देवः विकास बैंकको जोरपाटी शाखा कार्यालयको उद्घाटन

काठमाडौं । देवः विकास बैंककाे गोकर्णेश्वर नगरपालिका, जोरपाटीमा सञ्चालित जोरपाटी शाखा कार्यालयको उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन  बैंकका संचालक समितिका सदस्य भरत बहादुर हमालले गरेका हुन् । कार्यक्रममा संचालक हमालले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै यस क्षेत्रबाट संकलित निक्षेपलाई यस क्षेत्रको व्यापार व्यवसायमा लगानी गर्ने र स्थानीय उद्यमशीलताको विकासका लागि सहकार्य गर्ने बताए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका अध्यक्ष रमेश अर्यालले वडा नं ६ को क्षेत्रमा बैकिङ्ग गतिविधिको विस्तारबाट समग्र नगरपालिका क्षेत्रमा नै आर्थिक गतिविभिको विस्तार भएको सन्तुष्ट व्यक्त गरे । यस बैंकका संचालक विजय राज शर्मा भुषाल, महानगरिय प्रहरी बृत, बौद्धका प्रहरी नायब उपरीक्षक रेशम बहादुर सिंहले पनि मन्तव्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंकसँग एक्विजिशनमा जान लागेको जानकारी दिए ।

२५ रुपैयाँको न्युनतम मौज्दातसहित बीओकेले ल्यायो दुई नयाँ योजना

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)ले बुधबार दुई नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता र ‘बीओके कृषि कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको हो । ‘सहज बचत खाता’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात २५ रुपैयाँमै खाता खोल्न सक्नेछन् । जसमा विभिन्न सेवा सुविधाहरु उपलब्ध रहेको बैंकले जानकारी गराएको छ । त्यस्तै, बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यले बीओके कृषि कर्जा योजना सार्वजनिक गरेको हो । बैंकको मोबाइल बैंकिङ्ग ‘बीओके स्मार्ट’ मार्फत गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने बैंकले जानकारी गराएको छ । त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले साे रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसन डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् । साथै, बैंकले सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट(सेजोन) नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्न चाहिने तालीम प्रदान गर्न सेजोन, नेपालका सभापति भिमप्रसाद गौतमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २० प्रतिशतले वृद्धि गरेको छ । गत आवको सो अवधिमा ३८ लाख रुपैयाँ कमाएको बैंकले चालु आवको पुस मसान्तामा ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिमा निक्षेप र कर्जामा क्रमशः ७.८४ प्रतिशत र ९.१४ प्रतिशतले वृद्धि गरेको छ । बैंकको निक्षेप ९० अर्ब ११ करोड र कर्जा ८२ अर्ब ४९ लाख रुपैयाँ रहेको छ । बैंकले हाल ८७ शाखा, ७८ एटीएम र १० वटा एक्सटेन्स काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकले सुर्खेतमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंकले सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रम यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा सोमबार भएको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