लगानीकर्तालाई एनबीए अध्यक्ष दाहालको टिप्सः कस्ता कम्पनीको सेयर कहिले किन्ने र बेच्ने ?

कुनै पनि कम्पनीको सेयर किन्दा हेर्नुपर्ने केही निश्चित आधार र विषयहरु हुन्छन् । त्यस्ता आधार विषयहरु नहेरी गरिएको लगानीले समस्या सिर्जना गर्न सक्छ । सेयर किन्दा हेर्नुपर्ने विषय भनेको त्यसको व्यवस्थापन कस्तो छ, संचालक समिति कस्तो छ र उच्च व्यवस्थापन कस्तो छ भन्ने हो । उनीहरु कर्पाेरेट गभर्नेन्समा बस्छन् कि बस्दैनन् भन्ने कुरा हेर्ने हो । नीति नियम पालना गर्छन् कि गर्दैनन् भनेर हेर्ने हो । किनभने कुनै पनि कम्पनी वा संस्था संचालन गर्ने भनेको व्यवस्थापन, संचालक समिति र उच्च व्यवस्थापनले नै हो । जस्तो कि कुनै पनि राजनीतिक दल कस्तो छ भनेर हेर्दा त्यसको नेतृत्वमा रहेका व्यक्तिहरु कस्ता छन् भनेर हेर्छाैं । नेतृत्व तहमा बसेका मान्छेहरु (नेताहरु) राम्रा छन् भने नीति नियम पनि राम्रा बन्छन्, बनाउँछन् । कम्पनीको हकमा पनि यही नियम लागू हुन्छ । आज लगानी गरेर भोलि फाइदा खोज्नेहरुले कम्पनीको व्यवस्थापन वा संचालक समितिमा के कस्ता व्यक्तिहरु छन् भनेर त्यति हेरे जस्तो लाग्दैन । तर, लामो अवधिको लागि लगानी गर्नेहरुले भने यस्ता कुराहरु हेरेको पाइन्छ । लगानीकर्ताले बैंकहरुको वेबसाइट वा वार्षिक प्रतिवेदनमा हेरेर कम्पनीको व्यवस्थापन, संचालक समिति, उच्च व्यवस्थापन जस्ता निकायमा रहेका व्यक्तिहरु कस्ता छन्, उनीहरुले कसरी कम्पनी अघि बढाउँछन् भन्ने जस्ता कुराहरु हेरेका छन् । अर्काे कुरा, बैंकिङको हेर्ने हो भने उनीहरुको निक्षेपको समिश्रण कस्तो छ भनेर निक्षेपको क्वालिटी हेर्नुपर्छ । करेन्ट डिपोजिट कति छ, सेभिङ डिपोजिट कति छ भनेर हेर्नुपर्छ । किनभने न्यून लागतको निक्षेप कति रहेछ भन्ने कुरा नै बैंक तथा वित्तीय संस्थाको स्रोतको लागत थाहा हुन्छ र आधार दर कति हुन्छ भन्ने तह स्रोतको लागतले नै गर्छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव भइरहेको हुन्छ । यो कुरा तपाईंहरुले कुन बैंकमा बढी समस्या हुने रहेछ भनेर हेर्नुभयो भने जुन, बैंकले संस्थागत निक्षेप बढी लिएका छन्, ती बैंकमा बढी समस्या देखिएको छ । संस्थागत निक्षेप १ अर्ब, २ अर्ब लिएको छ भने त्यो पैसा कहिले जाने हो भनेर डराउनु पर्यो । त्यसैले बैंकको सेयर किन्ने हो भने निक्षेपको समिश्रण कस्तो छ भनेर हेनुपर्छ । निक्षेपमा पनि व्यक्तिगत निक्षेप कति छ भनेर पनि हेर्नुपर्छ । किनभने एक जनाले एउटा बैंकमा १ लाख राखेको होला, १० लाख रुपैयाँ राखेको होला । तर, एक जना व्यक्तिले एउटा बैंकमा १,२ अर्ब रुपैयाँ निक्षेप राखेको त हुँदैन । व्यक्तिगत निक्षेप जति धेरै भयो त्यति राम्रो हुन्छ । बैंकलाई तरलताको धेरै समस्या भोग्नु पर्ने छ कि छैन यकिन पनि निक्षेपको समिश्रणले संकेत गर्छ । बैंक राम्रो भएपछि सेयरधनीले पनि बढी लाभ लिन पाउने अवस्था सिर्जना हुन्छ । बैंकिङ कै कुरा गर्दा, हेर्ने अर्काे विषय भनेको कर्जाको गुणस्तर पनि हो । खराब कर्जा कति छ, खराब कर्जाको लागि कति रकम प्रोभिजनिङ गरेर राखिएको छ भन्ने कुरा पनि हेर्नुपर्छ । खराब कर्जा कम छ र भएको खराब कर्जाको लागि आवश्यक रकम प्रोभिजनिङ गरिएको छ भने त्यो बैंक राम्रो हुने नै भयो । संसारभरकै बैंकहरुको कुरा गर्ने हो भने जुन बैंकको निक्षेप र कर्जाको गुणस्तर राम्रो छ, त्यस्ता बैंकको निक्षेप र कर्जाको व्याज अन्तर (स्प्रेड) दर पनि राम्रो छ । बैंकको हेर्नै पर्ने तर, धेरै मानिसले नहेर्ने गरेको विषय के हो भने गैरव्याज आम्दानी र गैरव्याज खर्च अनुपात कति छ भन्ने कुरा हो । बैंकहरुको मुख्य आम्दानी भनेको खुद व्याज आम्दानी नै हो । व्याज आम्दानीमा व्याज खर्च घटाएपछि खुद व्याज आम्दानी आउँछ । गैरव्याज आम्दानी र गैरव्याज खर्चको अनुपातलाई हामी बैंकिङ टर्मिनोलोजीमा नाफामा ‘कन्ट्रिव्युसन अफ बर्डेन’ भन्छौं । कुनै बैंकको गैरव्याज आम्दानी गैरव्याज खर्चभन्दा बढी छ भने गैरव्याज आम्दानीले नाफामा सोझै योगदान गर्छ । गैरव्याज आम्दानीभन्दा गैरव्याज खर्च बढी भयो भने बैंक नाफा त्यसले कति खायो भनेर हेर्ने हो । भनेको व्याज आम्दानी बाहेक अन्य आम्दानी कत्तिको ‘डाइभर्स’ छ भनेर यो सुचकले देखाउँछ । गैरव्याज आम्दानीले गैरव्याज खर्च धानेको रहेछ भने त्यो बैंक राम्रो रहेछ भनेर देखाउँछ । कुनै बैंकले कर्जा खासै लगानी गरेको छैन, ग्यारेन्टीमा बढी फोकस छ भने खुद व्याज आम्दानी कम होला । गैर व्याज आम्दानी बढी हुन सक्छ । यो भनेको बेग्लै कुरा भयो । सुचकहरु हेर्दा बैंकले कस्तो प्रकारको व्यवसाय गर्ने गरेको छ भन्ने कुरा पनि हेर्नुपर्छ । यस्तै, रिटर्न अन इक्वीटी (आरओई) र अर्निङ पर सेयर (ईपीएस) त हेर्नै परिहाल्यो । कतिपय अवस्थामा विगतको लाभांशको दर हेर्ने कि नहेर्ने भन्ने प्रश्न पनि आउँला । कतिपय अवस्थामा विगतको लाभांश दर अप्रासंगिक पनि हुन सक्छ । किनभने कुनै बैंकको लाभांश दर हिजोको दिनसम्म राम्रो थिएन । अब व्यवस्थापन परिवर्तन भयो । व्यवस्थापन परिवर्तन भएर अब राम्रोसँग काम हुन थाल्यो भने हिजोको कुरा नदोहोरिन सक्छ । यस्तै, हिजो राम्रो भएको पनि अब नराम्रो हुन सक्छ । जस्तो कि हिजो कुनै पार्टीमा राम्रो नेता थियो, त्यसैले त्यो पार्टी राम्रो थियो । आज नराम्रो नेता आयो भने त्यो पार्टी नराम्रो हुन सक्छ । यस्तै, कुनै पार्टी नराम्रो नेता भएकोले नराम्रो थियो । अब राम्रो नेता आयो, त्यसैले राम्रो पनि हुन सक्छ । कम्पनीहरुको हकमा पनि यो कुरा लागू हुन्छ । त्यसैले रेफ्रेन्सको रुपमा हिष्ट्री हेर्नुपर्छ । तर, हिष्ट्रीको आधारमा लगानीको धारणा बनायौं भने हामी गलत हुन सक्छौं । सेयरमा लगानी गर्नेहरुले कम्पनीको व्यवस्थापन, संचालक समिति र उच्च व्यवस्थापनमा रहेका व्यक्तिहरुको प्रोफाइल र कम्पनीको लेखापरीक्षण प्रतिवेदनहरु हेर्नुपर्छ भन्ने मलाई लाग्छ । धितोपत्र बोर्डले सुचिकृत कम्पनीहरुका संचालक र उच्च व्यवस्थापनको प्रोफाइल नै सम्बन्धित