काठमाडौं । सनराइज बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आगामी चैत २० गतेदेखि एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।
सो मध्ये ४ लाख कित्ता बराबरको ४० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री गर्न लागेको छ । साथै, बाँकी ६ लाख कित्ता बराबरको ६० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
ऋणपत्र किन्न चाहने इच्छुकले चैत २० गतेदेखि छिटोमा चैत २५ गतेसम्म र ढिलोमा वैशाख १९ गतेसम्म खरिद गर्न सक्ने छन् । केयर रेटिङ नेपालबाट न्युन कर्जा जोखिम “केयर एनपी ए माइस” रेटिङ्ग प्रदान गरेको उक्त ऋणपत्रमा सर्वसाधारणले न्यनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । अथार्त २५ हजार रुपैयाँदेखि ४० करोड रुपैयाँसम्मको आवेदन दिन पाउने छन् ।
बैंकले पाँच वर्ष अवधि भुक्तानी भएको वार्षिक १० प्रतिशत व्याजदर भएको अर्धबार्षिक ब्याज भुक्तानी गर्ने गरी सो मात्राको ऋणपत्र बिक्रीमा राखेको हो । साथै, यस ऋणपत्र नेप्सेममा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी रहेको छ । बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।