लुम्बिनी बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । संस्थापक सेयरधनीले ४९ हजार ५३२ कित्ता सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री खुला गरेको हो । ३५ दिनभित्र खरिदका लागि निवेदन दिन बैंकले भनेको छ । विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरे कानून बमोजिम बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंक र रेमिटवेर पेमेन्टस् इन्कबीच रेमिटेन्स सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रेमिटवेर पेमेन्टस् इन्कसँगको सहकार्यमा क्यानडा र यूएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा क्यानडाको रेमिटवेर पेमेन्टस् इन्कसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स शुरु गरेको हो । उक्त सम्झौता अनुसार रेमिटवेर पेमेन्ट इन्क मार्फत क्यानडा र यूएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका सम्पूर्ण शाखाबाट सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । हाल बैंकले २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सेवा दिँदै आइरहेको छ ।
गरिमा विकास बैंक र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जनाइएको छ । विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकान्स्योरेन्स पनि एक महत्वपूर्ण कार्य रहेको यस बैंकका सीईओ ढकालले बताए ।