सनराइज बैंकद्धारा श्वेता श्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई उक्त सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमको बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड-१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाएका छन् । यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाए । सो फाउन्डेशनले स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ गतेदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।
बैंक वित्तीय संस्थाले शाखा बन्द गरेकोमा राष्ट्र बैंकको असन्तुष्टि, भन्छः यो बन्द गर्ने बेला होइन
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको कारण कारोबार नभएको कारण देखाएर बैंक वित्तीय संस्थाहरुले शाखा बन्द गर्न थालेका छन् । बैंक वित्तीय संस्थाले यसरी शाखा बन्द गरेकोप्रति नेपाल राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ । कोरोना भाइरस संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक गतिविधि करिब ठप्प भएकोले यसलाई पुनरुत्थान गर्न आर्थिक गतिविधि बढाउनु पर्ने र त्यसका लागि बैंक तथा वित्तीय संस्थाको उपस्थिति अनिवार्य भएकोले बन्द गराउन नहुने राष्ट्र बैंकको भनाइ छ । आर्थिक गतिविधि बढाउन बैंक तथा वित्तीय संस्थाको उपस्थिति आवश्यक पर्ने भएकोले अहिले भएका शाखा बन्द गर्नु उपयुक्त नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘अहिले केही समयमा कारोबार कम भयो होला, आर्थिक गतिविधि कम भए होलान्, तर अहिले देखिएका समस्या समाधान गरेर आर्थिक रुपमा अघि बढ्न आवश्यक छ, त्यसको लागि बैंक वित्तीय संस्थाको उपस्थिति अनिवार्य हुन्छ, त्यसैकारण बैंक वित्तीय संस्थाका शाखा बन्द गर्नु हुदैन, शाखा नभएका ठाउँमा पनि नयाँ खोल्नुपर्ने अवस्था आउने भएकोले अहिले शाखा बन्द गर्नु उल्टो हुन्छ,’ अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता डा. भट्टले भने । केही बैंक तथा वित्तीय संस्थाहरुले भने पछिल्लो समय कारोबार कम भएको, खोलिएका शाखामा सेवाग्राही नआएका तथा आफ्नो संचालन खर्च कम गर्न भन्दै कम कारोबार हुने शाखालाई नजिकको शाखासँग गाभ्ने गरेका छन् । यसरी शाखा बन्द गर्दा आफूहरुलाई समस्या भएको सेवाग्राहीको गुनासो छ । सरकारले लकडाउनको समयमा बैंक वित्तीय संस्थाका कर्मचारीलाई आवत जावत गर्न कठाइ गरेपछि शाखा खोल्न समस्या भएको पनि बैंक वित्तीय संस्थाहरुको गुनासो छ । तर, पछिल्लो समय सरकारले लकडाउन खुकुलो बनाउँदै लगेपछि यो समस्या भने समाधान हुँदै गएको छ ।
८.२५ प्रतिशत व्याजमा घर र सवारी कर्जा
काठमाडौं । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ग्राहकहरु माझ सार्वजनिक गरेको छ । बैंकले ग्राहकमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको छ । यस अन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ । सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्नेछन् । न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष (मोरेटोरियम पिरड ५ वर्ष समेत गरी) कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको मोरेटोरियम पिरड लिन सकिने र उक्त मोरेटोरियम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ । यस बाहेक फेक्जिबल ईएमआई मार्फत ग्राहकले आफ्नो आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् । यस योजना अन्र्तगत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ग्राहकले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण(स्वाप) गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने बैंकले जनाएकाे छ । यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्नेछन् । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका ग्राहकले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण(स्वाप) गर्न समेत सक्नेछन् । यस योजनाअन्तर्गत अधिकतम २ करोड रुपैयाँ कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।