ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।  सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।  युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।  यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।  यस अघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रुपमा सम्मानित भएको थियो ।  ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

भदौमा थप घट्यो बैंकको ब्याजदर, १३ बैंकले स्थिर राख्दा संस्थागतको २.७५ प्रतिशतमा झर्याे

काठमाडौं । वाणिज्य बैंकहरुको भदौमा पनि ब्याजदर घटेको छ । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।  भदौ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२० प्रतिशत घटेर औसत ५.५८ प्रपतशतमा झरेको छ । जबकी साउनमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर थियो ।  यस्तै, मुद्दती निक्षेपमा भदौमा संस्थागततर्फ औसत ०.१५ प्रतिशत घटेर ३.९६ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ४.११ प्रतिशत ब्याजदर थियो ।  भदौ महिनाका लागि विभिन्न ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् ।  कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२० प्रतिशत घटाएर ५.२० प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत घटाएर २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।  कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४० प्रतिशत घटाएर ५.२१ प्रतिशत ब्याजदर तोकेको छ ।  नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.१० प्रतिशत घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४३ प्रतिशत घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), एनआईसी एशिया बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।

प्रभु बैंकका ग्राहकलाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच सेवा छुटसम्बन्धी सम्झौता भएको छ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजुराना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।  विशेष गरी बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरू प्रदान गर्दै आएको बैंकले जनाएको छ ।