राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड, स्प्रेडदर बढ्दा पनि नाफा घट्यो
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष (आव) को ६ महिनामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४० करोड ९९ लाख रुपैयाँ गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आवको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा करिब २० करोड रुपैयाँले घटेको छ । खराब कर्जा जति छ, त्यति रकम नोक्सानी व्यवस्थाको लागि पनि नराख्दा र व्याज अन्तर (स्प्रेड) दर बढाउँदा पनि बैंकको नाफा कम घटेको छ । पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब ४२ अर्ब २ करोड २८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख रुपैयाँ निक्षेप छ । गत आवको साृेही अवधिमा बैंकका सर्वसाधारणको १ खर्ब ८९ अर्ब २५ करोड ५३ लाख रुपैयाँ निक्षेप थियो । बैंकले सर्वसाधारणको निक्षेप करिब ६ अर्ब रुपैयाँ बढाउँदा कर्जा तथा लगानी करिब करिब ५ अर्ब रुपैयाँ बढाएको छ । बैंकको खुद व्याज आम्दानी बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो भने चालु आवको सोही अवधिमा ५ अर्ब ६ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकले गत आवको ६ महिनामा ७ अर्ब २३ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरी २ अर्ब २८ करोड ६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । चालु आवको सोही अवधिसम्ममा बैंकले ८ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.४० प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिसम्ममा ४.७७ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जाको लागि सम्भावित नोक्सानी व्यवस्थामा ९५.४५ प्रतिशत मात्रै रकम राखेको छ । गत वर्षको सोही अवधिमा सम्भावित नोक्सानी व्यवस्थाको लागि ९९.७९ प्रतिशत रकम राखेको थियो । बैंकले दिएको कर्जाको सावा व्याज किस्ता नियमित उठेन भने सम्भावित नोक्सानी व्यवस्थाको लागि राखिएको रकमबाट बैंकको पुँजी कोष प्रभावित हुनबाट जोगाउने गरिन्छ । रकम थोरै राख्दा कुनै कर्जा खराब भयो भने बैंकको पुँजी कोष घट्न सक्छ । बैंकको कष्ट अफ फण्ड ४.७७ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ३.४० प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.६६ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ६९.२४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । यस्तो अनुपात कम हुँदा बैंकको बैंकले विवेशील ढंगले स्रोतको परिचालन गर्न नसकेको अर्थ लाग्छ । बैंकको आधार दर ६.६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात ५.६ प्रतिशत थियो । आधार दर बढ्दा कर्जाको व्याजदर बढ्न सक्छ । यस्तै गत वर्ष ४.७८ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्म आइपुग्दा ५.५३ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा बैंकहरुको व्याज अन्तरदर ४.४ प्रतिशतमा ल्याइसक्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । बैंकमा सरकारको करिब शतप्रतिशत लगानी रहेकोले बैंकमा परिसुचक जे जस्ता भएपनि प्रत्येक्ष रुपमा सर्वसाधारण लगानीकर्तालाई भने प्रभाव पार्ने छैन ।
मेगा बैंकको नाफा ३० प्रतिशतले वृद्धि, निक्षेप रकम ८४ अर्ब माथि
काठमाडौं । मेगा बैंक नेपालको खुद नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७३ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । २०७६ पुस मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको कूल निक्षेप १४ अर्ब ४१ करोडले वृद्धि भई ८४ अर्ब ६३ करोड रुपैँया पुगेको छ जुन २० प्रतिशत भन्दा बढीको वृद्धि हो । त्यसैगरी, कर्जा तथा सापटी १२ अर्ब १८ करोडले वृद्धि भई ७८ अर्ब ११ करोड कायम भएको छ जुन १८ प्रतिशत भन्दा बढीको वृद्धि हो । मेगा बैंकका देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
आइएमईको कारोबार २ खर्ब ६२ अर्ब, अध्यक्ष चन्द्र ढकाललाई सीआइपी सम्मान
काठमाडौं । आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढकाललाई उक्त सम्मान प्रदान गरेको छ । आइएमई नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी हो । १९ वर्ष पुरानो यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा २ खर्ब ६१ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ रेमिट्यान्स भित्र्याएको सरकारी तथ्याङ्क छ । ढकाल यसअघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित भएका थिए । नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३६ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ ।