के पाक्दैछ राजनीतिक भट्टीमा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक खिचलो व्यवस्थापन गर्न नसकी सनकका भरमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक परिदृश्य रोचक मोडमा पुगेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि विद्रोहमा रहेको नेतृविक्रम चन्द नेतृत्वको पार्टीलाई राजनीतिक प्रतिबन्ध लगाएका ओलीले अहिले सो पार्टीसँग वार्ताको कसरत गरिरहेका छन् । प्रतिनिधिसभा विघटन गैरसंबैधानिक हो भन्दै आन्दोलनरत दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरुको ‘उपचारका लागि’ दिल्ली जाने क्रम बढेको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल दिल्लीमा उपचार गरेर काठमाडौं फर्किसकेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उपचारको लागि अहिले दिल्लीमा छन् । यी दुबै पूर्व प्रधानमन्त्री उपचारकै लागि दिल्ली गएका भएपनि राजनीतिक अर्थ लाग्ने विशेष समय परेका कारण अनेक अर्थ लगाउन सकिने अवस्था छ । यति मात्रै होइन, गत माघ १९ गते नेपाली सेनाको बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्यो । माघ १९ नेपाली राजनीतिमा एउटा बेग्लै संकेत गर्ने दिन हो । किनभने तत्कालिन राजा ज्ञानेन्द्रले माघ १९ कै मिति पारेर सम्पूर्ण शासनसत्ता हातमा लिदै आफ्नै अध्यक्षतमा मन्त्रिमण्डल गठन गरेका थिए । त्यो २०६१ साल माघ १९ को कुरा थियो । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधि पनि राजनीतिक रुपमा विश्लेषण गर्न योग्य छन् । विश्वभरका शोषित, पिडित र सर्वहारालाई राज्यको मूल प्रवाहमा ल्याएर विभेद रहित समाज स्थापना गर्ने भनिएको कम्युनिष्ट पार्टीमा होमिएका प्रधानमन्त्री ओलीले केही साताअघि मात्रै पशुपतिनाथ मन्दिरमा गएर ‘क्षमा पुजा’ गरेका छन् । पशुपतिनाथ मन्दिरमा १४२ केजी सुनको जलहरी लगाउन बजेट उपलब्ध गराउने ‘बाचा’ गरेका छन् । पशुपतिनाथभन्दा पहिला नै प्रधानमन्त्री ओलीको भगवान रामको जन्मभूमि बारेको सार्वजनिक टिप्पणी हामी सबैले सुनेकै विषय हो । प्रधानमन्त्री ओलीले अघिल्लो साता निर्वाचन आयोगले चुनावको तयारी राम्रोसँग नगरेको भन्ने अर्थलाग्ने सार्वजनिक भनाई राखे । हिजो मात्रै सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपनि आफ्नो राजनीति नसकिने बताए । त्यसको एक दिन अघि मात्रै उनले प्रतिनिधिसभा पुनस्थापना भए आन्दोलन हुने बताएका थिए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय अहिले न्यायिक निरुपणको लागि सर्वाेच्च अदालतमा विचाराधिन छ । अब केही दिनभित्रै फैसला आउन सक्ने अनुमानहरु पनि सार्वजनिक भइरहेका छन् । यही परिवेशमा हिजो प्रधान सेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाबीच सर्वाेच्च अदालतमा भेटघाट भएको छ । ‘जग्गाको विषयमा भएको भेटघाट’ले राजनीतिक संकेत दिएको छ । सर्वाेच्च अदालत र नेपाली सेनाले औपचारिक रुपमा दाबी गरे जस्तो जग्गा विषयमा कुराकानी गर्न प्रधान सेनापति र प्रधानन्यायाधिशको भेटघाट जरुरी थियो भनेर मान्न सकिने अवस्था छैन । किनभने सेनाले भोगचलन गरिरहेको सर्वाेच्च अदालत पछाडिको सेनाको क्याबलरी रहेको ९ रोपनी जग्गा सर्वाेच्चले प्राप्त गर्ने अन्तिम चरणमा छ । सेनाले सो स्थानबाट क्याबलरी सारेर नारायणहिटी लगिसकेको छ । सर्वाेच्चले सो स्थानमा बनाउने भनेको भवनको शिलान्यास पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले नै गरिसकेका छन् । गत माघ १९ गतेको सेनाको बख्तरबन्द गाडीको चक्रपथ परिक्रमको अर्थ के हो ? प्रधानन्यायाधिश र प्रधान सेनापतिबीचको हिजोको भेटघाटको सन्देश के रह्यो ? निर्वाचन आयोगले चुनावको तयारी राम्रोसँग गरेको छैन भनेर प्रधानमन्त्रीले किन सार्वजनिक अभिव्यक्ति दिए ? प्रतिनिधिसभा पुनस्थापनाको पक्षमा सर्वाेच्चको फैसला आयो भने आन्दोलन हुन्छ भनेर प्रधानमन्त्री ओलीले के भन्न खोजेका ? अनि त्यसको भोलिपल्ट नै प्रतिनिधिसभा पुनस्थापना भएपनि आफूहरुको राजनीति सकिदैन भनेर प्रधानमन्त्रीले भन्नुको अर्थ के हो ? कतिपयले अहिलेको राजनीतिक घटनाक्रमलाई संघीय गणतन्त्र स्थापनाको पृष्ठभूमिदेखि संविधानसभाबाट संविधान जारी भएसम्मको परिवेशसँग दाजेर हेर्न थालेका छन् । आफूले गद्दी त्याग्ने बेलामा कुनै सम्झौता भएको र अहिले त्यसको पालना नभएको भन्ने अर्थ लाग्ने अभिव्यक्ति पूर्व राजा ज्ञानेन्द्रले दिइरहेका छन् । संघीयता र धर्म निरपेक्षताको विषयमा पनि ठूलै तप्काले असहमति जनाइरहेको छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ठीक छैन भन्दै नेतविक्रम चन्द नेतृत्वको पार्टी हिंसात्मक आन्दोलनमा छ । यही अवस्थामा पार्टीभित्रको आन्तरिक खिचलो व्यवस्थापन गर्न नसकी सनकका भरमा गरेको प्रतिनिधिसभा विघटनले यी सबै परिवेशलाई स्मरण गर्न सान्दर्भिक हुने बनाइदिएको छ । संविधानसभाबाट संविधान जारी भएपछि नेपालले भोगेको भारतको नाकाबन्दी नेपालीले अझै विर्सिएका छैनन् । पूर्व प्रधानमन्त्रीहरु ‘उपचारका लागि’ एकपछि अर्काे गरी दिल्ली जानु, सेनाले माघ १९ नै पारेर बख्तरबन्ध गाडीले चक्रपथ परिक्रमा गर्नु, प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा फैसला आउने समयमा प्रधानन्यायाधिश र प्रधान सेनापतिबीच ‘टहरा हटाउन’ सर्वाेच्चमा छलफल हुनु, अहिलेको शासन प्रणालीप्रति नै असहमती राख्दै हिंसात्मक आन्दोलनमा होमिएको चन्द नेतृत्वको पार्टीसँग वार्ताको तयारी हुनु संयोग मात्रै हो ? पक्कै होइन । केही स्रोतहरुले तत्कालिन माओबादी र आन्दोलनरत ७ दलबीच दिल्लीमा १२ बुदे सम्झौता भए जस्तै कुनै खेल भइरहेको दाबी गरेका छन् । अब त्यस्तो कुनै सम्झौता भयो भने त्यसमा राजा र हिंसात्मक आन्दोलन गरिरहेको चन्द नेतृत्वको दल पनि संलग्न हुनेछ । र, सर्वाेच्च अदालतले प्रतिनिधिसभा विटनलाई संबैधानिक कदम भनेर मान्यता दिएको अवस्थामा यस्तो कुनै प्रकारको सम्झौतालाई अझ बल पुग्ने देखिन्छ ।
बैंकिङ क्षेत्रमा जागिर खाने इच्छा छ ? पहिले सुधार्नुस् यस्ता बानी
नेपालको सन्दर्भमा बैंकिङ क्षेत्र दुई दशक यता एउटा यस्तो क्षेत्रको रुपमा स्थापित भइसकेको छ जसले लाखौंको संख्यामा रोजगारी सिर्जना गरिरहेको छ । यस्तै, कैयौं लगानीकर्तालाई वर्षैपिच्छे मुनाफा प्रदान गर्दै, व्यापार व्यवसाय गर्न चाहनेका लागि लगानीको वातावरण बनाइदिँदै आएको छ । अनि राजस्वको रुपमा सरकारलाई करोडौं रकम बुझाउँदै देश र जनतालाई आत्मनिर्भर बनाउन धेरै हदसम्म सफल पनि भएको छ । सायद बैंकिङ क्षेत्र एउटा इज्जतिलो क्षेत्रको रुपमा स्थापित भइसकेको कारणले गर्दा नै हुनुपर्छ, यस क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवा जमातको संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । एकातर्फ यसरी यो क्षेत्रमा प्रवेश गर्न चाहनेहरु धेरैको संख्यामा भेटिन्छन् भने अर्कोतिर आफ्ना लागि बैंकिङ क्षेत्र पटक्कै सुहाएन भन्ने चिन्ताले बैंकको जागिर छाडेर अन्य कुनै क्षेत्रमा भविष्य खोज्नुपर्छ भन्नेहरु पनि भेटिइरहेका हुन्छन् । त्यसो भए के हो त बैंकिङ क्षेत्र ? यो क्षेत्रलाई कस्ता बानी बेहोरा भएकाले रोज्ने ? तपाईं यदी यो क्षेत्रमा प्रवेश गर्न पाए हुन्थ्यो भनेर सोचिरहनुभएको छ भने तपाईंले आफूमा कस्तो बानीको विकास गर्ने भन्ने लगायतका कुरामा केन्द्रीत रहँदै केही टिप्स तयार पारेको छु । तपाईंलाई बैंकिङ क्षेत्र रोज्ने अथवा अन्यत्रै भविष्य खोज्ने भन्ने जिज्ञासाको केही हदसम्म भएपनि सरलताका साथ जवाफ दिनेछ । बैंकिङ क्षेत्रमा शत प्रतिशत नै वित्तीय पारदर्शिता हुने भएकोले तपाईं हिसाव किताबमा कत्तिको चनाखो हुनुहुन्छ, पारदर्शितामा कत्तिको विश्वास राख्नुहुन्छ, करोडौं रकम भित्रिने र बाहिरिने हुँदा कत्तिको गोपनियता कायम राख्न सक्नुहुन्छ भन्ने कुराले बैंकिङ क्षेत्रमा ठूलो अर्थ राख्ने गर्दछ । यदी तपाईंमा प्यारप्यार बोलिरहने, कुरा गोप्य राख्न नसक्ने लगायतका बानी छन् भने आजैबाट आफ्नो यी बानीहरुमा सुधार ल्याउनुहोस् । यो क्षेत्र एउटा अध्ययनशील क्षेत्र