गभर्नरबाट सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले लिए सपथ ग्रहण
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सनराइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । मोतीलाल दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएका हुन् । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता नारायणप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु लगायत सनराइज बैंकका नवनिर्वाचित संचालक शारदाशर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महाप्रबन्धक अपछकुमार यादव र रविन नेपाल तथा कम्पनी सचिव ईश्वरकुमार पाठक उपस्थित थिए ।
कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुपबीच रेमिट्यान्स सेवा सम्झौता
काठमाडौं । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप युकेबीच रेमिट्यान्स सेवा मुलुकभर विस्तार गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्ड सर्भिस ग्रुपका प्रमुख कार्यकारी अधिकृत निकोल्स जोन स्टेवार्ट डेबीच रेमिट्यान्स सेवा बिस्तार गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ र उक्त रेमिट्यान्स कुमारी बैंकका सम्पूर्ण ८९ शाखाहरु तथा कुमारी बैंकका करिव ८५०० भन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ । यो सेवा मार्फत नेपालका जुनसुकै बैंकमा पनि रकम पठाउन सकिने हुँदा पाउने व्यक्तिले निर्वाध रुपमा रकम आफ्नो बैंकमा रहेको खातामा प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई नेपाल शैक्षिक परामर्श संघको आधिकारिक बैंक
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) को १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्चशिक्षा अध्ययनका लागि विद्मार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिन भित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ । ग्लोबल आइएमई बैंकको हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुबीच सेवा प्रदान गर्दै आइरहेको छ ।