माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका ८ वटा शाखा बन्द गर्ने भएको छ । बैंकले विभिन्न स्थानका ८ वटा शाखा कार्यालय (समायोजन (मर्ज) गरी बन्द गर्ने भएको हो । बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाइनेछ । समायोजनपछि सम्बन्धित ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ । काठमाडौंको बालाजु शाखा गोंगबु शाखासँग समायोजन हुनेछ । त्यस्तै खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा, ठमेल शाखा दरबारमार्ग शाखामा गाभिनेछ । गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा र मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखामा समायोजन हुने बैंकले जनाएको छ ।
ज्योति पाण्डे ‘भाग्दै पक्राउ’ सीआइबीको प्रचार ! अदालत रक्षात्मक बन्दै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेपछि बैंकिङ तथा उद्यम क्षेत्र तरंगित बनेको छ । बुधबार सीआइबीले पाण्डेलाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पक्राउ गरेको सूचना सार्वजनिक गर्यो । यो समाचार तयार पार्दासम्म भने पाण्डे शुक्रबार सर्वोच्च अदालतको आदेशले रिहा भइसकेका छन् । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सीईओ पाण्डेलाई रिहा गर्न आदेश दिएको हो । देश छाडी बाहिर जानुपरेमा भने उनको तर्फबाट एक वरिष्ठ अधिवक्ताको रोहबरमा अदालतको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ । पाण्डेलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता नदेखिएको पनि आदेशमा उल्लेख छ । यद्यपी सीआइबीले सार्वजनिक गरेको पछिल्लो विवरण र वास्तविक घटनाक्रमले बैंकिङ तथा उद्यम क्षेत्रमा गम्भीर प्रश्न उठाएको छ । जहाँ जोसुकैलाई पक्राउ गरेर हिरासतमा राखिहाल्नुपर्ने र अनुसन्धान प्रक्रिया अगाडि बढाइहाल्नु पर्ने हतारोमा देखिन्छन् । जिल्ला अदालतको यो आदेशसँगै अनुसन्धान गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेखर गोल्छालाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सीआइबीले बीमासम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लैजाँदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको थियो । पाण्डेको पक्राउपछि बिहीबार नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको थियो । बैठकमा सहभागी अधिकांश बैंकर्सले खुला रूपमा सीआइबी लगायत सरकारको आलोचना गरेका थिए । एक बैंकरले भनेका थिए, 'आज एउटा बैंकको सीईओलाई यसरी प्रस्तुत गरिएको छ । भोलि जोकोहीमाथि यस्तै शैली दोहोरिन सक्छ भन्ने डर सबैमा देखिन्थ्यो ।' सीआइबीले इमेलमा सीईओ पाण्डे मोबाइल फोन स्वीच अफ गरेर भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ परेको उल्लेख गरिएको थियो । विज्ञप्तिअनुसार काठमाडौं महानगरपालिका–१८ रक्तकाली स्थायी ठेगाना भएका तथा हाल ललितपुर–५ मीनभवनमा बस्दै आएका ६३ वर्षीय पाण्डेलाई वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रमा सवारी चेकजाँचका क्रममा पक्राउ गरिएको छ । स्रोतका अनुसार पक्राउ हुनुअघि पाण्डे आफ्नै कार्यालयमा उपस्थित थिए । कार्यालयको सीसीटिभी फुटेजमा समेत उनी नियमित कामकाजमै संलग्न देखिएका थिए । राष्ट्र बैंकमा पुगेका थिए पाण्डे सोमबार पाण्डे स्वयं नेपाल राष्ट्र बैंक पुगेका थिए । त्यहाँ उनले स्मार्ट टेलिकमसँग सम्बन्धित ऋण, धितो तथा लिलामी प्रक्रियाबारे जानकारी दिएका थिए । त्यसक्रममा राष्ट्र बैंकका अधिकारीहरूले थप कागजात माग गरेका थिए । राष्ट्र बैंकको निर्देशनअनुसार मंगलबार साँझ बैंकको आधिकारिक इमेलमार्फत सम्बन्धित सम्पूर्ण कागजात पठाइएको बताइएको छ । त्यही दिन पाण्डे कार्यालयमै उपस्थित भई केही ऋणसम्बन्धी फाइलहरूमा हस्ताक्षर गरेको दाबी बैंककै कर्मचारीहरूले गरेका छन् । यदि पाण्डे नियमित रूपमा कार्यालयमा उपस्थित थिए भने ‘मोबाइल स्वीच अफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ’ भन्ने सीआइबीको दाबी कसरी आयो भन्ने प्रश्न उठ्न थालेको छ । ‘क्रेडिट लिन सीआइबी सक्रिय घटनापछि बैंकिङ वृत्तमा सीआईबीको कार्यशैलीमाथि पनि प्रश्न उठ्न थालेको छ । केही बैंकर्सहरूले अनुसन्धानलाई भन्दा पनि ‘प्रचारमुखी शैली’लाई प्राथमिकता दिइएको आरोप लगाएका छन् । राज्यले ठूलो सफलता हासिल गरेको सन्देश दिन खोजिएको देखिन्छ । सीआइबी प्रमुख मनोज केसीले आफ्नै शैलीमा घटनालाई प्रस्तुत गर्दै सार्वजनिक ‘क्रेडिट’ लिन खोजेको आरोप समेत बैंकिङ क्षेत्रले लगाएको छ । स्रोतका अनुसार सीआइबीमा दर्जनौँ जघन्य प्रकृतिका मुद्दा अझै अलपत्र अवस्थामा छन् । आर्थिक प्रकृतिका बाहेक अन्य गम्भीर मुद्दामा अपेक्षाकृत कम चासो दिइएको भन्दै प्रहरी प्रधान कार्यालयले चासो दिएको छ । कतिपय प्रहरी अधिकृतका अनुसार पक्राउ र मुद्दा दर्तालाई अत्यधिक प्रचार गरेर ‘काम देखाउने’ प्रवृत्ति बढेको छ । मुद्दा सफल हुनु भनेको पक्राउको प्रचार नभइ अदालतमा अभियोजन सफल हुनु एक पूर्व प्रहरी अधिकृतले बताए । सीआइबी प्रमुखले लगभग दैनिकजसो प्रहरी प्रधान कार्यालयलाई जानकारी नगराई प्रधानमन्त्री कार्यालयसम्म सक्रिय रूपमा रिपोर्टिङ गर्ने गरको एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले भने, 'पछिल्लो समय सीआइबीको प्रचार शैली अपरिपक्व र ब्यूरोकै संस्थागत साख गिराउने खालको काम गरिरहेका छन् ।' स्मार्ट टेलिकम ऋण प्रकरण के हो ? स्मार्ट टेलिकमसँग सम्बन्धित ऋण असुली प्रक्रियाका क्रममा बैंकले धितो लिलाम गरेर रकम उठाएको विषयमा अनुसन्धान भइरहेको छ । बैंकले कानुनी अधिकारअनुसार नै प्रक्रिया अघि बढाएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) र सुरक्षित कारोबार ऐनले बैंकलाई धितो लिलाम गर्ने अधिकार रहेको उनीहरूको तर्क छ । त्यसमाथि नेपाल राष्ट्र बैंकले २०७९ मंसिरमा लिखित निर्देशन दिएपछि बैंकले स्मार्ट टेलिकमको धितो लिलामी प्रक्रिया अघि बढाएको थियो । बैंकिङ क्षेत्र त्रसित घटनापछि बैंकिङ क्षेत्रभित्र त्रास बढेको छ । नियामक निकायको निर्देशनअनुसार गरिएको निर्णयमा समेत फौजदारी अनुसन्धान सुरु हुन थालेपछि बैंकका उच्च अधिकारीहरू त्रसित बनेका छन् । एक बैंकरले भने, 'यदि संस्थागत निर्णयलाई पछि फौजदारी मुद्दाको विषय बनाइन्छ भने बैंकिङ प्रणालीमा निर्णय गर्ने साहस नै हराउन सक्छ ।'
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
काठमाडौं । नबिल बैंक लिमिटेडले बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । यही वैशाख ३१ गते नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकहरू अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ । एनबैंकका प्रयोगकर्ताहरूले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । 'ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,' बैंकका नायब प्रमुख बजगाईंले भने, 'एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।' उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारीत सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवाहरुलाई निरन्तर सुधार गर्दै सेवाग्राहीहरुलाई एकिकृत प्लेटफर्ममार्फत वित्तिय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ।