सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा उद्घाटन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको बिहीबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट उद्घाटन भएको हो । समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवम् प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनिय सहभागिता रहेको थियो ।

विदेशी मुद्रामा लिइने ऋण बढ्दा बैंकको लगानी याेग्य पुँजी वृद्धि हुने

काठमाडौं । बढी ब्याज तिरेर विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्थासँगै वित्तीय बजारमा हाल देखिएको लगानी योग्य पुँजी अभावजन्य समस्या समाधान गर्न सहज हुने आँकलन राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले लाइवोर दरमा ४ प्रतिशतसम्म ब्याज थप गरी विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको छ । यसले वित्तीय बजारमा पुँजी पर्याप्तता बढाउने छ । थोरै ब्याजमा मात्रै विदेशी ऋण ल्याउन पाउने व्यवस्थाले बैंक तथा वित्तीय क्षेत्रले आफूले चाहेको जति ऋण ल्याउन पाइरहेका थिएनन् । लाइवोर दरमा थप चार प्रतिशतसम्म ब्याज तिरेर ऋण ल्याउन पाउने व्यवस्था भएसँगै वित्तीय बजारमा लगानी योग्य पुँजी बढाउन सहयोग पुग्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले बताए । विदेशी मुद्रामा ऋण लिन चाहने बैंक तथा वित्तीय संस्थाले आफ्नो अनुकूलता अनुसार सो सीमामा रहेर ऋण ल्याउन पाउने भए,’ उनले भने- ‘यसले बजारलाई विस्तारित गर्छ र हाल देखिएको कोर पुँजी र निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सीसीडी रेसियो) समायोजन गर्न सहज हुनेछ ।’ यसले सीसीडी गणना गर्न सहज हुने उनले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरूले विदेश परिवर्त्य मुद्रामा ऋण ल्याउँदा ६ महिनाको लाइवोर दरमा ४ प्रतिशत ब्याज थप गर्न पाउने व्यवस्थाले वित्तीय बजारमा फन्टको उपलब्धता बढाउन सहयोग पुग्ने छ । बिहीबार लण्डन लाइवोर मार्केटमा कर्जाको ब्याजदर २.२१ प्रतिशत रहेको छ । सो ब्याजमा ४ प्रतिशतसम्म ब्याज थपेर बैंक तथा वित्तीय संस्थाले ऋण ल्याउन पाउने छन् । यसअघि लाइवोर दरमा ३ प्रतिशतसम्म ब्याज थपेर ऋण ल्याउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।

सुन धितो काण्डमा सिटिजन्स बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख  धरौटी माग

काठमाडौं । सिटिजन्स बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली तथा कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ । उच्च अदालत तुलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो । बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक शङ्कर जोशी, खजाञ्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा र दीपेन्द्र विश्वकर्मालाई जनही रू २५ लाख धरौटी बुझाउन आदेश जारी गरिएको गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् । उक्त शाखाका प्रबन्धक स्वाँरले बैंक ठगी काण्डमा संलग्नले अन्य रकम फिर्ता गरे पनि हाल बैंकलाई तिर्न बाँकी रकम रु तीन करोड २७ लाख तिर्न आनाकानी गरेपछि बैंकमा ठगी काण्ड भएको उजुरी आफैले गरेका थिए । प्रहरीले स्वाँरकै उजुरीका आधारमा छानबिन थालेको थियो । उक्त अदालतका न्यायाधीश विष्णुदेव पौडेलको इजलासले आरोपितहरुको बयानपछि उनीहरुलाई जनही रु २५/२५ लाख धरौटी बुझाउन आदेश दिएको हो ।