सय दरका २० करोड थान नोट चिनिया कम्पनीले छाप्दै, तीन बर्ष अगाडिको भन्दा ४४ पैसा सस्तो

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले सय रुपैयाँ दरका नेपाली नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई दिएको छ । सवैभन्दा सस्तो दर प्रश्ताव गरेपछि राष्ट्र बैंकले चिनिया कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोेरेसनलाई नोट छाप्ने जिम्मेवारी दिएको हो । चिनिया कम्पनीले सय रुपैयाँ दरका नेपाली नोट प्रतिगोटा २ रुपैयाँ १५ पैसामा छाप्ने प्रश्ताव गरेको थियो । राष्ट्र बैंकले सय रुपैयाँ दरका २० करोड थान नोट ४२ लाख अमेरिकी डलरमा छाप्न दिएको छ । bikashnews.com चिनिया कम्पनीले छाप्न प्रश्ताव गरेको दर सन् २०१२ को भन्दा पनि सस्तो हो । सन् २०१२ मा राष्ट्र बैंकले इन्डोनेसियाको पेरुम पेरुरी कम्पनीलाई प्रतिथान २ रुपैयाँ ५९ पैसाका दरले नोट छाप्न दिएको थियो । अहिले नोट छाप्नको लागि प्रतिथान अधिकतम ३ रुपैयाँ ५९ पैसा पर्ने अनुमान राष्ट्र बैंकको थियो । चिनिया कम्पनीले राष्ट्र बैंकको अनुमान भन्दा पनि कम दरमा र तीन बर्ष अगाडिको भन्दा पनि ४४ पैसा सस्तो दरमा नोट छाप्ने भएको छ । चिनिया कम्पनीले छाप्ने नोट अबको एक बर्षभित्रमा आइसक्ने राष्ट्र बैंकका अधिकारीको भनाइ छ । २० करोड थान नोट छाप्नको लागि ४२ लाख अमेरिकी डलरमा सो कम्पनीलाई जिम्मा दिइसकिएकोले भुक्तानी गर्ने समयमा अमेरिकी डलरको विनिमय दर अहिलेको भन्दा निकै तल वा माथि पुग्यो भने नोट छपाइ दर पनि तलमाथि हुन सक्ने छ । राष्ट्र बैंकले अमेरिकी डलरको विनिमय दर १ डलर बराबर १ सय २ रुपैयाँमा गणना गरेको छ । राष्ट्र बैंकले २८ भदौमा चिनिया कम्पनीलाई पत्राचार गरी नोट छाप्ने जिम्मेवारी दिएको औपचारिक जानकारी गराएको छ । चिनिया कम्पनीसँगै नोट छाप्नको लागि बेलायत, फ्रान्स, रसिया, नेदरल्याण्ड, इन्डोनेसिया र क्यानडाका कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

कैलाश विकास बैंकले २४ प्रतिशत बोनस सेयर दिने, पुँजी वृद्धि योजना पेश

काठमाडौं, ३० भदौं । कैलाश विकास बैंक लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७१/७२ सम्मको संचित नाफाबाट उक्त दरमा बोनस सेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भए पश्चात सेयरधनीले उक्त बोनस सेयर पाउनेछन् । हाल चुक्ता पूँजी ८९ करोड ५३ लाख रुपैयाँ रहेको यस बैंकले बोनश शेयर वितरण गरेपछि चुक्ता पूंजी १ अर्ब ११ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । यस्तै बैंकले पुँजी वृद्धि योजना पनि नेपाल राष्ट्र बैंकलाई पेश गरिसकेको छ । राष्ट्र बैंक स्रोतका अनुसार कैलाश विकास बैंकले चार विकल्प दिएको छ । तीन वर्षसम्म लगातार बोनस सेयर जारी गर्दै जाने उसको मुख्य योजना छ । दोस्रो प्राथमिकतामा बोनस सेयर जारी गर्दा अपुग हुने पुँजी जुटाउन आफ्नो उपस्थिति कम रहेका वा उपस्थिति नै नरहेका क्षेत्रका एक वा तीन जिल्ला स्तरका उपयुुक्त विकास बैंकहरुसँग मर्ज गर्ने योजना बनाएको छ । पहिलो र दास्रो प्रयासबाट अपुग पुँजीका लागि हकप्रद सेयर जारी गर्ने बैंकको तेस्रो योजना बनाएको छ । अनुकूल अवस्थामा राष्ट्रिय स्तरको विकास बैंक वा वाणिज्य बैंकसँग पनि मर्जमा जान सकिने बैंकको चौथो योजना रहेको छ । बैंक सञ्चालक समितिले यी योजना बनाई गत आईतबार नेपाल राष्ट्र बैंकलाई बुझाएको छ । हालसम्मको वित्तीय विवरण अनुसार यस बैंकले कूल निक्षेप.९ अर्ब ५३ करोड संकलन गरी कूल कर्जा ८ अर्ब रुपैयाँ लगानी गरेको छ । संस्थाले विभिन्न जिल्लाका २५ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सुविधा सहित १४ वटा एटीएम मेशिनद्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक र भारतीय केन्द्रीय बैंकबीच सूचना आदान प्रदानको समझदारी

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच सुपरिवेक्षकीय सूचना आदान–प्रदान गर्ने तथा बैंक सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोग विस्तार गर्ने सम्बन्धि समझदारी भएको छ । भदौ २८ मा राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाविच समझदारी भएको हो । यस्तो समझदारी पत्रमा राष्ट्र बैंकका तर्फवाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र रिजर्व बैंकका तर्फवाट बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मीना हेमचन्द्रले हस्ताक्षर गरेका हुन् । यस्तो समझदारी रिजर्व बैंकको केन्द्रीय कार्यालय मुम्बइमा सम्पन्न भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । दुबै देशका केन्द्रीय बैंकले आ–आफ्नो सुपरिवेक्षण क्षेत्राधिकार अन्तर्गत पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्नका लागि जानकारी तथा सुचनाहरु आदान प्रदान गर्नेछन् । यसरी सुचना तथा जानकारीहरु आदान प्रदान गर्दा प्राप्त जानकारी वा सूचना भंग नहुने गरी विदेशी सुपरिवेक्षण अधिकारीसँग सूचना÷जानकारी आदान–प्रदान गरिन बताइएको छ । यस्तो समझदारी राष्ट्र बैंकका लागि विदेशी सुपरिवेक्षण अधिकारीसँग गरिएको पहिलो सहमती–पत्र हो । सुपरिवेक्षण अधिकारीहरूबीच पारम्परिक सहयोग, सद्भाव र सम्बन्ध विस्तार गर्ने तथा सुपरिवेक्षकीय जानकारी एवम् सूचना आदान–प्रदान गर्ने उद्देश्यले अन्य मुलुकका सुपरिवेक्षण अधिकारीहरूसँग समेत यस्तो सहमती गर्दै जाने नीति नेपाल राष्ट्र बैंकको रहेको छ । सहमती–पत्रमा हस्ताक्षर कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका निर्देशक झलक शर्मा आचार्य तथा भारतीय रिजर्व बैंकका बैंकिङ सुपरिवेक्षण विभागका पदाधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले केहि बर्ष अगाडिदेखि नै यस्तो समझदारी गर्ने प्रयत्न थालेको थियो ।