पृथ्वीनारायण एक कालजयी इतिहास !
२०६३ सालमा भर्खर भर्खर राजतन्त्रलाई ढालेको झोँकमा ‘पृथ्वी जयन्ती’ नमनाउने घोषणा भयो । ‘राष्ट्रिय एकता दिवस’ मनाउँदा राजावादी शासनलाई प्रश्रय दिएको प्रतीत हुन्छ भन्ने मथिङ्गल बोक्नेले एउटा कालजयी इतिहासलाई लत्याउने त्यो लज्जास्पद निर्णय गर्यो । आज नेपाल र नेपाली रहनुको कालजयी इतिहासलाई झिनो स्वार्थमा रम्नेहरूले चक्मा दिएको दुखद् अवस्था सिर्जना भएको छ । यसको अर्थ निरङ्कुश शासनलाई प्रश्रय दिइनुपर्छ भन्ने अर्थमा कदापि होइन । १७७९ मा जन्मेका मान्छेलाई २०७७ मा चर्चा गरिरहँदा त्यही समयको परिवेश र क्षणसँग हेर्नुपर्छ भन्ने बुद्धि अहिलेका हामी बौद्धिक भनाउँदामा पनि भएन । त्यसैले पृथ्वीनारायणको गरिमालाई आमाचकारी गाली गर्नेले नबुझेरै गाली गरे । जसरी मदनलाई बिर्सन सकिँदैन, जसरी वीपीलाई सम्झनुपर्छ त्यसैगरी राजा कि राष्ट्रनिर्माता भन्ने हल्ला मच्चाएर राष्ट्रनिर्माताको इतिहास लुक्दैन । विश्वमा अमेरिका, युरोप भनिएका विकसित क्षेत्रले गोर्खाली सान र स्वाभिमानलाई उँचो मान्छ । विनास होइन, क्रान्ति होइन बुद्धत्वको सिंगो सारलाई मनन गर्छ । इतिहासका पानामा पृथ्वीनारायणको दूरदर्शितालाई जाँच्छ । भारत र चीनलाई हिजो दुई ढुंगा र नेपाललाई तरुलको संज्ञा दिएर सचेतनाको गहन भाव त्यसै पोखेका होइनन्– पृथ्वीनारायणले । दिव्योपदेशका पानाभरि दिगो विकास र सुशासनमा जनताप्रेमको सुगन्ध छर्लङ्गै छ । हामी बडप्पनको लक्कु बोकेर देशको झन्डाभित्र पुर्खाको गरिमालाई गलहत्याउँदा लाज र डरै मान्दैनौँ तब कुतर्कले सत्यता किन छोप्नुपर्याे र ! भनिन्छ, इतिहास त जित्नेकै लेखिने हो । एडल्फ हिप्पोलिक टेनले साहित्यलाई ‘जाति, क्षण र पर्यावरण’ का आधारमा हेर्नुपर्ने अवधारणा राखेका छन् । इतिहासलाई पनि सोही समयको परिवेश, बाध्यता र त्यागसँग गाँसेर हेरिनुपर्ने हो । आज भनिरहिएको शान्ति र समृद्धिको जगमा जात व्यवस्थाबाहेक अन्य कमजोरीलाई धेरै खोतलेर पृथ्वीनारायणको महान् योगदानलाई भुल्नु पनि एकांगी आरोप हुनेछ । चन्द्रमा दाग देखिए जसरी उनमा खोट रह्यो तथापि नाककान काटेर अमानवीय व्यवहार देखाएको झोँकलाई माओवादी द्वन्द्वसँग जोडेर हेर्दा कुनचाहिँ एकीकरणका लागि र कुन खण्डीकरणका लागि भन्ने तर्क हुन सक्छ । राजनीतिक पूर्वाग्रह बोकेर दुस्मनी साँध्ने र जन्मदिने बाबाआमालाई कैदी बनाएर शासन गर्ने कंश बुद्धि वर्तमान राजनीतिमा प्रष्ट छ । लेखक हामीले पढ्दै आएका छौँ– नेल्सन मन्डेलाले पनि विद्रोह गरे तर कालाजातिलाई मात्रै एकोहोर्याएनन् बरु सबैलाई मानवीय सद्भाव र सम्मान गरे । यस मानेमा संसारमा आज पनि त्यो एक नाम उदाहरणीय छ । जनआन्दोलन केका लागि हो र पृथ्वीनारायण को हुन् भन्ने विषयमा बहस गर्नुपूर्व आफ्नै अग्रज आमाबाबा, हजुरबालाई सम्झे पुगिहाल्छ । हिजो सालिक तोडेर उपद्रो मच्चाउनेलाई इतिहासको गरिमा र राष्ट्रभक्ति थाहा भएन । कसैको उक्साहटको मुङ्ग्रे बलले वितण्डा मच्चाउनेले एकताको सिको गरेको भए सायद समाज परिवर्तनको गाडी निकै अघि दगुरिसक्थ्यो होला । तर, त्यसो भएन । केवल अर्काका सिद्धान्त प्यारा भए । आफ्नी आमाको गालामा भएको खोट बोकेर अर्काकी आमाको आचरणै थाहा नहुनेले गल्र्याम्म अँगालो हाल्न पुगेको देखियो । त्यहाँ राष्ट्रप्रेमको मियो नै स्वार्थको आडमा जटित हुन पुग्यो । वर्तमान राजनीतिमा कम्युनिस्ट समाजवादको नारा स्वार्थको कित्तामा खण्डीकृत छ । खेलेर ऐह्रा मृग एक मारी बाँडी कलेजो जति छन् शिकारी बिलो लिएझै शरमा उनेर यो राज्य बाँड्ने चिज हैन हेर । – राष्ट्रकवि माधवप्रसाद घिमिरे राष्ट्रिय एकता दिवस कुनै पार्टी, राजतन्त्रको वकालत गर्ने वा कुनै शासन पद्धतिलाई पक्षपोषण गर्ने पाटोबाट एक, दुई जनाको नेतृत्वभित्र खुम्चिएको संकीर्णतावादी आवाज होइन । यो सिंगो नेपालको कालजयी इतिहासको मेरुदण्ड हो । अलिकति राष्ट्रकविको मर्मतिर ध्यान दिँदा सत्यता नियाल्छु मः यो राज्य लिन्छौँ जुन आज अंश बाँड्दै र चुँड्दै अनि वंश वंश …………………… विशाल नेपाल म रच्छु रच्छु कहाँ छ मृत्युञ्जयलाई मृत्यु ! – राष्ट्रकवि माधवप्रसाद घिमिरे दलमर्दनको सोचलाई पृथ्वीनारायणको महानताले बोध गराउँछ । उनमा भएको दूरदर्शिता र निःस्वार्थताले राष्ट्रिय स्वार्थलाई बोल्छ ! ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु । देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिया कंगाल गरी छाड्छन्’ दिव्योपदेशभित्र देशप्रेम छैन र ! युद्धको डोरो र रक्तपात होस्– आज त नेपाली एकतामा व्यक्ति, सम्प्रदाय र जातिको संकीर्णता थोपरिएका छन् । सार्वभौकिताका कुरा गर्दै भ्रष्ट चरित्रले केवल आडम्बर पस्कँदा राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा प्रहार हुन्छ । नेपाली मनलाई नियाल्दा सायदैले सोच्लान्– ‘म अब पृथ्वीनारायणको योगदान भुल्न सक्छु ।’ एक दिनका लागि मात्र पनि उसको नाम लिनलाई भारी लाग्छ । यो देशले इतिहासलाई कसरी सम्मान गर्ला ? राष्ट्रकविले आफ्नो राष्ट्रियताको मर्मस्पर्शी खण्डकाव्यभित्र पृथ्वीनारायणको राष्ट्रिय भावनालाई जगाएका छन् । भाइ दलमर्दन शाहको सोचभित्र घुसेको व्यक्तिवादितामा सङ्कीर्णता स्पष्ट भेटिन्छः माटो जहाँको मुटुले छुँदैन त्यहाँ हरि या ममता हुँदैन कोरल्छ चल्ला त्यति मात्र पोथी न्यानो भुवाले जति सक्छ छोपी । पृथ्वीनारायणले भाइको वचनलाई नमान्नु राष्ट्रिय स्वार्थ हो । केवल खिचातानी, संक्रमण र अन्योलको घनचक्करमा देश सधैँ रुमल्लिरहँदा नेपाली र नयाँ नेपाललाई भौतिक उन्नतिमा लगेर साँघुर्याइएको आभास हुन्छ । आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई वि.सं. १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ गर्यो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात फैलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर व्यक्ति मारिए, जयन्त रानाले निर्मम रुपमा छाला काढिएर मर्नुपर्यो, शूरप्रतापले कानो हुनुपर्यो, इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निस्कासित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो । उपत्यकाबाट अंग्रेजको राजनैतिक कुचाला लघारियो । उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो । फलतः किरात र लिम्बूवान् प्रदेशका राजाले गोर्खाली झण्डामुनि एकै साथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे । तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको पूmलबारी हो’ भन्ने महान् अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौँ । सैनिकले कदर पाए । कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो संग्रामको महायज्ञमा दिलो ज्यान दिए, एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन् । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । स–साना राज्यलाई एक्लैले डोल्याएपछि अंग्रेजको सपनामा भेलबाढी आयो त्यसैले त आज हामी छौँ । त्यसैले त एकीकरणका भावसँग कवि सुवानन्द दासको कवित्व पोतियो – नेपालको सिनकि लुटि मंरातको घिउले भुटि पालपाको ल्याउ हिंग जिरो, रिसिंगको ल्याउ पिरो तनहुँको भातसित भीर्कोटको दालसित कन्चन कचौराभरि स्वर्णका थलियाभरि अष्टदल चौकी बसि गंगाजल झारिभरि पुरव मुहडा गरि महाराजको जिउनार बनाउ है । घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ । कृषि विकासको सपना– ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अंग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधिनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी भाव उच्छ्वलन हुन् । किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कुटनीति– ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ । ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ भन्ने रामराज्यको आदर्श राजधर्म झल्किन्छ । अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाडेको इतिहास कालजयी छ । पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ के राष्ट्र त्यहाँ अखण्ड थुत्तिन्छ पत्ता जब खात खात सिद्धिन्छ शोभा अनि फूलबाट । राष्ट्रकविले कवित्व भावमा ऐतिहासिक गाथामा राष्ट्रिय गौरवको अखण्ड, सुन्दर र सिंगो नेपाल निर्माणको योगदानलाई उरालेका छन् । चन्द्र सूर्य अङ्कित नेपाली झन्डाको अस्तित्व अटल रहनुको देन पृथ्वीनारायणलाई जान्छ भन्दा अत्युक्ति नहोला । बुद्धको बुद्धत्वमा शालीन शान्तिको दीप जलोस् या पृथ्वीनारायणसँग गाँसिएको वीर गोर्खालीको इतिहास– नेपालीपन शान्ति र क्रान्तिको आफ्नै पाटामा जीवन्त छ । पूर्वदेखि पश्चिमसम्मका ठूला देशले वीर गोर्खालीलाई किन चिन्छन् ? पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता बन्न सक्दैनन् र ! यो देशको कीर्ति परदेशसम्म पुर्याउन बहादुरी पस्कने पृथ्वीनारायणको पसिना र रगतको बलिदानीलाई स्वाभिमानी देशले सदैव सम्मान गर्न जान्नुपर्छ । [email protected]
राष्ट्र बैंकले कुटे जस्तो गर्यो, बैंकहरुले रोए जस्तो गरे, हामी बिचल्लीमा पर्यौंः अच्युत गुरागाईँ
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा विभिन्न व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय गर्न नपाउँदा धेरै समस्या भयो । त्यो संकटकालिन समयमा व्यापार व्यवसाय गर्न नपाएर अर्थात लामो समयसम्म व्यवसाय ठप्प गर्नु परेकै कारण धेरै व्यवसायी पेशाबाट पलायन भइसकेको अवस्था छ भने अधिकांश अझैँ संकटको संघारमा छन् । यस्तो प्रतिकुल तथा विषम परिस्थितीमा व्यवसायीको व्यवसायिक जीवन तथा व्यवसाय जोगाउनकै लागि भएपनि सरकारले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ । देशको अर्थतन्त्र सुधारका लागि व्यवसायीको भूमिका महत्वपूर्ण छ । तिनै व्यवसायी समस्यामा पर्दा उनीहरुको समस्या बुझ्ने चेष्टा नगर्नु विडम्वना हो । यद्यपि सरकारले यो प्रतिकुल समयमा कोरोना भाइरसबाट प्रभावित व्यवसायीहरुका लागि भनेर केही राहतका कार्यक्रमहरु पनि घोषणा गरेको छ । ती राहतका कार्यक्रमहरुको पहुँचमा वास्तविक प्रभावित अर्थात पिडित पुग्न नसक्नु भने सरकारको क्षमता र नैतिकता माथि ठूलो प्रश्न खडा हुन्छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको नियामकको काम गरिहरेको छ । नियमनकारी निकायको दुई किसिमको भूमिकाकै कारण अहिले सम्पूर्ण व्यवसायीहरु समस्यामा छौं । सरकारले ल्याएका नीति कार्यक्रम तथा सरकारले दिएको निर्देशन पनि पालना गरे जस्तो गर्ने र सम्पूर्ण व्यवसायीहरुको अगाडि बैंकहरुलाई व्यवसायीमैत्री निर्देशन दिए जस्तो गर्ने, व्यवसायीहरुका समस्या बुझ भन्ने र बैंकहरुलाई ऋण उठाउ, व्याज नघटाउन भन्ने यी दुई किसिमको भूमिका र प्रवृतिकै कारण अहिले विभिन्न समस्याहरु देखिएका छन् । राष्ट्र बैंकले कुटे जस्तो गर्ने र बैंकहरुले रोए जस्तो गर्ने प्रवृति नै अहिले ठूलो समस्याका रुपमा देखा परेको छ । हामी व्यवसायीहरु व्याजको कूरा गर्न जाँदा राष्ट्र बैंकले निर्देशिका जारी गरेका छौं, तपाइँहरुलाई सहज हुने काम गरेका छौं, व्यवसायीमैत्री योजना बनाइरहेका छौं भन्छ । तर, अर्को तर्फ वाणिज्य बैंकहरुलाई खराब कर्जा घटा, कडाई गरेर ऋण उठा भनेर धम्क्याउँछ । यस्तो खालको प्रवृति नै अहिलेको समस्याको जड हो । यस्तो परिस्थितीमा सरकारले राहतका कार्यक्रम मात्र होइन एकले अर्कालाई सहयोगको भावना देखाउनु पनि महत्वपूर्ण हुन्छ । तर, हाम्रोमा सरकारले ल्याएका राहतका कार्यक्रम पनि प्रभावकारी रुपमा वास्तविक प्रभावितले पाएका छैनन् । यो महामारीकाे समयमा समस्यामा परेका ऋणी व्यवसायीहरुलाई पेल्ने किसिमले विभिन्न बैंकहरुले ऋणीको सम्पत्ति लिलामको सूचना जारी गरिरहेका छन् । यस्तो समयमा सबैले मिलेर जानु पर्छ भन्ने भावना हुनु पर्नेमा पीडितहरुलाई थप पिडा दिने नियतले विभिन्न बैंकले मनलाग्दी ढंगले ऋणीको सम्पत्ति लिलामको सूचना निकालिरहेका छन् । त्यसको विरोध स्वरुप हामीले महामारी पीडित सर्वपक्षीय पेशा व्यवसायी संघर्ष समिति नामक समूह खडा गरेका छौं । जसको नेतृत्व म आफैले गरेको छु । अहिले कोरोना प्रभावित व्यवसायीको सम्पत्ति लिलामी गर्ने, कालोसूचीमा राख्ने जस्ता कार्य गर्न बैंकहरू लागेका छन् । हामीले त्यसको विरोध गर्न सुरु गरिसकेका छौं । हाम्रा माग सम्बोधन गर्न भनेर धेरै आग्रह पनि गर्यौं । तर, त्यसको सुनुवाई हालसम्म हुन सकेन । हामीले हाम्रा माग सम्बोधन गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र समेत पठायौं । एक हप्तामा हाम्रा माग सुनुवाई गर्नका लागि पठाएको सो पत्रमा व्यवसायीहरुका लागि तत्काल राहत प्याकेज घोषणा, कोभिडका कारण बन्द रहेका सम्पूर्ण पेशा व्यावशायीहरुलाई लगाईने राज्यका सम्पूर्ण कर एवं जरिवाना मिनाहा, निजी लगानीमा संचालित सम्पूर्ण सार्वजनिक यातायात, पर्यटन/पर्यटकिय व्यवसाय, होटेल, विद्यालय र कलेज, क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावशायीहरु अति प्रभाववित क्षेत्र भएकोले सबैलाई ऋणको व्याज, घर भाडा, जरिवाना छुट गर्नुपर्ने र राज्यवाट नै त्यसको व्यवस्था गर्नु पर्र्ने उल्लेख गरेका थियौं । कोभिड प्रभावित व्यवसायमा आश्रित सम्पूर्ण कर्मचारीहरुलाई राज्यले न्यूनत्तम ५०% तलबको व्यवस्था, व्यवसायीहरुले सम्पूर्ण वैंक (एउटा कम्पनिले जतिसुकै वैंकवाट ऋण भएपनि सवै वैंकको) को व्याज छुट, राज्यका सबै बैंङ्क तथा वित्तिय संस्थाबाट पेशा व्यावशाय निरन्तरताका लागि अत्यन्त सरल र सहज तरिकाले न्यूनत्तम व्याजदरमा सफ्ट लोनको व्यवस्था र सम्पूर्ण निजी उद्योग, कारखाना, सेवा प्रदायक शिक्षा तथा पर्यटन क्षेत्रमा गरिएको निजी लगानीलाई राष्ट्रिय पूँजी र लगानीको रुपमा परिभाषित गर्न आग्रह गरर्याैं । प्रधानमन्त्रीलाई पठाएको पत्रमा हामीले ती मागहरु एक हप्ता भित्र पूरा नभए राज्य विरुद्द कडा आन्दोलन गर्ने समेत जानकारी गराइसकेका छौं । पत्र पठाएको २ हप्ता बितिसकेको छ तर हालसम्म हाम्रा मागहरुको सम्बोधन नै भएको छैन । हाम्रो संघर्ष समितिमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, प्याब्सन, एनप्याब्सन, पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ, निर्माण सामग्री व्यापार संघ लगायत आवद्ध छन् । यति धेरै व्यवसायीका मागहरु सुनुवाई तथा सम्बोधन हुन नसकक्नु विडम्बना हो । अहिले बैंकहरूले धमाधम ३५ दिनभित्र ऋणको ब्याज र साँवा रकम नतिरे सम्पत्ति लिलामी गर्नेगरी सार्वजनिक सूचना जारी गरिरहेका छन । कोरोना असरका बाबजुद बैंकहरूले जबरजस्ती कालोसूचीमा राख्ने र सम्पत्ति लिलामीका धम्की दिने गरेका छन् । यस्तो प्रतिकुल अवस्थामा हामीले काम गर्न सक्ने वातावरण नै छैन । यस्तो समस्यामा हाम्रा मागहरु पूरा नभएपछि हामी अब सरकार विरुद्द आन्दोलन गर्दैछौं । (नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)का अध्यक्ष समेत रहेका गुरागाईँसँग गरेको कुराकानीमा आधारित)
नछाेडाैं खबरदारी गर्न
नेपालको राजनीतिक संस्कारमा फस्टाउन नसकेको चिज हो खबरदारी । हाम्रो देशमा कुनै पनि राजनीतिक घटनामा अन्धभक्त भएर गरिने समर्थन र अन्धभक्त भएर वा लहैलहैको बिरोधले गाँज हाल्दा जनतामा खबरदारी चेतको बिकास हुन सकिरहेको छैन। कोही कसैबाट गरिएको खबरदारीले पनि प्रश्रय लिन सकिरहेको छैन। त्यसैले राष्ट्रले बारबार दुर्घटना झेल्नुपरेको छ। खराब कार्य नहोस् , नगरियोस् भनी समयमै दिने सल्लाह, सुझाव, दबाब तथा चेतावनीलाई खबरदारी भनेर सामान्य रूपमा बुझ्न सक्छौँ। यसै कदमको थालनी जनता तथा सेवाग्राहीबाट राज्य संचालक व्यक्तिहरु तथा राज्यलाई गर्न सकिरहेका छैनौं। नेपालमा बिरोध र समर्थनका थुप्रै कार्यक्रम र आन्दोलन हुने गर्छन् । तर, त्यसै कार्यक्रम तथा आन्दोलनमा सहभागी कतिपय जनमासलाई थाहा हुँदैन कि आफू किन र केको लागि उक्त कार्यक्रम तथा आन्दोलनमा संलग्न हुँदै छु भन्ने। साँच्चिकै माइतीघर मण्डलामा आन्दोलनको नेतृत्व गर्नेहरू, देशका विभिन्न बजार, चोक, सडकमा आन्दोलनको नेतृत्व गर्ने सबै व्यक्तिहरु उनीहरुले भने झैँ पीडित, अपहेलित, शोषितवर्गको आवाज उठाउन, न्याय दिलाउन, खबरदारी गर्न तलिन भएर लागेका हुन्छन् त ? मलाई लाग्छ कदापि होइन। यो त सोझा साझा जनता देखाएर जनमास बटुल्ने आधार मात्र हो। आफूले जस लिने, अरुलाई चिल्लो घसिदिने अनि स्वार्थको रस लिने झेल मात्रै हो। खासमा भन्ने हाे भने केही आन्दोलन मात्रै बास्तविक छन र हुन्छन् । त्यस्ता आन्दोलनकर्मीहरुप्रति सलाम र साथ छ। केही आन्दोलनकर्मीहरु व्यक्तिनिहित स्वार्थमा लागेका हुन्छन्। कसैको विपक्षमा बोलेर, कसैको पक्षमा लागेर निकट बन्न खोज्ने र आफ्नो अहोदा बढाउन खोज्ने गर्छन्। गलत व्यक्तिलाई पनि राम्रो भनेर, गलत कदमलाई पनि राम्रो कदम भनेर गरिने आन्दोलनले गर्दा आन्दोलन किन, के का लागि गर्नुपर्छ भन्ने कुराको औचित्य समेतलाई अर्थहीन बनाएको छ। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियाल्दा जुन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि हस्तक्षेप गरी गरेको संसद विघटनलाई लिएर सडकमा समर्थक र विरोधीले आन्दोलन गरेका छन। त्यस्ता आन्दोलन तथा कार्यक्रमहरु आवश्यक छ्न् कि छैनन् ? बुझ्नु जरुरी छ। पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकि आवेग र आक्रोशमा राष्ट्रलाई नै बिचलित अवस्थामा पुर्याउन सफल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको कु- कदमलाई सफल पार्न साथ दिने राष्ट्रपति बिद्यादेवी भण्डारीको हर्कतलाई कसरी सही कार्य भन्न सकिन्छ ? कसरी समर्थन गर्न सकिन्छ ? बिना कारण संबिधानमै किटान नगरिएको अधिकार हातमा लिएर तीन बर्षमै प्रतिनिधिसभा विघटन गर्नु जस्तो कु- कार्य गर्दा पनि केपी शर्मा ओली राष्ट्रप्रेमी नेता हुन, राम्रो कार्य गर्न खोज्दा पनि प्रचण्ड र माधवकुमार नेपाल पक्षले पार्टीभित्र साथ दिएनन्त्य, सैले संसद विघटन गरे भनेर कु-तर्क दिएर समर्थनमा लाग्नु मुर्खता बाहेक अरु केही होइन। कागको स्वर सुनिसकेपछि पनि, काग होइन, कोइली हो, यसको रुप कालो छ भनेर कारण दिनु कत्तिको जाहेज हुन्छ होला र ! कोरोना महामारीको समयमा लकडाउन हुँदापनि स्वास्थ्य सामाग्री खरिदमा अनियमितादेखि यति, गोकर्ण रिसोर्ट, ललिता निवास, सम्धी काण्ड, ७० करोड काण्ड जस्ता भ्रष्टाचारमा मुच्छिएका आफू निकट नेताहरूलाई मन्त्री बनाउदै, राजनीतिक नियुक्ति दिदै भ्रष्टाचारीहरुलाई संरक्षण गर्दै जाने अनि मिडियामा म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्नेहरुलाई छाड्दिन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको कुनै अर्थ छैन। भारतीय गुप्तचर निकाए रअका प्रमुखसँग भेटेर देश डुबाउने खेल खेल्ने, अमेरिकी साम्राज्यवादीहरुसँग मिलेर एमसीसी पास गर्न खोज्ने जस्ता हर्कतले उहाँ देश र जनताको लागि कतिको उचित काम गर्दै हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ। कालापानी, लिपुलेक सहितको नेपालको नक्सा बनाउदा पनि सार्वजनिक रूपमा प्रयोगमा ल्याउन नसक्नु, भारतीय सेनालाई नेपाली भुमिबाट हटाउन नसक्नु उनको कमजोरी हो। यस्तो दुर्दशा देख्दा पनि केपि ओलीलाई समर्थन गरी हाम्रा नेता राष्ट्रप्रेमी, हामी राष्ट्रप्रेमको पक्षमा भनेर ओलीको समर्थनमा सडकमा उत्रिनु, सामाजिक संजालमा भजन किर्तन गर्नु असभ्य नागरिकको पराकाष्ठा हो। हाम्रो समर्थन सिर्फ अन्धभक्ति मै सिमित छ। हामीले कहिल्यै पनि हाम्रो नेतृत्वलाई गलत कार्य नगर्नु भनेर खबरदारी गर्न सकेका छैनौं। गलत हुँदा पनि गलत हो है भनेर खुलेर भन्न सकेका छैनौं भने कसरी राम्रो प्रतिफल पाउन सक्छौं त ? ओलीको कदम गलत हुँदा फेरि यो हैन कि प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल सही छ्न् । यो बिल्कुल गलत भ्रम हो। पार्टी र सरकारभित्र आफू र आफ्नो मान्छे बन्ने, बनाउने स्वार्थमा लागिरहने यी नेताहरूको मागले गर्दा जनताले विश्वास गरेर जिताएको विशाल पार्टी नेकपा फुटको संघारमा पुग्न र देशमा संसद विघटनको परिस्थिति आउन सफल भएको हो। प्रचण्डमा हिजोको दिनमा केपी ओली अस्वस्थ हुँदा, ओलीको आयु कम छ भन्ने अड्कल काटेर आफू प्रधानमन्त्री र ठुलो पार्टी नेकपाको एकल अध्यक्ष बन्ने प्रलोभनको दाउ थियो। जब केपी ओली स्वस्थ भए प्रचण्डमा आक्रोशत र बैराग्यता उत्पन्न भयो। पार्टी एकताको सम्झौता अनुसार साढे २ बर्षको सरकार संचालनको सत्ता अबधि सकिए लगत्तै कि प्रधानमन्त्री छोड्न कि अध्यक्ष पद छोडन दबाब दिन थालियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पद नछाड्ने मनस्थिति देखेपछि, ओलीलाई पतन गर्न माधवकुमार नेपाललाई उचाल्न प्रचण्ड पुगेका हुन। एमाले र माओवादी पार्टी एक हुँदा माधवकुमार नेपाललाई प्रचण्डले केपीपछि एमालेको तर्फबाट आफ्नो प्रतिस्पर्धी सम्झेका थिए । ओलीले पनि एमालेको नवाैँ महाधिवेशनको आफ्नो प्रतिस्पर्धी हुन भन्ने पुर्वाग्रह राखेर नेपाल पक्षलाई पार्टीभित्र सक्ने प्रयत्न गरिरहे। नेताहरूको कदमबाट कतिपनी बिचलित नभएर विधि र विधानका कुरालाई जोड दिने नेता माधवकुमार नेपाल आफ्नो कुरामा अडिग थिए। नीति नियमकाे मयार्दामा रहने माधवकुमार नेपाललाई पछिल्लो समय प्रचण्डको साथ मिल्दा प्रचण्ड- नेपाल नेकपाभित्रको बलियो समुह बन्न पुग्यो। आफू निकट नेताहरूलाई मन्त्री, मुख्यमन्त्री, राजनीतिक नियुक्तिको निम्ति प्रस्ताव प्रधानमन्त्री समक्ष दिन थाले । तर प्रधानमन्त्रीले बेवास्ता गर्ने, काम नगर्ने गर्दा उहाँ प्रति असन्तुष्ट सबै शिर्ष नेताहरूको माेर्चा तयार हुन थालेको थियोे। पार्टीभित्र बैठक बसाल्न खोजियो । तर प्रधानमन्त्री बैठकमा उपस्थिति नहुने, बैठक सारिरहने, कहिलेकाहीँ बैठक बसेको खण्डमा भएका निर्णय पनि कार्यन्वयन नगर्ने चलन देखिएपछि राजनीतिक परिस्थिति नयाँ माेडमा लम्कियो। बैठकका निम्ति अध्यक्ष प्रचण्डको प्रस्ताव पत्र आयो जसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई थुप्रै आरोप लागे । अध्यक्ष ओलीबाट पनि प्रस्तावहरु आए एकले अर्कालाई दोषी ठहर्याए। अध्यक्ष केपी ओलीले अर्को अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन अनुरोध गर्दा अस्विकार गरियो। ओली नयाँ योजनाको थालनीमा पुगे। प्रचण्ड – माधव पक्षले ओलीलाई अध्यक्षबाट हटाउन खोजेको याेजनालाई प्रधानमन्त्रीबाट समेत हटाउन लाग्ने गरी बिस्तारित गरेर अविश्वासको प्रस्ताव ल्याउने चेष्टा भित्री रूपमा हुँदै थियोे। उक्त प्रयासको पत्तो पाएर ओलीले न रह्यो बाँसऽ न बझ्यो बाँसुरी भने झै संसद विघटन नै गरिदिए। बि.सं.२०७८ बैशाख १७ र २७ गरी २ चरणमा निर्वाचन गर्नेगरी मध्यावधी निर्वाचनको मिति तोकिदिए। जसले नेपालमा नयाँ राजनीतिक तरंग उतपन्न भयो। नेकपा पार्टीभित्र को के बन्ने, बनाउने भन्ने सत्ता अन्तरद्वन्दले देशलाई नै राजनीतिक दुर्घटनामा पारेका छ। देशलाई दुर्घटनाको बाटोमा पुर्याउनमा मुख्य भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपतिसंगै नेकपाका शिर्षनेताहरू र हनुमानी कार्यकर्ता नै हुन। पार्टीभित्र जबज, जनताको जनबाद, २१औँ शताब्दीको जनवाद कुनै बिचार, दर्शन तथा सिद्धान्तको अन्तर-द्वन्द नभएर व्यक्तिबादी स्वार्थ र पदिय लोभ नै मुख्य भेदको बिषय थियो। यी विविध व्यक्तिवादी स्वार्थी खेल चलेको थाहा हुँदाहुँदै पनि नेता कार्यकर्ताहरुबाट शिर्ष नेताहरूलाई खबरदारी नहुँदा, नेकपा फुटको संघारमा पुगेको हो। जसले गर्दा नेकपा ओली समूह र प्रचण्ड- नेपाल समुहमा विभाजित भएको छ। एकले अर्का अध्यक्षलाई कारबाही गर्दै, पार्टी प्रवक्ता नियुक्ति गर्दै, केन्द्रिय सदस्य थप्दै आफ्नो समुह आधिकारिक नेकपा हो भनी निर्वाचन आयोगमा दाबी पेस गरेका छ्न। सूर्य चिन्ह दुईटै पक्षले आफ्नो हुनुपर्ने भन्दै निर्वाचन आयोग समक्ष पुगेका छ्न। संसद विघटन असैंवैधानिक छ। प्रतिनिधिसभा पुनःस्थापन गर्न सर्वोच्च अदालतमा उजुरी गरिएको छ। प्रचण्ड- नेपाल समुह प्रधानमन्त्रीको कु- कदमको विरुद्ध आन्दोलनमा छन। प्रमुख विपक्ष कांग्रेस लगायत केही अन्य दलहरूले पनि ओलीको संसद विघटनको बिरोध गरिरहेका छ्न। संसद विघटनको बिरोध गर्नु राम्रो कुरा हो। त्यसैले सम्पुर्ण राष्ट्रप्रेमी नागरिकहरु संसद विघटन जस्तो प्रतिगामी कु- कदम विरुद्ध एकजुट भएर आन्दोलनमा जुटनु जरुरी छ। तर केपी ओली जिन्दावाद भन्दै ओलीको प्रतिगामी षड्यन्त्रलाई स्वागत गर्न, समर्थनमा सडकमा आउने केपी ओली पक्षका नेता कार्यकर्ताहरुको कदम भने असभ्य नागरिकहरुको असभ्य राजनीतिक अभ्यासको पुष्टि हो। ओलीलाई संसद विघटन गर्दा पनि राम्रो गरे भन्ने नेता कार्यकर्ता तथा नागरिकहरु यो देश बर्बादिको हिस्सेदार हुन्। नेताले गलत गरिरहेका छन्। तर नेता कार्यकर्ताहरुले एकतर्फि रूपमा समर्थन गरिरहेका छ्न। यसले गर्दा नेतालाई थप गलत कार्य गर्न प्रोत्साहन गरिरहेको छ। नेकपा ओली पक्षले आफूलाई आधिकारिक ठहर्याउन, समर्थन बढाउन पार्टी र जनबर्गीय संगठनमा केन्द्रीय कमिटी सदस्य र अन्य पदको प्रलोभन देखाएका छन। त्यही पदमा लोभीएर केन्द्रिय सदस्य हुन हाम फाल्नेहरुले गलत कार्य गर्नलाई प्रोत्साहन दिरहेका छ्न। यदि यिनै केन्द्रिय सदस्यहरु भोलिको दिनमा राज्य सत्तामा पुगे भने के गतिलो कार्य गर्न सक्छन् त ? पक्कै सक्दैनन्। उहीँ राजनीतिक संस्कार सिकेका र मानेका व्यक्तिहरुले राम्रो कार्य बिल्कुलै गर्न सक्दैनन। अहिले