प्रभु बैंकको शाखा गोरखाको बारपाकमा, भूकम्पपीडितलाई घरकर्जा हस्तान्तरण
काठमाडौँ । गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा पुस १४ गते प्रभु बैंकको बारपाक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । भूतपूर्व उप-प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक समारोहका बीच बैंकको बारपाक शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बारपाक शाखा कार्यालय समुदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै श्रेष्ठले २०७२ सालको महाभूकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको एवम् यहाँका सम्पूर्ण संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्राप्त भएको बताए । शाखा कार्यालय उद्घाटन समारोहमा विशेष अतिथिका रुपमा आमन्त्रित नेपाल पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीज्यूले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पीडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्ने उद्देश्यले शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंक प्रति हार्दिक आभार प्रकट गर्दै प्रभु बैंकले नेपाल पुननिर्माण प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको बताए । उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्फत योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताए । उक्त अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पीडितहरुलाई सहुलियत ब्याजमा भूकम्प पीडित घरकर्जा स्वीकृत गरी प्रमुख अतिथि श्रेष्ठबाट हस्तान्तरण गरिएको थियो ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाः बैंक तथा वित्तीय संस्थालाई प्रदेशमा केन्द्रित हुन आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूतनतम चुक्ता पूँजीका बारेमा नयाँ व्यवस्था गरी एउटै प्रदेशमा मात्रै शाखा विस्तार तथा कारोवार सञ्चालनका लागि आग्रह गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी ‘क’ वर्गका वाणिज्य बैंकलाई चुक्ता पूँजी आठ अर्ब हुनुपर्ने उल्लेख गरेको छ । यस्तै ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदेशस्तरमा नै कार्यालय सञ्चालनका लागि नयाँ व्यवस्था गरेको छ । त्यसमा ‘ख’ वर्गका बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड हुनुपर्नेमा प्रदेशस्तरमा कार्यालय सञ्चालन तथा सेवाका लागि एक अर्ब २० करोडको चुक्ता पूँजी भए पनि हुने व्यवस्था गरेको छ । यस्तै ‘ग’ वर्गका बैंकलाई राष्ट्रियस्तरमा ८० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था भए पनि प्रदेशस्तरमा जाँदा ५० करोड मात्रै त्यस्तो पूँजी भए हुने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको स्वीकृति लिई ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले एक प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । चुक्ता पूँजी पूरा नगरेसम्म हाल कायम रहेका जिल्लामा सीमित रही आफ्नो कारोवार गर्न सक्नेछन् । एकभन्दा बढी प्रदेशमा समेत शाखा कार्यालय खोली सञ्चालनमा रहेका वित्तीय संस्थाले २०७७ असारभित्र उक्त शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गर्नु पर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ । प्रादेशिक स्तरका लागि तोकिएका चुक्ता पूँजी पूरा गरेका वित्तीय संस्थाले एकभन्दा बढी प्रदेशमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण नगरेसम्म आफ्नो प्रदेशका बाँकी जिल्लामा कार्यक्षेत्र विस्तार गर्न पाउने छैनन् । प्रादेशिक वा राष्ट्रियस्तरमा स्तरोन्नति हुने क्रममा चुक्ता पूँजी पूरा गर्ने प्रयोजनाका लागि गाभ्ने तथा गाभिने वा प्राप्तिसम्बन्धी कार्यलाई प्राथमिकता दिइनेसमेत बैंकले जनाएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन जारी गरिएको हो । रासस
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौडेल पुनः नियुक्त
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पाैडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ ।