झण्डै ३० खर्ब पुग्यो विदेशी विनिमयको सञ्चिति, जीडीपीको आधा हिस्सा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति धमाधम बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै विदेशी विनिमय सञ्चिति बढ्दै गएको देखाएको हो ।  २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।  

३ महिनामा भित्रियो साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको असोजसम्ममा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।  असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार ३ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।  चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।  

सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर र आशा लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।