यातायात व्यवसायीलाई राहत, गरिमा विकास बैंकले दिने भयाे एक महिनाको व्याज छुट
काठमाडौं । गरिमा विकास बैंकले यातायात व्यवसायीले लिएको कर्जामा एक महिनाको व्याज छुट दिएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै ‘हायर पर्चेज’ कर्जा लिएका ग्राहकलाई एक महिनाको व्याज छुट दिने भएको हो । कोरोना भाइरसको कारण सरकारले गरेकाे लकडाउनमा ग्यारेजमै थन्किएका यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन नहुँदा आर्थिक समस्या परेका व्यवसायीहरुलाई राहत स्वरुप बैंकले सो व्यवस्था गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकले निर्देशन गरेको दुई प्रतिशत बिन्दु व्याज छुट दिएको बताउँदै ग्राहकमा परेको समस्यालाई मध्यनजर गर्दै असार महिनाको व्याज छुट दिने भएको हो । विकास बैंकले सवारी साधन समेत धितो राखेका यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन(बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको ‘हायर पर्चेज’ शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही(ऋणी)हरुलाई असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरेको छ । उक्त सेवाग्राहीहरुले असार मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।
डिजिटल भुक्तानी सेवाका लागि ग्लोबल आईएमई बैंक र सेलपेबीच सहकार्य
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । सेलपे, सेलकमद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आई.एम.ई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, बीमा रकम भुक्तानी, कोभिड-१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिने छ । सन् २०१२ मा स्थापना भएको ग्लोबल आईएमई बैंकले २५७ शाखाहरु, ३८ एक्स्टेन्सन काउन्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र २४३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।
साधना लघुवित्तमा लगानी गरेको १० दिनपछि नै उचित प्रतिफल पाइन्छ- सीईओ न्यौपाने
रेशम न्याैपाने, सीईओ- साधना लघुवित्त वित्तीय संस्था लमजुङ्ग जिल्लाको दुराडाँडामा जन्मिएका हुन् रेशम न्यौपाने । उनी सामाजिक कार्यसँगै गाउँगाउँमा वित्तीय साक्षरता र आर्थिक रुपान्तरणको अभियानमा लागेका छन् । स्वावलम्बन विकास केन्द्रको प्रशिक्षार्थी सहायक पदबाट वित्तीय सेवामा प्रवेश गरेका न्यौपानेले नाडेप लघुवित्त, मुक्तिनाथ विकास बैंक हुँदै चौतारी लघवित्तको व्यवस्थापकीय पदको जिम्मेवारी सम्हालिसकेका छन् । मिहिनती उर्जावान एवम् अनुभवी रेशम न्यौपाने वित्तीय क्षेत्रको लामो अनुभवलाई अबलम्बन गर्दै हाल साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को रुपमा कार्यरत छन् । सञ्चालनमा आएको करिब ३ वर्षपछि साधना लघुवित्तले असार २१ गतेदेखि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री गर्दैछ । लगानीकर्ता कम्पनीको वित्तीय अवस्था र आगामी योजनाबारे जान्न उत्सुक छन् । लघुवित्तको हाल अवस्था कस्तो छ ? लघुवित्तले सेयरधनीलाई कति प्रतिफल दिन्छ ? लगानीकर्ता र हाम्रा पाठकले जान्न चाहेका यी र यस्तै प्रश्नहरुलाई समेटेर संस्थाका सीईओ न्यौपानेसँग गरिएको कुराकानी: साधना लघुवित्तको वित्तीय अवस्था तथा कारोबार कस्तो छ ? साधना लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । साधना लघुवित्तको आब्हान पत्रमा प्रकाशित वित्तीय विवरणले संस्थाको यथार्थ वित्तीय अवस्था देखाउँछ । लघुवित्तले स्थापनाको वर्षदेखिनै नाफा गरेको छ । वित्तीय विवरणसँगै यसको व्यवस्थापन पक्ष पनि जोडिएर आउँछ । जसमा हिजो विकास बैंकको शुरुवात गरी सफल बनाएका, बैंकिङ विशेषज्ञको रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा कार्य गर्नुभएका व्यक्तिहरुको टिम सञ्चालक समितिमा छ । व्यवस्थापन तहमा भन्नुपर्दा करिब २ दशकदेखि म यही क्षेत्रमा कार्य गर्दै आएको छु । व्यवस्थापनका अन्य साथीहरुमा समेत यो क्षेत्रमा काम गरेको लामो अनुभव छ । त्यस्तै, वित्तीय