वेष्टर्न डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

काठमाडौं, १२ साउन । वेष्टर्न  डेभलपमेन्ट बैंक लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले अंकित दरको १५ लाख ६९ हजार ६०० कित्ता सेयर १ बराबर १ को अनुपातमा हकप्रद साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नकोलागि कमलादीमा रहेको सो बैंकलाई नियुक्त गराएको हो । सो शेयर निष्काशन सम्झौतामा बैंकको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत खिम बहादुर डि.सी. र धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट महाप्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गरेका छन् ।

लघुवित्तको ब्याजदर कार्यान्वयनमा राष्ट्र बैंक र बैंकर्सको जुहारी

काठमाडौं, १२ साउन । लघुवित्त संस्थाहरुले नेपाल राष्ट्र बैंकले हालै ल्याएको नीति कार्यान्वयन नगर्ने चेतावनी दिएका छन् । लघुवित्त संस्थाले प्रदान गर्ने कर्जाको ब्याज अत्यन्तै महंगो भएको गुनासो आएपछि त्यसलाई नियन्त्रण गर्नभन्दै राष्ट्र बैंकले ल्याएको लागत (कष्ट अफ फण्ड) को ७ प्रतिशत अन्तर (स्प्रेड) मा कर्जा दिनुपर्ने ब्यवस्था कार्यान्वयन नगर्ने चेतावनी दिएका हुन् । लागतको ७ प्रतिशत स्प्रेडमा कर्जा दिदा संस्था नै चल्न नसक्ने भन्दै लघुवित्त कम्पनीहरुको संस्था नेपाल लघुवित्त बैकर्स एसोसिएसनले कार्यान्वयन गर्न नसक्ने जानकारी नेपाल राष्ट्र बैंकलाई गराइ सकेको छ । आफूहरुको संचालन खर्च अधिक भएकोले त्यति स्प्रेडमा काम गर्न नसकिने संघको भनाइ छ । ‘हाम्रो संचालन खर्च साढे १० प्रतिशत जति छ, ७ प्रतिशतको स्प्रेडमा काम गर्नुपर्ने हो भने नाफा त परै जाओस्, संस्था नै चल्न सक्दैन,’ संघका अध्यक्ष धर्मराज पाण्डेले भने । स्प्रेड कम भएपति त्यसलाई बढाउन संघले लबिङ गरिरहेको छ । अहिले अधिकांश लघुवित्त संस्थाले गरिबलाई दिने कर्जाको ब्याजदर २० प्रतिशतभन्दा माथि छ । यस्तो कर्जाको सवैभन्दा कम ब्याज भनेको १६ प्रतिशत हो । जवकि लघुवित्त संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुवाट लिने रकमको लागत (कष्ट अफ फण्ड) ६ प्रतिशतको हाराहारीमा देखिएको अध्यक्ष पाण्डेले जानकारी दिए । पाण्डेले दिएको जानकारी अनुसार लघुवित्त संस्थाहरुले ६ प्रतिशतको लागतमा रकम ल्याएर २० प्रतिशतमा लगानी गरिरहेका छन् । यसको अर्थ लघुवित्त संस्थाहरुले १४ प्रतिशत स्प्रेड खाइरहेका छन् भन्ने नै हो । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत यस्तो स्प्रेड ७ प्रतिशतभन्दा माथि हुन नपाइने ब्यवस्था गरेपछि लघुवित्त संस्थाहरुको दौडधुप सुरु भएको हो । नेपाल राष्ट्र बैंकले भने ७ प्रतिशतको स्प्रेड परिवर्तन नहुने प्रष्ट पारेको छ । ‘६ प्रतिशत लागतमा पैसा ल्याएर २४ प्रतिशतसम्ममा लगानी गरिरहेका छन्, ७ प्रतिशत स्प्रेडमा मज्जाले काम गर्न सकिन्छ, नसक्नेले बन्द गरेर गए हुन्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । स्प्रेड बढाउनको लागि लघुवित्त संस्थाहरुले लविङ गरेका भएपनि संसोधन हुने कुनै अवस्था नरहेको ती अधिकारीको भनाइ छ । ‘केही समय यही दर नै लागू हुन्छ, केही महिना हेरौं, त्यसपछि संसोधन गर्दा हुने देखियो भने यो दरभन्दा कम हुने गरी संसोधन गरिन्छ,’ ती अधिकारीले भने ।

ग्रामीण विकास बैंकले सीईओ माग्यो, तलव वार्षिक १७ लाख रुपैयाँ

काठमाडौं, १२ साउन । नेपाल ग्रामीण विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नयाँ नियुक्ती गर्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच वटा क्षेत्रीय विकास बैंक मर्ज हुनुपूर्व भएको सम्झौता अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको हो । पाँच वटा विकास बैंक मर्ज गर्दा मर्जपछि एक वर्षभित्र साधारणसभा गरेर सञ्चालक समिति चयन गर्ने, त्यसपछि खुला प्रतिस्पर्धाको आधारमा सीईओ नियुक्ती गर्ने सहमति अनुसार नयाँ सीईओ नियुक्ती प्रक्रिया अगाडि बढाएको वर्तमान सीईओ धर्मराज पाण्डेले विकासन्युजलाई जानकारी दिए । मर्ज भएका पाँच ग्रामीण विकास बैंक मध्ये नाफामा रहेको एक मात्र पश्चिमाञ्चल ग्रामीण विकास बैंकको सीईओ पाण्डेलाई मर्जपछिको नेपाल ग्रामीण विकास बैंकमा सीईओ बनाईएको थियो । नयाँ सीईओको लागि स्नातक पास गरेको, बैंक तथा वित्तीय क्षेत्रमा कम्तिमा ५ वर्ष कार्यकारी पदमा काम गरेको, ४० वर्ष पुरा भई ५८ वर्ष ननाघेको व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । नयाँ सीईओको लागि वार्षिक १७ लाख रुपैयाँ बराबरको तलव र अन्य सुविधा हुने जनाईएको छ । भदौ ८ गतेसम्म आवेदन खुला गरिएको र आवेदक मध्येबाट पाँच जनालाई सर्ट लिस्टङ गरी अन्तरवार्तामा बोलाईने बैंकले जनाएको छ ।