साना तथा मझौला कर्जा लगानीमा यसरी भयौं एक नम्बर बैंक: सीईओ उपाध्यायकाे विचार
वि.स २०२४ सालदेखि २०७७ सालको ५४ औं वर्षको हाम्रो यात्रा आज माघ ७ गतेसम्म आइपुगेर ५४ औं वार्षिकोत्सवको समारोह मनाइरहँदा हामीलाई माया गर्ने ग्राहक, किसान, उद्यमी, सेयरधनी, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड र विभिन्न दातृ संस्था लगायत सबैलाई निरन्तर सहयोग, सद्भाव र स्नेहका लागि आभार एवम् धन्यबाद दिन चाहन्छौं । करिब २७७ अर्ब रुपैयाँको कर्जा, निक्षेप र ४६ अर्ब जमानत कारोबार गरिरहेको हाम्रो बैंकका करिब १५ लाख भन्दा बढी ग्राहकहरु र करिब ३ लाख सेयर धनीहरु २७८ वटा कार्यालय सञ्जालसँग आवद्ध हुनुहुन्छ । वित्तीय सेवा प्रदान गरिरहँदा हामीले विकास बैंक हुँदै गरिवी निवारणको कार्यक्रमलाई सफलताकासाथ सञ्चालन गरी आज आधुनिक प्रविधिमैत्री बैंक बन्न सफल भएका छौं । ग्रामिण अर्थतन्त्र एवम् कृषिलाई पुनः नेतृत्व गर्न अगुवा बैंकको भूमिका निर्वाह गरी किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आवद्ध गर्न ‘कृषि बण्ड’ र ‘किसान क्रेडिट कार्ड एवम् सूचनामुलक एप’ आजको मितिदेखी अर्थमन्त्री विष्णु पौडेलको उपस्थिती तथा बाहुलीबाट शुुभारम्भ गर्न पाउँदा हामी फेरि आम नागरिक एवम् कृषक उद्यमीहरुको भरोसाको केन्द्रको रुपमा यस बैंकलाई बनाउन पाएकोमा आभारी छौं । किसान कार्डको विशेषता पहिलो चरणमा आज ६ अर्बको कृषि बण्ड र यस वर्ष २४ अर्बको बण्ड निश्कासन गर्न आजकै दिनमा २६ वटा ‘क’ वर्गको बैंक र एक पूर्वाधार विकास समक्ष दरखास्त आव्हान गर्न सफल भएका छौं । यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिको साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणाली समेत बलियो र भरपर्दो हुने विश्वासमा छौं । वित्तीय बजारको करिब ४ प्रतिशतभन्दा माथि हिस्सा ओगटेको यस बैंकले सम्पूर्ण प्रविधिमैत्री सेवा प्रदान गर्दै गएकोमा कोभिड–१९ को लकडाउनमा करिब ३ लाख मोबाइल बैंकिङ सेवा प्रदान गर्दै डिजिटल प्रविधि बैंकको नयाँ खुड्किलोमा सहकार्य गर्न सफल भएको छ । संघीय र प्रदेश सरकारसँगको कार्यक्रमलाई पनि हाम्रो मूल कार्यक्रममा समाहित गर्दै आफ्ना अत्याधुनिक प्रविधिको कोर बैंकिङ प्रणाली मार्फत २७८ वटा कार्यालयहरुबाट कूल कर्जाको ८५ प्रतिशतभन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको एक मात्र वाणिज्य बैंक भएका छौं । बैंकले आफ्ना ग्राहक, नियामक निकायहरुसँग राम्रो व्यावसायिक सम्बन्ध कायम गरेको छ, आगामी दिनमा अझ फराकिलो र बलियो सम्बन्ध कायम गर्दै लैजाने विश्वास दिलाउन चाहन्छु । बैंकले व्यवसाय संचालनमा सरोकारवाला सेयरधनी नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमकारी निकायहरु, ग्राहकहरु, दातृ निकायहरु, बैंकका युनियनकर्मीहरु, अन्य सम्बन्धित पक्षहरुसँग असल व्यवसायिक वातावरण र सम्बन्ध कायम गर्दै आएको छ । बैंकको औद्योगिक एवं व्यावसायिक सम्बन्धले बैंकको समग्र कारोबार चुस्त, दुरुस्त, प्रतिस्पर्धी एवम् नाफामूलक मात्र नभई वितरण प्रणालीलाई समेत प्रभावकारी बनाउन आगामी दिनमा समेत यस दिशातर्फ सूधार हुने कुरामा विश्वस्त रहन अनुरोध गर्दछौं । विवेकशील नियमको पालना गर्दै गत वर्षझैं यस वर्ष पनि निर्धारित समयमै वार्षिक साधारणसभामा सम्पन्न गरी कोभिड–१९ को विषम परिस्थितिका बावजुद १५ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौं । २००० को हाराहारीको जनशक्तिले आज बैंकले आफ्ना खर्चहरुलाई क्रमशः न्युनीकरण गर्दै बेस रेट ७.६६ प्रतिशत र सञ्चालन खर्च करिब २ प्रतिशतको हाराहारीमा पुर्याउन सफल भएकोमा सर्वप्रथम संचालकज्युहरुलाई समेत यसै मञ्चबाट आभार व्यक्त गर्न चाहान्छु । अबको हाम्रो रोडम्याप भनेको इन्फ्ल्यासन रेटको हाराहारीमा बेस रेट राखी सरल र सुलभ सेवा प्रदान गरी उच्च प्रतिफल र सबैको पहुँचको, सबैको भरोसाको, सबैको ‘घरआँगनको बैंक’ बनाउनु रहेको छ । अन्तमा, देशको दुर्गमदेखि सुगमसम्मका सबै जिल्लामा वित्तीय पहुँच पुर्याउँदै सम्पूर्ण बैंकिङ सेवा प्रवाह गरिरहेको यस बैंकलाई ५४औं वर्षगाठसम्मको सुखद अवसरमा रुपान्तरण गर्दै सफल इतिहास बनाउन योगदान, हौसला र उर्जा प्रदान गर्नुहुने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी महानुभावहरु, बैंकको संचालक समिति, बैंकको विकास र समृद्धिको यात्रामा आफ्नो अमूल्य योगदान पुर्याउनु हुने बैंकका अवकास प्राप्त कार्मचारीहरु, युनियनकर्मी साथीहरु, कर्मचारीहरु, बैंकका तमाम ग्राहकहरु, बैंकका बारेमा सत्यतत्थ समाचार प्रेषित गरी सहयोग गर्ने पत्रकार मित्रहरु लगायत सबैलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै बैंकको ५४औं वार्षिकोत्सव समारोहमा स्वागत गर्दछु । (कृषि विकास बैंकका सीईओ उपाध्यायले बैंकको ५४ औं वार्षिकोत्सव कार्यक्रममा राखेको धारणा)
सडकबाट आएका धम्कीले आयोगलाई केही फरक पर्दैन- सुर्यप्रसाद श्रेष्ठ
सरकारले गएको पुष ५ गते प्रतिनिधि सभा बिघटन गरेपछि नेपाली राजनीति ध्रुविकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुई भागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ । सरकारले प्रतिनिधि सभाको बिघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व तयारीको कामहरु थालिसकेको छ । यसै सन्दर्भमा पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठसँग अहिलेको समसामयिक विषयमा कुराकानी गरिएकाे छ । कुराकानीको क्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले दलहरुको आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र अप्ठेरोमा परेको बताउनु भएको छ । अहिलेको राजनैतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ? अहिले कोरोनाले मुलुक आक्रान्त छ । यसले समाजमा ठुलै संकट ल्याएको छ । यसको आर्थिक सामाजिक अशर गहिरिदै गएको छ । यस