साना तथा मझौला उद्यमीलाई नबिल बैंकको ‘राहत’, १०.५ % मा डेढ करोडसम्म कर्जा
काठमाडौ । नबिल बैंकले ‘नबिल सजिलो कर्जा’ योजना शुरु गरेको छ । आज राजधानीमा एक समारोहका बीच यो योजना आरम्भ गरेको हो । नबिल सजिलो कर्जा मार्फत स-साना व्यवसायमा आवद्ध रहन चाहने ग्राहकले समेत सहजै ऋण लिन सक्ने छन् । ‘नबिल सजिलो कर्जा’ योजना शुभारम्भ कार्यक्रममा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिलकेशरी शाहले ‘नबिल सजिलो कर्जा’ मार्फत आगामी दिनमा नेपालमा कम पूँजीमा व्यवसाय गर्न चाहनेहरुलाई समेत बैकले सहयोग गर्न यस्तो योजना भित्र्याएको बताए । सिइओ शाहले नेपालमा धनीलाई धनी बनाउन भन्दा पनि गरिबलाईपनि धनी बन्ने अवसर प्रदान गर्न यस्तो योजना ल्याएको बताए । चक्का हेरेर मात्र गाडी नचल्ने र त्यसको उचित व्यवस्थापन गरे जस्तै पैसाको समेत सदुपयोग गर्नु पर्ने सिइओ शाहको मत रहेको छ । साथै, नेपालमा साना तथा मझौला उद्यमशीलताका लागि बैंकिङ सेवाको विस्तारमा केद्रित रणनीतिको निर्माण र कार्यान्वयनका लागि नबिल बैंक र यूके एड सक्षम कार्यक्रमबीच संझौता समेत भएको छ । यो संझौतामा बैंकका सिइओ शाह र यूके एड सक्षम कार्यक्रमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । नबिल सजिलो कर्जा योजनाका विशेषता: नबिल सजिलो कर्जा मार्फत बार्षिक रुपमा ४ करोड रुपैयाँभन्दा कम कारोबार गर्ने ग्राहकलाई १ करोड ५० लाख रुपैयाँसम्मको ऋण १०.५० प्रतिशत ब्याजदरमा प्रदान गरिने छ । ‘क’ वर्गको बैंकले यसरी साना स्केलका उद्यमीसम्म पुग्ने कार्यक्रम ल्याउनेमा नबिल बैंक भएको दाबी गरेको छ ।
‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ । फागुन २२ गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधापनि प्राप्त गर्न सक्ने छन् । १ सय रुपैयाँ मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताको लागि फलदायी हुने बैंकले विश्वास लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याज दर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याज दर प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति एक लाख सम्मको स्वास्थ्य बीमा(अस्पताल भर्ना खर्च) र सात लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुनआउने रकमको दाबीभुक्तानीगर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकको दशौं एक्स्टेन्सन काउन्टर ललितपुरको हात्तिवनमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन एण्ड स्कुल अफ आट्समा दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ । काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, के युका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, के यु स्कुल अफ एजुकेशनका डिन प्रा.डा.महेशनाथ पराजुली तथा का डिनप्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा उद्घाटन गरे । काउन्टरले केयु हात्तिवनकोरकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । स्कुल अफ आट्स विषयमा पि.एच.डीसम्मको पढाइ हुने के युमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसंगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । बैंकले अहिले ७८ वटा शाखा कार्यालय,९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,६६५ वटा पिओएस् मेसिनबाट सेवा दिइरहेको छ ।