काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद (कर सहित) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव असोज २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ ।
उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद) दिएको थियो ।