पनि हो । बैंकिङ सिस्टम, नेपाल रास्ट्र बैंकको डाइरेक्टिभहरु, सम्बन्धित बैंकको सर्कुलर लगायतका कुराहरु समय समयमा परिवर्तन भइरहने हुनाले तपाईंले आफूलाई सधै अध्ययनशील बनाइरहनु पर्ने हुन्छ । यो क्षेत्रमा स्टाफले कत्तिको मिहिनेत गरिरहेको छ भन्ने कुराले गहिरो अर्थ राख्ने भएकोले कार्यालय समयभन्दा थोरै बढी समय दिनुपर्दा पनि तपाईं बिना हिचकिचाहट तयार हुनुपर्ने हुन्छ । आफूलाई अरुभन्दा अव्वल देखाउन तपाईं कार्यालय समयभित्रै पुग्ने, प्रतिस्पर्धी बैंकहरुको योजना, बजारको अवस्था लगायतलाई नजिकबाट बुझ्ने लगायतका काम गर्न जरुरी हुन्छ । त्यसैले आफूलाई यस्ता कुराहरुका लागि हरक्षण तयार राख्नुपर्ने हुन्छ । सेवाग्राहीले तपाईंसँग बोल्ने वित्तिकै तपाईं र तपाईंको बैंकप्रति धारणा बनाउने हुनाले तपाईंले आफ्नो ड्रेसअप, बडि ल्याङ्वेज, बोल्नेशैली लगायतमा विशेष ध्यान पुर्याइरहनुपर्ने हुन्छ । बैंकिङ क्षेत्र एउटा अनुशासित क्षेत्र भएकोले तपाईं कत्तिको अनुशासित हुनुहुन्छ, आफूभन्दा सानालाई कत्तिको माया गर्नुहुन्छ अनि ठूलालाई कत्तिको आदर गर्नुहुन्छ भन्ने कुराले विशेष अर्थ राख्ने गर्दछ । बैंकिङ काम मुख्य रुपमा कम्प्युटरबाटै गरिने भएकोले गर्दा तपाईं कम्प्युटर, फोटोकपी मेशिन, स्क्यानर लगायतका प्रविधिहरुसँग राम्रो जानकार हुनुपर्ने हुन्छ । कामको शिलशिलामा तपाईंलाई कार्यालयले जतिवेला पनि जिम्मेवारी हेरफेर गर्नसक्ने भएकोले तपाईं त्यसका लागि हरदम तयार हुनुपर्ने हुन्छ । त्यसैगरी बैंकिङ क्षेत्र सिकेर कहिल्यै नसिद्धिने भएकोले तपाईंमा हरदम नयाँ कुरा सिक्ने जोश जाँगर कायम रहनुपर्ने हुन्छ । यस्तै, बानी व्यहोराहरु तपाईंलाई आफूमा लागू गर्न सक्छु जस्तो लाग्छ भने यो क्षेत्र पक्कै पनि तपाईंकै लागि हो । अन्यथा हतारमा जागिर खाएर फुर्सदमा पछुताउनु बाहेक अरु केही विकल्प तपाईंसँग बाँकी रहनेछैन ।
बीमामा त समस्याको पहाड पो रहेछ, अब मिलेर समाधान गरौंः अध्यक्ष सिलवालकाे विचार
बीमा समितिमा अध्यक्षको रुपमा रहेर मेरो कार्यकालमा यसको वृद्धि विकासका लागि मैले गर्ने पर्ने कार्यमा म सधैँ तत्पर रहन्छु । व्यक्ति एउटैले सबै काम गर्छु भन्ने अवस्था त हुँदैन । तर, मुख्य विषय भनेको बीमा व्यवसायलाई हामी सबले व्यवस्थित बनाउनु पर्यो । कसरी यसलाई व्यवस्थापन गर्न सकिन्छ ? यो त तमाम समस्यै समस्याको पहाड रहेछ । बीमा क्षेत्रमा धेरै अवसर त छन् । तर, धेरै खालका चुनौतीहरु पनि मैले देखेँ । समस्या सिर्जना गर्नेले समाधानको उपाय पनि खोज्न सक्नु पर्छ । यसको समाधान कहाँ छ भन्ने विषय पनि थाहा पाउनु पर्छ । त्यो समस्या व्यवहारिक रुपमा समाधान हुन