कम्पनीको वेबसाइटमै राख्ने व्यवस्था गरेर राम्रो हुन्छ । त्यसले लगानीकर्तालाई निर्णय गर्न सहज हुन्छ । म सेयर बजारबारे त्यति एक्सपर्ट त होइन । म सेयर बजारमा पनि छैन । त्यसैले मैले दिएको सल्लाहले काम नगर्न पनि सक्छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले सेयरका विज्ञहरुसँग सल्लाह गरेर लगानी गर्नुस् । मैले खाली कमनसेन्सको हिसावले मात्रै भनेको हूँ । सेयर बजारमा कतिबेला सेयर किन्ने र कतिबेला बेच्ने भन्ने प्रश्न पनि उठिरहेको सुन्छु । सेयरमा लगानी गर्ने भनेको जुन बेला बटमबाट अलिकति उठ्न थाल्छ, त्यो बेला सेयर किन्ने, लगानी गर्ने । र, अब बजार घट्न थाल्यो भन्ने थाहा पाएपछि सेयर बेच्ने । किनभने न्यून विन्दुमा किन्ने र उच्च विन्दुमा बेच्ने भन्ने कुरा अपबाद होला । त्यसैले अलिकति बढ्न थालेपछि किन्ने र घट्न थालेपछि बेच्ने नै उचित निर्णय हो भन्ने मलाई लाग्छ । तर, म अहिले सेयर बजारमा नभएकोले पोर्टफोलियो म्यानेजमेन्टको सेवा प्रवाह गर्नेहरुसँग सल्लाह गरेर लगानी गर्नु उचित हुन्छ । कस्ता कम्पनीमा लगानी गर्ने भन्ने प्रश्न पनि उठ्छ । जेमा लगानी गरेपनि प्रतिफल चाहि हेर्नै पर्छ भन्ने लगानीकर्तालाई मेरो आग्रह छ । फण्डामेन्टलम आधारित भएर लगानी गर्यौं भने कि तत्कालको पर्फरमेन्स, कि अनुमानित पर्फरमेन्समा आधारित भएर लगानी गर्ने हो । अहिले प्रतिफलकै हिसावले हेर्ने भने हाइड्रो र सिमेन्टको प्रतिफल बैंकिङ क्षेत्रको भन्दा बढी देखियो । मदिरा कम्पनीको प्रतिफल पनि बैंकको भन्दा बढी छ । तर, मैले फेरि पनि यी क्षेत्रका कम्पनीको सेयर किन्नुस् या नकिन्नुस भनेको अर्थमा भने नबुझिदिनु होला । (सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अध्यक्ष भुवन दाहालसँग गरिएको कुराकानीमा आधारित)

व्यक्तिगत ऋण सापटीको व्याज बढीमा १० प्रतिशत, यस्ता छन् कानुनी बाटा र बन्देज

सामान्य अर्थमा कुनै पनि बस्तु दुई वा दुई भन्दा वढी व्यक्तिहरु बीच सरसापट, पैचो गर्ने वा लिनेदिने कारोवारलाई लेनदेन व्यवहार भन्ने बुझिन्छ । आजको २१औं आधुनिक समाजमा व्यवसायीक र व्यवाहारिक जीवनमा कुनै पनि व्यक्तिहरुका बीच कुनै शर्त राखेर ऋणका रुपमा रकम वा कुनै बस्तु लिनुदिनु गर्नु नै लेनदेन व्यवहार हो । व्यवसायिक र घरायसी व्यवहारमा लेनदेनका थुप्रै कुराहरुको स्वाभाविक रुपमा हुने गर्दछन् । समाजमा परम्परा देखि चलि आएका यस्ता लेनदेन सम्बन्धि व्यवहारहरुलाई कानुनले नियमित र व्यवस्थित गरेको पाईन्छ । कानुनी अर्थमा नेपालको देवानी संहिता, २०७४ अनुसार दुई वा दुई भन्दा बढी व्यक्तिहरु वीच कुनै शर्त राखी कुनै रकम वा बस्तु लिनुदिनु गरेमा निजहरुबीच लेनदेन भएको मानिने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । लेनदेन भएको अवस्थामा रकम वा बस्तु लिनेले रकम वा बस्तु दिनेलाई त्यस्तो रकम वा बस्तु फिर्ता गर्नु पर्दछ । जस्तै क भन्ने व्यक्तिले ख भन्ने व्यक्तिलाई मोटरसाइकल किन्नको लागि २००,००० रुपैयाँ तीन वर्षमा वार्षिक १० प्रतिशतका व्याज दरले फिर्ता गर्ने शर्तमा कानुन बमोजिम लिएमा निजहरु बीचमा लेनदेन भएको मानिन्छ । नेपालको मुलुकी देवानी संहिता, २०७४को भाग ४को परिच्छेद १५को लेनदेन व्यवहार सम्बन्धि व्यवस्था अन्र्तगत दफा ४७४ देखि ४९२ सम्म लेनदेन सम्बन्धि व्यवस्था गरिएको छ । दुई वा दुई भन्दा बढी व्यक्तिहरु बीच कुनै शर्त राखी रकम वा बस्तु लिनुदिनु गरेमा निजहरु बीच लेनदेन भएको मानिने र लेनदेन भएको अवस्थामा रकम वा बस्तु लिनेले रकम वा बस्तु दिनेलाई त्यस्तो रकम वा बस्तु फिर्ता गर्नु पर्ने व्यवस्था मुलुकी देवानी संहिता, २०७४को दफा ४७४मा स्पष्ट उल्लेख गरिएको छ । स्पष्टिकरणः यस परिच्छेदको प्रयोजनको लागि रकम भन्नाले बस्तुको मुल्य समेत सम्झनु पर्दछ । कुनै पनि व्यक्तिले कुनै किसिमले अन्य व्यक्तिलाई रकम वा बस्तु दिनु पर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिने र त्यस्तो व्यक्तिले कानुनको अधीनमा रहेर सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा बस्तु फिर्ता गर्नु पर्ने व्यवस्था दफा ४७५ मा गरिएको छ । कसैले पनि लेनदेन कारोवार गर्दा कानुन बमोजिम लिखत नगरी लेनदेनको कारोवार गर्नु नहुने व्यवस्था दफा ४७६ मा गरिएको छ । लेनदेन कारोबार भएको प्रमाणित गर्ने चेक, विल, भौचर, रसिद र भरपाई समेतको कागजातहरु लेनदेन प्रयोजनका लागि लिखत हुन् । लेनदेन कारोवार गर्दा तयार पारिने लिखतमा लेनदेन गर्ने व्यक्तिहरुको नाम, थर, ठेगाना, बावु, आमा, बाजे, बजैको नाम, र विवाहितको हकमा पति पत्नीको नाम, लेनदेनको कारण र परिणम, बस्तु लेनदेन भएकोमा त्यस्तो बस्तुको मूल्य फिर्ता गर्ने गरि सापटी पैचो वा अन्य कुनै पनि तरिकाले लेनदेन, सट्टापट्टा गरेको भए त्यस्तो व्यहोरा, लेनदेन गरेको रकम वुझाउने मिति, व्याजदर, लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखत बमोजिमको अन्य शर्त पुरा नगरेमा लेनदेन बमोजिमको रकम साहुले ऋणीको सम्पत्तिबाट असुलउपर गरि लिन पाउने कुरा, लिखत तयार पारिएको ठाँउ र मितिका साथै अन्य आवश्यक कुराहरु अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था दफा ४७७ मा गरिएकोछ । लेखक लिखतमा व्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहुले ऋणीबाट लिखतमा उल्लेख भए बमोजिमको व्याज लिन पाउने, त्यस्तो व्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशत भन्दा बढी हुने छैन, लिखतमा व्याजको दर किटान नगरी व्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहुले ऋणीबाट साँवा रकमको वार्षिक १० प्रतिशतका दरले व्याज लिन पाउने, व्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखतबाट नदेखिएमा साहुले ऋणीबाट व्याज सरह लिन पाउने व्यवस्था दफा ४७८ मा गरिएको छ । पचास हजार भन्दा बढी रकम भएको लिखत सम्बन्धित पक्षहरु वडा समितिको कार्यालयमा उपस्थित भई सक्कल लिखतको शिरमा अनिवार्य