सिभिल बैंकको १०९औं शाखा नवलपरासीको सुनवलमा
काठमाडौं । सिभिल बैंकले शाखा विस्तार गर्ने क्रममा नवलपरासीको सुनवलमा आफ्नो १०९औं शाखा संचालनमा ल्याएको छ । उक्त सुनवल शाखाको उद्घाटन सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रूपमा गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरेको छ । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यलाई प्रदान गरिएको हो । सुनवल शाखा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगरवासीलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गर्नुका साथै आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न पनि आग्रह गरे । उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पुर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए । कार्यक्रमका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गरे ।
नाफामा दोस्रो स्थानमा रहेको नविलको सेयरमा कति लाभ ? (प्राविधिक विश्लेषण)
चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको नविल बैंक समग्र बैंकहरुमा नै नाफाको आधारमा दोस्रो स्थानमा छ । बैंकले ६ महिनामा कमाएको नाफाले नै सेयरधनीलाई १४ प्रतिशतभन्दा धेरै प्रतिफल दिन सक्ने देखिएको छ । नविलले विगत ५ वर्षयता सेयरधनीलाई औसतमा ४० प्रतिशतको हाराहारीमा प्रतिफल प्रदान गरिरहेको छ । यस वर्ष नविलको अवस्था कस्तो होला ? लगानीकर्ताले नविलको सेयरलाई कुन रुपमा लिएर लगानी गरिरहेका छन् ? शाख मूल्यांकनमा नविल कस्तो देखिएको छ भन्नेलगायतका विषयमा हामीले नविल बैंकको सेयरको समग्र विश्लेषण गरेका छौं । परिचय साउन २०४१ मा नेपाल अरब बैंकको नाममा देशकै पहिलो निजी क्षेत्रको बैंकको रुपमा सञ्चालनमा आएको हो, नबिल बैंक । अन्तराष्ट्रियस्तरको आद्युनिक बैंकिङ सेवा दिने सोच साथ स्थापना भएको नविल बैंक सम्पूर्ण वित्तीय सेवा प्रदायकको रुपमा ग्राहकहरुको पहिलो छनौंटमा पर्ने उदेश्य साथ अगाडी बढिरहेको छ । –प्रवृत्ति वियरिशपछि सेयर किन्ने बढ्दै –पहिलोभन्दा दोस्रो त्रैमाशको नाफा कम बैंकले ७९ शाखा र १ सय ३६ एटिएम मार्फत् ग्राहकहरुलाई सेवा दिइरहेको छ । निक्षेपष्मा ३.७५ देखि ९.२५ प्रतिशत व्याज दिइरहेको बैंकले बीमासमेत हुने निक्षेप खातासहित प्रिमियम नारी बचत खातालगायतका निक्षेप योजना सञ्चालन गरिरहेको छ । हाल बेस रेट ८.१० प्रतिशत रहेको बैंकले अनुदानमा सञ्चालित बाहेकका कर्जामा बेस रेट जोडिने गरि २.५० देखि ६.५० सम्ममा कर्जा दिइरहेको छ । बैंकले ३५ कार्यदिनभित्र कर्जा स्वीकृत गरिसक्ने गरि नबिल सजिलो एक्सप्रेस कर्जा योजना सञ्चालन गरिरहेको छ । बैंकमा १ हजार ८० जना स्थायी कर्मचारी छन् । उपाधी असोज २०७४ मा बैंक आइएसओ सर्टिफाइड भएको थियो । गुणस्तर व्यवस्थापन प्रणालीको लागि बैंकले यस्तो प्रमाणिकरण पाएको हो । सन् २०१७ मा बैंकले न्युबिज विजनेश एण्ड कन्क्लेभमा बेस्ट म्यानेज्ड कमर्सियल बैंकको अवार्ड पाएको थियो । लगानी बैंकमा अर्बपति व्यवसायी विनोद चौधरी समूहको ५३ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ । बैंकमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेपाल ट्रस्टको समेत लगानी छ । बैंकमा नेपाल स्टक एक्सचेन्जको समेत ३ लाख कित्ता सेयरमा लगानी छ । बैंकको अध्यक्षमा शम्भुप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह छन् । बैंकको सहायक कम्पनीको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र २५ प्रतिशत लगानीसहित एशोसिएट कम्पनीको रुपमा नाडेप लघुवित्त वित्तीय संस्था सञ्चालनमा छ । औसत ४० प्रतिशत प्रतिफल बैंकले गत वर्षको नाफापछि हालै लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयरसहित ३४ प्रतिशत लाभांश दिएको छ । विगत पाँच वर्षमा बैंकबाट लगानीकर्ताले औसत ३९.५६ प्रतिशत लाभांश पाएका छन् । बैंकले दोस्रो त्रैमाशमै लाभांशको रुपमा १४.४५ प्रतिशत लाभांश बड्न सक्ने क्षमता देखाएको छ । आव अन्त्यसम्ममा यसमा वृद्धि हुने नै छ । नाफामा दोस्रो चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको नाफा सिमान्तदरले घटेको छ । २ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको बैंकको यसमा ६.२० प्रतिशतले घटेको हो । व्याज आम्दानी बढेपनि खुद व्याज आम्दानी घट्दा बैंकको नाफामा प्रभाव परेको हो । तैपनि बैंक नाफा रकमको आधारमा निजी क्षेत्रको बैंकहरुमा सबैभन्दा अग्रस्थानमा छ । समग्रमा भने बैंक दोस्रो स्थानमा छ । पहिलो त्रैमाशमा १ अर्ब १२ करोड नाफा कमाएको बैंकले दोस्रो त्रैमाश मात्रैमा भने ९१ करोड नाफा कमाएको हो । लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ प्रतिशतले बढेर १० अर्ब ९ करोड पुगेको छ । ८ अर्ब १४ करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च नै ४ अर्ब ६८ करोड छ । शुल्क, कमिशनबाट करीब ७३ करोड कमाएको बैंकले विदेशी विनिमय र अन्य आम्दानी गरि थप करीब ४७ करोड रुपैयाँ कमाएको छ । बैंकले निक्षेप संकलन बढाउन नसकेपनि कर्जा लगानीमा भने १० प्रतिशतको वृद्धि गरेको छ । निक्षेप र कर्जा दुवै आधारमा बैंक चौथोे स्थानमा छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात नियामकीय मापदण्ड ११ प्रतिशतकै हाराहारीमा छ । यो ११.५३ प्रतिशत छ । बैंकले निष्काशन तयारी गरिरहेको २ अर्ब ऋणपत्र हालै धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । यसले बैंकलाई केही सहजता हुने छ । बैंकको सञ्चित तथा जगेडा कोषमा १३ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई तुलनात्मक रुपमा पुँजी महंगो परिरहेको कोष लागतले देखाउछ । कोष लागत ५.९२ प्रतिशत रहेकोमा बढेर ६.०२ भएको छ । खराब कर्जाको दर १ प्रतिशत मुनि रहेको बैंकले खराब कर्जाको आधारमा सम्रग बैंकहरुमा २१औं स्थानमा छ । खराब कर्जाको २ सय १३ प्रतिशत रकम राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७७.२८ छ । बैंकको प्रतिसेयर आम्दानी केही घटेको छ । यद्यपि यो सूचकमा बैंक तेस्रो स्थानमा छ । ५४.२८ प्रतिशतबाट घटेर ४५.३२ प्रतिशत छ । हालको मूल्यको आधारमा मूल्य आम्दानी अनुपात १५.९५ गुणा छ । रेटिङ करीब १ वर्षअघि बैंकले इक्रा नेपालबाट ऋणपत्रको लागि रेटिङ गरेको छ । इक्रा नेपालका अनुसार बैंकका केही पक्षहरु यी हुन्: – उच्च केन्द्रीकरण (प्रमुख २० ग्राहकको निक्षेप हिस्सा ३३ प्रतिशत, कर्जा २७ प्रतिशत) –५५ प्रतिशत संस्थागत कर्जा, मध्यम वर्ग कर्जा ४०, विपन्न बर्ग कर्जा ५ प्रतिशत –सुविधाजनक अवस्थामा सल्भेन्सी अनुपात –स्वस्थ कर्जा –कर्जा वृद्धिमा अघिल्ला वर्षमा सुस्त भएपनि पछिल्लो वर्ष वृद्धि, ४.८ प्रतिशत बजार हिस्सा –कम लागतको निक्षेप हिस्सा घट्दै, ४५ प्रतिशत तर समग्र क्षेत्रको औसत(४१ ५) भन्दा उच्च –स्वस्थकर खुद व्याज मार्जिन (४.२ प्रतिशत) –दोस्रो बजारमा पूँजीकरणको आधारमा दोस्रो ठूलो संस्था उच्च उतार चढाव एक वर्षको बैंकको सेयर मूल्यको परिवर्तन अंकको आधारमा बैंकको स्ट्याण्डर्ड डेभिएशन १२.०९ छ भने समग्र बैंकिङ समूहको परिवर्तित अंकको आधारमा ९.९५ छ । नेप्से परिसूचकको यही अवधिको परिवर्तित अंकको आधारमा स्ट्याण्डर्ड डेभिएशन १०.२३ छ । प्रवृत्ति वियरिश एक वर्षको अवधिमा शुरुवाति समयमै एक वर्षको उच्च मूल्य (८८१ रुपैयाँ) कायम गरेको थियो । त्यसयता ६ सय ६९ सम्म पुगेर फर्किएको सेयर मूल्यले त्यही विन्दुमा टेवा पाइरहेको छ । केही दिनअघि मात्रै सिम्पल मुभिङ एभरेज रेखा क्रसओभर भएको छ । २१ दिन रेखाले ७ दिने रेखालाई काटेर माथि लागेको छ । मूल्य वियरिश प्रवृत्ति रहेको यसले संकेत गर्छ । छोटो समयको लागि ७ दिने रेखा माथि जाने गरिरहेपनि धेरै समय २१ दिने रेखा नै माथि बस्ने गरेको एक वर्षको प्रवृत्तिले देखाउँछ । बैंकको सेयरमा आकर्षण बढ्न थालेको छ । मूल्य सन्तुलित क्षेत्रभित्र वृद्धि भइरहेको छ । १४ दिने आरएसआई सुचकको स्केल ५६.७९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे एक महिनामा ७ सय ५४ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ७ सय २ मा पहिलो टेवा पाउने देखाउँछ । बैंकको सेयर मूल्यले अन्तिम दुई दिनमा करीब करीब मिटिङ लाइन वियरिश आकृति बनाएको छ । यसमा पहिलो दिनको सेतो मैनवत्ति र दोस्रो दिनको मैनवत्तिको अन्तिम मूल्य लगभग बराबर छ । तेस्रो दिन भने दुवै धागो भएको सानो कालो मैनवत्ति बनेकोले मूल्य घट्ने सम्भावना यथावत देखिएको छ । बैंकको सेयर खरिद बिक्री सन्तुलित क्षेत्रमा आएकोले आकर्षण बढिरहेको छ । त्यसैले यो सेयर किनबेच गर्नुअघि ध्यान दिनुपर्ने देखिन्छ ।
७ सय ४५ स्थानिय तहमा पुगे वाणिज्य बैंकका शाखा
काठमाडौं । वाणिज्य बैंकहरुले स्थानिय तहमा आफ्नो उपस्थिति बढाएका छन् । पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न जोड दिएपछि उनीहरुले विभिन्न स्थानिय तहमा शाखा विस्तार गर्ने क्रम बढाएका हुन् । तर, अझैँ पनि देशको ७ सय ५३ वटा स्थानिय तहमध्ये ८ स्थानिय तहहरु बैंकका शाखाविहिन छन् । अर्थ मन्त्रालयले हालै जारी गरेको चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार कुल ७ सय ५३ स्थानिय तहमध्ये ७ सय ४५ स्थानिय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । उच्च हिमाली तथा अति विकट करिब ८ स्थानीय तहमा शाखा पुर्यौउन कठिन भएको जनाइएके छ । विद्युत्, सडक, इन्टरनेटलगायत पूर्वाधार अभाव, स्थानीय तहको केन्द्र कहाँ राख्ने विषयमा भएको विवादलगायत कारणले ती ठाउँमा शाखा पुर्योउन समस्या भएके बताइएके छ । नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा खोल्न बाँकी रहेको छ । प्रदेश नं २ का कूल १३६ स्थानीय तहमध्ये १३५ स्थानीय तहमा बैंक पुगेका छन् । यस्तै, सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानमा बैंकका शाखा पुगेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८४ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । वित्तीयरूपमा सो प्रदेशका सबै स्थानीय तहमा शाखा खुलेर पहुँच स्थापित भएको छ । कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सुदू्रपश्चिम प्रदेशका कूल ८८ स्थानीय तहमध्ये ८६मा वाणिज्य बैंकका शाखा खुलेका छन् । स्थानीय तहमा खोलिएका र खुुल्ने शाखाहरूको हकमा निक्षेप दायित्वका आधारमा अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुुपात कायम गर्नुुनपर्ने गरी आगामी २ वर्षसम्म छुुट प्रदान गर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ । तर, तोकिएको समयमा शाखा विस्तार नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार कारबाही गरिने केन्द्रीय बैंकले जनाएको छ । यस्तै, सबै नेपालीकाे बैंक खाता खाेल्ने अभियान अन्तर्गत चालु आवकाे ६ महिना सम्म १ लाख ५२ हजार थप बैंक खाता खाेली ३ कराेड ११ लाख बैंक खाता खुलिसकेकाे प्रतिवेदनमा उल्लेख छ ।