एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने, भयाे प्रारम्भिक सम्झौता
काठमाडौं । “क” वर्गको एनएमबि बैंकले राष्ट्रिय स्तरको “ख” वर्गको कञ्चन डेभपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच माघ १६ गते(आइतबार) सम्झौता भएको हो । कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित केन्द्रिय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ । जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । एनएमबि बैंकको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिँदै आएको “क” वर्गको बैंक हो । त्यस्तै, कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ । यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई सो क्षेत्रका सर्वसाधारणहरुलाई थप बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम हुने कम्पनीको विश्वास छ ।
सिटिजन्स बैंकले साढे दुई अर्बको ऋणपत्र जारी गर्ने, पायाे बाेर्डकाे अनुमति
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले साढे दुई अर्ब रुपैयाँ बराबरको डिबेन्चर(ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले सो मात्राको ऋणपत्र निष्काशन गर्ने भएको हो । कम्पनीले ‘सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामको सो मात्राको ऋणपत्र निष्काशन गत माघ २१ गते नै बोर्डको अनुमति पाएको हो । यससँगै बैंकले १०.२५ प्रतिशत व्याजदरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्ने छ । सोमध्ये बैंकले व्यक्तिगत तवरबाट १५ लाख कित्ता र सर्वसाधारण तवरबाट १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
यस्तो रह्यो यी १९ वाणिज्य बैंकको ६ महिनाको नाफाको अवस्था
काठमाडौं । संचालनमा रहेका २७ मध्ये १९ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनाको नाफा सार्वजनिक भएको छ । यी बैंकहरुले साढे २३ अर्ब रुपैयाँ नाफा गरेका छन् । यद्यपि यो नाफा बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसारको हो । बैंकहरुको अन्तिम लेखापरीक्षण तथा नेपाल राष्ट्र बैंकले व्यालेन्ससीट स्वीकृत गर्ने बेलामा नाफा रकम तलमाथि पर्न सक्छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामामा करिब ४ करोड रुपैयाँ बढी हो । गत वर्षको पुस मसान्तसम्ममा बैंकको नाफा ७८ करोड १३ लाख रुपैयाँ थियो । एनसीसी बैंक चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ७५ करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्ष (आव) को सोही अवधिमा बैंकले ७३ करोड ९८ लाख रुपैयाँ नाफा गरेको थियो । एनएमबी बैंक एनएमबी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ नाफा गरेको थियो । ग्लोबल आईएमई बैंक ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा २ अर्ब १४ करोड रूपैयाँ नाफा गरेको छ । उक्त नाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मकोसमेत समावेश भएको कम्पनीले जानकारी गराएको छ । ग्लोबल आईएमई बैंकको १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ र जनता बैंकको ४५ करोड १३ लाख रुपैयाँ गरी बैंकको नाफा २ अर्ब १४ करोड रूपैयाँ नाघेको हो । गत वर्षको सोही अवधिमा ग्लोबल आईएमईले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । एनबी बैंक चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बंगलादेश (एनबी) बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो । हिमालयन बैंक चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । प्रभु बैंक प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । कृषि विकास बैंक चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । कुमारी बैंक कुमारी बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ३० लाख नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६६ करोड ६८ लाख रुपैयाँ नाफा गरेको थियो । प्राइम कमर्शियल बैंक प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । सिटिजन्स बैंक सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । एनआईसी एसिया बैंक एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । सानिमा बैंक सानिमा बैंकले ६ महिनामा १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । सिद्धार्थ बैंक सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बेंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । लक्ष्मी बैंक चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्मी बैंकले ९० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा लक्ष्मीले ७३ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल बैंक चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । एभरेष्ट बैंक एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो । सनराइज बैंक सनराइज बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको ६ महिनामा उसको नाफा ७९ करोड २७ लाख रुपैयाँ थियो ।