यो वर्ष बैंकमा लाइन लागेर होइन एटीएमबाटै नयाँ नोट पाइने

काठमाडाैं । यसपालिकाे दशैंमा एटीएमबाटै नयाँ नोट पाइने भएकाे छ । यस अघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था रहेकाेमा याे पालि भने बैंकमा लाइन नबसी एटीएमबाटै नयाँ नोट पाइने नेपाल राष्ट्र बैंकले जनाएकाे छ । बैंकले कोभिड-१९ संक्रमणको जोखिमका कारण याे पालि दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए । यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दशैंका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनैपनि बैंकमा नगरिएको उनले बताए । यद्दपी आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए । यस अघिका वर्षहरुमा दशैंमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ । राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दशैंको बेलामा सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।

मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकलाई सहज कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ । सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ । अडानले लेखाव्यवसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखाव्यबसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

सानिमा बैंकका ग्राहकले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

काठमाडौं । सानिमा बैंकले “बिग डिल एट सस्तो डिल” नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई-बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फष्ट कम फष्ट सर्भ’ को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि कार्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।