गंगालाल हृदय केन्द्रमा कामना सेवा बैंकको निःशूल्क भोजन सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवाहरूलाई लक्षित गर्दै निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिनाइ भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । गरिब तथा विपन्न बिरामी तथा कुरुवाहरूका लागि आवश्यक पौष्टिक भोजनको अभावलाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो । उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको हो । कार्यक्रममा बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति रहेको थियो । भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकप्रति धन्यवाद व्यक्त गरे । त्यसैगरी, गरिब तथा विपन्न बिरामी तथा उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बैंकका ब्राण्डिङ तथा सीएसआर प्रमुख पौडेलले बताए । आरती भोजन परिवारले २०८१ साल मंसिर ३ गतेदेखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशूल्क भोजन सेवा प्रदान गर्दै आएको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित भइरहेका छन् । कामना सेवा विकास बैंकले सामाजिक, स्वास्थ्य तथा जनहितका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। बैंकले आगामी दिनमा पनि विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै समाजप्रति उत्तरदायी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।   

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश दिएको थियो । अदालतको आदेशपछि पाण्डेले पुनः बैंकको नियमित कार्य सम्हालेको बैंकले जनाएको छ ।   

सेन्ट्रल एक्स्चेञ्ज काउण्टरको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरास्थित सेन्ट्रल एक्स्चेञ्ज काउण्टर प्रालिको मनिचेञ्जर इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकका अनुसार परिवत्र्य विदेशी मुद्राको खरिद कारोबार गर्न इजाजतपत्र प्राप्त उक्त कम्पनीले कारोबार बन्द गरी स्वेच्छिक रूपमा इजाजतपत्र खारेज गरिदिन निवेदन दिएको थियो ।  सोही निवेदनका आधारमा मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार निर्णय गर्दै इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।  निर्णयअनुसार उक्त मनिचेञ्जरको इजाजतपत्र खारेज भएसँगै कम्पनीको विदेशी मुद्रा सम्बन्धी कारोबार आधिकारिक रूपमा बन्द भएको राष्ट्र बैंकले जनाएको छ ।