कर्णाली डेभलपमेन्ट बैंकले सेयर जारी गरेर नयाँ लगानीकर्ता खोज्दै, पुँजी बढाएर राष्ट्रियस्तरको बैंक बन्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको सेयर जारी गरेर नयाँ लगानीकर्ता खोज्ने तयारी गरेको छ । बैंकले हाल कायम संस्थापक लगानीकर्तालाई हटाएर नयाँ लगानीकर्ता खोज्ने तयारी गरेको हो ।  बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा गठन भएको सो ३ सदस्यीय समितिले अहिले कर्णाली डेभलपमेन्ट बैंकको उद्धारको काम गरिरहेको छ । सो समितिले व्यक्तिगत निक्षेपकर्ताको निक्षेप फिर्ता गर्ने काम गरिरहेको छ भने आन्तरिक प्राविधिक कामहरू पनि सम्पन्न भइसकेको बताएको छ ।  ती कामहरू सम्पन्न भएपछि अब नयाँ लगानीकर्ता खोजेर बैंकलाई नयाँ रणनीति र नयाँ योजनाका साथ अगाडि बढाउने प्रयत्न भइरहेको संयोजक टीकाराम खतिवडाले बताए ।  ‘अहिले हामीले व्यक्तिगत निक्षेपकर्तालाई प्राथमिकता दिएर निक्षेप भुक्तानी गर्ने काम गरिरहेका छौं, तीन/चार वर्षदेखि हुन नसकेको लेखापरीक्षण जारी छ, बैंकको डुयल डेलिजेन्स अडिट (डीडीए) पनि सम्पन्न गरिसकेका छौं, गर्नै पनि महत्त्वपूर्ण काम सक्यौं, अब नयाँ योजना र रणनीति बनाएर अगाडि बढ्ने प्रयास गर्दैछौं,’ खतिवडाले भने ।  उनका अनुसार अब बैंकले पुराना संस्थापक सेयरधनीको स्वामित्व रद्द गर्दै सेयर जारी गरेर नयाँ लगानीकर्ता खोज्ने काम हुनेछ । त्यसका लागि पुससम्मको समय लाग्ने उनको भनाइ छ । यद्यपि बैंकको हाल रहेका सर्वसाधारण सेयरधनी भने कायमै रहने उनको भनाइ छ ।  अहिले कर्णाली डेभलपमेन्ट बैंकमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक सेयरधनी र ४९ प्रतिशत सेयर सर्वसाधारणको छ । कुल ५० करोड चुक्ता पुँजी रहेको बैंकमा २५ करोड ६४ लाख संस्थापकको र २४ करोड ६३ लाख रुपैयाँ सेयर स्वामित्व सर्वसाधारणको छ ।  ‘अब बैंकको पुँजी थप्नैपर्छै, त्यसका लागि हामीले तयारी गरिरहेका छौं, पुराना संस्थापकलाई रद्द गरेर नयाँ ल्याउने तयारी भइरहेको छ, तर, सर्वसाधारण सेयरधनीहरू कायमै रहन्छन्,’ खतिवडाले विकासन्युजसँग भने ।  उनका अनुसार अहिले रहेका ठूला निक्षेपकर्ताको निक्षेपलाई पुँजीमा रूपान्तरण ( डिपोजिट टु इक्यिुटी) गरेर पनि लगानीकर्ता बनाउन सकिन्छ । ठूलो निक्षेप रहेका संस्थागत लगानीकर्तालाई निक्षेप फिर्ता नगरेर डिवेन्चरमार्फत् पुँजी थप गरी लगानीकर्ता बनाउन सकिने सुविधा पनि रहेको उनको भनाइ छ । पुँजी बढाएर राष्ट्रियस्तरकाे बैंक बनाइँदै    अहिले कर्णाली डेभलपमेन्ट बैंक क्षेत्रिय बैंकका रुपमा काम गरिरहेको छ । अहिले यो बैंकले तीन जिल्लाहरू बाँके, बर्दिया र दाङ कार्य क्षेत्र बनाएर काम गर्दै आएको छ । तर, राष्ट्र बैंकले प्युठान र रोल्पामा काम गर्न पनि अनुमति दिएको थियो ।  राष्ट्र बैंकले अब यो बैंकको पुँजी साढे २ अर्ब पुर्याएर राष्ट्रियस्तरको बैंक बनाउने तयारी भइरहेको खतिवडाले जानकारी दिए । बैंकको कुल ५० करोड रुपैयाँ पुँजी रहेकोमा अब बढाएर साढे २ अर्ब पुर्याउने योजना अघि सारेको हो । राष्ट्रिय स्तरको विकास बैंक हुन न्यूनतम् साढे २ अर्ब रुपैयाँ पुँजी हुनुपर्ने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ ।  राष्ट्र बैंकले चारदेखि दश जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले १ अर्ब २० करोड, एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरूले ५० करोड चुक्ता पूँजी बनाउनु पर्ने व्यवस्था गरेको थियो । उनले अहिले ठूला निक्षेपकर्ताले बचत फिर्ता पाउने सम्भावना पनि नरहेको बताएका छन् । ‘अहिले ठूलो परिमाणमा निक्षेप रहेका संस्थागत निक्षेपकर्ताले पैसा फिर्ता पाउने सम्भावना छैन, अहिले हाम्रो प्राथमिकता भनेको व्यक्तिगत निक्षेपकर्ता हुन्, हामीले सकेसम्म भुक्तानी पनि गरिरहेका छौं, ठूला निक्षेपकर्ताको लागि डिवेन्चर जारी गरेर हुन्छ कि के हुन्छ ढिलाइ भएपनि समस्याको समाधान हुन्छ,’ उनले भने ।  राष्ट्र बैंकले मंसिर ११ गते कारोबार रोक्का गरेपछि पनि कर्णाली डेभलपमेन्ट बैंकमा १४ करोड ५७ लाख रुपैयाँ निक्षेप जम्मा भएको देखिएको उनको भनाइ छ ।  उनका अनुसार अहिले चार अर्ब बढी बैंकको दायित्व देखिएको छ । सार्वजनिक तथ्यांकअनुसार २०८१ पुससम्म बैंकमा कुल २ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा, ४ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ निक्षेप थियो । बैंकमा कुल १ लाख ७ हजार २४७ वटा निक्षेपकर्ता र कुल १ लाख १ हजार १२५ निक्षेप खाता संख्या रहेको उल्लेख छ ।  बैंकको कुल १ हजार ५६ जना ऋणी रहेको उल्लेख छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको दिन २०८१ पुससम्म बैंक एक अर्ब ७६ करोड १९ लाख रुपैयाँ नोक्सानमा थियो ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकमा ३ अर्ब २० करोड रुपैयाँ अपचलन भएको निष्कर्षसहित १०८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालय, बाँकेमा प्रतिवेदन बुझाएको थियो । अहिले अदालतको आदेशले बैंकका सञ्चालक राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी थुनामा छन् । मुद्दाका आरोपित १०५ जना फरार छन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफासँगै लाभांश क्षमतामा गिरावट, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा ७.५० प्रतिशत घटेर ३ अर्ब २ करोड ९३ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब २७ करोड ५२ लाख ६८ हजार रुपैयाँ नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १२.५६ प्रतिशत घटेर ४ अर्ब ४८ करोड ८४ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब १३ करोड ३२ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३.६२ प्रतिशत घटेर १ अर्ब ३६ करोड ४३ लाख ६० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.७६ प्रतिशत घटेर ६ अर्ब ५९ करोड ७४ लाख ७० हजार रुपैयाँ र सञ्चालन नाफा ०.०८ प्रतिशत घटेर ४ अर्ब ७१ करोड १ लाख २४ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ३३ लाख २६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १९.८५ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड १५ लाख ६३ हजार रुपैयाँ थियो ।  १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ९ अर्ब ७५ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप ११.४२ प्रतिशत बढेर १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख ४८ हजार रुपैयाँ र कर्जा लगानी १०.३८ प्रतिशत घटेर ७२ अर्ब ७१ करोड २२ लाख २९ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले १ खर्ब १२ अर्ब ४८ करोड ३८ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड २५ लाख १७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६९.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७६.८३ प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी ३०.१७ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३४.७३ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.८ गुणा छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष २.१४ प्रतिशत रहेकोमा गत वर्ष घटेर १.७४ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १४.१८ प्रतिशत छ ।

प्राइम बैंकको नाफा ४ अर्ब बढी, लाभांश क्षमता १४.३३ प्रतिशत

काठमाडौं । प्राइम बैंकको गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १४.७२ प्रतिशत बढेर ४ अर्ब २ करोड ४४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले ३ अर्ब ५० करोड ७८ लाख ९४ हजार खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत बढेर ८ अर्ब ८२ करोड २४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब ८८ करोड २७ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १.७० प्रतिशत बढेर १ अर्ब ७० करोड ८३ लाख १७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.५५ प्रतिशत बढेर ११ अर्ब १६ करोड ७५ लाख २० हजार रुपैयाँ र सञ्चालन नाफा २३.४३ प्रतिशत बढेर ६ अर्ब ५५ करोड ८० लाख १६ हजार रुपैयाँ रहेको छ ।  गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ८ लाख १९ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १४.३३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९९ करोड ५३ लाख ३९ हजार रुपैयाँ थियो ।  १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ११ अर्ब ५२ करोड ३४ लाख ९४ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप २४.७२ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ र कर्जा लगानी १६.२५ प्रतिशत बढेर २ खर्ब १० अर्ब ४६ करोड १७ लाख २४ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष बैंकले २ खर्ब ११ अर्ब १६ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब २ करोड ९५ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८६.२० प्रतिशत थियो ।  बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १८.०८ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७३.७२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३२ गुणा छ । बैंकको खराब कर्जा अघिल्लो वर्ष ४.६५ प्रतिशत रहेकोमा गत वर्ष बढेर ५.५६ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १२.५१ प्रतिशत छ ।