विकासन्युज

इन्जिनियर सचिन्द्र यादवविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादवविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यादवविरुद्ध अख्तियारले ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो । अख्तियारका अनुसार यादवले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी लुकाएको तथा उनकी श्रीमती आशा कुमारी यादवको नाममा समेत घरजग्गा खरिद गरेको देखिएको थियो । सोही आधारमा यादवलाई कैद तथा बिगोबमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै आरोपपत्र दायर गरिएको थियो। उनकी श्रीमती आशा कुमारी यादवलाई भने सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ । विशेष अदालतले २०८२ चैत ८ गते गरेको फैसलाबाट यादवकी श्रीमती आशा कुमारी यादवलाई सफाइ दिएको थियो । उक्त फैसलाप्रति चित्त नबुझेपछि अख्तियारले २०८३ असोज १६ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिइएको छ ।

ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत् ड्यामको निरीक्षण, बाँध जोखिममुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको बाँधको निरीक्षण गरेका छन् ।  पछिल्लो ८–१२ असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ शनिबार कुलेखानी ड्याम पुगेका थिए । मन्त्री श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गराएका थिए । मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताए । भारी वर्षाका बेला बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको उनले बताए । ‘सतह म्यानेज गर्ने, २४ सै घण्टा निगरानीमा राख्ने, तल्लो तटमा पनि सूचना प्रवाह गरेर अलर्ट राख्ने गरिएको थियो,’ उनले भने, ‘आज आएर हेर्दा म्यानेज भएको छ । ड्याम स्टेबल छ ।’ ‘केही दिनअघिको अविरल वर्षाका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा कुलेखानी बाँधमा पनि पानीको सतह सतर्कता तहमा पुगेको थियो र सम्भावित जोखिमको चिन्ता बढाएको थियो । साथै, यसले विद्युत् आपूर्ति व्यवस्थापनमा समेत केही दबाब सिर्जना गरेको थियो । नेपालको विद्युत् प्रणालीको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलविद्युत् केन्द्रमा पनि यसको प्रभाव परेको थियो,’ उनले भने । उनले थपे, ‘आज कुलेखानी जलाशय तथा विद्युत् केन्द्रको स्थलगत अध्ययन गर्‍यौँ । बाँधको वर्तमान अवस्था र जलाशयमा रहेको पानीको सतह हेर्दा आगामी सुक्खा मौसममा विद्युत् आपूर्ति व्यवस्थापनमा थप सहजता हुने विश्वास बढेको छ । ऊर्जा सुरक्षालाई बलियो बनाउँदै भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार निरन्तर सक्रिय छ ।’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठले कुलेखानी विद्युत् प्रणालीको मेरुदण्ड भएको बताए । ‘यसले सिस्टमलाई पिकिङका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनले भने, ‘सिस्टम अपरेटको पोइन्ट अफ भ्युबाट ठूलो योगदान रहिआएको छ ।’ एमडी श्रेष्ठले बाँधको अवस्था सामान्य रहेको बताए ।

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने अजयबाबु शिवाकोटीको तयारी

काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदै गर्दा शिवाकोटीले आफ्नो उम्मेदवारीको तयारी थालेको जनाएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा आएका उनी गत पुसमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्य चुनिएका थिए । १४औँ महाधिवेशनमा उनी निर्वाचन प्रक्रियामार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । शिवाकोटीले सहमहामन्त्री पदको आफ्नो दावेदारी स्वाभाविक भएको बताएका छन् । राजनीतिलाई चलायमान गर्न व्यक्तिको पनि वृत्ति विकास हुनुपर्ने भएकाले अब सहमहामन्त्री भएर सेवा गर्ने इच्छा भएको उनले बताएका छन् । उनले कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको प्रमुख भएर महत्वपूर्ण काम गरे । पार्टी आफैँ इतिहास भए पनि दस्तावेज जरुरी छन् भन्दै पुस्तकालयमा महत्वपूर्ण पुस्तकहरू संकलन गरे । विभागमा थप सदस्यहरू जोडेर सशक्त पारे । फोरम चलाए । दुर्भाग्य, उनले गरेको मेहनतमा ‘जेन–जी’ आन्दोलनका नाममा भएको घुसपैठमा पार्टी कार्यालय जलाइयो । जसमा ती महत्वपूर्ण कागजात जले । दस्तावेज जले । अनि प्रजातन्त्र सेनानी थुप्रैका कथा जले । लेखिन बाँकी कहानी जले । यद्यपि उनका हजुरबुबा नन्दप्रसाद शिवाकोटीजस्ता प्रजातन्त्र सेनानीको संघर्षलाई जसरी पुस्तकमा निकालेर दुनियाँलाई चिनाएका छन्, त्यसरी नै बाँकी सेनानीको कथा समेट्ने उनको अभियान रोकिएको छैन । उनले यसलाई जगाउन नन्दप्रसाद जानुका फाउन्डेसन नै खोलेका छन् । यो फाउन्डेसनले तीनवटा पुस्तक सार्वजनिक गरिसकेको छ । गत महिनामात्र ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक भएको थियो । कांग्रेस राजनीतिमा आउनुअघि शिवाकोटी पत्रकारिता क्षेत्रमा सक्रिय थिए । उनी तत्कालीन समयमा प्रतिनिधिसभाका सभामुख रहेका कृष्णबहादुर महरा र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड काण्डसम्बन्धी समाचार लेखेर चर्चामा आएका थिए । त्यसबखत बहालवाला सभामुख र सञ्चारमन्त्रीको पद खोसिएको थियो । नेपाल प्रेस युनियनको महासचिव भएपछि कांग्रेसको मूलधारको राजनीतिमा भित्रिएका उनी गत प्रतिनिधिसभा निर्वाचनमा दोलखाबाट कांग्रेस उम्मेदवार बनेका थिए । पत्रकारितामा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा कलम चलाएका शिवाकोटीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड तथा पुरस्कारहरू प्राप्त गरेका छन् । उनी कांग्रेस महाधिवेशनका लागि दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् ।  को हुन् अजयबाबु ? अजयबाबु शिवाकोटी परिवर्तनका पहरेदार हुन् । नयाँ सोचका खानी हुन् । जसले समयसापेक्ष अगाडि बढ्न मद्दत गर्छ । त्यही सोचले उनी जुन क्षेत्रमा लाग्छन्, त्यसलाई सफल बनाएरै छाड्छन् । त्यसको प्रमुख कारण हो, उनको पेसाप्रतिको लगाव । पाँच वर्षअघि पूर्णकालीन राजनीतिमा होमिएका अजयबाबु जसरी पत्रकारितामा सशक्त भूमिकामा उभिए, त्यसरी नै राजनीतिक लगावलाई पनि सशक्तता प्रदान गर्ने भूमिका खोजिरहेका हुन् ।  राजनीतिका स्पष्ट वक्ता अजयबाबु कलमको तागतले जितेका नेता हुन् । पूर्णकालीन राजनीतिमा आउनुअघि उनी पत्रकारिताका माध्यमबाट आफ्नो भूमिकालाई सशक्त पार्दै आएका थिए । त्यसको फलस्वरूप नीति निर्माणको तहमा आएमात्रै परिवर्तन सम्भव छ भन्ने देखेर उनी कांग्रेसको पूर्णकालीन कार्यकर्ता बने । पार्टीको १४औँ महाधिवेशनबाट २०७८ साल मंसिरमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनको राजनीतिले सशक्त गति लियो । उनी पहिलो पाइलामै सफलता हासिल गर्न सफल भए । उनको स्पष्ट बोलीको प्रभाव तत्कालै पर्‍यो ।  कांग्रेसलाई हार्ने छुट छैन भन्दै होमिएका थिए निर्वाचनमा उनी पाँच वर्षको दौरान पार्टीलाई सशक्त बनाउन लागिपरे । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जनताको बीचमा पुगे । कांग्रेसको स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको अभियानमा उनी निरन्तर खटिए । जिल्ला मुस्ताङमा पुगेर पार्टीको प्रचारप्रसार र प्रशिक्षण दिन व्यस्त रहे । ‘कांग्रेसलाई हार्ने छुट छैन’ भन्दै उनले जिल्लाजिल्लामा पुगेर जितको रणनीति बनाउन लागिपरे । कांग्रेसलाई २०७९ को चुनाव जित्न सजिलो थिएन । किनकि कम्युनिस्टले कांग्रेसका एजेन्डाको भ्रम छर्न र उत्तेजना फैलाउन भरमग्दुर प्रयास गरेका थिए । त्यसलाई पनि रणनीतिक तरिकाले उनी जहाँ पुगे, त्यहाँ वास्तविकता बताएर आफ्नो पक्षमा पार्न सफल भए । कांग्रेसले जित्नु नै देशले जित्नु भएको बताउँदै अजयबाबुले कांग्रेसले नेपाली राजनीतिमा खेलेको भूमिका बुझाउँदै हिँडे । साथै सञ्चारमाध्यमले सत्यतथ्य कुरा बाहिर ल्याएर सघाउनुपर्नेमा समेत उनले जोड दिँदै सञ्चारकर्मीको मनोबल उच्च बढाउने काम गरे । अजयबाबुजस्ता परिवर्तनकारी युवा नेताहरूकै कारण कांग्रेस २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्न सफल भयो । समुदायमा कांग्रेस अभियानकै कारण यो सम्भव भयो । अजयबाबुले राजनीतिमा सहमति अहम हुने भन्दै तत्कालीन अवस्थामा दलीय सहमतिअनुसार भएको चुनावी अभियानलाई स्वीकार्नुपर्नेसमेत जोड दिए । जसको परिणाम कांग्रेस दलहरूका बीचमा समेत इमानको राजनीति गर्ने पार्टी बन्यो । अजयबाबुले पार्टीले बाटो बिराउँदा आक्रामक शैलीमा ‘कांग्रेस फाली निस्केको हलो जस्तै भएको’ भन्दै सही मार्गमा ल्याउन प्रयास गरे । उनले ‘कांग्रेस हाम्रो हो, कांग्रेस हाम्रो भविष्य हो’ भन्ने लक्ष्य लिएर रूपान्तरणमा होमिनसमेत युवालाई आह्वान गर्दै आए । यो भनाइ जेन–जी युवामा अझ बढी लागू हुन्छ । उनी लामो समयदेखि पार्टीले जेन–जीलाई समेटेर उनीहरूको भावना बुझ्न आग्रह गर्दै आएका नेता हुन् । अरूले बाटो बिराउँदा खबरदारी गर्दै आए । चाहे अन्य दलहरूबीचको अवैध साँठगाँठ होस् वा सरकारको नियन्त्रणमुखी नीति, उनले सदैव औँला ठड्याइरहेका छन् । पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी उनले पूरा गर्दै आए । कांग्रेस सधैँ बैसाखी टेक्ने होइन, टेकोबिना खडा हुने पार्टी बनाउनु छ भन्ने सिद्धान्त नेता–कार्यकर्तामा छर्दै गए । सभापति गगनकुमार थापाको विचारसँग जोडिएका उनीजस्तै युवा नेताहरूकै कारण आज कांग्रेस परिवर्तनको मार्गमा हिँड्न सफल भएको छ । पार्टी नेतृत्वले बाटो बिराउँदा जहिले पनि प्रश्न तेर्स्याउने उनीजस्ता युवाहरूकै कारण दोस्रो ऐतिहासिक विशेष महाधिवेशन सम्भव भयो । तबमात्र कांग्रेस जेन–जी आन्दोलनपछिको परिस्थितिलाई आकलन गर्दै फागुन २१ को निर्वाचनमा होमिन सफल भयो । निर्वाचनको परिणाम त्यो बेलाको परिस्थितिअनुसार नै आए पनि उनी हतोत्साही भएनन् । उनलाई थाहा छ, राजनीतिमा जित–हार हुन्छ । बस्, आफ्नो लक्ष्यबाट विचलित हुनु हुँदैन । चुनावी परिणाम स्वीकार्दै उनी तत्काल पार्टी संगठनमा लागे ।  पत्रकार छँदा पनि रगतमा राजनीति हजुरबुबा नेपाली कांग्रेसका योद्धा । सँगसँगै त्यागी पनि । पद कि शिक्षा भनी रोज्न लगाउँदा शिक्षा ठूलो भनेर दोलखामा विद्यालय खोलेका हजुरबुबा नन्दप्रसाद शिवाकोटीको त्यो विचार परिवारमै क्रमशः पुस्तान्तरण हुनु नौलो होइन । अझ अजयबाबु त विद्यालय उमेरदेखि नै विचारमा अडिग । साथै क्याम्पसमा पनि उनी आफ्नो सिद्धान्तमा कहिल्यै डगमगाएनन् । साथै उनले दुई दशकभन्दा बढी समय बिताएको पत्रकारिता पेसामा पनि उत्तिकै सशक्त रहे । २६ वर्षअघि उनले थालेको सञ्चारकर्म उनी कांग्रेसको पूर्णकालीन कार्यकर्ता हुने बेलासम्म चलिरह्यो । विद्यार्थी, सामाजिक अभियन्ता र जुझारू पत्रकारका नाताले उनी बहुदलदेखिका हरेक परिवर्तनका आन्दोलनमा आफ्नो भूमिका सशक्त पार्न सफल भए । सशस्त्र द्वन्द्वदेखि शाहीकालको त्यो धर्मराएको पत्रकारितामा साहसिक पत्रकारिताको प्रदर्शन गरे । रेडियो नेपालको घटना र विचार होस् वा इमेज च्यानल होस् । नेपाल वन होस् वा इमेज एफएम अनि आफैँ प्रधानसम्पादक भएको हाम्राकुरा डटकम किन नहोस्, उनी पत्रकारिताको धर्ममा कहीँ चुकेनन् । बस्, दुःख पाए त प्रश्न गर्दा । बस्, पक्राउ पर्नुपर्‍यो त न्याय माग्दा । २०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रूपमा चिनिन्थे । त्यतिमात्र होइन, लोकतन्त्रका लागि र प्रेस स्वतन्त्रताका लागि घन्किने नाराहरूमा उनको स्वर चर्को बनेर दरबारसम्म पुग्न खोज्थ्यो । त्यही प्रतिफलले उनले पत्रकारिता विषयमै स्नातकोत्तर गरे । हाम्राकुरा डटकमका संस्थापक निर्देशक तथा संस्थापक प्रधानसम्पादक भए । १२ वर्ष उक्त जिम्मेवारीमा रहने क्रममा उनले विभिन्न विकृति, विसंगति र भ्रष्टाचारका विषयमा कलम चलाए । नीतिनिर्माताहरूलाई बाटो देखाउने काम गरे । उनी कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिवसमेत भए । यतिले मात्र पत्रकारितालाई जोगाउन सकिनेमा उनी विश्वस्त भएनन्, तब त मूलधारको राजनीतिमै होमिए । उनले गरेका रिपोर्टिङबाट समाजमा व्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ । ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने तीतो यथार्थ समाजमा व्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । त्यस्तै, एमालेका नेता गोकुल बाँस्कोटा सञ्चारमन्त्री रहेका बेलामा उनले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बाँस्कोटाले पनि पद छाड्नु परेको थियो । उनी चुनौतीपूर्ण पत्रकारिता निडरपूर्वक गर्ने पत्रकारमा पर्छन् । बोलीका पक्का उनले भनेका थिए– ‘राजनीतिमा लागेपछि पत्रकारिताको रिपोर्टिङमा उत्रन्नँ ।’ जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका अजयबाबुले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू सञ्चार उद्यमीका रूपमा भने रहिरहने बताउँदै आएका छन् । उनले पत्रकारिता सधैँ जीवित र निर्भीक हुनुपर्ने बताउँदै आइरहेका छन् ।  सँगसँगै समाजसेवा पनि अजयबाबु समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । उनले विभिन्न समयमा गर्ने सहयोग त्यसका उदाहरण हुन् । पत्रकारलाई पर्ने मर्कामा अग्रस्थानमा रहेर त्यसको विरोध गर्छन् भने आपत्–विपत्मा सघाउँछन् । उनी समाजको जुनसुकै तहमा पुगेर पनि श्रमदान गर्न पछि पर्दैनन् । २०८० सालमा जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पबाट पीडित बनेका कर्णालीवासीको घाउमा मलम लगाए । भूकम्प प्रभावित रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ५० अस्थायी आवास बनाएर हस्तान्तरण गरे । सो क्रममा उनी १० दिन स्वयं खटिएका थिए ।  