सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशकुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई आगामी चार वर्षका लागि सीईओकाे पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव पुस्कर जिसीले जानकारी दिएका छन् । केसीले जेठ ११ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।

कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो १० थान डोनर बेड

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटी मोरङलाई १० थान डोनर बेड (रक्तदान गर्दा प्रयोग गरिने बेड) हस्तान्तरण गरेको छ । बैंकले आफ्नो विराटनगर शाखा कार्यालयमार्फत रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन गर्न तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै रगत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरेको हो । एक विशेष कार्यक्रमका बीच बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुख्देव प्रसाद मण्डललाई ती डोनर बेडहरू हस्तान्तरण गरे । डोनर बेड ग्रहण गर्दै नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डलले बैंकप्रति आभार प्रकट ग‍रे । कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रक्तसञ्चार सेवा जस्तो पवित्र कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि यस्ता मानवीय कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त ग‍रे । उक्त बेड हस्तान्तरण कार्यक्रममा कामना सेवा विकास बैंकका कर्मचारीहरू तथा नेपाल रेडक्रस सोसाइटीका विभिन्न अधिकृत एवं सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा डा. परितोष पौड्याल विजयी भएका छन् ।  आज सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतको प्रष्ट अन्तरले पराजित गर्दै डा. पौड्याल सञ्चालक पदमा निर्वाचित भएका हुन् ।  निर्वाचनमा विजयी डा. पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले १ हजार ५५२ मत मात्रै प्राप्त गरे । डा. पौड्यालले अब बैंकलाई अझ बढी सुदृढ र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे ।  उनले सहकारी बैंकमार्फत वित्तीय सुशासन प्रवर्द्धन गर्ने र नीतिगत स्थिरता कायम गर्न विशेष पहल गर्ने स्पष्ट पारे ।  आगामी दिनमा बैंकलाई पूर्ण रूपमा सदस्यमैत्री बनाउने बताउँदै उनले सहकारी अभियानमा आफ्नो तीन दशकभन्दा लामो अनुभव नै आगामी सफल नेतृत्वको मुख्य आधार भएको उल्लेख गरे । प्रारम्भिक सहकारी संस्थादेखि राष्ट्रिय स्तरका विभिन्न संघसंस्थाहरूमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका डा. पौड्यालले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, संस्थागत विकास र सदस्य सेवामा व्यापक सुधार ल्याउनु नै आफ्नो प्रमुख प्राथमिकता रहने बताए ।