सँगै राजनैतिक दलहरुले अर्को राजनैतिक संकट सृजना गरेका छन् । राजनैतिक संक्रमण फैलिएको छ । यस्ते संक्रमण थप्ने नेतृत्व बुद्धिमानी नेतृत्व होइन । समस्या समाधानको उपाय हुँदाहुँदै राजनैतिक दलले देशलाई संकटमा धकेलेका छन् । बहुलबादी व्यवस्थामा राजनैतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रोमा त सत्तारुढ दल र विपक्षि दल दुबैले काम गर्न सकेनन् । दल भित्रको अन्तरकलहले यो संकट आएको हो । जनताले जसलाई विश्वासको मत दिएका थिए उसैले धोका दिए जस्तो भएको छ । व्यक्तिगत स्वार्थ र पदलोलुपताले नेपाल कम्युनिष्ट पार्टिलाई नै ग्रस्त बनाएको अवस्था छ । समस्या नीतिमा भन्दा पनि नियतमा देखियो हैन ? कम्युनिष्ट पार्टिको नीतिको कुरा त के छ र, कोहि निर्वाचनमा भाग लिएर यहाँसम्म आए, कोहि युद्ध लडे । यद्यपि जनताले दुबै शक्ति एकीकृत हुँदा र स्थायी सरकारको निर्माण होस् भनेर विश्वास गरे मत दिए । जनताले एकीकृत कम्युनिष्ट पार्टीलाई सत्ताको भार दिएका हुन् । यो सामान्य कुरा थिएन । कम्युनिष्ट पार्टी जनताको मतबाट चुनिएर आएको थियो । यो ठूलो उपलब्धी थियो । अहिलेको झगडाले दुई संवैधानिक निकाय विवादमा तानिएको छ यसमा तपाईको टिप्पणी के छ ? प्रतिनिधि सभा बिघटनको विषय अदालतमा विचाराधिन छ । धेरै टिप्पणी गर्नु उपयुक्त हुदैन । विषय जटिल पनि छ । प्रतिनिधि सभा बिघटन ठिक र बेठिक भन्ने दुई मत छ । पार्टी फुटेर आएको भए अर्कै विषय हुन्थ्यो । पार्टी फुटेको छैन । दलको विषयमा निर्वाचन आयोगले टुङ्गो लगाउनु पर्छ । प्रतिनिधि सभा बिघटनको विषय सर्वोच्चले हेर्छ । प्रधानमन्त्रीको कुरा सुन्दा आफुलाई काम गर्न नै नदिएको अनि प्रतिनिधि सभा बिघटन गर्नुपरेको भन्ने छ । यी सबै विषय अन्तरघुलित छ । त्यसो भए यो लडाइ कानूनी होकि राजनैतिक ? यसले निर्वाचन आयोग चेपुवामा पर्छ कि ? निर्वाचन आयोग पनि संवैधानिक आयोग हो संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकार छ । आयोगका पदाधिकारी सरकारले नियुक्त गरे पनि काम कानून अनुसार नै गर्नुपर्छ । हाम्रो विश्वास पनि छ । लामो समय सार्वजनिक सेवामा काम गरेका अनुभवले खारिएका व्यक्तिहरुले राजनैतिक चेपुवामा परेर निर्णय गर्छन् भन्नु गलत हुन्छ । आफैले व्यक्त गरेर देखाए भने अलग कुरा तर आयोग भित्र बसेर निर्णय प्रक्रियामा नै राजनैतिक दलको प्रभाव पर्ने कुरा हुँदैन । तर अहिले सडकमा, भेला, प्रदर्शन मार्फत अदालत आयोगलाई धम्क्याएको देखिन्छ नि हैन ? यस्ता धम्की खबरदारी धेरै आउछन् । यसको पछाडी लाग्नु हुदैन । आफ्नो कानूनी प्रकृया पुरा गर्नुपर्छ । निर्वाचन आयोगको निर्णय पछि पनि अदालत जाने ढोका खुला हुन्छ । चित्त नबुझे जान सकिन्छ । धम्कीले केही फरक पर्दैन । यस्तो अवस्थामा राजनैतिक दलले आफै निर्णायक भए जसरी भन्नु हुदैन । त्यसो भए निर्वाचन आयोगले सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने हैन र ? यो प्रश्न धेरैको मनमा छ । मलाई पनि धेरैले सोध्ने गरेका छन् । नेपाल सरकारले दिएको निर्णयमा समयको पावन्दी छ । मिति तोकिएको छ । ६ महिना भित्र निर्वाचन गराउनै पर्ने अवस्था छ । यो अवस्थामा निर्वाचन आयोग निर्णयको बन्दी जस्तै छ । ६ महिना भित्र निर्वाचन हुने नहुने अलग कुरा भयो तर तयारीको सबै काम आयोगले गर्नुपर्छ । २०४७ सालको निर्वाचन मैले नै गराएको हो । समय लगभग ६ महिना थियो । निर्वाचन आयोगले आफ्नो प्रक्रियागत र आन्तरिक तयारी गरिरहेकै हुन्छ । जुनसुकै बेला निर्वाचन हुन सक्छ भनेर तयारी गरेकै हुन्छ । अहिले आयोगलाई दल दर्ताको विषय भने पेचिलो बन्ने दखिन्छ । अहिले सडकमा भएको गतिविधिले आयोगलाई कतिको प्रभाव पार्छ ? सडकमा के हुन्छ, आयोगले सडकलाई किन हेर्ने । आयोगले ऐन नियम कानून हेर्ने हो । तर सडमा उत्रिएका राजनैतिक दल संयमित हुनुपर्छ । कानून भित्र रहेर प्रस्तुत हुनुपर्छ । नेतृत्वमा जवाफदेहिता हुनुपर्छ । भोली आफै सरकार चलाउने ठाउमा पुग्दा यस्तो समस्या आउछ भनेर बिचार गर्नुपर्छ । राजनैतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने छ । यो समयको माग हो,जनताको माग पनि हो । केहि दिन अघि आन्दोलनको नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्रीहरु निर्वाचन आयोग नै पुगेर प्रक्रिया रोक्न आग्रह गरे यसलाई कसरी हेर्नुभएको छ ? आयोगले आफ्नो काम रोक्न सक्दैन । किन रोक्ने, आयोगको धेरै काम प्रकृयागत हुन्छ । प्रकृया नै रोक् भन्नु गलत हो । यसरी भन्न मिल्दैन । यस्तो हस्तक्षेपकारी काम गर्नुहुन्न । यस्ता निकायलाई राजनैतिक दलले कार्यकर्ता भर्ना गर्ने थलो जस्तो सम्झन थाले । यस्तो हुनुहुँदैन । अब यसको निकास कसरी हुन्छ ? यस्ता झगडाको निरुपणको एउटा माध्यम प्रजातन्त्रमा मतदान नै हो । यो असामयिक भयो । यो संबैधानिक छ कि छैन भन्ने विषय जटिल छ । अर्को राजनैतिक दलको संचालन विधि खराब भयो । सबै राजनैतिक दलमा यस्तै छ । यो परम्परा जस्तै भएको छ संसद बिघटन गर्ने । पहिले त संविधानमा लेखिएको थियो अहिले त स्पष्ट छैन । संविधानले सरकारलाई बाँधेको हुन्छ, निरंकुश हुन दिदैन । मलाइ लागेको कुरा दलको संगठन बन्ने प्रकृया नै प्रजातान्त्रिक छैन । साथै राजनैतिक दल भित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भयो । यसले लोकतन्त्रको विकाशमा बाधा पुगेको छ । यसैको कारण राजनैतिक संस्कारको विकाश हुन सकेन । यसरि बुझौं मुलुक लोकतन्त्रमा गयो तर दलहरु अझै लोकतान्त्रिक हुन सकेनन् । हो त, अहिलेसम्म पार्टीहरुमा निर्दलीय स्वभाव नै छ । एकल पार्टी जस्तो पञ्चायती व्यवस्था जस्तो । यो झगडाको बीउ पनि यस्तै कुराले हो । गुटबन्दीको झगडा पञ्चायतमा पनि थियो । ठिक यस्तै प्रकृतिको झगडा अहिले राजनैतिक दल भित्र छ ।
पृथ्वीनारायण एक कालजयी इतिहास !
२०६३ सालमा भर्खर भर्खर राजतन्त्रलाई ढालेको झोँकमा ‘पृथ्वी जयन्ती’ नमनाउने घोषणा भयो । ‘राष्ट्रिय एकता दिवस’ मनाउँदा राजावादी शासनलाई प्रश्रय दिएको प्रतीत हुन्छ भन्ने मथिङ्गल बोक्नेले एउटा कालजयी इतिहासलाई लत्याउने त्यो लज्जास्पद निर्णय गर्यो । आज नेपाल र नेपाली रहनुको कालजयी इतिहासलाई झिनो स्वार्थमा रम्नेहरूले चक्मा दिएको दुखद् अवस्था सिर्जना भएको छ । यसको अर्थ निरङ्कुश शासनलाई प्रश्रय दिइनुपर्छ भन्ने अर्थमा कदापि होइन । १७७९ मा जन्मेका मान्छेलाई २०७७ मा चर्चा गरिरहँदा त्यही समयको परिवेश र क्षणसँग हेर्नुपर्छ भन्ने बुद्धि अहिलेका हामी बौद्धिक भनाउँदामा पनि भएन । त्यसैले पृथ्वीनारायणको गरिमालाई आमाचकारी गाली गर्नेले नबुझेरै गाली गरे । जसरी मदनलाई बिर्सन सकिँदैन, जसरी वीपीलाई सम्झनुपर्छ त्यसैगरी राजा कि राष्ट्रनिर्माता भन्ने हल्ला मच्चाएर राष्ट्रनिर्माताको इतिहास लुक्दैन । विश्वमा अमेरिका, युरोप भनिएका विकसित क्षेत्रले गोर्खाली सान र स्वाभिमानलाई उँचो मान्छ । विनास होइन, क्रान्ति होइन बुद्धत्वको सिंगो सारलाई मनन गर्छ । इतिहासका पानामा पृथ्वीनारायणको दूरदर्शितालाई जाँच्छ । भारत र चीनलाई हिजो दुई ढुंगा र नेपाललाई तरुलको संज्ञा दिएर सचेतनाको गहन भाव त्यसै पोखेका होइनन्– पृथ्वीनारायणले । दिव्योपदेशका पानाभरि दिगो विकास र सुशासनमा जनताप्रेमको सुगन्ध छर्लङ्गै छ । हामी बडप्पनको लक्कु बोकेर देशको झन्डाभित्र पुर्खाको गरिमालाई गलहत्याउँदा लाज र डरै मान्दैनौँ तब कुतर्कले सत्यता किन छोप्नुपर्याे र ! भनिन्छ, इतिहास त जित्नेकै लेखिने हो । एडल्फ हिप्पोलिक टेनले साहित्यलाई ‘जाति, क्षण र पर्यावरण’ का आधारमा हेर्नुपर्ने अवधारणा राखेका छन् । इतिहासलाई पनि सोही समयको परिवेश, बाध्यता र त्यागसँग गाँसेर हेरिनुपर्ने हो । आज भनिरहिएको शान्ति र समृद्धिको जगमा जात व्यवस्थाबाहेक अन्य कमजोरीलाई धेरै खोतलेर पृथ्वीनारायणको महान् योगदानलाई भुल्नु पनि एकांगी आरोप हुनेछ । चन्द्रमा दाग देखिए जसरी उनमा खोट रह्यो तथापि नाककान काटेर अमानवीय व्यवहार देखाएको झोँकलाई माओवादी द्वन्द्वसँग जोडेर हेर्दा कुनचाहिँ एकीकरणका लागि र कुन खण्डीकरणका लागि भन्ने तर्क हुन सक्छ । राजनीतिक पूर्वाग्रह बोकेर दुस्मनी साँध्ने र जन्मदिने बाबाआमालाई कैदी बनाएर शासन गर्ने कंश बुद्धि वर्तमान राजनीतिमा प्रष्ट छ । लेखक हामीले पढ्दै आएका छौँ– नेल्सन मन्डेलाले पनि विद्रोह गरे तर कालाजातिलाई मात्रै एकोहोर्याएनन् बरु सबैलाई मानवीय सद्भाव र सम्मान गरे । यस मानेमा संसारमा आज पनि त्यो एक नाम उदाहरणीय छ । जनआन्दोलन केका लागि हो र पृथ्वीनारायण को हुन् भन्ने विषयमा बहस गर्नुपूर्व आफ्नै अग्रज आमाबाबा, हजुरबालाई सम्झे पुगिहाल्छ । हिजो सालिक तोडेर उपद्रो मच्चाउनेलाई इतिहासको गरिमा र राष्ट्रभक्ति थाहा भएन । कसैको उक्साहटको मुङ्ग्रे बलले वितण्डा मच्चाउनेले एकताको सिको गरेको भए सायद समाज परिवर्तनको गाडी निकै अघि दगुरिसक्थ्यो होला । तर, त्यसो भएन । केवल अर्काका सिद्धान्त प्यारा भए । आफ्नी आमाको गालामा भएको खोट बोकेर अर्काकी आमाको आचरणै थाहा नहुनेले गल्र्याम्म अँगालो हाल्न पुगेको देखियो । त्यहाँ राष्ट्रप्रेमको मियो नै स्वार्थको आडमा जटित हुन पुग्यो । वर्तमान राजनीतिमा कम्युनिस्ट समाजवादको नारा स्वार्थको कित्तामा खण्डीकृत छ । खेलेर ऐह्रा मृग एक मारी बाँडी कलेजो जति छन् शिकारी बिलो लिएझै शरमा उनेर यो राज्य बाँड्ने चिज हैन हेर । – राष्ट्रकवि माधवप्रसाद घिमिरे राष्ट्रिय एकता दिवस कुनै पार्टी, राजतन्त्रको वकालत गर्ने वा कुनै शासन पद्धतिलाई पक्षपोषण गर्ने पाटोबाट एक, दुई जनाको नेतृत्वभित्र खुम्चिएको संकीर्णतावादी आवाज होइन । यो सिंगो नेपालको कालजयी इतिहासको मेरुदण्ड हो । अलिकति राष्ट्रकविको मर्मतिर ध्यान दिँदा सत्यता नियाल्छु मः यो राज्य लिन्छौँ जुन आज अंश बाँड्दै र चुँड्दै अनि वंश वंश …………………… विशाल नेपाल म रच्छु रच्छु कहाँ छ मृत्युञ्जयलाई मृत्यु ! – राष्ट्रकवि माधवप्रसाद घिमिरे दलमर्दनको सोचलाई पृथ्वीनारायणको महानताले बोध गराउँछ । उनमा भएको दूरदर्शिता र निःस्वार्थताले राष्ट्रिय स्वार्थलाई बोल्छ ! ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु । देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिया कंगाल गरी छाड्छन्’ दिव्योपदेशभित्र देशप्रेम छैन र ! युद्धको डोरो र रक्तपात होस्– आज त नेपाली एकतामा व्यक्ति, सम्प्रदाय र जातिको संकीर्णता थोपरिएका छन् । सार्वभौकिताका कुरा गर्दै भ्रष्ट चरित्रले केवल आडम्बर पस्कँदा राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा प्रहार हुन्छ । नेपाली मनलाई नियाल्दा सायदैले सोच्लान्– ‘म अब पृथ्वीनारायणको योगदान भुल्न सक्छु ।’ एक दिनका लागि मात्र पनि उसको नाम लिनलाई भारी लाग्छ । यो देशले इतिहासलाई कसरी सम्मान गर्ला ? राष्ट्रकविले आफ्नो राष्ट्रियताको मर्मस्पर्शी खण्डकाव्यभित्र पृथ्वीनारायणको राष्ट्रिय भावनालाई जगाएका छन् । भाइ दलमर्दन शाहको सोचभित्र घुसेको व्यक्तिवादितामा सङ्कीर्णता स्पष्ट भेटिन्छः माटो जहाँको मुटुले छुँदैन त्यहाँ हरि या ममता हुँदैन कोरल्छ चल्ला त्यति मात्र पोथी न्यानो भुवाले जति सक्छ छोपी । पृथ्वीनारायणले भाइको वचनलाई नमान्नु राष्ट्रिय स्वार्थ हो । केवल खिचातानी, संक्रमण र अन्योलको घनचक्करमा देश सधैँ रुमल्लिरहँदा नेपाली र नयाँ नेपाललाई भौतिक उन्नतिमा लगेर साँघुर्याइएको आभास हुन्छ । आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई वि.