सिटिजन्स बैंकले एकैदिन खोल्यो दुर्गममा ६ वटा शाखा, कति बढ्ला निक्षेप ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले दुर्गम स्थानीय तहमा एकै दिन ६ वटा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकको शाखा स्थापना नभएका ६ वटा स्थानीय तहमा सिटिजन्स बैंकले शाखा खोलेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले केन्द्रिय कार्यालयबाटै ६ वटा शाखाहरुको सेवा आरम्भ गरेका हुन् । बैंकले इलामको माङसेबुङ गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, रामेछापको सुनापति गाउँपालिका, काभ्रेको तिमाल गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालका र धनुकुटामा खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका नयाँ शाखा स्थापना गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै दुर्गममा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । यस अघि नै बैंकले नौं वटा स्थानीय तहमा शाखा विस्तार गरिसकेको थियो । निकट भविष्यमै बैंकले प्युठानको झिमरुक, पुर्वी रुकुमको भुमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा शाखा स्थापना गरिसकेको छ । बैंकका डेपुटी सीईओ गणेशराज पोखरेलले शाखा सञ्जालसँगै व्यवसाय विस्तारमा बैंकले आफुलाई केन्द्रित गराएको बताएका थिए । सिटिजन्स बैंकको शाखा सञ्जाल अब ७४ वटा पुगेको छ भने ६९ वटा एटिएम ९७ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् । बैंकको ग्राहक संख्या ३ लाख ३५ हजार पुगेको छ ।

जनताको ९० प्रतिशत बचत राष्ट्र बैंकले सुरक्षा गर्छ- गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन्। मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आइतबार यहाँ शुभारम्भ गर्दै उनले भने, “बैंकमा प्रवद्र्धकको रकम १० प्रतिशत र जनताको रकम ९० प्रतिशत हुने भएकाले जनताको रकम सुरक्षित हुनुपर्छ ।” बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो मलग्ने प्रतिफल दिने संस्था होइन भनेर आफूले निरन्तर सचेत गराए पनि केही बैंक तथा वित्तीय संस्थाले नसुनेकामा उनले असन्तुष्टी व्यक्त गरे । प्रवद्र्धकले बैंक व्यवस्थापनलाई दबाब दिएर जनताको पैसालाई गलत तरिकाले उपयोग गर्न नुहुनेमा जोड दिंदै गर्भनर डा नेपालले भने, “जनताको पैसा नडुबोस् भन्ने सोच्नु नियामक निकायको मूल दायित्व हो, हामी जनताको पैसा तलमाथि हुन दिन्नौं ।” आर्थिक विकासका लागि अत्यन्त राम्रो अवसर रहेको चर्चा गर्दै उनले राजनीतिक स्थायित्वले नीतिगत स्थायित्व ल्याउने र त्यसले मुलुकलाई समृद्धिको बाटोमा लैजाने बताए । आयात कम गर्ने र निर्यातलाई बढवा दिने क्षेत्रमा बैंकले लगानी बढाउनुपर्नेमा जोड दिँदै गभर्नर नेपालले बैंकिङ क्षेत्र नपुगेको ठाउँमा गएर लगानी गर्नुपर्नेमा जोड दिएका छन् । साविकको टुरिजम डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सञ्चालक समितिको स्वार्थमा ऋण प्रवाह गर्दा बैकिङ क्षेत्रमा समस्या आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले दुई बैंक एकीकृत भई कारोबार भएकोप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा देशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने गरी बैंकलाई अगाडि बढाउने बताए । रासस

मेगा बैंकमा टुरिजम् डेभलपमेन्ट गाभियो, एकिकृत कारोबार आजैबाट शुरु

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक एक आपसमा गाभिएका छन् । दुई कम्पनी गाभिएपश्चात आइतबारबाटै मेगा बैंक लि.को नामबाट एकिकृत कारोबार शुरु भएकाे छ । काठमाडौंमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिएका छन् । कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम डेभलपमेण्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिए पछि मेगा बैंकको ०.९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको जनाएका छन् । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकसँग बुटवलमा केन्द्रिय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो । ‘टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ,’ मेगा बैंकका अध्यक्ष शाहले भने- ‘यसले मेगा बैंकको नेटवर्कमा मात्र वृद्धि भएको छैन, व्यावसायिक अवसरहरुमा पनि वृद्धि गरेको छ । मेगा बैंकका शाखा कार्यालयहरु अब ३२ वटा जिल्लाबाट विस्तारित भएर देशका ४९ वटा जिल्लामा पुगेको छ । हामी सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यावसायलाई केन्द्रित गर्छौं ।’ संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक संचालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने बताएका छन् । मेगा बैंकका सिइओ अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिइन् । मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड रुपैयाँ र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोड रुपैयाँको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । १० करोड रुपैँया पुँजीगत जगेडामा थप भएको कम्पनीले जनाएको छ । यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपैँया कायम भएको छ ।