्च सम्म नभएर भाईटिका गर्न नसक्ने अर्को वर्ग समाजमा नभएको भन्ने चाँहि छैन तर समाज आधुनिकता तिर लम्कदै गर्दा तिहार लक्षित बजारी उत्पालन र विज्ञापनहरुले तिहार नमनाई वस्न सकिने अवस्था पनि छैन । तिहार वढि भन्दा वढि कमर्सियलाइज्ड हुदै गएकोछ । उपभोक्तावादी प्रवृति हावी हुदै गएको देखिन्छ । जसले गर्दा तिहार आर्थिक स्त्तरिकरण प्रदर्शित हुने गरेको पाईन्छ । तिहारमा खाइने मिठाई देखि प्रयोग गरिने फुल बत्ती र अन्य सामान सवै कस्मेटिक वन्दै गएको पाईन्छ । यो परिवर्तन समयसंगै समाज परिवर्तन हुदै जानु एक स्वाभाविक नियम प्रक्रिया मान्न सकिन्छ । वर्ष भरिको मनोमालिन्य र वैरभाव हटाएर भातृत्व र सामाजिक मेलमिलाप कायम गर्ने अर्थ यस पर्वले राख्दछ । चाडवाडहरु यस्ता मौसम हुन जसले सवै सामाजिक संस्थाहरु चलायमान हुने गर्दछन् । यस पर्वले सवैभन्दा पहिले त पारिवारिक सम्बन्धलाई पूर्नताजगी दिने कार्य गर्दछ । किन की गाँउबाट शहर र शहरबाट विदेश बसाई सर्ने प्रक्रिया नेपाली समाजमा पछिल्लो समयमा निकै तिव्र रुपले बढेर गएकोछ । नेपालको कुनै पनि समाज र भूगोल यो समस्याबाट अछुतो रहन सकेको छैन । यो पर्वमा पनि सहर र विदेशमा रहेका दाजुभाई दिदिबहिनी आफ्नो गाँउघर फर्कन्छन् र माया, प्रेम अनि आफ्नत्वको सम्बन्धको गाँठो कस्ने गर्दछन् । नेपाली समाजमा देउसीभैलो खेल्नु तिहारको प्रमुख मौलिक विशेषता हो । गाँउका युवायुवतीहरु मिलेर देउसीभैलो खेलेर रमाइलो गर्दछन् । देउसीभैली खेलेर जम्मा भएको रकम सामाजिक काममा लगाउने चलन पनि समाजमा रहेको पाईन्छ । यो समाजका लागि राम्रो पक्ष हो किन की यसले सामाजिक मेलमिलापको निरन्तरतालाई कायम राख्दछ । तर आजभोली युवाहरु देउसीभैलो खेलेर जम्मा भएको रकम पिकनिक जाने रमाइलो गर्ने र फजुल खर्चमा उडाउने पनि गर्दछन् । जुन समाजका लागी नराम्रो पक्ष हो । यसरी व्यक्ति र परिवारको सक्रियताले विवाह, नातागोता जस्ता सुक्ष्म सामाजिक संस्थाहरु प्रभावित हुन्छन् नै धर्म, राजनिती, अर्थव्यवस्था लगायत वृहत सामाजिक संस्थाहरु समेत पूर्नताजगी हुन पुग्दछन् । त्यसैकारण चाडवाड र बजार एकअर्कार्मा प्रभावित भैरहेको पाईन्छ । कतिपय आर्थिक गतिविधी तिहारमा नै मात्र हुने खालका पनि हुन्छन् । बजारको त्यो कारोवारको फाइदा सहरका व्यापारी लगायत गाँउका किसान तथा कालिगढहरुले पनि लिन्छन् । तिहार मै बेच्नका लागी सयपत्री मखमली फुलको खेती गरिन्छ । यस्तो फुलको खेती गर्ने किसानहरुले तिहारको मौका पारि राम्रो आम्दानी लिन सफल हुन्छन् । त्यस्तैगरि ओखर, निवुवा, भोगटे जस्ता फलफुलहरुले पनि किसानहरुको राम्रो आम्दानीको बाटो बन्दछ तिहार पर्वमा । अर्कोतिर माटाका पाला, झिलीमिली गर्ने वत्ती, विभिन्न पटकाहरु जस्ता सामानहरु बनाउने उद्यमीहरुले पनि राम्रो आम्दानी गर्दछन् । तर किसानहरुले यसरी आम्दानी गरेको रकम अनुत्पादक क्षेत्रमा खर्च गरिरहेको देख्न सकिन्छ । जस्तै किसानहरु फुल शहरमा ल्याएर वेच्छन् र वजारबाट कोक फेन्टा किनेर लैजान्छन् । यस वेला करौडौको फुल, फलफुलहरुको आयात हुने गदैछन् । यस प्रक्रियालाई सरकार र नागरिक मिलेर रोकी आफै आत्मानिर्भर हुन सके करोडौ रकम बाहिरिनबाट बचाउन सकिने देखिन्छ । तर यसपालि विश्व कै हरेक क्षेत्र प्रभावित भैरहेको अवस्थामा हाम्रो नेपाल पनि अछुतो रहन सकेको छैन । यहाँका पनि हरेक क्षेत्र प्रभावित हुन पुगेका छन् । यसपालि हाम्रा चाडवाडहरु पनि प्रभावित हुन पुगेका छन् ।