सानिमा बैंकले साढे १३ प्रतिशत बढी लाभांश दिने
काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद) दिएको थियो ।
सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने
काठमाडौं । सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको हो । यससँगै बैंकका ग्राहकले सनराइज स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रतिबस टिकट २ सय रुपैयाँ र हवाई टिकटमा प्रतिटिकट ३ सय रुपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ । कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ । बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागी यो योजना ल्याएको हो ।
ग्लोबल आइएमई बैंककाे दमेक र उच्चाकोटमा दुई नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
काठमाडाैं । ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै यस बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२७ पुगेको छ । बाग्लुङ्गको जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा टेक बहादुर कामी र डोटीको जिल्लाको शिखर नगरपालिका वडा नं. ९, उच्चाकोटमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा यज्ञराज पन्तलाई नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएकाे छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिनेछ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएकाे छ ।