सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । २०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सिइओमा नियुक्त गर्ने निर्णय भएको हो । तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भए पश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखि नै बैंकमा आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पोखरेलले साथै २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कार्य कुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताए । नीतिनियमको पालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बरिष्ठ अर्थविद डा. शंकरप्रसाद शर्मा अध्यक्ष रहेको सिटीजन्स बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।
बारा जिल्लाको निजगढमा कामना सेवाको शाखा बिस्तार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले बारा जिल्लाको निजगढ नगरपालिका वडा नं ७ स्थित निजगढमा सोमबार ७४औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ८ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए ।
महालक्ष्मीको बीमा सेवा एनसीसी बैंकबाट पनि पाइने
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. का तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।