शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने, स्वाप रेसियोबारे यस्तो भयो सहमति

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । आइतबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले  संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो । बुटवलमा मुख्य कार्यालय भएको १० जिल्लामा  कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरको विकास बैंक शाइन रेसुङ्गा र भैरहवामा मुख्य कार्यालय रहेको ३ जिल्ला कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरकै पूर्णिमा विकास बैंक एक आपसमा गाभिन लागेका हुन् । दुई बैंकको शेयरको स्वाप रेसियो भने डीडीए गरेपछि मात्रै निश्चित हुने शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । याे सम्झाैतालाई बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्ने आधारको रुपमा लिएको छ । दुई बैंकबीचको व्यवस्थापकीय व्यवस्थापनबारे समेत सहमति भएको छ  जसअनुसार  शाइनका हालका सीईओ एक्विजिसनपछि पनि प्रमुख कार्यकारी अधिकृत रहनेछन् भने पूर्णिमा विकास बैंकका हालका प्रमुख कार्यकारी अधिकृत एक्विजिसनपछि शाइन रेसुङ्गाको डेपुटी सीईओ बन्नेछन् । मर्जर प्रक्रिया दुई महिनाभित्र टुङ्गोमा पुग्ने बताइएको छ । शाइनको हाल ३९ ओटा शाखा छन् भने पूर्णिमाको १२ शाखा कार्यालय सञ्चालनमा छन् । शाइनको हालको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैंया छ भने पूर्णिमाको हालको चुक्ता पुँजी ५५ करोड छ । शाइनको दोस्रो बजारको मूल्य २४० रुपैंया छ भने पूर्णिमाको १८८ रुपैंया छ । दुबै बैंककाे जाेड्दा  निक्षेप करिब २० अर्ब रूपैयाँ हुने छ भने कर्जा लगानी करिब १८ अर्ब रूपैयाँ हुनेछ । एक्विजिसनपछि बैंक प्रदेश ५ मा थप सशक्त बैंक बन्ने विश्वास शाइनका सीईओ पौडेलले व्यक्त गरे ।

ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमाबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन । सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन वचत खाता“ खोल्ने ग्राहकहरुको रु ७ लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ । त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमकोे रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ । साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

एनआईसी एशिया बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा

काठमाडौं । एनआईशी एशिया बैंक शाखा उद्घाटन गरेको छ । एनआईशी एशिया बैंकले सप्तरीको राजविराज नगरपालिका स्थित २७७ औं शाखाको स्थापना गरेको छ । सोमबार राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले उक्त शाखाको औपचारिक उद्घाटन गरेका हुन् । सबैभन्दा धेरै शाखा सञ्जाल रहेको एनआईशी एशिया बैंक योसँग २७७ शाखा, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईसहितको बैंक बनेको छ । यो बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगेको छ जुन निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये सबैभन्दा ठूलो हो । हालसम्म यस बैंकको ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको समेत जनाएको ।