कैलालीको सेती अस्पतालमा मिर्गौला बिरामीका लागि सिटिजन्स बैंकको स्वास्थ्य सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कैलालीको सेती प्रादेशिक अस्पताललाई डायलासिस उपचारका लागि आवश्यक रिभर्स ओस्मोसिस (आरओ) प्रणाली उपलब्ध गराएको छ ।

बैंकले धनगढी–१ स्थित अस्पतालको डायलासिस युनिटलाई आरओ प्रणाली हस्तान्तरण गरेको हो। यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मिर्गौला रोगीलाई प्रदान गरिने डायलासिस सेवा थप सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।

हाल सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटमा २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीले सेवा लिइरहेका छन्। अस्पतालको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै बैंकले अस्पताल व्यवस्थापनसँग छलफल गरेर सबैभन्दा प्राथमिक आवश्यकताका रूपमा आरओ प्रणाली उपलब्ध गराएको जनाएको छ।

अस्पतालमा आयोजित कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आरओ प्रणाली अस्पताललाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सुदूरपश्चिमका मिर्गौला रोगीको उपचार सेवामा सहयोग गर्न पाउँदा खुशी लागेको बताए। उनले यस सहयोगबाट विशेषगरी न्यून आय भएका र विपन्न समुदायका बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे।

सिटिजन्स बैंकले सीएसआर कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिक क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बैंकको योजना रहेको छ।

Share News