राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडाैं । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । १ करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए । प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । २५ लाख रूपैयाँभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा १ करोड २५ लाख ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ । सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसूरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।   रासस

कुमारीले देवः विकासलाई प्राप्ति गर्न राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं । कुमारी विकास बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौतालाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले दुई बैंकबीचको सम्झौतालाई अन्तिम स्वीकृति दिएको हो । दुई बैंकको जेठ १९ गते) बसेको वार्षिक तथा विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको थियो । यस प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता सेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता सेयर अनुपातमा सेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको बैंकले जनाएको छ । त्यस्तै, बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रूपैयाँभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा सञ्जाल भने २०९ हुने बैंकले जनाएकाे छ ।

विश्व बैंकले नेपाललाई १० करोड डलर बराबरको आर्थिक सहायता दिने

काठमाडाैं । विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेकाे हो । यो ऊर्जा क्षेत्रसँग सम्बन्धित दोस्रो सम्झौता हो । ऊर्जा क्षेत्रको वित्तीय अवस्थामा सुधार ल्याउन र कोभिड–१९ सङ्कटसँग जुध्न सघाउने उद्देश्यले सहयोग गरिएको विश्व बैंकले जनाएको छ । सहयोग रकम नेपालको ऊर्जा क्षेत्रको सम्भाव्यतालाई पहिल्याउन नीतिगत र संस्थागत सुधारमा खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ । यो सहयोगअन्तर्गत नेपाल विद्युत् प्राधिकरणलाई वित्तीयरुपमा सबल बनाउने, स्वायत्त, पारदर्शी र जवाफदेही नियमनकारी निकाय खडा गर्ने, ऊर्जाको क्षेत्रीय बजारमा हिस्सा अभिवृद्धि गर्ने र सङ्घीय ढाँचाअनुरुप प्राधिकरणको प्रादेशिक र स्थानीय तहमा संरचना खडा गर्ने काम हुनेछ । हालैका वर्षमा देशव्यापी विद्युत् कटौतीको स्थितिलाई अन्त्य गर्दै नेपालको ऊर्जा क्षेत्रले विद्युत् उत्पादनमा अभिवृद्धि, चुहावट नियन्त्रण र अन्तरदेशीय प्रसारण लाइन विस्तारमा उल्लेख्य उपलब्धि हासिल गरेको छ । अहिले नेपालमा कूल जनसङ्ख्याको ८८ प्रतिशत जनतामा विद्युत् पुग्न सकेको छ । उक्त समारोहमा सचिव ढुङ्गानाले नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग गरेकोमा विश्व बैंकलाई धन्यवाद दिँदै यसले ऊर्जा क्षमताको समुचित विकास गरी विद्युत् सुविधाको पहुँच वृद्धिका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले कोभिड–१९ को महामारीको सङ्कटपूर्ण अवस्थामा उपलब्ध भएको सहयोगले ऊर्जा क्षेत्रमा परेको असर कम गर्न र विद्युतीय सुशासन कायम गर्न फलदायी हुने उल्लेख गरे । विश्व बैंकका देशीय निर्देशक जार्भोसले कोभिड–१९ सङ्कटका बेलामा र त्यसपछि पनि ऊर्जा क्षेत्रको विकासका लागि विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको ऊर्जा क्षेत्रलाई भरपर्दो र दिगो बनाउने तथा गरिबी निवारण र मुलुकको समृद्धिमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उनले नेपालसँगको ५०औँ वर्षसम्मको सम्बन्धलाई निरन्तरता दिँदै सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । कोभिड–१९ का समयमा दीर्घकालीन योजना सम्पन्न गर्न पनि सघाउने उनले आशा व्यक्त गरे ।