पत्रकारितामा सक्रिय रहँदा पुरस्कारबाट सम्मान उनले गरेको पत्रकारिता कत्तिको सशक्त थियो भन्ने उदाहरण उनले पाएका सम्मानबाट समेत स्पष्टै हुन्छ । उनी नेपाल सरकारबाट प्रबल जनसेवाश्रीबाट विभूषित भए । उनी ईन्जा अवार्ड, रोटरी जर्नो अवार्ड, देशतीर्थ पत्रकारिता पुरस्कारलगायतबाट समेत पुरस्कृत भए । जसरी पत्रकारिता गर्दा थुप्रै सम्मानसहित पुरस्कार थापे, जसरी सशक्त पत्रकारिताकै माध्यमबाट प्रबल जनसेवाश्री पुरस्कार पाए, त्यसरी नै पार्टी राजनीतिमा पनि अब्बल नेता बनेर जनसेवामा जुट्न उनी निरन्तर जनताकै वरिपरि रहन्छन् । उनी कांग्रेसी नेता–कार्यकर्तामाझ पनि सहजै भिजिरहेका छन् ।

गगनका प्रमुख राजनीतिक सल्लाहकार पौडेल बागलुङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । पौडेल खुलातर्फबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । बागलुङ क्षेत्र नम्बर १ बाट खुलातर्फ प्रताप पौडेलसहित १० जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । पौडेल पछिल्लो दुई दशकदेखि गगन थापाको राजनीतिक तथा नीतिगत टिममा रहेर काम गर्दै आएका छन् । कांग्रेसले १५औँ महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिमा पनि उनी सदस्य–सचिवको जिम्मेवारीमा छन् । सार्वजनिक नीति विश्लेषण तथा राजनीतिक गतिविधिमा सक्रिय पौडेल बागलुङको स्थानीय कांग्रेस संगठनसँग पनि जोडिँदै आएका छन् । उनले अंग्रेजी साहित्य, राजनीतिशास्त्र र कानुनमा स्नातकोत्तर गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका पौडेलले स्कुले जीवनदेखि नै राजनीति सुरु गरेका थिए । धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा नेतृत्वदायी भूमिकामा रहेका उनी नेपाल विद्यार्थी संघ बागलुङको जिल्ला सचिव हुँदै त्रिभुवन विश्वविद्यालयमा समेत विद्यार्थी राजनीतिमा सक्रिय थिए । २०६४ सालको संविधानसभा निर्वाचनका बेला गगन थापासहितको सहलेखनमा उनले ‘संविधानसभा र नेपाली कांग्रेस’ पुस्तक लेखेका थिए । संविधान तथा संसदीय मामिलाका विज्ञ सल्लाहकारका रूपमा पनि उनले काम गरेका छन् । २०७३ सालमा गगन थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा पौडेल उनका प्रमुख सल्लाहकार थिए । त्यसबेला स्वास्थ्य नीति, स्वास्थ्य प्रणाली, स्वास्थ्य बीमा, जनशक्ति व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी कानुन निर्माणलगायतका विषयमा उनले सल्लाहकार टिमको नेतृत्व गरेका थिए । कांग्रेसका २०७०, २०७४ र २०७९ सालका निर्वाचन घोषणापत्र निर्माण समितिमा समेत पौडेलले काम गरेका थिए । थापाको नेतृत्वमा अघि बढाइएको ‘प्रोजेक्ट गभर्मेन्ट’को संयोजनसँगै पार्टीको नीति तथा विधान मस्यौदा निर्माणमा पनि उनी सक्रिय रहँदै आएका छन् । विभिन्न संसदीय समिति तथा सरकारका नीति र कानुन तर्जुमा कार्यदलमा विज्ञका रूपमा काम गरेका पौडेलले जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा, स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम र स्वास्थ्य अनुसन्धान रणनीतिलगायतका विषयमा काम गरेका छन् । यसअघि कांग्रेसको नीति प्रतिष्ठानमा सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालेका पौडेल हाल पार्टीको केन्द्रीय कार्यसमितिमा प्रमुख राजनीतिक सल्लाहकार तथा १५औँ महाधिवेशनको केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिका सदस्य–सचिवका रूपमा कार्यरत छन् ।

डा. सुनिल शर्माले कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । डा. सुनिल शर्माले नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशन सुरु हुनुअघि शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी

काठमाडौं । हेटौंडा बजारमा जथाभाबी पार्किङ र छरिएर सञ्चालन भइरहेका सुमो तथा बसका काउन्टरका कारण हुने सवारी चाप घटाउन उपमहानगरपालिकाले नयाँ व्यवस्थापनको तयारी थालेको छ । हेटौंडा–चौकीटोलस्थित रोपवे चौरलाई सुमो तथा अन्य सवारीसाधनको एकीकृत पार्किङ र टिकट काउन्टरका रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । हाल हेटौंडाको मुख्य बजार, बसपार्क, चौकीटोल ओरालो, टीसीएन रोड र सङ्गमचोकलगायतका स्थानमा सुमो तथा बसका काउन्टर सञ्चालनमा छन् । विभिन्न स्थानमा रहेका काउन्टरका कारण यात्रु चढाउने–ओराल्ने क्रममा सडकमा सवारी रोकिने र पार्किङको समस्या हुने गरेको छ । उपमहानगरपालिकाले अब यी सवारीसाधनलाई एउटै स्थानमा व्यवस्थापन गरेर बजार क्षेत्रको यातायात प्रणालीलाई व्यवस्थित गर्ने योजना अघि सारेको हो । चाडपर्वअघि ‘ट्रायल’, पछि स्थायी संरचना रोपवे चौरमा तत्कालका लागि चाडपर्वलाई लक्षित गरेर अस्थायी रूपमा सवारी व्यवस्थापन गरिनेछ । त्यसका लागि चौरलाई पार्किङयोग्य बनाउन आवश्यकताअनुसार डोजर प्रयोग गरी सम्याउने तयारीसमेत गरिएको छ । सम्भवतः सोमबारदेखि नै रोपवे चौरबाट सुमोको काउन्टर सञ्चालन गर्ने तयारी रहेको उपमहानगरपालिकाले जनाएको छ । पछि भने त्यहाँ व्यवस्थित पार्किङस्थल निर्माण गरेर स्थायी रूपमा सञ्चालन गर्ने योजना छ । दैनिक करिब ४ सय सुमो मकवानपुरको उत्तरी क्षेत्र तथा काठमाडौं ओहोरदोहोर गर्ने गरी हेटौंडाबाट दैनिक करिब ४ सय सुमो सञ्चालन हुने गरेको बताइएको छ । यी सवारीसाधनलाई एउटै स्थानमा व्यवस्थापन गर्दा यात्रुलाई पनि सहज हुने र बजार क्षेत्रमा सवारीको अनावश्यक आवतजावत तथा पार्किङ घट्ने अपेक्षा गरिएको छ । रोपवे चौरबाटै यात्रुले टिकट लिने र त्यहीँबाट सवारी छुट्ने व्यवस्था मिलाउने तयारी छ । यसले यात्रु र सवारी व्यवस्थापनलाई एउटै प्रणालीमा ल्याउने उपमहानगरपालिकाको योजना छ । विचौलियाको प्रभाव घट्ने अपेक्षा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले सवारी काउन्टरलाई एउटै स्थानमा ल्याउँदा बजारको ट्राफिक व्यवस्थापन सहज हुने बताइन् । उनका अनुसार छरिएर सञ्चालन भइरहेका काउन्टरका कारण उत्पन्न हुने समस्या र बिचौलियाको प्रभावसमेत घट्ने अपेक्षा गरिएको छ । २०७५ सालमै रोपवे चौरको बसपार्क उद्घाटन गरिएको भए पनि कोभिड–१९ का कारण त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिएको उपमहानगरपालिकाको भनाइ छ । अब भने सोही स्थानलाई पुनः सक्रिय बनाएर दीर्घकालीन रूपमा व्यवस्थित पार्किङ तथा यातायात केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पनि रोपवे चौरमा सवारी व्यवस्थापन गर्ने योजनालाई व्यवसायीले सहयोग गर्नुपर्ने बताए । उनले प्रभावकारी व्यवस्थापनका लागि प्रहरीको निगरानीसँगै सम्बन्धित सबै पक्षको सक्रियता आवश्यक रहेकोमा जोड दिए । रोपवे चौर सञ्चालनमा आएपछि हेटौंडाको मुख्य बजार क्षेत्रबाट सुमो काउन्टर हट्ने र सवारीसाधन एकीकृत रूपमा सञ्चालन हुने भएकाले यसले बजारको ट्राफिक व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ ।

एक सातामा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज १० गते शनिबार प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज १६ गते शुक्रबार आइपुग्दा घटेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको हो । साताको पहिलो दिन असोज १० गते २ लाख ९८ हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य असोज ११ गते आइतबार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको थियो । असोज १२ गते सोमबार भने सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले घट्यो । त्यस दिन सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, असोज १३ गते मंगलबार सुनको मूल्य थप ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा झरेको थियो। यो नै साताको सबैभन्दा कम मूल्य हो । असोज १४ गते बुधबार भने सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँ पुगेको थियो । असोज १५ गते बिहीबार सुनको मूल्य स्थिर रह्यो । साताको अन्तिम कारोबार दिन असोज १६ गते शुक्रबार भने सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसरी हेर्दा एक सातामा सुनको मूल्यमा केही उतारचढाव देखिए पनि समग्रमा प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेको छ ।

सिद्धार्थ बैंक र दराजको दशैं अफर : कार्डबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सिद्धार्थ बैंकका भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपबाट सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन् । असोज १५ गतेदेखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुने अफरमा भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्मको छुट पाउनेछन् । यसमा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउनेछन् । क्रेडिट कार्डबाट अधिकतम १ हजार ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । छुट लिन ग्राहकले दराज एपमा रहेको ‘१०–१० दशैं धमाका’ अभियानअन्तर्गत ‘बैंक भाउचर’ खण्डमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ । संकलन गरिएको भाउचर दराज प्रोफाइलको ‘माई भाउचर्स’ मा सुरक्षित हुनेछ । त्यसपछि कम्तीमा १ हजार ९९९ रुपैयाँको सामान खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा भिसा डेबिट/क्रेडिट कार्ड छनोट गरेर सिद्धार्थ बैंकको कार्डबाट भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार दशैंको समयमा अनलाइन किनमेललाई सहज, सुरक्षित र लाभदायी बनाउने उद्देश्यले अफर ल्याइएको हो । यसले ग्राहकलाई डिजिटल भुक्तानीका सहज तथा सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने बैंकको विश्वास छ । अफरसम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।