सं. १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ गर्यो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात फैलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर व्यक्ति मारिए, जयन्त रानाले निर्मम रुपमा छाला काढिएर मर्नुपर्यो, शूरप्रतापले कानो हुनुपर्यो, इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निस्कासित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो । उपत्यकाबाट अंग्रेजको राजनैतिक कुचाला लघारियो । उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो । फलतः किरात र लिम्बूवान् प्रदेशका राजाले गोर्खाली झण्डामुनि एकै साथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे । तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको पूmलबारी हो’ भन्ने महान् अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौँ । सैनिकले कदर पाए । कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो संग्रामको महायज्ञमा दिलो ज्यान दिए, एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन् । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । स–साना राज्यलाई एक्लैले डोल्याएपछि अंग्रेजको सपनामा भेलबाढी आयो त्यसैले त आज हामी छौँ । त्यसैले त एकीकरणका भावसँग कवि सुवानन्द दासको कवित्व पोतियो – नेपालको सिनकि लुटि मंरातको घिउले भुटि पालपाको ल्याउ हिंग जिरो, रिसिंगको ल्याउ पिरो तनहुँको भातसित भीर्कोटको दालसित कन्चन कचौराभरि स्वर्णका थलियाभरि अष्टदल चौकी बसि गंगाजल झारिभरि पुरव मुहडा गरि महाराजको जिउनार बनाउ है । घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ । कृषि विकासको सपना– ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अंग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधिनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी भाव उच्छ्वलन हुन् । किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कुटनीति– ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ । ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ भन्ने रामराज्यको आदर्श राजधर्म झल्किन्छ । अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाडेको इतिहास कालजयी छ । पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ के राष्ट्र त्यहाँ अखण्ड थुत्तिन्छ पत्ता जब खात खात सिद्धिन्छ शोभा अनि फूलबाट । राष्ट्रकविले कवित्व भावमा ऐतिहासिक गाथामा राष्ट्रिय गौरवको अखण्ड, सुन्दर र सिंगो नेपाल निर्माणको योगदानलाई उरालेका छन् । चन्द्र सूर्य अङ्कित नेपाली झन्डाको अस्तित्व अटल रहनुको देन पृथ्वीनारायणलाई जान्छ भन्दा अत्युक्ति नहोला । बुद्धको बुद्धत्वमा शालीन शान्तिको दीप जलोस् या पृथ्वीनारायणसँग गाँसिएको वीर गोर्खालीको इतिहास– नेपालीपन शान्ति र क्रान्तिको आफ्नै पाटामा जीवन्त छ । पूर्वदेखि पश्चिमसम्मका ठूला देशले वीर गोर्खालीलाई किन चिन्छन् ? पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता बन्न सक्दैनन् र ! यो देशको कीर्ति परदेशसम्म पुर्याउन बहादुरी पस्कने पृथ्वीनारायणको पसिना र रगतको बलिदानीलाई स्वाभिमानी देशले सदैव सम्मान गर्न जान्नुपर्छ । [email protected]