कारोबारको कुरा गर्नुपर्दा संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी २१ करोड ७७ लाख ८० हजार र चुक्ता पुँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको यस संस्थाले हालसम्म ४७ हजार सदस्यलाई समूहमा आवद्ध गरी २६ हजार ऋणी मार्फत् बाँकी कर्जा १ अर्ब ७० करोड रुपैयाँ र बचत संकलन ४३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, २०७७ जेठ मसान्तसम्ममा संस्थाको जगेडा कोषमा ४ करोड २९ लाख रुपैयाँ रहेको छ । कोराना भाईरसको महामारीले साधना लघुवित्तलाई पनि असर गर्यो होला । तसर्थ यो वर्ष साधना लघुवित्तको प्रफर्मेन्स कस्तो आंकलन गर्नुभएको छ ? पक्कै पनि, कोरोना भाईरसको महामारीले अन्य क्षेत्रलाई जस्तै वित्तीय संस्थालाई र अन्य वित्तीय संस्थालाई जस्तै साधना लघुवित्तलाई समेत असर गरेको छ । वर्तमान अवस्थाको कारण संस्थाले विगतमा जुन गतिमा आफ्नो पफर्मेन्स हासिल गर्दै आएको थियो, त्यो गतिमा केहि संकुचन आएको छ । तर पनि हामीले शुरुवात देखिनै संस्थाको बेस बनाई सकेको हुँदा हामी वार्षिक लक्ष्यको नजिक नजिक छौं । हाम्रा वित्तीय सूचकहरु गत वर्षको तुलनामा बढेका छन् । यसलाई आधार मान्दा हाम्रो मुनाफाको दर समयसापेच्छ राम्रै हुने आंकलन गरिएको छ । संस्थाले सेवा प्रदान गर्ने कार्य क्षेत्र कँहा कँहा हुन् ? र, अहिले कति स्थानबाट सेवा दिँदै आएको छ ? गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले २०७४ कात्तिक १३ गते नेपाल राष्ट्र बैंकबाट १० जिल्ला कार्यक्षेत्र रहने गरी अनुमति प्राप्त गरेको हो । नेपालको निजी क्षेत्रबाट स्थापित लघुवित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलो पटक भानु नगरपालिका १ तनँहुमा केन्द्रिय कार्यालय रहेको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी यो लघुवित्त राष्ट्रिय स्तरमा स्तरउन्नती भएको छ । लघुवित्तले हाल २२ जिल्लामा ६० वटा शाखा कार्यालयहरु मार्फत् लघुवित्त सेवा दिँदै आएको छ । अहिले संस्थाको प्रमोटरमा को को हुनुहुन्छ ? वित्तीय संस्थाको प्रमोटरमा २ वटा राष्ट्रियस्तरका बैंकहरु एनसीसी बैंक र सांग्रिला डेभलपमेन्ट रहेका छन् । त्यसैगरी, अन्य व्यक्तिगत प्रमोटरमा बैंक तथा वित्तीय संस्थामा लामो अनुभव भएका व्यक्तिहरु, कानून व्यवसायीहरु, अन्य पेशाकर्मीहरु, समाजसेवीहरु गरी ९२ जना प्रमोटर हुनुहुन्छ । असार २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ जारी गर्दै हुनुहुन्छ । यसमा लगानी गर्दा लगानीकर्ता कत्तिकाे सन्तुष्ट हुनेछन् ? साधनाले आगामी असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । संस्थाले आगामी असार २१ गतेदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कूल सेयर मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्यको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने छ । यससँगै, सर्वसाधारणलाई आईपीओ बिक्री वितरण गरे पश्चात् लघुवित्तको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुग्नेछ । अब आयो यसमा लगानी गर्दा लगानीकर्ता कत्तिको सन्तुष्ट हुन्छन् भन्ने कुरा । प्रथमतः तुलनात्मक रुपमा अन्य कम्पनीको भन्दा लघुवित्त कम्पनीको प्रतिफल बढी हुने कुरा सर्वसाधरणले बुझ्नुभएको छ । जसले गर्दा विगतका लघुवित्त कम्पनीको आईपीओमा धेरै गुणा बढी आवेदन परेको देखिन्छ । जहाँसम्म साधना लघुवित्तको आईपीओको कुरा छ, साधनाको विगत ३ वर्षको वित्तीय विवरण हेर्नुस्, त्यहाँ शुरुवातकै वर्षदेखि सञ्चित मुनाफा पाउनुहुनेछ । त्यसैगरी विगतदेखि हालको कठिन समयसम्मको व्यवसाय वृद्धिको सूचकहरुलाई हेर्नुस्, पक्कै पनि सन्तुष्ट हुनुहुनेछ भन्ने विश्वास छ । यो आईपीओमा लगानी गर्दा कसरी फाइदा लिने ? लघुवित्तको आईपीओमा लगानी गर्दा कसरी फाईदा लिने सम्बन्धमा सर्वसाधरणलाई मैले भनिरहनु पर्छ जस्तो लाग्दैन । यति भन्छु कि, ढुक्क भएर सेयर भर्नोस्, स्थापनाको वर्ष देखिनै नाफा कमाएको यस साधना लघुवित्तले उचित प्रतिफल पक्कै दिन्छ । यहाँले प्रतिफलको कुरा गर्नुभयो । अहिले आईपीओ भर्नेले साधनाबाट कहिलेदेखि प्रतिफल पाउँछन् त ? सेयरधनीहरुले यो आर्थिक वर्षको कमाईबाटै अझ गत वर्षहरुको सञ्चित आम्दानी समेत गरी अर्को वर्ष प्रतिफल पाउनुहुन्छ । अझ स्पष्ट भन्ने हो भने यसपालीको सेयरधनीहरु भाग्यमानी हुनुहुन्छ । किनभने, आईपीओ बाँडफाँट भए पश्चात् यस वर्षनै प्रतिफल दिईने संस्थाको योजना रहेको छ । त्यसैले, उहाँहरुले लगानी गरेको १० दिनमै उचित प्रतिफल पाउनुहुन्छ । ढुक्क भएर सेयर भर्नोस् । आईपीओमा कति लगानी गर्दा उपयुक्त हुन्छ भन्ने आम लगानीकर्ता दुविधामा परेका हुन्छन् । यसमा हजुरको सुझाव चाँहि के छ ? सामन्यतः लघुवित्तको निष्काशन हुने सेयर संख्याको अनुपातमा आवेदन दिने व्यक्तिहरुको संख्या धेरै गुणा बढी हुने गर्दछ । त्यसो हुँदा प्रतिव्यक्ति १० कित्ताको दरले सेयर वितरण गरिने र त्यसमा पनि संख्या बढी भएमा चिठ्ठा मार्फत् छनोट गरिने हुँदा धेरै रकम लगानी गर्न आवश्यक छैन । तसर्थ हाम्रो लघुवित्तको हकमा न्युनतम कित्ता १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । सेयर निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको यस आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ । आईपीओ पश्चात् साधना लघुवित्तको योजना के छ ? अहिलेसम्मको वित्तीय क्षेत्रको अनुभवलाई प्रयोग गरेर एउटा नमूना लघुवित्तको रुपमा यसलाई स्थापित गर्ने नै सञ्चालक समिति, सेयरधनीहरु लगायत वित्तीय संस्थाको उच्च व्यवस्थापन सबैको मुख्य योजना हो । हामी त्यस दिशामा उन्मुख हुनेछौं । यसका लागि आईपीओ पश्चात् साधना लघुवित्तको पुँजीको आधारको साथसाथै संस्थाको सञ्जाल समेत ठुलो हुनेछ । वित्तीय संस्थाले गत माघबाट मात्रै राष्ट्रिय स्तरमा स्तरोन्नती भएको र हाल २२ जिल्लामा मात्र आफ्नो शाखा सञ्जाल कायम गरेको हुँदा आगामी आईपीओ मार्फत् देशैभरका लगानीकर्ताहरु संस्थामा आवद्ध हुनुहुनेछ । तत् पश्चात् अगामी दिनहरुमा यस संस्थाको प्रगतिका लागि अझ बढी स्नेह तथा सद्भाव संस्थाले पाउनेछ । जसको फलस्वरुप आवश्यकता अनुसार देशैभरमा शाखा सञ्जाल स्थापना गरी राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रम मार्फत सहयोग गर्ने हाम्रो प्रतिवद्धता साथसाथै योजना रहेको छ । पछिल्लो समयमा लघुवित्त संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । यस विषयमा साधनाको धारणा चाँहि कस्तो रहेको छ ? पछिल्लो समयमा लघवित्त वित्तीय संस्थाहरुमा देखिएको बिचलन, अस्वस्थ प्रतिस्पर्धा तीव्र दोहोरोपना एवम् कर्जा असुलीमा देखिएको समस्याले गर्दा पनि नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको परिणात्मक वृद्धि भन्दा गुणात्मक वृद्धिको पाटोलाई मजबुत बनाउन, निरिक्षणमा सहज बनाउन, वित्तीय संस्थाहरुलाई स्थायित्व दिनका साथै लघुवित्त संस्थाहरुलाई सबल र सक्षम पार्न मर्जर/प्राप्तिको निती ल्याईएको हुनसक्छ । मलाई के लाग्छ भने वर्तमान आवश्यकतालाई हेर्दा राष्ट्र बैंकको यो रणनीति स्वागत योग्य पनि छ । जसको फलस्वरुप केहि लघुवित्त संस्थाहरु स्वस्फूर्त रुपमा मर्जरमा गएका र केही मर्जरको लागि चरणबद्ध छलफलमा रहेका छन् । जहाँसम्म साधना लघुवित्तको मर्जर सम्बन्धी धारणा भन्नुपर्दा साधना लघुवित्तले नेपालको निजी क्षेत्रबाट स्थापित लघुवित्त वित्तीय संस्थाहरुको इतिहासमा नै पहिलो पटक आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको छ । र, यो लघुवित्त क्षेत्रको एउटा उदाहरणनीय कार्य पनि हो । साथै प्राप्ति पश्चात् विगतका दुई वित्तीय संस्थाहरु एक भए पश्चात कार्य सञ्चालनमा कुनै समस्या नभएको बरु संस्थाको पुँजीको साथै संस्थाको प्रबद्र्धकहरु समेत थप हुन गई वित्तीय संस्थालाई थप मार्गदर्शन र सहयोग पुग्ने महशुस भएको हुँदा आगामी दिनमा समेत मर्जरलाई प्राथमिकता दिई कार्यान्वयन गर्नका लागि गत साधारणसभाले मर्जर सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।