जिरीमा प्राइम कमर्सियल बैंकले गर्यो बित्तीय साक्षरता

काठमाडौँ । दोलखाको जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ र प्राइम कमर्सियल बैंक लि.को संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग बाणिज्य संघका सदस्यहरुलाई बित्तीय साक्षरता प्रदान गरिएको छ । आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठको प्रमुख आतिथ्यमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवम् अबसरका बारेमा स्पष्ट पारेका थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिए । उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायतको उपस्थिति रहेको बैंकका महाप्रबन्धक संजीव प्रबन्धक मानन्धरले जनाएका छन् ।

प्रभु बैंकको ८ प्रतिशत बोनस पारित, साधारण सेयरको हिस्सा बढेर ४५ प्रतिशत पुग्याे

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रस्तावित ८ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको आइतबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस दिने प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमाेजिम ८ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ पुगेको छ । साथै, सभाले संस्थापक समुहतर्फ ५५ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गरेको छ । यसअघि कम्पनीको संस्थापक समूहतर्फ ६१.३१ प्रतिशत र सर्वसाधारण समूहततर्फ ३८.६९ प्रतिशत शेयर संरचना कायम रहेको थियो । त्यस्तै, सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आर्थिक वर्ष २०७४/७५को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । हाल बैंकले विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिन तथा १६५ शाखा कार्यालय मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । साथै, बैंकले आगामी दिनमा विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।

बोनसपछि कृषि विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । आइतबार कृषि विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि बैंकको सेयर मूल्य ३१४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७३.५८ रुपैयाँ रहेको छ ।