बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै

रसुवा । रसुवा जिल्लामा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोबार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ । ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट एक, माछापुच्छ्रे एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा जिल्लामा कारोवार गरिरहेका छन् । यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एक समेतका बैंक शाखा स्थापना भइसकेका छन् । नेपाल बैंक, कृषि विकास र पछिल्लो समय खोलिएको राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्रामीण भेकमा भने कुमारीले आमाछोदिङ्मो गाउँ पालिकाको चिलिमे थाम्बुचेत, ग्लोबल आइएमईले नौकुण्ड गाउँ पालिकाको पारच्याङ र प्रभु बैंकले मानव बस्तीको अन्तिम विन्दु मानिने पर्यटकीय क्षेत्र लाङटाङको क्याङ्जेनमा सेवा दिइरहेका छन् । स्थापित अन्य सबै बैंक राजमार्गको सेरोफेरोलाई केन्द्रित रहेका छन् । बयालिस हजार स्थानीय बासिन्दामाझ नेपाल बैंकले बचत जम्मा तथा भुक्तानीको सेवा प्रदान गरिराखेको छ । अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भई किसानलाई जग्गा जमिनको धितो जमानतमा ब्याजी ऋण दिन थालेको स्थानीयवासीले बताएका छन् । अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् । विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक दिने किसानको सङ्ख्या भने ३९९ पुगेको मालपोत कार्यालयले जनाएको छ । रासस  

एनआईसी एशियाको चमत्कारिक मुद्धती निक्षेप योजनाः उच्च ब्याजदरसँगै २१ लाखसम्मको बीमा

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्धती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्धितीय सुविधा चमत्कारिक छ । सामान्यतया मुद्धती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाई छ । तर यस बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा सर्वाधिक उच्च ब्याजमात्रै उपलब्ध नभई बीमा सुविधा समेत दिएर मुद्धती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्धती खातामा ग्राहकहरुले उच्च ब्याजदर सँगै तीन विभिन्न बीमा सुविधा पनि पाउन सक्नेछन् । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले जीवनमा आईपर्न सक्ने अकल्पनीय घटनाको लागि २१ लाख रुपैयाँसम्मको तीन चमत्कारिक बीमा सुविधा पाउने छन् । यो बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा छ भने १८ घातक रोगहरुको लागि रु १० लाखसम्म र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत उपलब्ध छ । यसैगरी, औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपिडी) उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ । उक्त ओपिडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु वापत रु. २० हजार सम्मको भरपाई गर्नेछ । यदि ग्राहकले २१ लाख रुपैयाँसम्मको बीमा आफैले गर्न परेमा करिब १४ हजार रुपैयाँ बराबरको बीमा शुल्क बुझाउन पर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजना अन्तर्गत बैंक स्वयंले उक्त बीमा सुविधा बापत लाग्ने बीमा शुल्क सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बैंकले सम्झौता गरे अनुरुप बीमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकलाई करिब रु. १४ हजारको फाइदा पुग्नेछ । यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन सम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आवद्ध भएका रोजगारदाताहरुले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभुत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरुले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकम मध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्था बिच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताए । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्देश्य तथा महत्वको बारेमा प्रकाश पारेका थिए भने सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा दिने बताए ।