एनएमबी बैंकले प्रोजेक्ट स्वरोजगार कार्यक्रम गर्दै, के हाे र कसरी हुने सहभागी ?

काठमाडौं । एनएमबी बैंकले सिराहामा ‘प्रोजेक्ट स्वरोजगार’ कार्यक्रम गर्ने भएको छ । बैंकले दीगो विकासको लागी दीर्घकालिन उद्देश्यको साथ अवसरहरुको सिर्जना तथा प्रवर्द्धन गर्न उक्त कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । बैंकले उक्त कार्यक्रम आगामी चैत ५ गतेदेखि ८ गतेसम्म ४ दिन गर्दै छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गतको यस परियोजना नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिती तथा क्षमता विकास गर्न आयोजना गर्न लागिएको हो ।  सो परियोजनाको डिजाइन र व्यवस्थापन एनएमबि बैंक र ग्लोकल प्रा.लि.को साझेदारीमा गरिएको हो । यो परियोजना अन्तर्गत सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गरिन्छ । जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्दछ । तालिमको लागि उद्यमी संलग्नता, रुची र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ । ४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण प्रदान गरिने छ । यस तालिम निःशुल्क रुपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकहरूले फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनको लागि आवेदन आगामी फागुन २७ गतेसम्म फारम भर्न सकिन्छ । छनौट मापदण्ड क) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने (२०७६ चैत्र ८ गतेसम्म) । ख) सहभागी सिरहा जिल्ला निवासी हनपर्ने । ग) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने । घ) सहभागी २०७६ चैत ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने । सहभागीले के प्राप्त गर्न सक्छन् ? क) अनुभवी प्रशिक्षकहरुद्वारा उद्यमशीलता विकास तालिम निःशुल्क प्राप्त गरी व्यावसायिक ज्ञान वृद्धि गरी व्यापार विकासका लागि सहयोग प्राप्त गर्न सक्ने । ख) वित्तीय पहुँचका लागि सहजता। ग) बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने ।

वर्षकै न्युन मूल्यमा आएको इन्भेष्टमेन्ट बैंकमा लगानी गर्नु कति उत्तम ? (समग्र विश्लेषण)

