प्रविधि विकासमा आक्रामक बन्दै कृषि विकास बैंक, अब अनलाईनबाटै खाता खोल्न सकिने
काठमाडौं । कृषि विकास बैंक सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न आक्रामक रुपमा प्रस्तुत हुँदै गएको छ । प्रविधिमा जोड दिँदै बैंकले अब अनलाईनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने प्रणाली सुरु गरेको छ । बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउँदै बैकिङ्ग कारोवारको दायरा फराकिलो बनाउन विद्युतीय उपकरणको प्रयोग गरी उक्त प्रणालीको शुरु गरेको हो । साथै, प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न सो सुविधा ल्याएको बैंकले जनाएको छ । उक्त प्रणालीको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरेका हुन् । अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्दछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरिकले आफ्नै घर/कार्यालयमा बसी बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ । खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको छ । उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले बताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् ।
नागरिक बचतपत्रको बिक्री अवधि बढ्यो
काठमाडाैं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र २०८२ को निष्काशनको बिक्री अवधि थप गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत पाँचवर्षे अवधिका लागि बिक्री गर्न लागिएको उक्त बचतपत्रको अवधि यही असार २९ गतेसम्मका लागि बढाइएको जनाएको हो । रु चार अर्ब बराबरको ‘नागरिक बचतपत्र २०८२’ नाम दिइएको उक्त बचतपत्रमा वार्षिक नौ प्रतिशत व्याज प्राप्त हुनेछ । व्याजकर लाग्ने भए पनि छ÷छ महिनामा भुक्तानी हुने व्यवस्था गरिएको छ । घटीमा १० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु १० हजारले भाग गर्दा निषेश भाग जाने अङ्क बराबरको खरिद गर्न पाइने व्यवस्था गरिएको छ । नेपाली नागरिकले मात्र खरिद गर्न पाउने उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन पाउने सुविधासमेत दिइएको छ । बैंकले गत जेठ १ गतेदेखि जेठ मसान्तसम्म मात्रै सो बचतपत्र बिक्री गर्ने जनाएको थियो । लकडाउन तथा कोरोनालगायतका कारणले गर्दा अवधि थप गरिएको बताइएको छ । रासस
सानिमा बैंकले बैंकिङ्ग क्षेत्रमै पहिलो पटक सञ्चालनमा ल्यायो अपाङ्गमैत्री वेभसाइट
काठमाडौं । सानिमा बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा पहिलो पटक अपाङ्गमैत्री वेभसाइटको शुरुवात गरेको छ । यो वेभसाइट राम्रोसँग देख्न नसक्ने, श्रवणशक्ति कम भएका तथा कम्प्यूटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरुको लागि उपयोगी हुनेछ । यस वेभसाइटको प्रयोगले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाईनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ्ग पहुँच पुर्याउने प्रयास गरेको छ । यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेभसाइट मा गई दायाँ कुनामा रहेको डिज्याबिलिटी फ्रेन्डिली आईकन क्लिक गरी आवश्यक एसेसीबिलिटी विडजेट मेन्युमा गई आफूलाई चाहिएको सुविधा अनुसारको अपसन बटनमा क्लिक गरी वेभसाइटको प्रयोग गर्न सकिनेछ । यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समयक्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै ग्राहकको आवश्यकता सहज रुपमा पूरा गर्ने बैंकको उद्देश्य रहेको छ । सानिमा बैंकले देशभरका सातै प्रदेशबाट ७९ शाखा, ७ वटा विस्तारित काउन्टर तथा ८१ एटिएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।