वाणिज्य बैंकमा मात्र ११६ अर्ब रूपैयाँ थपियाे, निक्षेपकाे व्याज ३ प्रतिशतले घट्याे

काठमाडौं । बैंकहरूकाे कर्जा र निक्षेपबीच असन्तुलन बढेकाे छ । विगत दुइ महिनामा निक्षेप ८७ अर्बले बृद्धि भएकाे छ भने कर्जा रकम २९ अर्ब रूपैयाँले घटेकाे छ । कर्जा चुक्ता र निक्षेप संकलन गरी २ महिनामा २७ वटा वाणिज्य बैंकमा मात्र ११६ अर्ब रूपैयाँ थपिएकाे छ । नेपाल बैंकर्स संघका अनुसार जेठ ३० सम्ममा  वाणिज्य बैंकहरुमा कुल निक्षेप ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । जुन चैत महिनाको भन्दा ८७ अर्ब रुपैयाँले बढी हो । चैत मसान्तमा ३१ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकाे थियो । बैशाख महिनामा मात्र ३२ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । काेराेना महामारीसँगै मानिसहरूकाे खर्च कटाैति भएकाे, निक्षेपकाे व्याज जाेडिएर पनि कुल निक्षेप अंक बढेकाे, रेमिट्यान्स प्रवाह राम्राे रहेकाेले निक्षेप वृद्धि भएकाे सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गाेविन्द गुरूङले बताए । यस्तै, जेठ महिनामा पनि वाणिज्य बैंकहरुबाट प्रवाह हुने कर्जा घटेको छ । जेठ महिनासम्म वाणिज्य बैंकहरुको कुल ऋण २८ खर्ब १६ अर्ब रुपैयाँमा सीमित भएको छ । याे रकम चैत मसान्तका तुलनामा २९ अर्ब रुपैयाँ कम हो । कर्जा चुक्ता गर्न क्षमता भएका ग्राहक कर्जा चुक्ता गर्नेतिर लागेकाे र नयाँ कर्जाकाे माग शुन्य जस्तै भएकाेले कुल कर्जामा गिरावट देखिएकाे गुरूङले बताए । एकातिर निक्षेप बढ्ने र अर्कोतिर ऋण घट्ने हुँदा बैंकमा पैसा थुप्रिन थालेकाे छ । अहिले बैंकहरुको सीसीडी रेसियो करिब ७४ प्रशितमा झरेको छ । केही महिनाअघि बैंकहरुको सीसीडी रेसियो ७९ प्रतिशतसम्म पुगेको थियो । नेपाल राष्ट्र बैैंकको प्रावधान अनुसार बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम हुनुपर्छ । निक्षेपको व्याजदर घटाउँदै बैंकमा निक्षेप बढ्ने, नयाँ कर्जाकाे माग नहुने र पुराना कर्जा पनि चुक्ता गर्ने क्रम वृद्धिसँग बैकहरुले निक्षेपको व्याजदर पनि घटाउँदै गएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अनौपचारिक रुपमा निक्षेपको व्याजदर नघटाउन निर्देशन दिदै आएपनि बैंकहरुले भने त्यसको व्याजदर कम गर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवासायीहरुका लागि कर्जामा २ प्रतिशतसम्म व्याजदर घटाउन निर्देशन दिएसँगै पछि बैंकहरूले व्याज खर्च कटाैतिका लागि निक्षेपमा पनि व्याज घटाउन थालेका हुन् । तरलता वृद्धिले पनि निक्षेपकाे व्याज घाउने बैंकर्सकाे प्रयासमा उर्जा थपेकाे छ । बैंकहरुले साधारणा बचतमा ३ प्रतिशतसम्म व्याजदर घटाएका छन् भने मुद्दतिमा २ प्रतिशतले घटाएका छन् । फागुनसम्म बैंकहरूले मुद्दतिमा १० प्रतिशत र बचतमा ८ प्रतिशतसम्म व्याज दिदै आएका थिए । अहिले बैंकहरूले बचत खाताकाे व्याजदर ३ देखि ५ प्रतिशत मात्र ताेकेका छन् भने मुद्दतिकाे व्याज ७ देखि ८.२५ प्रतिशतसम्म ताेकेका छन् । अहिले संस्थागत निक्षेपको अधिकतम ब्याज ७ प्रतिशत छ भने ब्यक्तिगतको ८.२५ प्रतिशत  र बचतको साढे ५ प्रतिशत ताेकेका छन् । विहीबार मात्र एनआइसी एसिया बैंकले बचतको ब्याज दर ०.५ प्रतिशत बिन्दुले घटाएको छ । एनआइसी एसिया बैंकले बचतमा अधिकतम ५.५ र न्यूनतम ३.५ प्रतिशत ब्याज दिँदै आएको थियो । यस्तै एक साता अगाडि मात्रै नबिल, एभरेष्ट, बैंक अफ काडमाण्डू, नेपाल एसबीआई बैंक लगायतले नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । ती बैंकहरुको बैंकको मुद्दति खातामा भने व्यक्तिगत तर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत ब्याज रहेको छ । नबिल बैंकले बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम ३ प्रतिशत ब्याज दिने भएको छ । यस्तै एभरेष्ट बैंकले सबैभन्दा बढी ५.५० र सबैभन्दा कम ०.२५ प्रतिशत ब्याज दिने जनाएको छ । यता एसबीआई बैंकले सबैभन्दा बढी ५ र सबैभन्दा कम १ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । बचतको व्याज घटेपछि कलको व्याज पनि अब अटोमेटिक कम हुनेछ । राष्ट्र बैंककाे नियम अनुसार बचतको न्यूनतम ब्याजभन्दा बढी कल डिपोजिटमा व्याज दिन पाइँदैन ।

सरकारलाई बैंकर्स संघको साथ, चैतसम्मको कर तिर्न सम्पूर्ण बैंकलाई पत्राचार

काठमाडौ । नेपाल बैंकर्स संघले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई चैत मसान्तसम्मको कर तिर्न पत्राचार गरेको छ । बुधबार बसेको संघको बैठकले सम्पूर्ण बैंकलाई चैत मसान्तसम्म तिर्नु पर्ने कर तिर्न आग्रह गरेको हो । संघले आफ्ना सदस्य रहेको बैंकहरुलाई कर तिर्न पत्राचार गरिसकेको संघले बताएको छ । ‘अहिले कुनै पनि क्षेत्रले कर तिर्न सकेको अवस्था छैन, यसले पनि सरकालाई समस्या भएको छ, त्यसलै पनि हामीले चैतसम्मको कर भएपनि तिर्न सकिन्छ भन्ने उद्धेश्यले यो निर्णय गरेका हौं,’ संघका एकजना सदस्यले भने । उनका अनुसार चैत मसान्तसम्मको कर तिर्न बैंकहरु सकारात्मक हरेका छन् । सरकारले समयमा विभिन्न व्यवसायी उद्योगीहरुलाई कर तिर्न भनिरहेको छ । कोरोनाभाइरस (कोभिड–१९)का कारण भएको लकडाउन कारण व्यवसया ठप्प रहेको भन्दै विभिन्न उद्योगी व्यवसायीहरुले करको समयावधि थप गर्न विभिन्न समयमा आग्रह गरिहरेका छन् । सरकारले पनि विभिन्न समयमा कर तिर्न आग्रह गरिरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता पायो पुरै पैसा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको पुरै पैसा फिर्ता पाएको छ । इन्भेष्टमेन्ट बैंकले ८५ करोड रुपैयाँ नेपाली र ८७ लाख ५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको हाे । यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो । यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुदृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो । तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंकको उक्त रकम फसेको थियो । बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो । उक्त कम्पनीले बीचैमा काम छोडेर हिँडेपछि लेनदेनको विवाद अदालतसम्म पुगेको थियो । इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेपछि बैंकले सबै रकम फिर्ता पाएकाे हाे ।