प्राथमिकता अनुसार ऋण लगानी भएन, बाणिज्य बैंकहरु किन मान्दैनन् राष्ट्र बैंकको निर्देशन ?
काठमाडौँ । वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महिनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कूल कर्जाको न्यूनतम दश प्रतिशत लगानी गर्नुपर्नेमा ९ दशमलव ९३ प्रतिशत लगानी गरेको पाइएपनि अन्य क्षेत्रमा भने तोकेअनुसार लगानी नभएको पाइएको छ । केन्द्रीय बैंकले प्राथमिकता प्राप्त क्षेत्र कर्जाका रुपमा ऊर्जा र पर्यटनमा न्यूनतम १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । तर वाणिज्य बैंकले ऊर्जामा ४ दशमलव २१ प्रतिशत र पर्यटनमा ४ दशमलव ४० प्रतिशत मात्रै लगानी गरेका छन् । अझै बैंकले ६ दशमलव ३९ प्रतिशत कर्जा उपलब्ध गराउनुपर्ने अवस्था रहेको छ । सरकारले आत्मनिभर अर्थतन्त्रको विकास र विस्तार गर्ने, रोजगारीको प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्राथमिकता प्राप्त क्षेत्र कर्जा दिने व्यवस्था गरेको छ । यस्तै सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा पर्यटन क्षेत्रमा समेत उल्लेख्य लगानी हुन नसकेको राष्ट्र बैंकको उक्त विवरणले देखाएको छ । यस्तै आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा पनि ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरुले उल्लेख्य मात्रामा लगानी गर्नुपर्ने भएपनि तथ्याङ्कले भने अवस्था त्यस्तो नभएको देखाएको छ । बैंक तथा वित्तीय संस्थाले जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग वित्तीय सम्झौता गर्न छाडेको भन्दै निजी क्षेत्रको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले गुनासो गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले विद्युत् खरिद सम्झौता सम्पन्न भएका तीन दर्जन बढी आयोजनाका प्रवद्र्धकसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुन नसकेको बताए । यस्तै वित्तीय सम्झौता भएका आयोजनमा समेत बैंक तथा वित्तीय संस्थाले रकम उपलब्ध नगराएको र पटक–पटक ब्याजदरमा वृद्धि गरेका कारण प्रवद्र्धक समस्यामा परेको इपानको गुनासो छ । प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएबमोजिम कर्जा लगानी नभएपनि चालू आवको छ महीनामा १८ अर्ब ६१ करोड बराबरको सहुलियतपूर्ण कर्जा भने लगानी भएको छ । सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १० हजार ४८४ ऋणि रहेका छन् । उनीहरुले ८८ करोड ७७ लाख बराबरको ब्याज अनुदानसमेत प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै विपन्न वर्ग कर्जातर्फ चालू आवको छ महीनामा रु एक खर्ब ६१ अर्ब ३६ करोड बराबरको लगानी भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कूल कर्जा लगानीको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ । कूल कर्जाको ५ दशमलव ९ प्रतिशत सो क्षेत्रमा लगानी भएको छ । यस्तै गत पुस मसान्तसम्म दुई अर्ब ६५ करोड बराबरको लगानी भूकम्पपीडित कर्जा उपलब्ध भएको छ । एक हजार ५५८ जनाले त्यस्तो कर्जा लिएको बैंकको विवरणमा उल्लेख छ । रासस
एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेको इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।
कामना सेवाको ६५औं शाखा प्रदेश नम्बर २ को सप्तरीमा
काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा सेवा विस्तार गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए । बैंकले देशका विभिन्न भागहरुमा ६५ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।