सिटिजन्स बैंकले गर्यो आसमान नेपाललाई १ लाख आर्थिक सहयोग
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच एक लाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
सेयर बजारमा उच्च गिरावटसँगै तीन वटा बैंकको सेयर लिलाम बिक्रीमा
काठमाडौं । बजारमा सेयरको मूल्यमा उच्च गिरावट आईरहेको समयमा एउटा वाणिज्य बैंक र दुईवटा विकास बैंकको सेयर लिलामीमा आएको छ । केदाल खत्री क्षेत्रीले कैलाश विकास बैंकबाट लिएको ऋण भुक्तानी नगरीपछि उनको स्वामित्वमा रहेको विभिन्न बैंकहरुको सेयर लिलामीमा राखिएको हो । ऋण असुली न्यायाधिकरणले क्षेत्रीको स्वामित्वमा रहेको १८ हजार २०० कित्ता सेयर लिलामीमा राखेको हो । जनता बैंक नेपालको सेयर १० हजार कित्ता, सिन्धु विकास बैंकको सेयर ६ हजार २१७ कित्ता र रिलायबल डेभलपमेन्ट बैंकको सेयर १ हजार ९८३ कित्ता लिलाम बिक्रीमा राखिएको छ । उल्लेखित सबै सेयरको न्यूनतम मूल्य २४ लाख ४२ हजार ७५२ तोकिएको र बढाबढ मूल्यमा सेयर बिक्री गरिने न्यायाधिकरणले जनाएको छ । सेयरधितो कर्जा डिफल्ट भई यसरी सेयर लिलामीमा आउनुलाई सेयर बजारमा नराम्रो परिसूचकको रुपमा लिइन्छ । यस्तो अवस्थामा बजारमा थप गिरावट आउने अनुभवी लगानीकर्ताहरु बताउँछन् । दुई वर्षअघि १८८१ पुगेको नेप्से परिसूचक सोमबार ११०२ अंकमा झरेको छ । यो अंक विगत तीन वर्षयताको न्यूनतम विन्दु भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सरकारी दवावसँगै ब्याजदरमा राष्ट्र बैंकको कडाई, उत्पादनमूलक क्षेत्रमा जाने कर्जा सस्तो हुने
काठमाडौं । अबदेखि कर्जाको ब्याजदर १.७५ प्रतिशतसम्म सस्तो हुने भएको छ । उद्योगीहरुले बैंकको ब्याजदर घटाउन आन्दोलन गर्दै आएको र सरकार र अर्थ मन्त्रालयले समेत ब्याजदर घटाउन राष्ट्र बैंकलाई दवाब लिइरहेको बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् त्यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले हाल आधार ब्याजदरमा लिँदै आएको प्रिमियमलाई घटाएको छ भने आधार दर गणना विधिलाई परिवर्तन गर्दा उक्त परिमाणमा ब्याजदर सस्तो हुने देखिएको हो । दिनभर अर्थ मन्त्रालयमा छलफल गरेसँगै राष्ट्र बैंकले सोमबार राती अबेर गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । उक्त समीक्षामार्फत् बैंकले उत्पादनमूलक क्षेत्रहरुमा जाने कर्जामा आधार दरभन्दा निश्चित दरभन्दा बढी ब्याजदर तोक्न नपाउनेगरी व्यवस्था गर्ने जनाएको हो । त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ४ प्रतिशतमा दिने पुनकर्जाको ब्याजदर बैंकहरुले ८ प्रतिशतसम्म मात्र लिन पाउने भएका छन् । यसअघि यो दर ९ प्रतिशत थियो । त्यस्तै, निर्यात प्रोत्साहनका लागि राष्ट्र बैंकले १ प्रतिशतमा दिने पुनकर्जाको ब्याजदर समेत बैंकहले ४ प्रतिशतबाट घटाएर ३ प्रतिशतसम्म मात्र लिन पाउने भएका छन् । यसो गर्दा नेपाल राष्ट्र बैंकले दिने पुनकर्जाबाट लगानी गरेको कर्जामा लिन पाउने ब्याजदर समेत १/१ प्रतिशतले कम हुनेछ । पुनकर्जाको सीमा समेत बढाएर ५० अर्ब पुर्याइएको छ । राष्ट्र बैंकले आधार ब्याज गणना विधिलाई समेत संशोधन गरेको छ । उसले निक्षेप तथा कर्जाको भारित औसतका आधारमा आधार ब्याजदर गणना गर्ने विधि लागु गर्ने जनाएको छ । यसो गर्दा बैंकहरुको आधार ब्याजदर पहिलेभन्दा ७५ बेसप्वाइन्ट (०.७५ प्रतिशत)सम्म सस्तो हुनेछ । यसले ऋणमा दिने ब्याजदर समेत घट्नेछ । यसो गर्दा ऋणीहरुले पहिलेको भन्दा करिब १७५ बेसप्वाइन्टसम्म सस्तो ब्याजदरमा ऋण लिन पाउने भएक छन् भने अहिलेका ऋणीहरुको ब्याजदर समेट घट्नेछ । ठूला ऋणमा स्थिर ब्याजदर राष्ट्र बैंकले मुद्दती निक्षेपमा निर्धारण गरिएको ब्याजदरजस्तै ठूला र दीर्घकालीन ऋणहरुमा निश्चित ब्याजदर निर्धारण गरी ऋण लेनदेन गर्नसक्ने ब्यवस्था समेत गरेको छ । त्यस्तो ब्याजदर तोकिएको अवधिसम्मका लागि स्थिर रहने जनाएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु र अन्य सरोकारवाला निकायहरुबीच उत्पादनशील, विपन्न वर्ग एवं प्राथमिकताप्राप्त क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न वित्तीय क्षेत्र समन्वय सम्बन्धी संरचनालाई थप प्रभावकारी बनाउने समेत जनाएको छ ।