केएमसीमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर, नवजात शिशुको खातामा ५ सय र केक उपहार
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ११औं एक्स्टेन्सन काउन्टर र १११औं एटिएम एकसाथ खोलेको छ । काउन्टर र एटिएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेज(केएमसी)का प्रमुख कार्यकारी अधिकृत प्रा.डा.दामोदरप्रसाद पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । आजैदेखि काठमाडौं मेडिकल कलेजमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्युनतम औषत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।
नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब नाघ्यो
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको ३४औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष(आव) २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बैंकले आव २०७४/७५ मा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले प्रतिसेयर आम्दानी ५०.२५ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याएको छ । हाल बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको कम्पनीले जनाएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी ९ अर्ब १ करोड रुपैयाँ नाघेको कम्पनीले जनाएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालकाे नेतृत्वमा यस बैंकको “नेटवर्थ” २० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।
चितवन र नवलपरासीमा माछापुच्छ्रे बैंकको २ नयाँ शाखा सञ्चालन
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिकामा कावासोतीशाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकामा टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका हुन् । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ ।