प्रभु बैंकमा खाता हुनेले सेयर कारोबार गर्न ब्रोकरकोमा जानै नपर्ने

काठमाडौं । प्रभु बैंकले मंगलबारदेखि ‘प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता’ सञ्चालनमा ल्याएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि उक्त खाता संचालनमा ल्याएको हो । उक्त कारोबारको लागि नेप्सेले प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ । अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी सेयर खरिद बिक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा सेयर दलाल(ब्रोकर) तथा बैंकसम्म पुग्नु नपर्ने बैंकले जनाएको छ । बैंकले संचालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसीबसी सजिलै स्वचालित अनलाईन सेयर कारोबार गर्न तथा सेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई बैंकिङ सेवा उपलब्ध हुने कम्पनीले जनाइको छ । यस खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन सेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई सेयर कारोबार गर्न सजिलो हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

माछापुच्छ्रे बैंकका ग्राहकलाई मेडिसिटि अस्पतालमा ७ प्रतिशतसम्म छुट

काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालको उपचार सेवामा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो मात्राको छुट पाउने सम्बन्धि मंगलबार माछापुच्छ्रे बैंक र मेडिसिटि अस्पतालबीच एकआपसमा सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बीमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।