कुमारी बैंक ‘आइएमई पे’ वालेटमा आवद्ध

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि कुमारी बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र कुमारी बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने काम शुरु भएको छ । कुमारी बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।

स्वावलम्बन लघुवित्तको ३६.८४ प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १७ औं वार्षिक साधारणसभामा  ३६.८४ प्रतिशत लाभांश पारित भएको छ । संचालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र ११.८४ प्रतिशत नगद गरी ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु.३४ करोड ३० लाख ४९ हजार ७ सय २५ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सभाले वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा बाँकी अवधिको लागि विष्णुप्रसाद त्रिपाठीलाई संचालकमा निर्बिरोध निर्वाचित गरेको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ५७ जिल्लाका १२८ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख २८ हजार १ सय १९ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । कर्जा रकम रु.११ अर्व २६ करोड ४२ लाख १६ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.६ अर्व ३४ करोड ९२ लाख ४० हजार रहेको छ । संस्थाको अधिकृत पूँजी १ अर्ब रहेको छ भने चुक्ता पूँजी रु.७० करोड २४ लाख ७१ हजार ३ सय ९३ कायम गर्ने निर्णय समेत गरेको छ ।

नेपाल बङ्गलादेश बैंकको १० प्रतिशत नगद लाभांश पारित, निक्षेप ४८ अर्ब बढी

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रस्तावित १०.५३ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) पारित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडा कोषबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्यसंग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । साथै, बैंकले ४८ अर्ब निक्षेप र ४३ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले आफ्ना ग्राहकहरु लगायत सबैलाई आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग तथा स्टक ब्रोकर सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने जानकारी गराएको छ ।