लामौ ईतिहाँस वोकेको तिहार नेपालीहरुको मौलिक पर्व भएता पनि यो चाड खासगरि हिन्दुधर्मावलम्वीहरुले मनाउने गर्दछन् भन्ने मान्यता रहेको पाइन्छ । यहाँ धेरै धर्मालम्वी, जातजाती र क्षेत्रका मानिसहरु तिहारलाई आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । ती समुदायमा यो पर्वको नाम र यसको अर्थको समेत विविधता रहेको पाइन्छ । विभिन्न क्षेत्रमा मनाइने तिहारका आ–आफ्नै परिचय रहेको पाईन्छ । जस्तै तराई मधेश क्षेत्रका मानिसहरुको भाषामा तिहारलाई दीपावली भनिएको पाईन्छ भने मिथिला क्षेत्रमा यसलाई दियावत्ती भनिन्छ । दिपावली मन र संसार सवै उज्यालो बनाउने प्रकाशको चाडको रुपमा मनाईन्छ । समग्रमा हेर्दा तिहारका गतिविधीले नेपाली समाजका धर्मसंस्कार र सभ्यताको सांगोपांगो झल्को दिन्छन् । यो पर्वले सत्य र असल कार्यका लागि बत्ती जस्तै प्रज्जवलित हुन हामी सवैलाई प्रेरित गर्दछ । यो पर्वले आपसी सद्धभाव, मेलमिलाप, मायास्नेह, प्रेम आफ्नत्वको भावना जाग्रित गराउँदछ भने प्रकृतिसंगको सम्बन्ध र पूजा सिकाउदछ । तर हामीले यो पर्व मनाउदै गर्दा यसको मर्म बुझ्नु र हाम्रो जीवनमा त्यसको सन्देश र महत्वलाई अनुसरण गर्न सक्नु पर्दछ । तर यसपाली नेपालीहरु कोभिड –१९ का कारण यी विविध गतिविधीहरुबाट वञ्चित हुनु परेकोछ । कोभिड –१९ ले मानिसहरुको सामाजिक दुरी वढाईदिएकोछ । हाम्रा चाडभाडहरु खुलेर रमाइलो गरी हर्सोउल्लासमय वातावरणमा मनाउन पाउने अवस्था छैन । सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिरहेको अवस्था छ । जो जो जहाँ जहाँ छौ त्यहीवाट मनाउनु पर्ने वाध्यता सिर्जना भएको छ । त्यसैले यी कुराहरुको मध्येनजर गर्दै सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धि पा्रवधानहरु पालना गर्दै सचेत भई हाम्रो महान चाड तिहार मनाऔ । आफू बाँचौ अरुलाई पनि बचाऔ । इंटहरी, सुनसरी [email protected]

कर्मचारीतन्त्र किन उत्तरदायी बन्न सक्दैन ?

कर्मचारीले गरिब देशका जनताले आफ्नो छाकबाट बचाएर तिरेको करबाट तलब भत्ता खाएको छुु भनि बिर्सनु हुँदैन । मुलुक जस्तो सुकै संकटमा परेको बेलामा पनि विकास खर्च काटेर भएपनि तलब भत्तामा कुनै कमी गरेको छैन । जनताको स्थायी सरकार मानिने कर्मचारीतन्त्र माथि आज थुप्रै गुनासा र अविश्वास बढी रहेको छ । आज कर्मचारी माथि थुप्रै आरोपहरु लाग्दै गएका छन् । निर्धारित समयसम्म कार्यालयमा बस्दैनन्, भ्रष्टाचारलाई जिवनशैली बनाएका छन्, नागरिक सेवा प्रति उत्तरदायी हुँदैनन्, काम नगर्ने नागरिकलाई यो या त्यो बहानामा दुःख दिने गरेका छन् भन्ने जन गुनासो सुनिन्छन् । यी गुनासा जनस्तरबाट नै उठेका हुन् । यस्ता खालका गुनासाहरुलाई व्यवस्थापन गर्न सकिएन भने विद्रोह हुन्छ । यसो भनिरहँदा कर्मचारीतन्त्रमा सदाचारी कर्मचारी नै नभएको चाही अवश्य होइन । उहाँहरु कालो पर्दाले छोपिएका छन् । सदाचारी कर्मचारी ‘बिचरो’ बन्दै शिर निहुराएर हिड्नुपर्ने बाध्यता छ । नेपालको प्रशासनयन्त्र निकै नै प्रक्रियामुखी झन्झटीलो किसिमको छ । यो नतिजामुखी हुन सकेको छैन । नेपालमा ठूला राजनितिक परिवर्तन भए तर प्रशासनिक रुपमा हेर्दा खासै परिवर्तन भएको छैन, उही पुरानो शैली र ढाँचा रहेको पाइन्छ । जनताप्रति उत्तरदायी हुनुपर्नेमा अझैं पनि हाकिमप्रति उत्तरदायी हुनुपर्ने बाध्यता हटेको छैन । मुख्य गरी व्यक्तिगत स्वार्थ हत्याउनको निमित्त राजनितिक र प्रशासनिक व्यक्तिहरुको साँठगाठले कर्मचारीतन्त्र आक्रान्त छ । भ्रष्टाचार, ढिलासुस्ती, आर्थिक अनुशासन हिनता, गफ चुटेर दिन काट्ने, हाजिर गरेर टाप कस्ने प्रवृतिले कर्मचारीतन्त्रको सास गर्दै गएको छ । ‘राइट म्यान इन राइट प्लेस’को वातावरण छैन । हिजोको तुलनामा आज तलब मात्र वृद्धि भएको छ, राज्यले ठूलो व्ययभार खेपिरहेको छ । तर अझै पनि भ्रष्टहरुको सङ्ख्या बढ्दै गईरहेको छ । मानौं कि भ्रष्टाचार भन्ने शब्द लोकतान्त्रिक नैसर्गिक अधिकार जस्तो भएको छ । दण्डहिनता मौलिक संस्कृति बनेको छ । आज कर्मचारी तन्त्रलाई खिया लगाउने कार्य बिचौलिया, माफिया दलालहरुले गरिरहेका छन् । कर्मचारीतन्त्र बलियो नभएमा समाजमा अपराधिकरणका धटना झन्झन् बढ्दै जान्छन् । कर्मचारीतन्त्रमा चाकर चाप्लुसी हावी हुँदै गएको छ यसले प्रतिभा पलायन हुँदै गएको अवस्था छ । नेपालमा प्रशासनिक राजनितिक पुनसंरचना भयो । मुलुक संघियतामा गइसकेपछि भ्रष्टाचार विरुद्ध प्रतिनिधिहरुको खवरदारी रहन्छ भन्ने विश्वास जनतामा रहेको थियो तर विडम्बना आज प्रतिनिधिहरु नै यस्ता घटनामा मुछिएको समाचार आइरहन्छन् । जबसम्म कर्मचारी र राजनितिक व्यक्तित्वबाट बिचौलिया, माफिया, अपराधिहरुलाई संरक्षण गरिन्छ तबसम्म सुशासन भन्ने तत्वको कुनै अभास हुँदैन । आज मुलुकमा तिन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय तह । हुन त सबै सरकारसँग आफ्ना आफ्नै समस्या होलान् । तर स्थानीय सरकार अभाव, प्रभाव र दवावले ग्रसित छ । संघियता कार्यान्वयनको आधारस्तम्भमा काम गर्ने स्थानीय तहका कर्मचारी माथि गरिएको सौतेनी व्यवहारले कर्मचारीको मनोवल खस्किदै गएको छ । जनताको घरदैलोमा प्रत्यक्ष रुपमा दुरदराज कुना कन्दारामा विभिन्न, अभाव, दबाव, समस्यासँगै जुधेर जनताको सेवामा तल्लीन कर्मचारीलाई राज्य स्तरबाट कुनै वास्ता नगरिनु, विभेदपूर्ण व्यवहार गरिनु शुभ लक्षण होइन, यसले कर्मचारीको मनोबल कमजोर बनाउँछ । यसकारण कर्मचारीले चाकरी, चाप्लुसी, नातावाद, कृपावादबाट टाढा रहनुपर्छ । एउटा पद्धतिमा रहेर काम गर्नुपर्छ । जनताका समस्यालाई माटोको कसम खाएर निष्पक्ष तवरले तत्परताका साथ पुरा गर्नुपर्छ । कर्मचारीतन्त्रले आफुमाथि लागेका आरोप हटाउनुपर्छ । राज्यको तलबभत्ता खाएर, राज्यप्रति उत्तरदायित्व बहन गर्नै पर्छ । जनताको सेवालाई स्वच्छ, निष्पक्ष तवरले ढिलासुस्ती, नगरी नतिजामुलक ढङ्गले प्रवाह गर्नु जरुरी छ । कर्मचारीतन्त्र सुदृढ, प्रभावकारी, सुशासन र संस्कारयुक्त हुनु जरुरी छ । जबसम्म बिचौलीया, माफिया, दलाल, अपराधिको संरक्षण कर्मचारी र राजनितिक व्यक्तित्वबाट भई रहन्छ, तबसम्म सुशासन भन्ने शब्द एकादेशको काहानी जस्तै हुनेछ ।