बनेका केन्द्रीय सदस्यहरुले देशमा भोलिको दिनमा सही नेतृत्व लिनेछन भन्ने आशा राख्नु त शरीरको लुतो फाल्छु भनेर नालिको ढलले नुहाउनु सरह नै हो। यो कदम गलत छ भनेर खबरदारिका साथ समर्थक अथवा बिरोधी हुनुपर्ने ठाउँमा सत्ता, पदको लोभमा लम्किनु उचित हैन। अहिले प्रचण्ड- नेपाल पक्षबाट संसद विघटनको बिरोध भइरहेकोे छ। यसको समर्थनमा जनमास देखापर्नु भनेको प्रचण्ड-नेपाल नेतालाई समर्थन भन्दा पनि देशमा भएको प्रतिगामी षड्यन्त्र विरुद्धको जनमास हो। बारबार यस्ता किसिमका असंबैधानिक कदम अरु कसैले नदोहोर्याउन भनेर गरिएको जनताको खबरदारी पनि हो। हिजो उखु किसानको लागि, निर्मला पन्तको न्यायको निम्ति, गरिब, पीडित, शोषित जनताको न्यायको निम्ति सदन हुंदा सदनमा नबोल्ने, सडक हुँदा सडकमा नआउने नेताहरू आफ्नो जागिर अर्थात संसद स्वाहा हुँदा सडकमा आएर हामी जनता र राष्ट्रको निम्ति लडिरहेका छौँ भन्नु मजाक बाहेक अरु केही होइन। गतिलो नेता केपी, प्रचण्ड, नेपाल, खनाल, देउवा, बाबुराम कसैलाई मान्न सकिदैन। सबैको मुल्यांकन भैसकेको नै छ। जुन जोगी आएपनि कानै चिरेका भनेझै यिनै नेताहरुको पछाडि लाग्ने दोस्रो तहका युवा नेताहरूले पनि सत्ता अवसर पाए गतिलो काम गर्लान् भन्ने झिनो आशा पनि छैन। किनकि यिनै दोस्रो तहका नेताहरूले यी गलत नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थको लोभमा साथ दिइरहेका छन। त्यही राजनीतिक संस्कारलाई अंगाल्दै आएका छ्न। त्यस्तै तेस्रो तथा पछिल्लो पुस्ताले सिक्दै जानेछन र गलत राजनीतिक संस्कारबाट गलत मान्छेले राज्य संचालनको स्थान ओगटन पुग्नेछन्। जबसम्म हामी मौन हुन्छौं। गलत कदमको बिरोध गर्दैनौं, गलत हुँदा तथा गलत हुनै लाग्दा खबरदारी गर्दैनौं, तबसम्म गलत मान्छेहरु गलत कार्य गर्दै राज्य सत्तामा पुग्नेछन् र राष्ट्रलाई दुर्घटनामा पारिरहने छन। साँच्चिकै हाम्रो खबरदारी छैन। हामीले अब कहिले गर्ने खबरदारी ? खबरदारी नभएसम्म त गलत कार्यले पुन: स्थान लिईरहने नै छ। यद्यपि देशमा सही नेतृत्व र सही राजनीति संस्कारलाई बढुवा दिने हो भने आजको दिनमा गलत कार्य गर्ने, गराउने र गर्दै गरेका सबैलाई खबरदारी गर्नुपर्छ। गल्ती अनुसार सजायको कठघरामा उभ्याउनुपर्छ। तब केही असल नेतृत्व र असल राजनीतिक संस्कारले स्थान लिने छ। खबरदारीले गलत व्यक्तिलाई गलत कार्य गर्नलाई रोकावट गर्छ र गलतलाई सच्याएर सही बनाउन मद्दत पुग्छ। अहिले संसद विघटनको विरुद्ध भएका आन्दोलनले सर्वोच्च अदालतलाई खबरदारी गरिरहेको छ। गलत निर्णय नलियोस्, मूर्ख र निरङ्कुश शासकी शक्तिको झुकाव नगरोस्। संबिधानलाई मिचेर गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गरी संसद पुनःस्थापन गरोस भन्ने हो। निर्वाचन आयोगले पनि उल्लेखित मापदण्ड अनुसार निष्पक्ष रुपमा मापदण्ड पुगेको समुहलाई आधिकारिक नेकपा पार्टी र सूर्य चिन्ह प्रदान गरोस भनेर खबरदारी गरेको हो। त्यस्तै अन्य दिनमा आउने अरु प्रधानमन्त्रीहरुले पनि आफू मनपरी संविधान मिचेर संसद विघटन जस्तो कु- कार्य गर्न आँट नगरुन भन्ने हो। त्यसैले खबरदारी स्वरुप प्रतिगामी षड्यन्त्र विरुद्ध चर्को दबाबमुलक आन्दोलनमा आम नागरिकहरुको एक्यवद्धता हुन जरुरी छ। कुनै नेताको पक्ष, विपक्षभन्दा पनि गलत सहि छुट्याएर गलत कदम विरुद्ध नेताकार्यकर्ता तथा जनताले खबरदारी गर्नुपर्छ। यो नै आजको आवश्यकता हो। त्यसै स्वरुप यो लेखले पनि राष्ट्रमा स्थायित्व सरकार कायम गरि सुशासन सहित समृद्धिको बाटोमा लम्किन सम्पुर्ण देशभक्त नागरिकहरुमा खबरदारी चेतको बिकास हुनसकोस भन्ने अपेक्षा राख्दछ।