काठमाडौं । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक चर्चामा छ । भेट्रान बैंकर पृथ्वीबहादुर पाँडेले कार्यकारी अध्यक्ष भएर लामो समय संचालन गरेका बैंकमा अहिले पाँडे बैंक संचालक समिति अध्यक्ष छन् । बैंकको लगानी फसेको, नाफा घटेको जस्ता कारणले नेपाल इन्भेष्टमेन्ट बैंक पछिल्लो समय चर्चामा रहेको हो । यही परिवेशमा बैंकको अहिलेसम्मको ऐतिहासिक पृष्ठभूमि के कस्तो छ, सेयर मूल्य किन घटिरहेको छ, बैंकको सेयर किन्दा कस्तो होला भन्ने जस्ता विषयमा बैंकको सेयरको प्राविधिकसहित समग्र विश्लेषण गर्ने प्रयास गरिएको छ । परिचय नेपाल इन्डोसेज बैंकको नामबाट २६ फागुन २०४२ मा नेपाल इन्भेष्टमेन्ट बैंक सञ्चालनमा आएको हो । फ्रेन्च कम्पनी क्रेडिट एग्रीकोल इन्डोसेजको स्वामित्वमा रहेको ५० प्रतिशत सेयर २०५९ मा नेपाली व्यवसायीहरुले खरीद गरेपछि नाम परिवर्तन गरिएको हो । १ हजार ४ सय ८ जना कर्मचारी रहेको बैंकको ८२ वटा शाखा सञ्चालनमा छन् । १६ वटा एक्सटेन्सन काउन्टर, १ सय १७ भन्दा बढि एटिएम काउन्टरमार्फत बैंकले सेवा दिइरहेको छ । –वर्षकै न्युन विन्दु, प्रवृत्ति वियरिश नै –पाँच वर्षमा सबैभन्दा कम लाभांश –पाँडे परिवारको बाहुल्यता केटाकेटी बचत, सुरक्षा बचत, लोटस सेभिङ, आफ्नै बचत खाता जस्ता निक्षेप खाता सञ्चालनमा छन् । बैंकले निक्षेपमा ३.५० प्रतिशतदेखि ९.२५ प्रतिशत व्याज दिइरहेको छ । कर्जामा बेस रेट ८.५३ मा १.५० देखि ६.५० प्रतिशत व्याज लिइरहेको छ । बैंकलेसँगै भिसा डोमेस्टिक कार्ड मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्यक अफरसमेत छ । बैंकले देशभित्र २ हजारभन्दा बढी ऐजन्ट मार्फत् रेमिट्यान्स भित्र्याउन काम गरिरहेको छ । उपाधी बैंकले हालै एशियामनी २०१९ अन्तरगत बेस्ट कर्पोरेट एण्ड इन्भेष्टमेन्ट बैंकको उपाधी पाएको छ । बैंकले २०१८ को युरोमनि एक्सेलेन्स बेस्ट बैंकको ‘नेपाल बेस्ट बैंक’ उपाधी समेत पाएको थियो । बैंकले सन् २०१६ सम्ममा पाँचौं पटक फाइनान्सियल टाइम्स बैंक अफ एयर इन्टरनेशनल अवार्ड पाएको थियो । बैंकले गत वर्ष इक्रा नेपालबाट ए प्लस रेटिङ पाएकोमा यस वर्षभने ए रेटिङ मात्र पाएको छ । सेयर स्वामित्व शुरुदेखि नै बैंकमा अध्यक्ष पृथ्वीबहादुर पाँडेलगायतका व्यक्तिहरुले बैंकमा लगानी गरेका थिए । हाल पाँडेको स्वामित्व रहेको महालक्ष्मी इन्भेष्टमेन्ट, छाँया इन्भेष्टमेन्ट, केयुपी इन्भेष्टमेन्ट र सोफिया इन्भेष्टमेन्टमार्फत् बैंकमा लगानी छ । पाँडे अन्तरगतका कम्पनीहरुको नै बैंकमा २६.१४ प्रतिशत बराबर लगानी छ । हाल पाँडे बैंकमा अध्यक्ष छन् भने ज्योतिप्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत छन् । अन्य लगानी बैंकले गत वर्ष मात्रै सुन्धारामा १४ करोड ७७ लाखमा जमिन खरिद गरेर भवन बनाउन लागिरहेको छ । त्यहाँ शाखा सञ्चालन गर्ने बैंकको योजना छ । बैंकको सहायक कम्पनी एनआइबीएल क्यापिटल रहेको छ । बैंकले मोबाइल बैंकिङ र कार्ड विस्तारको लागि फेक्जिटर्म र एमनेपालमा समेत ८७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको नेशनल माइक्रोफाइनान्स कम्पनीमा पनि २ करोड ५१ लाख रुपैयाँ सेयर लगानी गरेको छ । लाभांश ५ वर्षमा औसत करीब ३४.८९ प्रतिशतको लाभांश बाडेको नेपाल इन्भेष्टमेन्ट बैंकले गत आवमा १९ प्रतिशत लाभांश दिएको छ । बैंकले चालु आवमा नाफाको आधारमा लगानीकर्तालाई ८६ करोड रुपैयाँ वितरण गर्न सक्ने उल्लेख गरेको छ । बैंकमा ३ करोड २५ लाख रुपैयाँ सेयर प्रिमियमको रुपमा रहेकोले सो समेत कुल लाभांश ६ प्रतिशत बराबर पुगेको हो । आव अन्त्यमा भने यो लाभांश क्षमता दरमा परिवर्तन हुन्छ नै । वित्तीय अवस्था बैंकले चालु आवको दोस्रो त्रैमाशमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १५.६६ प्रतिशतले घटेको हो । बैंक नाफा रकमको आधारमा भने छैठौं स्थानमा छ । बैंकको खुद व्याज आम्दानी ७ प्रतिशतले घटको छ । सञ्चालन नाफा भने १६ प्रतिशतले घटेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.३७ प्रतिशत रहेकोले हालको नियामकीय प्रावधान (११ प्रतिशत) भन्दा सहज छ । बैंकको निक्षेप र कर्जाको अनुपात ७५.३९ प्रतिशत छ । बैंकले थप कर्जा लागनी गर्न सक्ने अवस्था सहज नै छ । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । बैंकले पूँजी थप्न ऋणपत्र जारी गर्ने समेत भएको छ । बैंकको सञ्चित तथा जगेडा कोषमा ११ अर्ब ९१ करोड रुपैयाँ रकम छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ६.३७ मा भएको छ । यद्यपि ७ अर्ब ७३ करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च ४ अर्ब छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय २१ प्रतिशत रकम राखेको छ । बैकले प्रावधान रकम ५५ करोड ९० लाख छ । बैंकको प्रतिसेयर आम्दानी २३.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.२८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८४ रुपैयाँ छ । बैंक प्रतिसेयर आम्दानीको आधारमा १३ स्थानमा छ । इक्रा नेपालले केही दिन अघि मात्र बैंकलाई दिदै आएको रेटिङलाई घटाएर निगरानीबाट हटाएको छ । हाल बैंकलाई ए रेटिङ दिएको छ । इक्राले उल्लेख गरेका मुख्य विषयः –खराब कर्जा २.८४ प्रतिशत पुगेको –भाका नाघेको कर्जा भने १४ प्रतिशतबाट २२ प्रतिशत पुगेको –निक्षेप र कर्जाको आधार बलियो (समग्र बैंकिङ क्षेत्रमा बैंकको निक्षेप र कर्जा हिस्सा ५ प्रतिशत बढी) –कर्जामा केन्द्रीकरण (प्रमुख २० मा ३५ प्रतिशत कर्जा लगानी) –खुद व्याज मार्जिन ३.४५ बाट घटेर ३.२८ सन्तुलित क्षेत्रमा सेयर कारोबार बैंकको सेयर कारोबार सन्तुलित क्षेत्रमा आएको छ । बैंकको मूल्य १४ दिने आरएसआई स्केलको ४५.८३ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । सिम्पल मुभिङ एभरेज रेखामा केही समयअघि क्रमओभर भएको छ । २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि रहेकोले मूल्य वियरिश प्रवृत्तिमा छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ४ सय ६ मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे ३ सय ६८ मा पहिलो टेवा पाउने देखाउँछ । बढ्दो क्रममा रहेको बैंकको सेयर मूल्य वृद्धिमा ब्रेक लाग्ने संकेत देखिएको छ । अन्तिम दिन बनेको कालो मैनवत्तिले यही संकेत गरिरहेको छ । बैंकको सेयर मूल्य भने वर्षकै न्युन विन्दुमा पुगेकोले बढ्ने सम्भावना भने छ । मूल्यले हालै वर्षकै न्युन विन्दु ३ सय ७३ बाट उकालो लाग्ने प्रयामा छ । तर, बुलिश प्रवृत्ति देखिइनसकेकोले आगामी दिनको कारोबार हेरेर निर्णय लिनु सही हुन्छ ।

प्रभु बैंकको एक्टेन्सन काउन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा

काठमाडौं । प्रभु बैंकले  शाखा सञ्जाल विस्तार गर्ने क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यस काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले गरेका हुन् । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यस बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटिएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रवाह गरिरहेको छ ।