सके राम्रो हुन्छ गर्न सकिएन हामी भन्दा माथिको अथोरिटीमा छ भने हामीले सिस्टममा गएर काम गर्नु पर्ने हुन्छ । सुरुमै हामीले आँत्ति हाल्नु पर्ने अवस्था छैन । यसले दिनु पर्ने आउटपुट तथा योगदान नआएपछि अर्को समस्या उत्पन्न हुन्छ । हाम्रो पहिलो काम भनेको व्यवस्थापन गर्दै लैजाने हो । म सबैलाई अनुरोध गर्दछु । हामीलाई नियन्त्रक मात्र नबनाइदिनुस् । हामीलाई नियन्त्रक मात्र बनाइदियो भने बिगार्छ मात्रै । हामीले पहिले व्यस्थापनमा जानु पर्यो । त्यसपछि यसको विकासका क्षेत्रहरु केके हुन सक्छन् त्यो हामी सबैले बुझ्नु पर्यो । दुरदराजको मानिसले १० हजार तिरेर बीमा गर्न सक्दैन । उसलाई दुई छाक खान समस्या छ भने १० हजार रुपैयाँ कहाँबाट ल्याउँछ ? त्यो १० हजार रुपैयाँको जगेर्ना गर्ने ठाउँमा हामी छौं । जहाँबाट पुण्यको काम गर्छौं । हामीले ती वर्गसम्म पुगे मात्र हामीलाई सबैले चिन्छ । गाउँमा गएर बीमा भनेको के हो भनेर सोध्नुस् त ? त्यहाँका ५/१० जना टाठाबाठा बाहेकले भन्न सक्दैनन् । ९५ प्रतिशत मानिसलाई बीमा थाहा छैन । हाम्रो कर्तव्य भनेको बीमाको पहुँच त्यहाँसम्म पुर्याउने हो । त्यसको लागि हामी लाग्नु पर्छ । यहाँहरु सबैको लागि बीमा समिति बनेको हो । बीमा समितिलाई मेरो अड्डा हो बुझेर आउनु पर्यो । आफ्नो व्यक्तिगत समस्या लिएर मात्र आउनु हुन्न । तपाइँहरुले हामीलाई नियन्त्रक मान्नु भएको छ । बाउ भएपछि थप्पड त हानिहाल्छ नी । त्यसको स्वीकार पनि गरिदिनु पर्यो । यस्तो अवस्थामा तपाइँहरु पुर्याउनु हुन्न भन्ने मेरो आशा छ । मेरो लागि यो नयाँ क्षेत्र हो । म यसको प्राविधिक कुरा बुझ्दैन । तर, अर्थतन्त्रको रुपमा जहाँसम्म यसको विस्तार हुनु पर्ने हो । त्यहाँसम्म पुग्न सकेको छैन । यसको बाधक के हो ? अहिले बैंकको पहुँच ६० प्रतिशत जनसंख्यामा छ भने बीमाको २७ प्रतिशतसम्म मात्र किन ? हामी धेरै तल छौं । हामीले निर्देशन गर्ने कि यहाँहरुले सवा दिने ? म चाहन्छु यहाँहरुले सेवा दिनुहोस् । जब हामी एकै परिवारका सदस्य हौं । मुनाफा कमाउनुस् तर त्यो जेनुन हुनु पर्यो । त्यसलाई मैले कसरी थाहा पाउने ? त्यसको समन्वय गरेर अगाडि बढ्नु पर्यो । म यो क्षेत्रका विज्ञ मानिस होइन तर अर्थन्त्र राम्रोसँग बुझ्छु । धेरै क्षेत्रमा मैले काम गरेको छु । ग्रासरुटदेखि हायरलेवलससम्म मैले काम गरेको छु । पहिले हामी सबै बाँधियौं भने नियन्त्रण गर्नु नै पर्दैन । अब तपाइँहरुले नियन्त्रण नै गर्न बाध्य पारेपछि त त्यसको विकलल् नै हुँदैन हामी बाध्य भएर नियन्त्रण गर्छौं । (शुक्रबार नवनियुक्त अध्यक्ष सिलवालको पदभार कार्यक्रममा उनले राखेको धारणाको सम्पादित अंश)