हिमालयन बैंकको साधारण सभाले पारित गर्यो ५ % बोनस शेयर र १० % नगद लाभांशको प्रस्ताव
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा आज सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने जानकारी अध्यक्ष श्रेष्ठले जानकारी गराए । सभामा संचालक समितिको तर्फबाट श्रेष्ठले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अध्यक्ष श्रेष्ठले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको र आगामी माघ ५ गते सफलतापूर्वक २६ वर्ष पूरा गर्ने जानकारी सभालाई दिए । अध्यक्ष श्रेष्ठले बैंकले आव २०७४÷७५ अन्त्य सम्म ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको जानकारी गराए । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी हो । उक्त सभामा सर्ब साधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद १ मा विजयबहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।
सिटिजन्स बैंकको वार्षिक साधारण सभा सम्पन्न, २९ करोड बोनस शेयर दिने प्रस्ताव पारित
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा पुस ३० गते संचालक समितिका अध्यक्ष डा.शंकरप्रसाद शर्माको अध्यक्षतामा काठमाडौँकोे लैनचौर बैँक्वेटमा सम्पन्न भयो । साधारणसभाले आव २०७४÷७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी उक्त प्रतिवेदन पारित गरेको छ । बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई रु.२९,१४,४५,७७३(करीव ३.६ प्रतिशत) बोनस शेयर तथा रु. १३,१३,५५६,१४३ (करीव १.६ प्रतिशत) नगद लाभांश दिने भएको छ । सभाका अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास दिलाए ।
मेगा बैंकको ७ प्रतिशत लाभांश पारित, लगानीकर्ताले माघको पहिलो साता भित्रै पाउने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको प्रस्तावित ७.८५ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम अब लगानीकर्ताले चुक्ता पुँजीको एक प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । लगानीकर्ताले उक्त लाभांश आगामी माघको पहिलो साताभित्रै पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनुपमा खुन्जेलीले जानकारी दिएकी छिन् । साथै, ४२ दिन भित्र लगानीकर्ताको डिम्याट(हितग्राही) खातामा जाने उनले बताइन् । पारित लाभांशप्रति लगानीकर्ता निराश देखिएकाले निराश नहुन आग्रह गर्दै सीईओ खुन्जेलीले यस वर्ष लाभांशकाे दर घट्नुकाे कारण बताएकी छिन् । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको २८ करोड रुपैयाँ एनएफआरएसको जगडा कोषमा गएको कारणले बैंकको मुनाफामा वृद्धि नभएको र सोही कारणले यस वर्षको लाभांश वृद्धि हुन नसकेको उनले जानकारी गराइन् । उक्त एनएफआरएसमा सो मात्राको रकम नगएको भए यस लगानीकर्ताले १० प्रतिशत बढी लाभांश पाउने निश्चित हुने बताउँदै उनले आगामी वर्षमा लगानीकर्तालाई डबल डिजिटमा लाभांश दिने प्रतिवद्धता जनाएकी छिन् । हाल कम्पनीको चुक्ता पुँजी १० करोड २८ लाख रुपैयाँ रहेको छ । एक प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ नाघ्ने छ । सेयर लाभांश वापत १० करोड ३० लाख रुपैयाँ बराबरको सेयर सेयरधनीलाई उपलब्ध गराइनेछ । यस्तै ४० लाख ६६ हजार रुपैयाँ भने सञ्चित मुनाफामा राखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा बैंकले एक अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । आव २०७३/७४ मा त्यस्तो मुनाफा एक अर्ब १३ करोड दुई लाख रुपैयाँ रहेको थियो । बैंकले ४५ करोड ४० लाख रुपैयाँ सरकारी राजश्वमा आयकरको रूपमा भुक्तान गरेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकले तीन अर्ब १५ करोड रुपैयाँले निक्षेप वृद्धि गरी ६६ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । सो अवधिमा बैंकले ४० करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, बैंकले मर्चेट बैंकिङका लागि मेगा क्यापिटल लिमिटेड स्थापनाको प्रक्रिया अगाडि बढाएको बैंकका अध्यक्ष भोजराज शाहले सभामा जानकारी गराएका छन्। ‘हलोदेखि हाइड्रो’ सम्मको नाराका साथ बैंकले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्दै आएको छ । बैंकले हाल १०२ शाखा कार्यालय, १८ एक्सटेन्सन काउण्टर, ८१ एटिएम र ११९ शाखा रहित बैंकिङ शाखाबाट सेवा दिइरहेको छ ।