रुपमा सम्बन्धित अधिकारीबाट प्रमाणित गराउनु पर्दछ । यदि त्यसरी प्रमाणित गराईएन भने त्यस्ता लिखतले कानुनी मान्यता पाउँदैन । लेनदेन हुदाँ लिखतमा व्याज लिनेदिने कुरा उल्लेख नभएमा साहुले ऋणीबाट व्याज लिन नपाउने व्यवस्था दफा ४७९ मा गरिएको छ । कुनै साहुले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन । यदी कुनै साहुले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने साँवा रकमबाट कट्टी हुने साथै यदि साँवा चुक्ता भईसकेको रहेछ भने त्यस्तो ब्याज साहुले ऋणीलाई फिर्ता गरिदिनु पर्ने व्यवस्था दफा ४८० मा गरिएको छ । त्यसै गरि साहुले ऋणीबाट साँवा भन्दा वढी ब्याज लिन नपाउने व्यवस्था दफा ४८१ मा गरिएको छ । साँवा, ब्याज लिदाँ दिँदा कानुन बमोजिम रीत पु¥याउनु पर्ने हुन्छ । जस्तो ऋणीले साहुलाई साँवा ब्याजको सबै रकम चुक्ता गरिसके पछि साहुसँग भएको लेनदेनको लिखत च्याती दिने वा त्यस्तो लिखतमा रकम असुल भएको व्यहोरा जनाई लिखतको कुनै ठाउँ वा पीठमा खुलाई साहुले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता दिनु पर्ने र तत्काल लिखत फेला नपरेमा वा साथमा नभए साहुले सोही व्यहोरा जनाई यो मितिमा यति रकम बुझी लिएको भनी छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने, साँवा मध्ये केही रकम वा ब्याज बुझाउदा साहुले ऋणीसँग कुन मितिमा के कति रकम बुझेको हो त्यस कुरा लिखतको पिठमा खुलाई ऋणीको सहीछाप गराई र तत्काल लिखत फेला नपरे वा साथमा नभए त्यस बमोजिम रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने व्यवस्था दफा ४८२ मा गरिएको छ । घरसारमा भएको लिखतको अवधि दश वर्षको हुन्छ । यदि लिखतमा नै अवधि तोकिएको छ भने चाँहि त्यही तोकिएको अवधि कायम हुन्छ । यदि दश वर्षको अवधि भित्र ऋणीले साहुलाई साँवा ब्याज मध्ये केही रकम बुझाएको छ भने अर्को दश वर्षको अवधि थप हुने व्यवस्था दफा ४८४ मा गरिएको छ । कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानुनी मान्यता नपाउने व्यवस्था दफा ४८५ मा गरिएकोछ । त्यस्ता व्यक्तिहरुले आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न नसक्ने र आफ्नो हकहितको विचार गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । त्यस्ता व्यक्तिहरुको तर्फबाट लेनदेन गर्नु पर्दा निजको संरक्षकको स्वीकृतिमा गरिनु पर्दछ । व्यक्तिहरुका बीच लेनदेन भएकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहिछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहुले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराई लिन नपाउने, घरको मुख्य भई काम गर्ने व्यक्तिले नै उक्त रकम तिरि दिएमा साहुले ऋणीसँग दावी गर्न पाउँदैन । कसैले ऋणीसँग रकम लिन नसक्ने भएमा एक वर्षभित्र साहुले ऋणी उपर नालिस गरि आफ्नो हक कायम गर्नु पर्ने, ऋणीसँग त्यस्तो हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि मात्र साहुले निजबाट आफ्नो रकम भराई पाउने व्यवस्था दफा ४८६ मा गरिएको छ । कुनै चल सम्पत्ति सट्टापट्टा गर्दा एकासगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई सगोलको सम्पत्ति सट्टापट्टा गर्न नपाईने तर आफ्नो निजी सम्पत्तिको हकमा भने मञ्जुरी आवश्यक नपर्ने, घरको मुख्य व्यक्तिको मञ्जुरी विना गरिएको सट्टापट्टाले मान्यता नपाउने व्यवस्था दफा ४८७ मा गरिएको छ । कुनै व्यक्तिले कानुन बमोजिम रीत पु¥याई लिखत नगरे पनि निजहरुका बीच लेनदेन भए गरेको कुरा प्रमाणित भएमा रकम भराई दिन सक्ने, यस्तोमा लिखत बैकिङ कारोवार, चेक, भौचर वा वही खातामा लेखिएको व्यहोराबाट व्यक्तिहरुका बीच लेनदेन भएको देखिनु पर्ने व्यवस्था दफा ४८८ मा गरिएको छ । घरसारमा भएको लिखत हराएमा वा काबु बाहिरको परिस्थिती परी नासिएमा साहुले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्ने, त्यसरी निवेदन परेमा सम्बन्धित स्थानिय तहले त्यसको व्यहोरा खुलाई भरपाई लेखि कार्यालयको छाप लगाई निवेदकलाई दिनु पर्ने, त्यस निवेदनको सम्बन्धमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको हकवालालाई सात दिनभित्र झिकाई निजले मञ्जुर गरे सोही बमोजिम लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरि निवेदकलाई दिनु पर्ने र अर्को लिखत गरिदिन मञ्जुर नगरे साहुले त्यस्तो म्याद नाघेको पैतिस दिनभित्र लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नु पर्ने व्यवस्था दफा ४८९ गरिएको छ । लेनदेन भएको कुनै बस्तु लिखतमा लेखिए बमोजिम नभई कच्चा भएमा वा भोग गर्न नसक्ने भएमा लेनदेन भएको पैतिस दिनभित्र बस्तु दिनेलाई त्यस कुराको सूचना दिनुपर्ने, त्यस्तो सूचना उचित देखिएमा बस्तु दिनेसँग त्यस्तो प्रकारको अन्य बस्तु भए त्यस्तो बस्तु सट्टापट्टा गरिदिनु पर्ने, त्यसो नगरे क्षतिपूर्ति भराई लिन वा त्यस्तो लेनदेन बदर गराई गराउन नालिस गर्न सक्ने व्यवस्था दफा ४९० मा गरिएको छ । कसैले पनि साधारण देखि साधारण सम्मका लेनदेन व्यवहार सम्बन्धि कार्य सम्पन्न गर्दा कानुन बमोजिम लिखत अनिवार्य रुपमा कानुनी कार्यविधि अनुसार गर्नु पर्ने देखिन्छ । अन्यथा सम्बन्धित विषयमा पीडित पक्षले कानुन सम्बत न्याय समेत प्राप्त गर्न सक्दैन । तसर्थ व्यक्तिले लेनदेन कानुन बमोजिम गर्नु पर्दछ । लेनदेन गर्ने हरेक व्यक्तिलाई लेनदेन व्यवहार सम्बन्धि कानुनी व्यवस्थाको बारेमा राम्रो जानकारी भएमा मात्र लेनदेन गर्दा आउने समस्या सजिलै निराकरण गर्न सजिलो हुने भएकोले सवैले कानुनको जानकारी राख्नु पर्ने आवश्यक देखिन्छ । लेखक अधिवक्त हुन् ।

डिजिटल बैंकिङको जोखिमबारे भएन वित्तीय साक्षरता

जमाना डिजिटलको छ । तपाईं आज घरमै बसेर अनलाइन सपिङ गर्न सक्नुहुन्छ । टिभी, फ्रिज कपडा मात्र होइन, आज तपाईं पिजा वर्गर र मःम अनलाइनबाट मगाउन सक्नुहुन्छ । मोवाइल बैकिङवाट पेमेन्ट गर्न सक्नुहुन्छ । त्यति मात्र कहाँ हो र, तपाईंले अनलाइबाट मगाएको मःम स्वाद मानिमानि खाइरहेको बेला तपाइको छोराछोरी वा परिवारको कोही सदस्यले वा कोही तेस्रो व्यक्तिले तपाईंको एटिम सुटुक्क चोरेर तपाईंकै पैसाले पिज्जा खाइरइरहेको हुन सक्छ । किनकि जमाना डिजिटलको छ । यो कुरा बुझ्न केही उदाहरणले अझ सजिलो गर्छ होला । – एक सेवाग्राही बैंक आउछन् र आर्थिक कारोबारको लागि बैंकमा खाता खोलिदिन बैंक कर्मचारीलाई आग्रह गर्छन् । बैंकको सिएसडीमा कार्यरत कर्मचारीले पनि प्रक्रिया पुर्याएर उसको खाता खोलिदिन्छन् । बैंकले प्रवाह गर्ने सेवामध्ये उनले मोबाइल बैंकिङ पनि लिएका हुन्छन् । केही महिनापछि ती ग्राहक आफ्नो खाताबाट रकम हराएको गुनासो बोकेर बैंक आउँछन् । आफूले कसैलाई पनि चेक काटेर भुक्तानी नदिएको तर, रकम निकालेको म्यासेज मोबाइलमा आएको बैंकलाई सुनाउँछन् । उनले सुनाएको कुरा ठिकै रहेछ । उनले चेक काटेर कसैलाई भुक्तानी दिएकै थिएनन् । एटीएम कार्ड नलिएकोले त्यसबाट पैसा झिकिएको भन्ने कुरै भएन । भएछ के भने उनलाई सामाजिक संजाल इमोबाट कसैले फोन गरेर चिठ्ठा परेको सुनाएछ । चिठ्ठामा परेको रकम निकाल्को लागि कर वापत रकम तिर्नुपर्ने भनिएछ । चिठ्ठा परेको छ भन्दै फोन गर्ने व्यक्तिको खातामा रकम त उनले हालिदिएका रहेनछन् तर मोबाइल बैंकिङको ओटिपी कोड भने दिएका रहेछन् । अनि ओटिपी कोड पाएपछि त्यसरी फोन गर्ने व्यक्तिले मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गरेर लगेछ । – एक जना बैंकको कस्टमर डिजिटल बैंकिङ अन्तर्गत एटिम सेवा लिन्छन् । एटिम बाटै पैसा निकाल्छन् । बैंक जाने, लाइन बस्ने, चेक काटने झन्झट छैन उनलाई । एटिमले सजिलो बनाइदिएको छ उनको आर्थिक दिन चर्या । तर, एक दिन अचानक बैंक खाताबाट मेरो रकम हरायो भन्दै बैंकमा गुनासो गर्न आउछन् । बुझदै लादा उसको एटिमबाट नै पैसा निकालेको स्टेटमेन्टबाट थाहा हुन्छ । पहिलो अनुसन्धान घरबाट नै गर्नुपर्छ भन्ने बुझेर घर परिवारका सदस्यलाई केरकार गर्छन् । निक्कैबेरको सोधिखोजिपछि उनकै छोराले एटिमबाट पैसा निकालेको थाहा हुन आउँछ । बाबुलाई एक दिन बजार जान अल्छि लागेर छोरालाए एटिमको पिन नम्बर भनेर पैसा निकाल्न एटिम दिएर पठाएको कुरा उनलाई याद आउछ । अनि छोराले पिन नम्बर थाहाँ पाएपछि बाबुको एटिमबाट बारम्वार पैसा निकालेको रहस्य खुल्छ । माथिको दुइवटै उदाहरणमा दुई जना नै डिजिटल बैंकिङका प्रयोगकर्ता हुन । मोवाइल बैकिङ प्रायोगकर्ता मोवाइल बैकिङ प्रयोग र जोखिमको वारेमा पूर्णज्ञान नभएको र चिठ्ठाको लोभमा फसेको ग्राहक हुन भने दोस्रोमा आफ्नै छोरा हो, भन्दै एटिम आफ्नो भएपछि आफैले चलाउनु पर्दछ भन्ने ज्ञान हुदा हुदै पनि एक दिन त हो नि भन्दै हेलचक्राई गरेका ग्राहक हुन । नेपालमा हाल कोरानाको महामारीले बैंकिङ क्षेत्रमा डिजिटल बैंकिङको प्रयोग अत्याधिक वढेको छ । सरकारबाट पनि, नेपाल रास्ट्र बैंकबाट पनि र संम्वन्धित बैंक तथा वित्तीय संस्थाहरुले पनि डिजिटल बंैकिङलाई प्रश्रय दिदा र अत्यधिक महत्व दिदा आज निजी अनलाइन व्यापार मात्र होइन, सरकार अन्तर्गत रहेका संस्थाहरुले पनि राजस्व डिजिटल बैकिङबाट नै जम्मा गर्न लगाइरहेका छन । आज हरेकको लागि यो एउटा अपरिहार्य भइसकेको छ । प्रविधिले मानिसलाई सजिलो अवश्य बनाउदछ । डिजिटल बैकिङको प्रयोगकर्ता आज अत्यधिक बढेपनि, बैंक तथा वित्तीय क्षेत्रले डिजिटल बैकिङको आफनो प्रडक्टहरु बेचाउनको लागि मात्र र आफ्नो आम्दानी बढाउन मात्र ध्यान दिनाले यसमा दिनानुदिन जोखिम बढ्दो छ । कर्मचारीलाई यो हाम्रो प्रडक्ट हो, महिनामा यति बेच्नु पर्छ, उति बेच्नु पर्छ भनेर टारगेट मात्र दिनाले र कर्मचारीले पनि बेच्ने बहानामा आफ्ना ग्राहकले मोवाइल बैंकिङ सुरक्षित रुपमा चलाउन सक्छन कि सक्दैनन्, कस्ता कस्ता ग्राहकलाई एटिम दिने कस्ता कस्तालाई नदिने वा भनौं, कस्ता ग्राहक ठगिन सक्छन्, कस्तालाई जोखिम छ भन्ने नबुझी सबै ग्राकलाई खाता खोल्दा फर्म भर्न लगाएर लिनु पर्दछ है भन्ने मानसिकताले काम गर्दा आज यसमा जोखिम अत्यधिक बढेको छ । यसरी ठगिन सकिन्छ नि, भनेर डिजिटल बैकिङको वित्तीय साक्षरता चाहि बैंक कर्मचारी, बैंकको व्यवस्थापन टिम, नेपाल रास्ट्र बैंक लगायत सरकार तथा अनलाइन कारोवार गर्ने निकायहरुले प्रसार प्रसार नगर्ने हो भने भोलिको दिनमा डिजिटल बैंकिङका प्रयोगकर्ता त अवश्य नै बढ्ला तर सोझासाझा ग्राहकहरु भने ठगिएका ठगियै हुनेछन् । हाम्रा ग्राहक कत्तिको सुरक्षित छन् ? हाम्रा ग्राहकलाई हामीले कत्तिको यो सम्बन्धी जानकारी गराएको छौं ? बेलैमा सोच्ने वेला आइसकेको छ । अबको दिनमा जुन बैंक तथा वित्तीय क्षेत्रले डिजिटल बैंकिङ जति आफ्ना ग्राहकलाई बेच्छन्, त्यसमा एउटा निश्चि रकम वित्तिय साक्षरता र डिजिटल जोखिमको प्रचार प्रसारको लागि छुट्याउनु पर्ने देखिन्छ । बैंकहरुले ग्राहक मात्र वनाइरहने, सेवाशुल्क मात्र लिइरहने तर डिटिल बैकिङ सम्बन्धी ग्राहकलाई जिम्मेवार र चनाखो नवनाउने र यसमा चुइक्क खर्च नगर्ने हो भने भोलिका दिनमा आमसर्वसाधारण असुरक्षित महसुस नहोला भन्न सकिदैन । नेपाल रास्ट्र बैंकले पनि यो बैंकले, त्यो बैंकले , वित्तीय क्षेत्रले मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ कनेक्ट आइपिएस, क्युआर कोड आदि ग्राहक यति बनाए भनेर डिजिटल बैंकिङको प्रयोगकर्ता बढे है भन्दै डाटामा मात्र फुरुक्क नपरि जोखिमको लागि के कस्तो काम हुदैछ भनेर पनि चनाखो हुनुपर्दछ । यसमा बैंक तथा वित्तीय क्षेत्र, नेपाल रास्ट्र बैकले अनिवार्य डिजिटल बैंकिङबाट हुन सक्ने फ्रडलाई रोक्न स्पस्ट नीति र अनिवार्य प्रचार प्रसार गर्न गराउनु जरुरी छ । हाल डिजिटल बैकिङ तथा यसवाट हुन सक्ने जोखिमको वित्तीय साक्षरता कमिले कोही चिठ्ठा पर्यो भन्दै ठगिए । डिजिटल बैकिङको जोखिम सम्बन्धि वित्तीय साक्षरता नभएको ले ठगिए भन्दै कोही बैंकमा गुनासो लिएर आए भने भोलिको दिनमा बैंकका कर्मचारीले के उत्तर देलान् ? यस विषयमा सरोकारवालाले बेलैमा सोच्न जरुरी छ ।