
काठमाडौं । आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढकाललाई उक्त सम्मान प्रदान गरेको छ ।
आइएमई नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी हो । १९ वर्ष पुरानो यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा २ खर्ब ६१ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ रेमिट्यान्स भित्र्याएको सरकारी तथ्याङ्क छ ।
ढकाल यसअघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित भएका थिए ।
नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३६ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ ।